१४

“म यस किसिमको पशुवत्‌ जीवन बिताउँदै थिएँ ।” – उसले पहिलेकै जस्तो स्वरमा आफ्नो कथा जारी राख्दै भन्यो, – “सबभन्दा खराब कुरा त के थियो भने यस किसिमको निकृष्ट जीवन व्यतीत गर्दागर्दै पनि म ठान्नेगर्थे “म अन्य आइमाईहरूबाट कोसौं टाढा रहेको छु र आफ्नी पत्नीप्रति ईमान्दार रहेको छु, तसर्थ म सदाचारी र एकदमै निर्दोष छु । यदि हाम्रो बीचमा कहिलेकाही ठाकढुक परिहाल्छ भने पनि यसमा दोष मेरो पत्नीकै छ, अर्थात्‌ उसको स्वभाव नै दोषी छ।”

अवश्यमेव उसको दोष पटक्कै थिएन । ऊ पनि अन्य आइमाईहरू जस्तै नै थिई. अर्थात्‌ अधिकांश आइमाईहरूमा र उसमा केही फरक थिएन । हाम्रो समाजका नारीहरूको स्थिती जस्तो हुनुपर्थ्यो त्यही अनुरुप नै उसको पनि लालनपालन भएको थियो । सम्पन्न वर्गका महिलाहरूको निमित्त जुन प्रकारको शिक्षादीक्षा स्वभाविक ठानिन्थ्यो, त्यसै ढंगबाट नै उसले शिक्षादीक्षा पाएकी थिई । नारीहरूको आधुनिक शिक्षाको बारेमा जुन कुरा हामी आजकल सुन्नेगछौँ सो सब बकबास मात्रै हो । अहिले नारीहरूप्रति हाम्रो जस्तो धारणा छ त्यसैको अनुरुप नै उनीहरूको शीक्षा-दीक्षा पनि हुन्छ । हाम्रो धारणा चाहिँ देखावटी छ जुन वास्तविक धारणाबाट एकदमै भिन्न छ ।

नारीहरूको शिक्षा सदैव नै पुरुषहरूको धारणामुताबिक नै हुनेगर्छ । पुरुषले नारीको बारेमा के विचार गर्छ भन्ने पनि हामी सबैलाई थाहा नै छ । “WEIN, weiber Und GESANG(सुरा सुन्दरी र संगीत (जर्मन) ।अनु )” -कविहरू आफ्ना कविताहरूमा यस्तो भन्नेगर्छन्‌ । तपाईं सम्पूर्ण काव्य-सग्रह पढ्नोस्‌ वा चित्रकला र मूर्तिकलाको इतिहास पल्टाउनोस्‌ ! शुरु-शुरुमा जहिलेदेखि प्रेमगीतहरु रचिन थालिएका थिए र भीनस र फ्रीन आदिका नग्नमूर्तिहरू बनाइन लागेका थिए त्यस बेलादेखि आजपर्यन्त जहाँ पनि नारी त सुखसयलकै साधन मानिँदै आएकी छे, चाहे त्रुबनायामा(त्रुबनाया प्लाश्याद-मास्कोको एक चोक । ) होस्‌ वा ग्राचेभ्का(ग्रचेभ्का उलिच्चा- मास्कोको एक सडक ।) मा अथवा दरवारहरूमा आयोजना गरिने नृत्यसमारोहहरूमा नै किन नहोस्‌ ! अब शैतानको चलाकी पनि अलिकति हेरिहाल्नोस्‌ ! यदि आइमाई सुखभोग र रसरङ्गको साधन मात्र हो भने उसलाई एउटा स्वादिलो चोक्टा सिवाय अरु केही पनि मान्न सकिंदैन । हैन, उहिले मध्ययुगीन सामन्तहरूले नारीलाई दिव्य शक्ति मानेर उसको आराधना गर्न शुरु गरेका थिए (आराधना पनि गर्थे र उसलाई सुखभोगको साधनको रुपमा पनि प्रयोग गर्थे) । अचेल चाहिं नारीको सम्मान गरिन्छ भनेर पुरुषहरू विश्वास पार्न खोज्छन्‌ । कोही नारीको लागि आफ्नो आसन छोडिदिन्छन्‌ । यदि उसको रुमाल भुईमा खस्यो भने लम्केर टिपिदिन्छन्‌ । कोही चाहिं प्रशासनमा या अन्य कुनै पनि ठाउँमा सबै पदहरूमा रहेर काम गर्न सक्ने नारीको अधिकार पनि स्वीकार गर्दछन्‌ । यो सबै गरिन्छ, तर नारीप्रतिको दृष्टिकोण भने उस्ताको उस्तै छ । नारी सुखभोगको साधन ठानिन्छे । उसको शरीर इन्द्रिय-सुखभोगको एक साधन हो । नारीलाई पनि यो कुरा थाहा छ । यो सब उसको लागि एक प्रकारको दासता नै हो । दासता भनेको नै यस्तो स्थिति हो जहाँ काम गर्छ कालुले, तर मकै चाहिं खान्छ भालुले । तसर्थ दासता तब मात्रै नामेट हुनेछ जब मान्छेहरूले अरुको श्रमको -शोषण गर्नुलाई महापाप र लज्जाजनक ठान्दै त्यसबाट फाइदा उठाउने चाहना राख्नेछैनन्‌ । तर वास्तवमा चाहिँ दासताको बाह्य रुपलाई मात्र फेरेर करियाहरूको सुक्रीबिक्री हुन नपाउने बन्दोबस्त मिलाउनेबित्तिकै उनीहरू दासप्रथा समाप्त भएको कल्पना गर्न पुग्छन्‌ र यस कुरामा विश्वास समेत गरिहाल्छन्‌ । दासप्रथा त कायमै छ भन्ने उनीहरू देख्दैनन्‌ र देख्न समेत चाहँदैनन्‌, किनभने अचेल मान्छेहरू अरुको श्रमबाट लाभ उठाउन मन पराउँछन्‌ र यसलाई उचित एवं न्यायसँगत समेत ठान्दछन्‌ । जहिलेसम्म यस कुरालाई न्यायोचित ठानिनेछ त्यतिञ्जेलसम्म यस्ता मान्छेहरू पनि देखा परि नै रहनेछन्‌ जो अरुभन्दा बलियो र बाठो हुनाको कारणले गर्दा अरुमाथि थिचोमिचो चलाउँदै रहनेछन्‌ । नारीउद्धारको पनि हालत यही नै छ । नारीको दासता मात्र कुन कुरामा निहित छ भने पुरुषहरू उसलाई सुखभोगको साधनको रुपमा उपयोग गर्नु उचित र वाञ्छनीय ठान्नेगर्छन्‌ । अनि नारीको उद्धार गरिटोपल्छन्‌ जुन पुरुषहरूले प्राप्त गरेका हुन्छन्‌ । तैपनि उसलाई सुखभोगको साधन नै ठान्नेगरिन्छ । बाल्यावस्थादेखि नै यसै अनुरुप उसलाई शिक्षा दिइन्छ र जनमतको समर्थन पनि प्राप्त गरिन्छ । परिणाम के निस्कन्छ भने नारी जस्ताकी तस्तै नीच र पातर्नी दासी बनिरहन्छे भने पुरुषचाहिं पहिले झैँ दुराचारी स्वामी नै रहिरहन्छ ।

कलेजहरूमा र अड्डाखानाहरूमा नारीको उद्धार गरिन्छ, तैपनि उसलाई सुखभोगको साधनको रुपमा विचार गर्न छोडिन्न । जहिलेसम्म उसले आफूलाई यस्तै नै ठानिराखोस्‌ भन्ने उसलाई शिक्षा दिइरहनुहुनेछ (जस्तो कि अहिले पनि हामीकहाँ दिनेगरिएको नै छ) त्यतिञ्जेलसम्म ऊ सदासर्वदा नै निम्नकोटिको जीव बनिरहने छ । कि त दुष्टात्मा डाक्टर भनाउँदाहरूको महतले उसले कहिल्यै पनि गर्भधारण गर्नेछैन र यस अर्थमा ऊ पूरै वेश्या बन्न पुग्ली र उसको स्तर पशुहरूको स्तरभन्दा पनि तल झरेर ऊ सिर्फ निर्जीव वस्तुको स्तरमा पुग्ली, कि त उसको स्थिति त्यस्तै होला जस्तो अधिकांश आइमाईहरूको छ अर्थात्‌ यस्ती दु:खी, उन्मादग्रस्त र बहुलाही बन्न पुग्ली जसमा आध्यात्मिक विकासको अलिकति पनि क्षमता रहँदैन ।

जिम्नेजियम र कलेजहरूले यस स्थितिमा किचित्‌ पनि हेरफेर ल्याउन सक्तैनन्‌ । नारीप्रति पुरुषको र आफूप्रति नै नारीको दृष्टिकोणमा हेरफेर ल्याएर मात्र यस स्थितिमा सुधार हुनसक्छ । तब मात्र यस स्थितिमा परिवर्तन आउनेछ जब नारीले कौमार्यको अवस्थालाई अचेलको जस्तो लज्जा र अपमानको कुरा नमानेर आफ्नो लागि मानवोचित गर्वको कुरा मान्ली । यस्तो भैनसक्रुञ्जेल त जतिसुकै पढेलेखेकी भए तापनि हरेक युवतीको एक मात्र महत्वाकांक्षा हुनेछ- सकभर बढी संख्यामा पुरुषहरूलाई अर्थात्‌ लोग्नेमान्छेहरूलाई आफूप्रति आकर्षित गर्नु जसले गर्दा चयनको बढी सम्भावना प्राप्त होस्‌ !

एउटीले गणित केही मात्रामा बढी जानेकी छे वा अर्कीले चाहिँ आर्फा समेत बजाउने गरेकी छे भन्दैमा स्थितिमा केही फरक परिहाल्दैन । जब कुनै आइमाई कुनै आफूतर्फ आकर्षित गर्न सफल हन्छे त्यतिखेर ऊ अपार आनन्दको अनुभव गर्छे र महालक्ष्य सिद्ध गरिएको ठान्नपुग्छे । यसप्रकार पुरुषलाई आकर्षित गर्नु नै उसको जीवनको मुख्य लक्ष्य बन्न पुगेको हुन्छ । अतीतमा यस्तै थियो र भविष्यमा पनि यस्तै हुनेछ । यो कुरा कन्याकेटीहरूको निम्ति पनि उत्तिकै लागू हुन्छ । जति विवाहिता नारीहरूको निम्ति । कन्याकेटीको लागि वर चुन्ने मौका सुरक्षित राखिराख्न यस क्षमताको आवश्यकता हुन्छ भने विवाहिता नारीको लागि चाहिं आफ्नो लोग्नेउपर प्रभाव जमाइराख्न यसको जरुरत पर्छ ।

हो, लालाबालाहरूको कारणले गर्दा यसमा अवरोध उत्पन्न हुन्छ, अर्थात्‌ केही समयको निम्ति यो प्रयास स्थगित रहन्छ । तर यो पनि त्यस्तो बेलामा मात्र हुन्छ जब आइमार्इ निर्दयी हुँदैन अर्थात्‌ आफ्नो शिशुको पोषण ऊ स्वयं गर्न थाल्छे । परन्तु यहाँ पनि फेरि डाक्टरहरू पुगिहाल्छन्‌ ।

मेरी पत्नी आफै नै आफ्ना बालबच्चाहरूको पालनपोषण गर्न चाहन्थी पाँचजना बच्चाहरूको पालनपोषण पनि उसले स्वयं नै गरी । किन्तु पहिलो बच्चा जन्मनासाथ ऊ बिरामी परी । डाक्टरहरू कतिसम्म नकच्चरा निस्किए भने सब लुगा फुकाल्न लगाएर उसलाई जउभरी नै छामछुम गरेर हेरे । यसको लागि मैले उल्टै उनीहरूलाई धन्यवादको साथै फीस समेत टक्र्याउनुपर्ने रे ! ती डाक्टर महोदयहरूले नै मेरी पत्नीले आफ्नो पहिलो बालकलाई दूध ख्वाउनु हुँदैन भन्ने समेत बन्देज लगाइदिए । यसरी मेरी पत्नी शुरुमा नै त्यस एक मात्र साधनबाट पनि वञ्चित पारिई जसको मद्दतले ऊ नखरमाउली बन्नबाट बच्न सक्नेथिई । बच्चाको लागि चाहिं धाइआमाको बन्दोबस्त गर्नुपर्यो अर्थात्‌ एउटी महिलाको गरीबी, खाँचो र अज्ञानताबाट हामीले फाइदा उठायौं । उसको आफ्नै बच्चाको चाहिं दूध छुटाइदियौं र उसलाई अलिकति पैसाको लालच देखाएर हाम्रो बालकलाई दूध ख्वाउन लगायौं । यसको लागि हामीले उसलाई जडाउरी लुगाफाटो पनि लगाइदियौं । तर यो अर्कै प्रसङ्ग हो । खास कुरा त के हो भने जब मेरी पत्नीको सुत्केरीको समय बित्यो र बच्चालाई दूध ख्वाउने अभिभाराबाट समेत जब ऊ मुक्त भई, त्यतीखेर उसको त्यो स्त्रीसुलभ चर्तिकला, जुन अहिलेसम्म सुसुप्तावस्थामा रहेको थियो, एकदमै जागेर आयो । उसको चर्तिकला जति चर्केर जाँदैथियो त्यत्ति नै बढी मात्रामा मेरो ईष्या पनि बढ्दैथियो । हाम्रो बसहे भएदेखि नै यस ईष्याले मलाई एक छिनको लागि पनि शान्ति दिएको थिएन । यस्तो यन्त्रणा ती सबै पतिहरूले अनिवार्य रुपमा नै भोग्नुपर्ने हुन्छ जो आफ्नी पत्नीहरूसँग त्यस्तै दुराचारपूर्ण सम्बन्ध कायम राख्नेगर्छन्‌ जस्तो मेरी पत्नीको साथमा मेरो सम्बन्ध थियो ।”