
१
रेलगाडीको तीखो सिटीले तेस्रो दर्जाको डिब्बामा सुतेको बहादुर सिंहको निद्रा खुल्यो । ‘मजाले सुतेछु’ उसले सोच्यो । आसामबाट यहाँसम्मको सफरको अब तेस्रो बिहानी हुन थालेको थियो । दुई दिन, दुई रात त उसले कुनै बेला उभीउभी, कुनै बेला खुम्चिएर बसी, धेरै भए भित्तामा लधी (अडेस लगाई) उँघीउँधी काटेको थियो । लखनऊ पुग्दा निद्रा र थकाइले जीउ कटकट खाइरहेको थियो । सौभाग्यले यस डिब्बामा ओछ्यान लगाउने ठाउँ फेला परेको थियो र ऊ साँझ सात बजेतिर नै सुतेको थियो ।
बहादुर आफ्नो ओछ्यानमा पलेंटी कसी बस्यो । कोठामा बत्ती थिएन, धेरैजसो तेस्रो दर्जाका डिब्बाहरूमा बत्ती हुँदैन । पानीसम्म पनि भैदिए अहोभाग्य सम्झिनुपर्ने हुन्छ, तर बाहिरको अन्धकारसँग एकाकार भएको डिब्बाभित्रको यो अँध्यारो उसलाई अहिले खूब मन पर्यो, बाहिर हेर्दा पूर्व दिशा बिस्तारै खुल्दै आइरहेको थियो । बिस्तारै धूमिल हुँदै गैरहेका ताराहरू यस शान्त रात्रिको नीलिमा मिसिएको श्यामलतामा साह्रै आकर्षक देखापरिरहेका थिए । ऊ तन्मय भै हेरिरह्यो । रेलको छक छक छक को ध्वनि एउटा लयमा आबद्ध गीतजस्तै मीठो लागिरहेको थियो । बेलाबेलामा सुनिने सिटीको चीत्कारसमेत उसलाई बीचबीचमा बिगुल अथवा तुरही बजाएजस्तै सुरिलो लागिरहेको थियो ।
बहादुरले हातमुख धोई बाहिर निस्किंदा उज्यालो भैसकेको थियो । एउटा पुरानो र मैलो सिरक ओढी, मुखमा बिंडी च्यापी टुकुर टुकुर हिंडिरहेको बूढोलाई बहादुरले रवाफसाथ सोध्यो, “ए कुन स्टेशन आउँदै छ ?”
“खटीमा टेशन आउँदै छ हजूर, मइ बाप” बूढोले जवाफ दियो ।
सूर्यका केही रश्मिहरू धरातललाई छुन छुन थालेका थिए । दुवैतिर फागुन महिनाको हरियो गहुँबाली बोकेका समतल खेतहरू, बीचबीचमा देखापर्ने आँपका बगिया र बाँसका झाडहरू साथै कतैकतै देखापरेको पातलो कुहिरो उसलाई सातै मनमोहक लाग्यो । अब ओसका थोपाहरू टल्किन थालेका थिए र पालोले भिजेको धरतीको हरियो चद्दर खूब सफासित भक्खर धोएर फिजाएको मखमली तन्नाजस्तो देखापरिरहेको थियो । बहादुरले खल्तीबाट चुरोट झिक्यो, ऊ सल्काउन आँटेको थियो कि एक्कासि अड्यो । मनमा कताकता चुरोटको धूवाँसम्मले पनि यो स्वच्छ वातावरण बिग्रिन्छ कि भन्ने लाग्यो र उसले चुरोट फेरि बट्टामा नै राखिदियो ।
बहादुर सिंहले आफू बसेको डिब्बा नियालेर हेर्यो । अहिले त केही देहातीहरू मात्र त्यसमा बसेका थिए । लखनऊमा चढेका बाबू, विद्यार्थी टाइप मुसाफिरहरू त ओर्लिसकेका रहेछन्, डिब्बामा चुस्त-दुरुस्त व्यक्ति त ऊ मात्रै थियो । त्यसै पनि अनुहार, डिलडौलमा ऊ कसैभन्दा कम छैन । बाटोमा हिंडिरहँदा तरुनीहरू ऊपट्टि एक नजर हाल्छन् नै भन्ने आभास ऊसँग छ । फेरि फौजी बर्दी त खूबै सुहाउँछ भनी उसका साथीहरू पनि भनिराख्छन् । यही वर्दी र व्यक्तित्व देखेर त त्यो बूढोले पनि ‘हजूर, माइ बाप’ जस्ता आदरसूचक शब्दहरूले उसलाई सम्बोधन गरेको थियो ।
हेर्दाहेर्दै त्यस कोठाका देहाती यात्रीहरू उसलाई हेय लाग्न थाले । ‘कस्ता मूर्ख हँ’ उसले सोच्यो । यति ठूलो सिरक ओढ्न सक्छन् तर खोल हाल्न सक्तैनन्, सिरकमाथि मैलका तहका तह मैनजस्तै गरी लिप्सिएका छन् । उसले फेरि सोच्यो ‘अब घाम परेपछि झिंगाहरू भन्कने होलान् ।’ तत्काल मोटरले कतै हलुका ठक्कर खाएझैं गरी उसको मन अड्यो; आफ्नै अन्तरले विद्रोह गरिरहेको अनुभूति भो । बहादुरलाई लाग्यो कि मानिसभित्र एउटा अर्को मानिस हुँदो रहेछ अन्तस्करणको रूपमा । त्यो ज्यादै सत्यान्वेषी पनि हुँदो रहेछ । जस्तै मणि कत्तिकै हिलोले छोपिएको भए पनि आफूमा त जगमगाइ नै रहन्छ, त्यस्तै मानिसको अन्तस्करण कत्तिकै दूषित प्रवृत्ति र पर्यावरणले छोपिएको भए पनि कहिलेकाहीं त्यो बोलिहाल्दो रहेछ । उसले हालसालै एउटा प्रवचनमा मुनिश्रीले भन्नुभएका कुराहरू सम्झ्यो । मुनिश्रीले भन्नुभएको थियो कि यसै अन्तरात्माको कारणले त हो आज आफ्नो स्वार्थसिद्धिका लागि मानिसले जेसुकै र जति तल ओर्ली काम गरे पनि उसको भित्री मन भने न्याय, प्रेम, विश्वास र सत्यका लागि कल्पिरहेकै हुन्छ । शायद यही एउटा बुँदा हो जो तमाम विपरीत तथ्यहरूका बाबजूद मानव र मानवताको अस्तित्वलाई सम्बद्धता दिन्छ । त्यसै अन्तस्करणबाट डोऱ्याइँदै ऊ पुनः सोच्न थाल्यो ।
सिरक त छोडौं, प्रारम्भिक दिनहरूमा उसले एक कातो (कपडाको टुक्रा) सम्मको अभावमा भुइँको माटो फुकेर उडाई सुत्नुपरेको थियो । पुस अथवा साउनतिर कोदो, मकैको बासी रोटीका चिउलाहरूका लागि पनि अरूको गोठालो लाग्ने वा पानी भरिदिने काम गर्नुपर्दथ्यो। ती बासी रोटीहरूलाई आगोमा तताई, घिउ र नून चोपी खाँदाको स्वाद त आजभोलिको बडाखानामा पाइन्न, तर आफ्नो घरमा सधै घिउ त के नून पनि हुन्नथ्यो । यस्तो घोर गरीबीमा बसिसकेका मानिसले अरूहरूको गरीबीको खिस्सी काट्नु उचित हो ? बहादुर सिंहले आफैसँग प्रश्न गरी आफैलाई हप्कायो ।
* * * *
२
हो त, उसको घरमा खाने थिए एक दर्जन, काम गर्ने दुई जना आमा र बा मात्र । लगभग वर्षभरि जस्तै मेहनत गरेको खेतीको आयस्ताबाट मुस्किलले ६ महिना खान पुग्थ्यो । रिन सापटी लिई २-४ दुधारु बस्तुहरू पाल्न सके गोरस खान पाइन्छ । घिउ बेची लुगाफाटो किन्न र रिन तिर्न सकिन्छ र गोबरले अन्नको उब्जनी बढ्छ भन्ने कुरो उसको परिवारले नबुझेको होइन तर गाईबस्तुहरूबाट फाइदा लिन त पसिनाको खोलाको रूपमा आफ्नो रगत बगाउन सक्नुपर्दछ । परिवारमा गाई-भैंसीको चाकरी गर्न सक्ने मान्छे नै थिएन । यसैले एक बटुकाभरी छाँछ (मही) का लागि पनि ऱ्याल काढ्नुपर्ने हुन्थ्यो ।
लुगा ? लुगाहरूको नाउँमा उसले आठ वर्षको उमेर पुगेपछि मात्र लँगौटी लगाउने गरेको हो । गाउँघरमा पुगीसरी आएका मानिसहरू समेत वर्षको एक चोटि गौराको चाड आउँदा (भदौतिर) मात्र लुगा हाल्ने गर्थे भने उसको के कुरो ? बाले किनिल्याएका कपडामध्ये कसैका लागि भोटो पुग्थ्यो भने कसैका लागि टोपी मात्र । कसैले ता कुनै वर्ष लँगौटीकै भरमा सन्तोष लिनुपर्ने हुन्थ्यो । कपडा त्यसै पनि थोरै, त्यसैमा झुपुरे दमाईले एउटा टोपी नभए बटुवा थैलीसम्म त जसको कपडाबाट पनि नचोरी नछोड्ने ।
“गुसाई ! (मालिक) आर्काको बार भाँची दाउरा नबाले र सिउन दिएको कपडाबाट अलिकता पनि नचोरे हामीहरूलाई त लौबेग (तुरन्तै) देउता लागी रिसाई दुःख दिन थालिहाल्छ” गर्दन एकातिर ढल्काई खित्त हाँसी झुपुरे आँखा झिम्काउँथ्यो । अतः गाउँभरि सबैका लुगाहरू हास्यास्पद किसिमले साङ्ग्रा र छोटा हुन्थे ।
बहादुर सम्झिन थाल्यो, कात्तिकतिरका केही दिनहरूलाई छोडिदिने हो भने भात खानु ठूलो चाड मनाएको दिनजस्तो हुन्थ्यो। वैशाख जेठतिर कुनै दिन भात पकाउने ठेगान लागेपछि उसकी आमा भन्थिन्, “आज बा भात पकाउनुहुन्छ । वनतिर अलमल नगरी चाँडै आउनू ।” अनि ऊ त्यस दिन गोठालाहरूसँग नखेली सकीनसकी दाउराको ठूलो भारी उचाल्दै चाँडै आइपुग्थ्यो । खाँदा अरूलाई कम पर्छ कि ? अथवा “कति खान्छस् ? अरू पनि छन्” भनी बा भन्नुहुन्छ कि भन्ने डर रहन्थ्यो । अमिलो राखेको गहतको दाल, तितौडो अथवा माडझोलसँग भात खाँदा पेट अघाइहाल्थ्यो तर मुख भने अघाउन्नथ्यो ।
यस्तै भात पकाएको एक दिन वनबाट फर्किन अलिकता ढिलो हुँदा बाआमाले खाइवरी उसको भाग बालमा छोपेर राखेको थियो, खान जाऊँ भन्दा त एउटा छाडा कुकुरले साइदिइसकेको रहेछ । त्यो दिन बासी रोटी चपाएको वितृष्णा र ‘छोरोले भात नपाएको’ मा आमाले खसालेका आँसु, बहादुर आज पनि सम्झिन्छ ।
बहादुरको ध्यान फेरि ओढ्ने ओछ्याउनेतिर गयो । ऊ सम्झिन थाल्यो कि हिउँदको याममा ठूल्ठूला मुढाहरू सल्काई धुनी नजोतुन्जेल घरभित्र बस्न पनि गाह्रो पर्दथ्यो । झ्याल, म्वाल (ढोका) टम्म लगाउँदा पनि चिसो छिरिहाल्थ्यो । “सियो पस्ने प्वाल भए पनि सिङ्गै जाडो छिरिहाल्छ” भन्दै उसको बाबु जम्मै झ्यालहरूलाई माटो-गोबरले टालिदिन्थे । अतः अगेनाबाट उठेको धूवाँ कोठाभित्रै नाचिरहन्थ्यो । यति भएर पनि जीउको जुन भाग आगोको रापतर्फ पर्दैनथ्यो घडीभरमा नै चिसो माटोजस्तो हुन थाल्थ्यो । यसकारण ऊ परालको गोदो बनाई त्यसभित्र पस्थ्यो । पिरपिराउने आँखा चिम्लिदिंदा धूवाँले त तातो अँगालो मारेजस्तो स्वाद पो दिएको हुन्थ्यो ।
सधै मुढाहरू जम्मा गर्न नसकिने र पराल पनि सधैं उपलब्ध गर्न सकिन्नथ्यो । यस्तो बेलाका लागि ऊसँग एउटा विशेष प्रविधि थियो । साह्रै जाडो लाग्न थाले एकदम नाङ्गै भएर ऊ आँगनमा उभिन्थ्यो । दाँत किटकिट बजी धरधर काम्दै जीउ मट्टीजस्तो भएपछि भित्र पसी आमाको पातलो फाटेको पछ्यौरा ओढ्दा पनि जाडो लाग्दैनथ्यो र ऊ फुक्क निदाउँथ्यो ।
यसैबीच सानो स्टेशन आइपुग्यो । ऊ खाजा खान ओर्ल्यो । पैसा बुझाउन पतलुनको पछिल्लो खल्तीमा राखेको बटुवा (पर्स) बाट झिक्न उसले मनासिब ठानेन । यस्ता ठाउँहरूमा पाकेट मार्नेहरू छ्यापछ्यापती हुन्छन् भन्ने उसलाई थाहा छ । यसैले बटुवामा लगभग पाँच हजारजतिको रकम उसले पछिल्लो खल्तीमा राखेको छ र त्यसैसँग पासबुक आदि कागजातहरू पनि यसरी मिलाएर राखेको छ कि कसैलाई पनि हेर्दा खल्तीमा कागजपत्र मात्र छन् भन्ने लागोस् । बहादुरले अरू जम्मै गोजीहरू चहारी खाजाको पैसा बुझायो ।
* * * *
३
रेलगाडीले फेरि गति लियो । एकछिन बाहिरको दृश्य हेर्दाहेर्दै ऊ गाउँको सौकार (साहूकार), सौकारको छोरो र उससँग भएको झगडाबारे सम्झिन थाल्यो । सौकारको उसको परिवारमाथि ऋण थियो, यही चार बीसी दस (९०) जति । यसको ब्याज तिर्नुपर्थ्यो, बेलाबेला अह्राएको काम गर्नु र अकारण सधैं हेप्पिनुपर्थ्यो तैपनि साँवा यथावत् बाँकी रहेको देख्ता बहादुरलाई खपिनसक्नु हुन्थ्यो । ‘कौनसा उपकार गऱ्या छ । ५०० रुपैयाँबापत दुई पाथी बीउ जाने धानको खेत बन्धकी लिइसकेको छ । ब्याज रोकिनासाथ यी नब्बे रुपैयाँबापत पनि कुनचाहिं खेतमा आँखा गाडेको छ’ सोच्दै ऊ मुरमुरिरहन्थ्यो ।
एक दिन साँच्चिकै सौकारको छोरासँग उसको झगडा भो । सोकारको छोरा नै आइलाग्न पुगेको थियो । दुई चोटि ढुङ्गाले हिर्काउँदासम्म पनि छल्दै सही बस्यो तर तेस्रो ढुङ्गा हिर्काउँदा भने उसले पनि कान निमोठी कसेर दुई थप्पड लगाइदिएको थियो ।
त्यै दिन बेलुकीपख सौकार हातमा लौरो लिई गाली फलाक्दै बहादुरको घरमा आइपुगेको थियो । बहादुरले दिएको सफाइ, उसको बाले खुट्टा समाती मागेको माफीको कुनै असर भएन । छोरोको निर्दोषिताबारे विश्वस्त भएर पनि रडाको मेटाउन बूढोले बहादुरलाई कुटेको पनि काम लागेन । “मेरो पैसो छिन्, तेरी स्वास्नी बेचेर भए पनि छिन्” भनी सौकार कुर्लिरहेको र कुर्लिंदै “तँलाई ऐना देखाइछाइँला पर्खेस्” भन्दै हिडेको थियो ।
साँच्चिकै तेस्रो दिन त साँझतिर बहादुरको घरमा प्रहरीहरू पो पुगिराखेका । सौकारको एउटा छोरो जिल्ला मालमा पालेछ । जागीर भनेको जे भए पनि जागीर नै हो । हाकिमहरूलाई सलाम गरिरहने मौका पाइन्छ । सलाम गर्दागर्दै काम पनि पट्याउन सकिहालिन्छ । हो त, पालेले केके सिकाई पठाएको रहेछ, प्रहरीहरूले आउनासाथ उसलाई र उसको बालाई दुई-दुई थप्पड हिर्काएका थिए । प्रहरीहरूले थप्पडबाहेक कुनै सवाल सोधेका थिएनन् भने बहादुरले सफाइ कसरी दिन्थ्यो । जे होस्, मुद्दा त टुङ्गिनु नै पर्ने थियो । अतः कचहरी दस्तुर, रकमीको दस्तुर, दण्ड, बिगो, खसी-बोका अरू पनि के जाति के जाति भनी उसको बाबुले खेत बेची तीन सय रुपैयाँ दिएपछि मुद्दा टुङ्गिएको थियो । कति सजिलो, कतै जानु परेन, कसैले केही लेख्नु परेन, कानूनका किताब चाहिएनन् तर मुद्दा टुङ्गियो । न वकील, न बहस, न साक्षी, न बुँदाहरू, कुनै झन्झटै नभएर मुद्दा टुङ्गिएको थियो । यस पटक पनि जग्गा किन्ने अरू को हुन्थ्यो ? उही सौकार नै थियो ।
सम्पत्ति गएको भन्दा पनि अपमान र अन्यायको पीर बढी हुन थाल्यो बहादुर सिंहलाई । उसको बाबुले स्वास्नीमानिसजस्तै हिकहिक रोई आफ्नो आक्रोश फाल्यो । बहादुरले रिन नतिरुन्जेल घर नफर्किने प्रण गरी त्यही राति त हो घर त्यागेको थियो ।
एक एक गरी बहादुर जम्मै कुरा सम्झिन थाल्यो, घरायसी नोकर भै काम गर्दा पैसा जोड्नेतिर केही सीप लागेन र ऊ भागेर सेनामा भर्ती हुन पुगेको थियो । प्रारम्भमा रङरुट रहँदा कुम, घुँडाहरूको छाला निस्किनु, परेड र ड्रिलको थकाइले लखतरान पर्नु, कहिले पनि टम्म नभरिने पेटको बाँकी भाग उस्तादका गाली र लात्तीले भर्नु आदि कुराहरू स्वाभाविकै हुन् । पछि भने उत्तिको अप्ठयारो पर्दैन रै’ छ। यस अवधिमा बहादुरले पढाइतर्फ पनि निक्कै ध्यान दिएको थियो । आज ऊ अङ्ग्रेजी केही बुझ्न र नाउँगाउँ लेख्न सक्ने समेत भएको छ । सभ्य समाजका सबै व्यवहार गर्न सक्ने मात्र होइन दुनियाँभरि कहाँको राष्ट्रपति को छ ? कहाँको मुद्रा के हो ? भनी बताउन सक्ने अर्थात् राजनीति र अर्थनीति बुझ्ने पनि भैसकेको छ ।
बहादुरलाई एक्कासि गर्वको अनुभूति भो । गाउँ-पाखाको खान-लाउन नपाउने, गाउँकै मै हुँ भन्नेहरूसँग पनि बोल्न लाज मान्ने ‘बदुरे’ बाट आज ऊ नायक बहादुर सिंह हुन पुगेको छ । तुलना नै गर्ने हो भने अशिक्षित र असभ्य सौकार र उसका छोराहरू खुट्टाको टिटे औंलीसरह पनि पुग्दैनन् होला। दुःख त कम होइन, आसाममा नागाहरूसँगको लडाइँमा गर्दन छोप्ने घाँस भएको जङ्गलबाट कैयौं पटक ओहरदोहर गर्नुपर्दा छिनछिनमा अजिङ्गर, बाघ, हात्ती र गोमन सर्पको डरले जीउ सिरिङ्ग हुने गरेको सम्झे अहिले पनि कहाली लाग्छ । हात्तीको सुँडबाट झरेको जस्तो दर्के झरीमा गोलीहरू नजिक-नजिकबाट छिरेको सम्झना पनि कम डरलाग्दो र कम रोमाञ्चक छैन तर ऊ घाइतेसम्म पनि भएन ।
अहिलेसम्मको सम्पूर्ण कैरियरमा खालि एकपल्ट डिमोशन (पद अवनति) भएको थियो । त्यो रात उसले धेरै रक्सी चढाइसकेको थियो । त्यै सुरमा याद पनि छैन कुन्नि के कुरालाई लिएर उसको र सुबेदारसाहेबको बीच अलिकता भनाभन भो । भरखरको ठिटो सुबेदारसापले साह्रै हेपेर कुरा गर्नु पनि स्वाभाविकै थियो । उसलाई भने नशाको झोकमा सुबेदारको अनुहारमा बारम्बार आई गाउँको सौकारको अनुहार गाभिएजस्तो लागेको थियो । बाक्सिङ्ग त सिकेकै थियो, उसले साँच्चिकै दुई दनक दिएकै थियो । आफूभन्दा दुई तहमाथिका अफिसरलाई कुटेर पनि धन्न डिमोशन मात्रै भो । उसले पनि यत्ति चलाकीसाथ कुरा राखेको थियो कि झन्नै सुबेदार नै फसिसक्यो । त्यसपछि त आफू कुनै वकीलभन्दा कम नभएको गुमान बहादुरलाई भैराख्ने गर्दछ । हुन पनि कम चलाक त छैन नि, ऊ हवल्दारबाट झरी नायकमा पुगेको छ तर गाउँलेहरूलाई अझै पनि हवल्दारसाप नै छ भन्ने कुरामा पूर्ण विश्वस्त पार्न सकेको छ बेला र मानिस हेरी बडो चलाकीसाथ कुरो बनाएर । ऊ मेस इन्चार्ज हुँदा पनि अफिसरहरूलाई ४-५ प्याग ह्विस्की टक्रयाइसकेपछि उनीहरूको नाउँमा लेख्दै रक्सी आफू गड्काउँदै गरेकोमा पनि कहिल्यै पक्राउ परेको थिएन ।
हो, एउटा चिट्ठीको मामिलामा पनि पक्राउ परेको त होइन, अप्ठेरो स्थितिमा भने निश्चित रूपले परेको थियो । बहादुरलाई मनमनै हाँसो उठ्यो र ऊ सम्झिन थाल्यो, घरबाट हिंडेको तीन वर्षपछि मात्र उसले घरका लागि चिट्ठी पठाएको थियो । अलिअलि अङ्ग्रेजी सिकिसकेको र आफ्नो ज्ञान र विद्वत्ता प्रदर्शित गर्ने लोभ त्याग्न नसकी उसले चिट्ठी लेखेको थियो, जसको एक एक अक्षर उसलाई आज पनि याद छ ।
उसको चिट्ठी थियो “आगे माता पिता जी के म आफूको छोरा बहादुरको तरफबाट सामसुबै खुट्टा समाती जदेउ ढोक छ जी, यहाँ शुकर छ र गाउँघरमा मंगल होस् जी, पैसा ब्यांक डिपोजिट छ, अलांग बीथ मी ल्याउने छु जी ।”
यस पत्रको जवाफ उसको पिताजीले लेखाई पठाउनुभएको थियो, “यहाँ पनि शुक्र उदय छ र मंगल अस्त छ । त्यहाँ पनि त्यस्तै छ भने त्यहाँको र यहाँको सगर एउटै रहेछ, खुशी लाग्यो । पैसाको यहाँ पनि फजित छ । १ रु. को आधा मानो मकै पनि पाइँदैन, ल्वांग र घ्यू ल्याउने छु भनी लेख्या छौ । घ्यू यहीं सस्तो पाइन्छ । ल्वांग लिई अगउनु, तिम्री आमालाई बात रोग छ घ्यूमा ल्वांग फुराई मालिस गरे ठीक हुन्छ भनी गोठे वैद्यले भनेको छ ।”
उसको बाले ‘बैंक डिपोजिट’ लाई फजित र ‘अलांग बीथ मी’ लाई ल्वांग र घी सम्झिनुभएछ । बहादुरले त्यै बेला त्यो करामत श्रीनाम पण्डितज्यूको हो भन्ने अनुमान लगाइसकेको थियो । उनलाई ठट्टा गरी स्याल पण्डितज्यू भन्ने गर्छन् । २-४ कोसमा उनीबाहेक अरूले लेखपढ गर्न सक्तैनन् यसर्थ स्याल पण्डितले यस्तै उपबुजुग्याइँ छाँट्न पाइरहेका छन् । चौबन्दी भोटो, घुँडाको अलि तलसम्मको धोती र सेतो टोपी पहिरी उनी निधारमा मात्रै होइन छाती र कानका जरामा समेत चन्दन र श्रीखण्ड लेप्छन् । चीनमा ‘हवाईजहाजलाई खैचने ढुङ्गाहरूका पहाड छन् । यसैले चीन बादशाहलाई कसैले हराउन सक्तैन’ अथवा ‘अङ्ग्रेज बादशाहले एउटा काँचको घरभित्र मर्न लागेको मानिसलाई राखी मानिसको प्राणलाई समातेको हो, सबैलाई अजम्बरी बनाउने तुजुक मिलाएको हो तर प्राण त शीशाको घरलाई फुटालेर हिंडिदियो’ अथवा ‘जर्मन र जापानका बादशाहहरू दिनमा एक गाँस मात्र खान्छन्, एक गाँस सूर्यलाई र एक गाँस धरतीलाई चढाउँछन् । यसै धर्मले यति बलिया भएका छन्’ इत्यादि गफहरू अन्तर्राष्ट्रिय मामिलामा समेत ठोकिहाल्छन्, भने शुक्र (दया) लाई शुक्र ग्रह र कुशलमङ्गल लाई मङ्गल ग्रह भनी ठोकुवा गर्नु उनका लागि कुनै ठूलो कुरो थिएन । स्याल बाजेलाई सम्झी उसलाई फेरि एकपल्ट हाँसो उठ्यो ।
* * * *
४
अनायास बहादुरको हात पतलुनको पछाडिपट्टिको खल्तीतिर गयो । उसले खल्ती थपथपायो । त्यस खल्तीमा लगभग पाँच हजार रुपैयाँ छ, उसको यतिका वर्षको बचत । फौजमा खानपिनको पैसा पर्दैन, साबुन, तेल, बिंडी, चुरोट, पालिस र बेलुकीपखको रक्सीमा मात्र खर्च हुन्छ । यी खर्चहरू गर्दा ऊ सधैं घर-परिवार सम्झिन्थ्यो । गएको बिदामा घर जाँदा चैततिर रूखका कोपिलाहरू उमाली त्यसमा दुई मुठी पीठो र एक मुठी नून हाली परिवारले खाएको कुरो सम्झिन्थ्यो । यद्यपि त्यस पटक उसले एक खेत निखनेको पनि थियो । तर अब उसकी स्वास्नी पनि खानेहरूमा थपिएकी थी । तसर्थ हरेक राति सुत्ने बेला ऊ मनमनै हिसाब गर्थ्यो । आफूले गरेका बचतको यो हिसाबले उसलाई साह्रै आनन्दित पनि पार्दथ्यो। ऊ महसुस गर्दै आइरहेको हो कि पैसा नै हो जो मानिसलाई शक्ति, सम्मान र उत्साह दिन्छ । उसको बा पनि कदकांठी र ताकतमा कम छैन; बुद्धिमा पनि पटमूर्ख छैन तर गरीबीले यति कमजोर बनाइदिएको थियो कि अरूले जति अन्याय गरे पनि प्रतिरोध गर्न सक्तैनथ्यो ।
बहादुरलाई लाग्थ्यो कि कसैले मार्ने आएमा पनि प्रतिरोध गर्ने शक्ति उसको बामा थिएन । अहिले उसको खल्तीमा जो पाँच हजार रुपैयाँ छ त्यसले त उसको परिवारमा नै नयाँ प्राणको सञ्चार गर्न सक्तछ । यसले परिवारका लागि चाहिने धेरै थोक पो किन्न सकिन्छ । फेरि किनि नै हाल्नुपर्छ भन्ने के छ र ? किन्ने सामर्थ्य छ भन्ने विश्वास लिए त पूरा काम दिइहाल्छ, वस्तुको चाहना नै हुँदैन । उसलाई याद छ कि जुन मौसममा घरभित्र नाज (अनाज) हुन्थ्यो त्यो मौसममा खाने मन साह्रै कम हुने गर्थ्यो, जुन मौसममा अनाज हुन्नथ्यो एकतारै खाऊँ खाऊँ लागिरहन्थ्यो र जति खाए पनि नअघाएजस्तै हुने गर्थ्यो ।
यसैबीच डिब्बामा एक नवविवाहित जोडा आइपुग्यो । तिनीहरूबीच मन्द-मन्द मुस्कानका साथ कुरा भैराखेको र उनीहरूको मुहारबाट नै जीवनप्रतिको उत्साह र आशा झल्किराखेकोले नवविवाहित हुन् भन्ने अडकल गर्न बहादुरलाई गाहो परेन । अब उसलाई अचम्म लाग्यो कि यात्राको पूरै समयमा आफ्नी स्वास्नीको सम्झना उसलाई एकपल्ट पनि भएन शायद चाँडै भेट हुने भएकोले हो कि ? नत्रभने दिनदिनै बेला-बेला झलझली सम्झना भैराख्थ्यो र सुत्ने बेला त सम्पूर्ण मस्तिष्कलाई त्यै सम्झनाले घेरिराख्थ्यो । उसलाई थाहा छ कि घर-स्त्रीबाट टाढा बसेको फौजीहरूका कल्पना र सम्झनाका केन्द्र आ-आफ्ना स्वास्नीहरू नै हुन्छन् र सबै गफ गर्दा आ-आफ्नो श्रीमतीको प्रशंसामा एकार्कालाई उछिन्ने प्रयास गर्दछन् ।
उसले दुई वर्षअघि बिदामा जाँदा बिहे गरेको हो, दोस्रो बिहे । पहिलो बिहे ऊ आठ वर्षको छँदा पाँच वर्षकी कन्या राधासँग भएको थियो । कन्याको गृहप्रवेश भो र दियोसँग बिहे भो । अर्को दिन खाइवरी ऊ माइतीघर फर्की । उमेर पुगेपछि उसलाई फेरि ल्याउनपर्ने हुन्थ्यो । तर केही वर्षपछि ऊ मरिसकी भन्ने खबर पाइयो । कसैकसैले आर्को पोइल दी माइतीले यो हल्ला चलाएको हो पनि भनेका थिए ।
खैर जे होस्, बहादुरको मस्तिष्कमा उसको अस्पष्ट जस्तै अनुहार छ । राधाको दायाँ गालामा तिलकोठी र त्यतैपट्टि गालामा भएको धर्सो ऊ झलझली सम्झन्छ । दोस्रो बिहे गर्दा २७ वर्षको उमेर पुगिसकेको थियो । कन्या केटी ल्याऊँ भने १० वर्षभन्दा बढी उमेरकी नपाइने हुँदा उसले एउटी परित्यक्तासँग बिहे गर्यो । उसको जीउबाट पाउडरको बासको सट्टा गोबर माटोको गन्ध आउँछ, हातखुट्टा फाटेका छन्, तर सम्झनाक्षेत्रको एकाधिकारी उही नै छे ।
यत्तिकैमा रेल रोकियो । अन्दाजी बाह्र बजेतिर कुल्लीले उसको सामान एउटा झुप्रोतिर पुऱ्यायो । शायद यसका मालिकसित कुल्लीको विशेष सम्बन्ध थियो, यहाँ यस्तै झुप्राहरूलाई होटल भनिने चलन छ । त्यस होटलको मालिकले न सलाम नै गर्यो न स्वागत नै; उल्टो भित्र पस्ने बाटोमा उभिई एउटा ग्राहकसँग झगडा गरिरह्यो ।
बहादुरले “सामान उठा” भनी कुल्लीलाई आदेश दियो र छेउको होटलभित्र पस्यो । बरु त्यो झुप्रो लिपपोत गरी सफा राखिएको थियो, पकाउने ठाउँमा एउटी आइमाई बसेकी थी । एउटा केटोले भित्रपट्टि बाबियोको खाटमा उसको सामान राखिदियो । खाना खाई ऊ पल्टयो । आज त कहीं जानु थिएन । उसले भोलि सबेरैको बसमा चढ्नु थियो, तर पल्टिंदा उसले अलि तनाव महसूस गर्यो । आफ्ना आँगनका ओखर, मौसमका रूखहरू, तुलसी बाडो र धारोको सम्झनाहरूले फेरि फेरि चाँडै घर पुग्ने आतुरता उसमा ल्याउन थाले ।
ऊ उठ्यो । बाहिर आई एक कप चिया माग्यो । पकाउने ठाउँमा बसेकी आइमाईले आई चिया दिई । बहादुर एक्कैछिन अकमकियो । अनुहार चिनेचिनेजस्तो लाग्यो । दायाँ गालामा तिलकोठी र त्यतैपट्टि एउटा धर्सो पनि उसले देख्यो । जो हाँस्ताखेरि कसैकसैका गालामा पर्न जाने खोपिल्टोजस्तै आकर्षक देखिन्थ्यो । अब उसले आफैलाई हप्कायो । कुनै पनि ठिक्ककी आइमाई देख्नासाथ उसलाई चिनेचिनेजस्तो लाग्न थाल्दछ । आसाममा एक फिल्मको सुटिङ हेर्न गएको बेला पर्दामा देखेकी फिल्म अभिनेत्रीलाई चिन्या-चिन्याजस्तो लागेर झन्नै ठूलो फसाद पर्न गएको कुरो उसले सम्झ्यो ।
म पनि कस्तो मूर्ख, ‘जति काला उति मेरै बाबुका साला’ भनेझैँ गालामा तिलकोठी भएकी जम्मै आइमाईहरू अब मेरै नाता पर्ने भए, नाता पनि क्या गजब, भूतपूर्व पति र भूतपूर्व पत्नीको नाता । मनमनै सोची बहादुरले आफूलाई नै झपार्यो । तर ‘चिटिक्क परेकी राम्री त छिन्’ भन्ने विचारले पनि बीचबीचमा आक्रमण गर्दैरहेको थियो ।
* * * *
५
बिहानै उठी बहादुरले यात्राको तयारी गर्यो । एक कप चिया पिउने साह्रै इच्छा लागेको थियो । तर त्यस होटलकी मालिकनी भर्खर आगो सल्काइरहेकी थी । ढिलो नगर्ने अठोट गरी “कति पैसा भो साहुनी ?” भन्दै उसले पतलुनको पछिल्तिरको खल्तीबाट बटुवा झिक्न खोज्यो । त्यहाँबाट पासबुक त निस्क्यो तर बटुवाको सट्टा एउटा पुरानो अखबारको पाना निस्क्यो, जो कसैले पट्याएर बटुवाजस्तै बनाई राखिदिएको थियो ।
बहादुरलाई एक्कासि छानाबाट खसेजस्तो भो । हडबडिएर अरू गोजीहरू छामछुम गर्न थाल्यो । साहुनीले एकतमासले उसको मुख हेरिरहेकी महसूस गरी उसलाई लाज पनि लाग्यो । बाकसलाई फेरि कोठाभित्र लगी उधिन्दै थियो कि साहुनी एक गिलास चिया लिएर आई । एकछिन त उसलाई चिया मिल्काइदिने झोक पनि उठ्यो, तर यो के ! साहुनीले त उसको बटुवा पनि थपक्कै भुइँमा बिसाइदिई र आँखाबाट आँसु झार्दै उसको खुट्टा छोई हत्तारिँदै आफ्नो कोठामा पसी ढोका थुनी ।
बहादुरलाई विचित्र अनुभूति भो, ठूलो भीरबाट खसी रुवाको नरम ओछ्यानमा परेजस्तो अनुभूति । ऊ एकतमासले साहुनीले भर्खर ढप्काएका ढोकाहरूलाई हेरिरह्यो । साहुनीलाई बोलाई त्यस होटलको पैसा तिर्न हिम्मत भएन । पैसा तिर्दा अब उसको ठूलो अपमान हुनेछ भन्ने उसलाई लाग्यो र ऊ सोझै बस स्टेशनतर्फ हिंडिहाल्यो ।
बहादुरलाई आजसम्म पनि बटुवा साहुनीले खसेको भेटाएकी हो अथवा जेब काट्न लगाएकी हो भन्ने कुराको यकीन हुन सकेको छैन । साहुनी उसकी पूर्वपत्नी राधा हो भन्ने कुरोमा उसलाई बेला-बेलामा विश्वास त हुन्छ । तर आसाममा भेटिएकी फिल्म अभिनेत्रीलाई चिनजानकी ठान्दा भएको फजितले उसको विश्वास डगाइदिन्छ, अनि ऊ अलमलमा परेजस्तै रङरुटहरूलाई कवाज खेलाउन थाल्छ । ठूलो स्वरमा “लेफ्ट राइट, लेफ्ट राइट” भनी कराएर यस पीडामा चोपिएको मीठो आख्यानलाई सम्झनापटलबाट उडाइदिन खोज्छ ।
(लोकेन्द्रबहादुर चन्दको कथासंग्रह ‘विसर्जन’ बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

