“एहे खरदारनी बजै ! आउनुस् आउनुस्, कताबाट ?”

आफ्नो भताभुङ्ग कोठामा बसेर खरदार सुन्दै छ र आफ्नो जनैको जुम्रा विक्षुब्ध भएर मार्दै छ । मार्दै छ र आफ्नो नङलाई नङ्ग्रा सम्झिने भूल गर्दै छ, जसले जुम्राबाहेक अरू केही मार्न सकेन- न आफ्नो अभाव, न अर्काको अभाव, न भोक, न शोक । ऊ झ्यालबाट देख्छ, खरदारनी बजै (ऊ आफू खरदार भैटोपलेकाले) पल्लो घरको पोर्टिकेमा उभिएकी रहिछ ।

चाइनिज इँटको रातो बङ्गलाभित्रैबाट घन्किँदै रहेछ ।

“बाहिर किन ? भित्र आउनुस् ।”

खरदारनी बजै (जो, यो माघदेखि पच्चीस पुगेर छब्बाीस लागी) भित्र पसी । बङ्गलाका मालिक (जो चालीस पुगेर अझैमाथि उक्लिसकेका छन् र पक्कै पनि बजैका नाति होइनन्) हिटरनेर बसेर आह्वान गर्दै छन् ।

“आउनुस् बस्नुस् सन्चै छ ?”

“सन्चै, नमस्कार ।”

नातिसामु बजै खुम्चेर सोफामा बस्छिन् । बस्ता कतै पनि बिझाउँदैन, जसरी खरदार बाजे बिझाउँछन् । रन्केको हिटरसामु पनि माघको जाडो बिझाउँछ, सँगसँगै सङ्कोच पनि बिझाउँछ । उत्सुक र प्रसन्न नातिको अनुहार सम्मुख हुन्छ ।

“अनि भन्नुस् ?”

अघि हरिहर साहूले घरमा आएर लोग्नेलाई बेइज्जत नगरेको भए ऊ यहाँ आउने थिइन । घरमै पनि के गर्नु ? यत्रा यातायातका साधन हुँदाहुँदै कहीँ न कहीँ, कतै न कतै, कसैकहाँ त हात थाप्न जानैपर्थ्यो । ‘तिरौला’ भन्ने लोग्ने र स्वास्नीको संयुक्त अठोटले गर्दा ऊ यहाँ पाँचौँपटक पनि आउन सकेकी हो । वरिपरिका अन्य ठाउँहरूका ‘पटकहरू’ गन्न अहिले सकिराखेकी छैन । यति बेइजजती प्राप्त भइसकेपछि अब केही दिनका लागि हरिहर साहूतिरबाट निश्चिन्त भए हुन्छ । तर वर्तमान त काखमै छ, फुल्याउनु कि रुवाउनु ? फुल्याउनै पर्यो ।

“कति कामले आउनुभएको थियो ?”

“ए अँ, अलिकति घरायसी किनमेल थियो…यहाँसित ।”

फेरि बिझायो, सोफा होइन सङ्कोच । पाँचपटकमा पाँचवटा तगारा । सबै तगाराहरू एकै चोटि फट्किन कति गाह्रो ।

“ए, बुझेँबुझेँ, कति चाहियो ?”

“अहिलेलाई गोडा पच्चीसेक भए…!”

ऊ तगारोसित अचम्म मानेर हेर्छे, बुरुक्कै फड्किसकिएछ ।

“ल लिनुस्… अँ, खरदार बाजेलाई भन्नुहोला यसो सिमन्टी पत्तो लगाइराख्ने भनेर । ग्यारेजमा काम छ ।”

“हजुरलाई पछिको पनि हिसाब दिनु छ…।”

“भोभो दिनु पर्दैन, काम चलाउनुस् । यो त मैले हिजो पप्लुमा जितेको ।”

ऊ दातातिर हेर्छे । दाता विधाताझैँ टुलुटुलु ऊतिरै हेर्दै रहेछन् । ऊ झस्केर हातको ‘जिताउरी’ पट्याउन थाल्छे । ‘दिनु पर्दैन’ले धेरै कुरा लिन खोजेजस्तो लाग्छ । के-के ? विवरण स्पष्ट छैन । अस्पष्टताले कुनै अन्योलमा पार्दैन । बुझेर नबुझ्नुलाई नै व्यावहारिकता भन्दछन् । आदर्श ज्ञान र व्यावहारिक अज्ञानको रेखा कहीँ न कहीँ गएर अवश्य काटिएला र एउटा कुनो (कोण) बनाउला । यी दुवै कहिल्यै समानान्तर हुँदैनन् । एक न एक दिन ज्ञानले अज्ञान भेट्टाउँछ र अज्ञानले ज्ञान । अनि, भेट हुने कुनामा पप्लु चल्छ । एउटा हार्छ, अर्को जित्छ ।

ऊ हातको ‘जिताउरी’ अभ्यासवश चोलोमा हाल्न खोज्छे तर विधाता सामु हुनाले यसो गर्न सक्तिन । ‘स्वास्नीमान्छेले सम्पत्ति कि त चोलोमा हाल्नुपर्ने, कि त पेटीकोटमा । के यस्तो चलन होला ? लोग्नेमान्छेका भने जताततै गोजी नै गोजी छन् ।’ यो सोचेर उसलाई झर्को लाग्छ । ‘जीताउरी’लाई हत्केलामा जोडसित अँठ्याउँछे । अब समापन भाषण पनि हुनुपर्यो ।

ऊ भन्छे- “यस्तो सङ्कटमा हजुरले यति गुन..!”

“आ, केको गुन ? फेरि पनि सारोगारो परे, आए हुन्छ नि ।”

“हस्, नमस्कार !”, अनुहार उज्यालो छ ।

“नमस्कार !” अनुहार झन् उज्यालो छ ।

घरमा आउँदा दुवै छोरा पाठ घोक्तै रहेछन् । लोग्ने खुइलिएको जर्किनमा ठुटो खोजेर धुवाउँदै रहेछ । लोग्ने र छोराहरूलाई देखेर उसले विधातालाई बिर्सी र समस्या समाधानको उज्यालो मुखले हाँसी ।

“दियो ?”

“दियो, पच्चीसवटा । यति नै माग्ने भनेको होइन ?”

“अँ, लौ काम चलिहाल्यो आज त माछा पनि पर्ने भएको छ ।”

“कहाँ ?”, खोलामा हैन अफिसमा क्या ! कस्ती लाटी रै’छ ।” बाठो लाग्नेले लाटी स्वास्नीलाई कुरा बुझायो ।

“अलि ठूलो माछा परे पो । कहिलेकाहीँ पार्नुहुन्छ, त्यै पनि बुदुना र भोटी ।”

“असला पर्छ क्या असला । अनि, त्यो हरिहरको मुखमा बुझो ठोकौँला ।”

“असल कत्रो हुन्छ र ? त्यै हरिहरको मुखमा पनि नअटाउला । मदिसे रहु परो पो अलिक दिन ढुक्क होला ।”

“तेरो खरदारको मात्रै मुख छ, हैन ? अफिसमा अरू त छँदै छैनन् ? जत्रो जाल, त्यत्रै माछा ।”

छोराहरू माछाको प्रसङ्ग सुनेर पाठ बिर्सिन्छन् ।

सानो छोरो, “कत्रा माछा ल्याउने बा ?”

ठूलो छोरो, “एफ-आइ-एस्-एच् फिस, फिस माने माछा ।”

“चुप लाग्, पढ्नुसढ्नु छैन । पढ् बसेर ।”

दुवै एकसाथ भन्छन् र बेग्लाबेग्दै झर्किन्छन् । अनि, आफ्नो कुराको प्रसङ्ग सम्झेर दुवै फेरि मुखामुख हुन्छन् ।

“त्यो आएपछि म एउटा सारी किन्छु, ल ? बाहिर निस्किन पनि लाजमर्नु भैसक्यो ।” ऊ झल्याँस्स विधातालाई सम्झिन पुग्छे ।

अनि सम्झिएरै फेरि भन्छे, “उनले यी रुपियाँ फर्काउनु पर्दैन भनेका छन् ।”

आफ्नो थात्रो जुत्ता सम्झिराखेको ऊ झस्केर सोध्छ, “किन ?”

“कुन्नि ? पप्लुमा जितेका रे, दिनु पर्दैन ।”

ऊ घोरिएर स्वास्नीतिर हेर्न थाल्छ, भनिसकेपछि ऊ पनि झस्किएर लोग्नेतिर हेर्न थाल्छे । आफ्नो सारी किन्ने हिसापको तानामाना मिलाउन खोज्दा उसको सुद्धि हराएछ, यसो भन्दा कसो पर्दा भनेर । ऊ देख्छे, लोग्नेको आँखामा परम्परागत पुरुष ठिङ्ग उभिएको रहेछ । ऊ छोराहरूसित हेरेर सहज हुन खोज्छे ।

“हामी माग्ने त होइनौँ ?”

घरव्यवहार भएको मान्छे माग्ने हुँदैन अनि सापटी लिने चलन नौलो पनि होइन । सापटी फर्काउने चलन पनि छैन- गाउँघरदेखि अन्तर्राष्ट्रियस्तरसम्म । अन्तर्राष्ट्रिय जतगमा कसले कसको सापटी फर्काएको छ र ? बरु त्यसको सट्टा केही भित्री कुरा गए जाओस् । भित्री कुरा गए कसले देख्छ र ? आफूले मात्र बुझिन्छ, जानिन्छ, अनुभव महसुस गरिन्छ । बुद्धि बढेर आउँछ । बुद्धत्वले छुनछुन आँट्छ । कन्तुरको इज्जत कन्तुरकै रहन्छ । माग्ने त भइँदैन ?

एस.एल.सी पास गरेर अखबार पढेको बुद्धिले यति तर्क गरेपछि ऊ टोलाइराखेकी स्वास्नीतिर फर्केर फेरि सोध्छ,

अघिभन्दा किञ्चित् कठोर स्वरमा, “हामी माग्ने त होइनौँ ।”

स्वास्नी दलिन-भित्ता हेर्दै छे । उसलाई थाहा छ, यो लोग्ने मात्र होइन ‘लोग्नेमान्छे’ पनि हो । बहस गर्नु व्यर्थ छ । बरु झोला बोकाउनु बेस । अनि, बल्ल खाली झोलाको शून्यमा ‘लोग्नेमान्छे’ हराएर झोला बोकेको लोग्ने चतुर्भुज विष्णुझैँ ठिङ्ग उभिनेछ ।
“उनको भन्ने काम, भने । फर्काइदिउँला । ल, यो झोला लेऊ ई, रुपियाँ पनि । दुई किलो चुरोट पनि ल्याउनू । कति ठूटो खाएको-नखानू भन्छन् । टिबी हुन्छ रे ।”

झोला हातमा परेपछि उसले पनि परिस्थिति बुझ्यो । तिर्छु भनेपछि मन कत्रो भएर आउँछ । बुझ्ने होइनन् यिनीहरू । उसले झोलाको झटाराले खाटमा उक्लिँदै गरेको साङ्लोलाई हिर्कायो ।

“ए, अँ सिमन्टी खोजिदिनू भन्थे…।”

“मैले काम पाएको छैन र ? सक्तिनँ म त्यो सालको सिमन्टी लिमन्टी खोज्न ।”

“किन चिच्याएको ? सुन्लान् क्या, जसको खायो उसैलाई गाली गर्नु त भएन ।”

बाठो लोग्नेले फेरि कुरा बुझ्यो र चुप लाग्यो ।

चुप लागेपछि गुम्सियो र रन्थनिँदै झोला बोकेर बाहिरियो ।

“एफ्-आइ-एस्-एच फिस, फिस माने माछा ।”

“आमा, ख्वै माछा ?”

ऊ सडकमा आएपछि अनुहार छाम्छ, खस्रो लाग्छ । ब्लेड पनि किन्नुपर्ने । ऊ अझै रन्थनिएकै छ । तर सडकमा रन्थनिएर हिँड्नु भएन किनभने कुनै रन्थनिएको बाहनसित जुध्न पुगिएला ।

एउटा ल्याम्पोस्टरनेर एक छिन उभियो ।

भएन, हुँदै भएन । ठ्याम्मै हिसाप मिलेन । बरु पचास माग्नुपर्ने रहेछ । के थाहा, यति सजिलै पाइएला भन्ने । नत्र…कसरी आदर्शवादीहरूले भौतिकवादीहरूसित रुपियाँ खुस्काउँछन् कुन्नि ?

थाप्लोमाथि गुलुप रहेछ, राति बल्ने । अहिले त सूर्य बोलिराखेको छ, झल्लमल्ल । प्रकाश आँखासम्म आइपुग्छ, भित्र पस्दैन । त्यहीँबाट रिफ्लेक्ट भएर चारैतिर छरिन्छ र सबै कुरा देखिन्छ । देख्छ, बीस रुपियाँ घरखर्च, जतिसुकै आओस् र पाँच रुपियाँ आफ्नो गोजीमा । माछा समात्न अफिस पनि त पुग्नु छ । यसरी माछा निहुँको हिसापले आफूलाई सन्तुष्ट पारेपछि ऊ ल्याम्सपोस्टको छायाबाट अगाडि लम्किन्छ । यति वैज्ञानिक ढङ्गले त उसको अफिसको एकाउन्टेन्टले पनि अडिटरलाई सन्तुष्ट पारेको थिएन होला । अडिटर र ऊ सन्तुष्ट हुने एउटै गाँठी त हो, गोजीमा पाँच रुपियाँ ।

अनुहार छाम्छ, खस्रै छ । दिक्क लाग्छ । पिउन गोकुलकी स्वास्नी, गाउँबाट आएकी कान्छीलाई फकाउन जाँदा पनि के यही अनुहार लिएर जाने ? छिः छिः यो त भएन ।

अनि कान्छी पनि गाउँघरका जुँगामुठेहरूको बल्छीबाट फुत्किँदाफुत्किँदा छल्न खप्पिस भएकी रहिछ । उसको जालमा पर्दैपर्दिन । हरे राम । गरिबालाई कतै सुख छैन । होस् खस्रै अनुहार ।

बीस रुपियाँको जे-जति आउँछ, किन्यो ।

अब गोजीमा पाँच रुपियाँ छ, उसको आफ्नो निजी सम्पत्ति । यसैबाट अब रोबरबाफ कर्म-कुकर्म, धर्म-अधर्म सबै गर्नुछ ।
पाँच रुपियाँ छ । पुलकित छ ।

ऊ यस लाइनको सबैभन्दा राम्री साहुनीकहाँ पुग्छ चुरोट किन्न । साहुनी, होटेल, क्लब, पार्टीमा जाने डाँफे-मुनालजस्तो ‘चराचुरुङ्गी’ त होइन तापनि भँगेरो-फिस्टो त हो नै ।

“दशवटा गैँडा देऊ त साहुनी मैयाँ ।”, ऊ अर्थपूर्ण ढङ्गले मुसुक्क हाँसेर पाँचको नोट दिँदै भन्छ ।

“साहुनी मैयाँ” शब्दले गर्दा झस्केर ऊतिर हेर्छे । ऊ पासो थापेर बसेको सिकारीझैँ चनाखो भएर साहुनीतिर हेर्दै छ ।

साहुनीले उसको आँखा र हँसिलो अनुहारमा के देख्छे कुन्नि, छिटोछिटो बट्टा खोलेर दशवटा गैँडा चुरोट ऊतिर लम्काउँदै कन्तुरमा चानचुन खोज्न थाल्छे । ऊ दशवटा चुरोटको साथसाथै पाँचवटा औँला पनि तान्न खोज्छ, हुँदैन । साहुनीको ध्यान चानचुन खोज्नतिर लागेकाले यस कुरातिर कुनै वास्ता हुँदैन ।

“चानचुने त छैन बाजे, अरू के चाहिन्छ ?”

‘बाजे’ले उसलाई झस्काएर ‘नाति’छेउ पुर्याउँछ । नातिझैँ मुसुक्क हाँसेर रबाफिलो स्वरमा अर्थपूर्ण दृष्टि दिँदै भन्छ, “भैगो, दिनु पर्दैन ।”

ऊ निधारमा गाँठो पारेर भन्छे, “किन ?”

किन ? ऊ अलमलिन्छ । ऊ अलमलमा परिराखेकै बेला साहुनीले पसलभित्रको सानो ढोकाबाट के भन्छे, कुन्नि, एउटा लोग्नेमान्छ त्यहाँबाट गोजीमा हात हाल्दै बाहिर निस्कन्छ र चानचुन पैसा ऊतिर लम्काउँदै रिसाएको स्वरमा भन्छ, “लेऊ ।”

ऊ परिस्थिति नबुझेर ‘नाति’कै कल्पनामा रङमङिँदै उस्तै रबाफिलो स्वरमा घोषणा गरेझैँ भन्छ, “भैगोभैगो पर्दैन ।”

“किन पर्दैन बज्या ?” भनेर उसले चानचुन पैसा भुइँमा छर्दै उसको खुइलिएको जर्किन समातेर मुन्ट्याइदिन्छ ।

पैसाको साथै झोलाका चीजबीजहरू पनि छरिएछन् ।

ऊ ‘नाति’को प्रभावलाई मनमन सराप्तै आफ्नो अभाव बटुल्न थाल्छ ।

“के भो ?, के भो ?”

मुन्टो उचालेर पुलुक्क हेर्दा उसलाई लाग्छ, त्यहाँ ‘साहुनी मैयाँ’को सट्टा ‘बजै मैयाँ’ ऊतिर हेरेर मुसुमुसु हाँस्तै छिन् ।

मानिसहरू बटुलिन्छन् । मात्र तमासा हेर्न ।

(मनु ब्राजाकीकाे कथासङ्ग्रह “तिम्री स्वास्नी र म”बाट)