केवल एउटा ढुङ्गा बाँकी थियो, आफ्नो भन्नलाई र घर भन्नलाई। ढुङ्गा ? हो, एउटा विशाल चट्टान भनूँ। पातलो हुँदै भुइँमा गाडिएको थियो। मास्तिर विशाल फिँजिएको त्यसै चट्टानको विस्तृत भाग थियो, कथामा वर्णित शेषनाग ।

उसलाई शेषनागले यसै गरी ढाकेर शिशु कृष्णलाई ओत दिएको कथा थाहा थियो । सोच्न थाली, ‘शेषनागले डस्न पनि त सक्दो हो ? कृष्ण भएर डसेन। म त एउटी यस्ती आइमाई, यो ओत दिने ढुङ्गाले थिचिदिन के बेर ?’

चारैतिर त्यही एउटा ढुङ्गाबाहेक त्यसले अरू थोक केही देखिन, जहाँ ऊ बस्न सकोस्। कहिलेकाहीँ यसो थामिए पनि पानी निरन्तर परिरहेको थियो ।

त्यो ढुङ्गा अलिक भिरालोमा गाडिएको वा अडेको थियो । नत्रभने तलतिर त पानीबाहेक केही छँदै थिएन । मास्तिर सानो जङ्गल र झारपात थियो । पानी थामिनासाथ त्यतै गएर कुनै चिनेको, कुनै नचिनेकै भए पनि खानेजस्तो कुरो उखेलेर वा टिपेर ल्याउँथी । सलाई हुन्जेल ऊ आगो सल्काएर एकदुई वटा बाँकी रहेका भाँडोमा पकाउने खाने गर्दथी । सलाईका काँटी सकिँदै गएपछि उसले त्यहीँ एउटा सानो खाल्टोनिर भुङ्गो बनाएर आगो साँच्न थाली ।

त्यहाँ सडक पनि थिएन । गोरेटो पनि थिएन । थिए र अब थिएनन् । त्यस कारण कोही कतैबाट आउने परिस्थिति पनि थिएन । कुनै हेलिकप्टर पनि देखिएको थिएन । सके बस्ती नभएकाले होला । केवल एक पटक त्यसको भाग्यले, एउटा हेलिकप्टर मास्तिर उडेको देखिएको थियो । कुनै चमत्कारजस्तै एउटा पोको खस्यो । त्यसभित्रका खाद्यसामग्री छ्याल्लब्याल्ल भए । त्यो यति आनन्दित भएकी थिई, जस्तो जीवनको कुनै अप्राप्य सुख देखेको होस् । पोकोभित्र चामल थियो, अरू के थियो र ? तर त्यसले चामल देख्न नपाएको समेत धेरै दिन भइसकेको थियो । त्यस कारण चामललाई मुठीमा कसेर अर्को हातमा झार्दै धेरै बेरसम्म खेलिरही । यस्तो उसले बाल्यकालमा गरेकी थिई । त्यस बखत उसलाई त्यही आफ्नो बाल्यकालको सम्झना आयो । ऊ विभोर भई । धेरै दिनदेखि त्यसको स्मृतिले त्यसलाई धोका दिएको थियो । त्यो केही पनि सम्झिने लायक थिइन । ढुङ्गामुन्तिर ढुङ्गा बनेर बितिरहेकी थिई ।

फरक यति थियो, ऊ सास फेर्थी, चलहल गर्थी । खानेकुरा खोज्न जान्थी र जे पायो त्यही पकाएर वा काँचै खान्थी । निदाउँथी। ब्युँझन्थी । निवृत्त हुन जान्थी । कतै कोही नभएकाले जहाँ पनि बसिदिन्थी । पानीको समस्या त छँदै थिएन । जहाँ पानी नै समस्या होस् त्यहाँ पानीको के समस्या होला ?
एकान्तको यस्तो भयावह रूप ऊ भोगिरहेकी थिई, जुन कुनै पनि मनुष्यको कल्पनाबाहिर थियो ।

मान्छेभित्रै भए पनि हुँदो रहेछ क्यार ? नत्र ऊ केसित डराउने ? त्यहाँ मान्छे त छाडिदिऊँ, जनावरसमेत सखाप भएका थिए। कहाँसम्म भने चराचुरुङ्गीको आवाज नसुनेको पनि जुग भएको जस्तै लागेको थियो उसलाई ।

कति दिनदेखि सूर्यको स्पर्श पनि थिएन, हरसमय साँझ परेजस्तो देखिन्थ्यो । त्यसैले हो कि केले हो, राति आउनुपर्ने अदृश्य कीराहरूका एकनास आवाज जुन क्षण पनि सुन्न सकिन्थ्यो । राति त्यो आवाज झन् भयावह भएर चर्किन्थ्यो । त्यही आवाजको सङ्गत थियो, जसले एकान्त झन् बढाइदिएको थियो ।

त्यस दिन चामल देखेपछि ऊ आश्चर्य मानेर एकछिन उभिरही । त्यसले आकाशतिर हेरी, जस्तो ईश्वरले त्यसलाई केही समय बाँच्ने आदेश दिएका हुन् । त्यसको मनमा उदेकलाग्दो किसिमले आफू बाँचेको आभास उक्सेर आयो ।

त्यो मास्तिर उक्ली । चिङ्ना बटुल्न थाली । ती भिजेका थिए । तैपनि त्यसको उत्साह निकै तातेको थियो । त्यसले चामल बटुलेर पानीले पखालेर भिजाइदिएकी थिई । धूलो थिएन, त्यस कारण हिलोमा छरिएका चामलका दाना पनि त्यसले सोहारेकी थिई । पानीले हिलो सजिलैसित पखालिदियो । पहिलेपहिले तीन पानी पखालेर चामल भिजाउँथी । अहिले ६-७ पानी पखाली। त्यस क्रियामा पनि त्यसलाई आनन्द आइरहेको थियो । चाहिरहेकी थिई, चामलबाट हिलो अझै २-४ पानी पखालुन्जेल रहिरहोस् ।

कति दिनपछि त्यो भात खान पाइरहेकी थिई । केटाकेटीमा निस्तो भात खानुपर्दा भात छरिदिन्थी । दालभात खाँदा थालको बिटमुन्तिर भात पोख्दथी । त्यसकी आमा गाली गर्थी, ‘हरे, यसरी अन्नलाई हेला गरिस् भने अन्नले सराप्छ ।’

‘अन्नले सरापेर के हुन्छ त आमा ?’ त्यसले सोधेकी थिई ।

आमाले भनी, ‘यसरी पोख्दा, जुन दिन तेरो पेट भर्नेजति भात पोखिन्छ, एक छाक तँ भोकै पर्छेस् ।’

‘कहिले आमा ?’ त्यसले मनोरञ्जन गर्दै सोधेकी थिई ।

‘कहिले भन्छेस् ? यही जुनीमा, अर्को जुनीमा होइन । तँ जति पोख्छेस् त्यति दिन तैं भोकै पर्छेस्, मलाई के ?’ आमाले गम्भीर भएर भनेकी थिई ।

आमाको एउटा सहज तर्कमाथि त्यसको त्यत्तिकै सहज अविश्वास थियो । त्यसले गर्दा त्यो हाँस्न थालेकी थिई ।

चामल पखाल्दै त्यही सम्झिन थाली । सोची, ‘आमाले भनेको त परिस्थितिले मिलाएर ल्याइदियो । तर यति छाक भोको बस्नुपर्ने गरी त मैले पोखेकी थिइन ? त्यति अन्न त हाम्रो घरमा छँदै थिएन, अनि ?’

त्यसलाई सम्झना भयो, त्यो चामल सिद्धिएपछि त त्यसले फेरि भोकै बस्नुपर्छ । कहिलेकाहीँ फ्याटफ्याट गर्दै केके भएर किनारामा पछारिन आएका मरेका माछाहरू त स्वादिष्ट र उत्कृष्ट भोजन हुन् । अलिअलि गनाउने अवस्थामा फेला परे पनि माछा भनेको माछै हो । एकाध पटक त त्यसको पेटको रित्तोपनाले ब्रह्माण्ड देखायो कि अन्धकार देखायो भन्नु, त्यसले भ्यागुतो खाँदा त्यसलाई दिगमिग नलागेको होस् । २- ३ पटक बमन नै भएको थियो । केही दिन त त्यतातिर हेर्दै हेरिन । रुखका पात भए पनि खाएकी थिई । तर एक दिन फेरि एउटा राम्रो भ्यागुतो फेला पर्यो । त्यसले आफ्नो यताउति छामी । दुईचारवटा थोत्रा नोट पनि वस्त्रबाट ननिस्केका होइनन्, तर ती नोटलाई जति रुपियाँका नोट माने पनि हुने अवस्था थियो । एकलाई हजारको माने पनि भयो, हजारलाई एकको माने पनि भयो । नोटको भाउ पहिले पनि कमबेसी हुन्थ्यो । तर यति खस्दो रहेछ, त्यसलाई थाहा भयो ।

नोटले एउटा भ्यागुतो पनि किन्न नसकिने थियो । भ्यागुतो बरु निःशुल्क उपलब्ध भइरहेको थियो । त्यसबाट त्यसले बुझी नोटको भाउ त्यहाँ निःशुल्कभन्दा पनि तल झरेको थियो ।

त्यसले आफ्नो तर्क आफैँ निर्माण गरेकी थिई । नखानु एक पटक खाइहालियो, अब त्यो खाएकोलाई नखाएको तुल्याउन कहिल्यै सकिन्न । धर्म भ्रष्ट भए पनि पहिल्यै भइसक्यो । अब फेरि त्योभन्दा बढी अरू के होला त ? विश्वामित्र ऋषिले कुकुर खाएका थिए रे, मैले भ्यागुतो खान के हुन्छ ? दिगमिग लागे लाग्ला यत्रैसित, पेट त भरिन्छ । उसलाई आफैँ अचम्म लागेको थियो दिगमिग नलाग्दा । तर एउटा कुरो अनौठो थियो । त्यो प्राणी पनि अब फेला पर्न छाडेको थियो ।
त्यस कारण चामल देखेर उसको शरीर मात्र होइन, सम्पूर्ण अस्तित्व रक्तिम आभामय भएको थियो।

त्यो नायक रबिन्सन क्रुसो थिइन न कुनै संन्यासिनी थिई । तैपनि त्यस बखत त्यसले दुवैको भार सदाशयतापूर्वक वहन गर्नुपरेको थियो । भय पनि त्यसलाई अब आफ्नो स्वभावको एक अनिवार्य अंश जस्तो लाग्न थालिसकेको थियो ।

भयको कारण, बाहिर मान्छे वा जनावरका रूपमा भए भाग्ने वा जोगिने प्रयत्न गर्थी, तर त्यस्तो थिएन । त्यो भय कहाँ थियो कहाँ ? तर यति स्वाभाविक थियो कि कुनै दिन भयभीत भइन भने त्यसलाई लाग्न थाल्थ्यो, कतै म मनुष्यबाट ढुङ्गामा त परिणत भइरहेको छैन ? त्यसपछि त्यो कसै गरी र कतै बाट भए पनि भयको झिल्को झिकेर आफूलाई तताउँथी ।

त्यसै गरी सुरक्षा पनि कहाँ थियो कुन्नि ? ऊ भने दिनको कैयौँ पटक दोहोऱ्याउँदथी, म यहाँ सुरक्षित छु, निरापद छु । मलाई यो ढुङ्गाले शरण, सुरक्षा र निर्भयता दिनुसम्म दिएको छ ।’

एउटै ढुङ्गाले त्यसलाई दुवै थोक दिएको थियो । गजबको आशङ्का दिएको थियो । राति सुत्दा सधैँ त्यो ढुङ्गालाई कृतज्ञ दृष्टिले हेर्दथी । भोलिपल्ट बिहान ब्युँझनासाथ सबभन्दा पहिले ऊ आफ्नो शरीरलाई चारैतिर छाम्दथी । कतै त्यो ढुङ्गोमुन्तिर किचिएकी त छैन । त्यसपछि क्रमशः आँखा उघारेर ढुङ्गोलाई हेर्दथी । ढुङ्गो त्यसलाई त्यसै गरी ओत र आश्रय दिएर उभिएको देखिन्थ्यो । मान्छे बाँचेको भए पनि केही थिएन । मानवनिर्मित कुनै वस्तु भएको भए पनि मान्छे थियो भन्ने आभास हुन्थ्यो । त्यहाँ दुवै थिएनन् ।

मानव र मानवनिर्मित वस्तु दुवैका रूपमा त्यहाँ, त्यतातिर त्यही मात्र बाँकी थिई । केही दिनअघि त्यहाँ एउटा सानोतिनो बस्ती थियो । गाउँ थियो । गाउँको नाउँ थियो । बाटो थियो । थोरै भए पनि मान्छेको आवतजावत थियो ।

कहिलेकाहीँ कोहीकोही जिस्कने जातका मानिस आउँथे र भन्थे, ‘तिम्रो अहिले छोराछोरी पाउने बेला भएको थिएन, किन भएको यति चाँडो ?’

‘आफूले भनेर हुन्छ त ?’ त्यो जबाफ दिन्थी ।

‘किन हुँदैन ?’ जिस्किने मानिस भन्थ्यो, ‘आफूले लोग्नेलाई भनेर हुन्थ्यो ।’

‘के भन्नु ?’ त्यो अचम्मसित सोध्थी । भित्र अलिकति लज्जा पनि नहुने होइन ।

‘त्यही भन्नु नि, जुन तिमी आफैँलाई भन्न मन लागेन होला त ?’

‘छ्याः, कस्तो कुरा गरेको ?’ त्यो यसभन्दा अघि आफू जान नसक्ने देखेर अन्तिम पटक लाज मान्दै भन्थी । त्यसको तीन महिनाकी एउटी छोरी थिई । त्यसको कुनै न कुनै स्तनसित दिनरात यस्तरी टाँसिएकी देखिन्थी कि लाग्दथ्यो छाडेर हल्लाइदियो भने पनि दाँतले मुन्टो च्यापेरै भित्तेघडीको लिबलिबे जस्तै हल्लिरहन्थी ।

लोग्ने बेलाबेलामा कामको खोजी गर्न बाहिर गइरहन्थ्यो । आएको बखत कि बाबुलाई दुःख हुन्थ्यो कि छोरीलाई । छोरीलाई कसै गरी मुन्टोबाट छुट्टयाइन्थ्यो । एकदुई दिन बाबु तिनको उपयोग गर्थ्यो फेरि काम खोज्न हिँड्थ्यो ।

घरमा जम्मा एघार जना थिए । केटाकेटी बूढाबूढी सब गरेर ।

लोग्ने जाँदा सब थोक रित्त्याएर तन्नमटाट भएर जान्थ्यो । आउँदा भरिभराउ भएर आउँथ्यो, पैसा र शरीर दुवैले ।

त्यसलाई खल्ती भरि नोट राखेर उसमाथि लम्पसार परेको र आफूमाथि सब थोक खन्याइरहेको पति असाध्य मन पर्थ्यो यद्यपि त्यसको बाद खल्ती त उसको फुकालेर कतै झुन्ड्याइएको हुन्थ्यो तैपनि पतिको आफ्ना लागि गरिएको परिश्रम देखेर त्यसलाई माया लाग्थ्यो ।

पैसा कमाउन कति गारो हुँदो रहेछ त्यो सोध्दथी । लोग्नेको पसिना पुछ्दै भन्थी, ‘अब नजानुस् न, जसोतसो गरेर चलाउँला नि ।’

लोग्ने त्यस कुरालाई प्रत्येक स्वास्नीले लोग्नेलाई माया देखाउनलाई भन्ने शब्दहरू भन्ठान्थ्यो र चुप लाग्दथ्यो । कहिलेकाहीँ भन्थ्यो पनि, ‘होइन, तँलाई म चाहिया कि…के चाहिया ?’

‘त्यस्तो होइन क्या ।’ त्यो भन्थी, ‘तपाईं हुँदा एउटा ओतमुनि छु जस्तो लाग्छ।’

‘अनि पैसा भएन भने, मेरो ओत ढुङ्गाको ओत जस्तो हुन्छ नि त।’ लोग्ने भन्थ्यो, ‘खस्रो र चलहल नगरेर ठिङ्ग उभिएजस्तो।’

त्यो चुप लाग्थी । लोग्ने निस्किसकेको हुन्थ्यो । त्यो छोरीलाई मुन्टो चुसाउनतिर हुन्थी ।

एक रात त्यस्तो सारा व्यवहार सम्पन्न भएपछि तिनीहरू निदाए । छोरीका लागि रातभरि आफ्नो दाहिने स्तन उघारेर राख्दथी । राति ब्युँझी भने पनि आफैँ चुस्न थाल्थी र फेरि निदाउँथी । त्यो त्यसले आफ्नै सुविधाका लागि गरेकी थिई, नत्र राति छोरी रुन्थी । निद्रा खलबल्याएर उठ, चोलो फुकाल अनि अनेक झ्याउलाहरू ।
छोरी र त्यो मात्र त्यहाँ सुत्दथे, त्यस कारण छाती उघार्नमा आपत्ति थिएन । लोग्ने हुँदा त झन् शरीरमा चोलो नै रहन दिँदैनथ्यो, समस्यै समाप्त। धोती पनि लोग्ने बिहानीपख ओढ्नेजस्तो ओढ्ने गर्दथ्यो ।
त त्यो एक रात तिनै कुराहरू त्यसै गरी घटित भए। लोग्ने धेरै बेरसम्म ब्यूँझिन चाहन्थ्यो। स्वास्नीले भनी, ‘अब अरू कुरा भोलिलाई राखौँ ।’
‘किन ? गर्ने जफत कुरा सकेर भोलि फेरि दोहोऱ्याउन वा नयाँ कुरा पाउन सकिन्न ?’ लोग्ने अझै अलिकति अतृप्त र उत्तेजित थियो, त्यस्तो त्यसले अनुमान गरी । त्यसले भनी, ‘तपाईं आउनुभएको भनेरै आज बिहानदेखि काममा जोतिएकी जोतियै छु। साँझ पर्दै भाँडापानीसमेत सिध्याएर बसेकी थिएँ । थकित छु। त्यसैले भोलि भनेकी ।’ को कतिखेर सुत्यो त्यो थाहा भएन । महत्त्वपपूर्ण पनि भएन ।

महत्त्वपूर्ण भयो त्यो एउटा दीर्घ मूर्च्छनाबाट ब्युँझिछ । निद्रा होइन । निद्राबाट ब्युँझनु अघि नै मूर्च्छा परेर आएको बेहोसी ।
पिठिउँमा त्यसको अत्यन्त पीडा भइरहेको थियो । शिरमा पनि छामेर हेरी। पिठिउँमा एउटा घाउ भएको रहेछ । चोलो संयोगले लगाएर सुतेकी रहिछ। तर त्यसको दाहिनेतर्फको पाटो सधैँझैँ उम्रेको थियो, छोरीका लागि । त्यसले एक अभूतपूर्व अत्यासका साथ चारैतिर छोरीलाई खोजी । यस पटक मुन्टो आफैँ छुटाएर छोरी बेपत्ता भएकी थिई ।

लोग्ने कतै थिएन । घर थिएन । घरका अरू नौ जना पनि थिएनन् । केवल त्यही एक जना कसरी बाँकी भई । बस्ती थिएन । बाटो र आउनेजानेहरू थिएनन् । पानी नै पानी थियो । त्यो बिचेत भएर ब्युँझेको त्यही भिरालो थियो ।

त्यो रुन थाली । त्यसपछि रुन पनि सकिन । त्यस्ता अप्रामाणिक र अनुपस्थित व्यक्तिलाई हराएको भन्ने चलन थियो । तिनलाई मृत भनिँदैन । त्यस कारण त्यो पनि तटस्थ भएर जसरी सक्दथी हिँड्न थाली ।

एक ठाउँमा दुई जना केटाकेटीका लास देखी । वास्तवमा त्यसले देखेको बस्तीको अन्तिम चिह्न तिनै दुई लास थिए । त्यसैले दुवै बच्चालाई पालैपालो बोकी र लगेर बगिरहेको पानीमा मिल्काइदिई । केहीबेरसम्म ती केटाकेटीका ओल्ट्याङपल्ट्याङ गरिरहेका लासलाई हेरिरही । वास्तवमा त्यस बखत त्यसले तिनीहरूका लागि गर्न सक्ने सर्वश्रेष्ठ मानवीय सेवा नै त्यही थियो भन्ने सोची । यद्यपि त्यो त्यस बखत एउटा यस्तो गहिरो क्षतिभित्र थिई, जहाँ न दुःख न सुख, न अँध्यारो न उज्यालो भन्नुपर्ने हुन्छ तापनि केटाकेटीका लासहरू बगाएपछि त्यसले एउटा होलोपनको अनुभव गरी, एउटा विक्षिप्त होलोपनको । किनभने, केहीबेरपछि नै त्यसलाई कुनै होस रहेन, त्यसले के गरेकी थिई अथवा त्यसले के गर्नु छ । त्यो त्यही विक्षिप्त होलोपन खोज्नलाई जथाभाबी हिँडिरही कतैकुनै लास भेटियो भने त्यसै गरी बगाएर धर्म गर्छ भन्ने सोच्दै ।

त्यसो गर्दागर्दै त्यसले त्यो विशाल ढुङ्गो फेला पारेकी थिई । त्यसको जीवनलाई ढुङ्गाजस्तै व्यवस्थित बनाइदिने, थाहा भएन । अनुमानभन्दा माथिको त्यो नितान्त अपरिचित शोकलाई त्यसको मनले कुनै आकार नै दिन सकेन । त्यसै बखत त्यसलाई पहिलो पटक लागेको थियो, कतै यो ढुङ्गामुन्तिर म पनि ढुङ्गै त भइनँ ?

त्यस रात रातभरि पानी परेको र पानी बगेको आवाज सुनेर बिताई, भोक पनि लागेन, निद्रा पनि लागेन । वरपर बेलाबेलामा सानोठूलो पहिरो गएको आवाज सुनिन्थ्यो । पहिरो जाँदा गर्ल्याम्म ढलेको ढिस्कोको आवाज एक पटक सुनिन्थ्यो त्यसपछि त्यसलाई पछ्याउँदै गुडुल्किँदै ठक्कर खाइरहेका ढुङ्गाहरूको आवाज निकै बेरसम्म सुनिन्थ्यो ।

त्यस दिनदेखि नै त्यसको सङ्गत एउटा भत्केको प्रकृतिसित भयो । जस्तो त्यसको शरीर र मन थियो त्यस्तै बाहिर प्रकृति थियो । कुनै बौद्धिक खालको व्यक्ति भएको भए यसबाट दुनियाँलाई चकित तुल्याइदिने अनेक चिन्तन भिक्थ्यो, कि होइन भने आत्महत्या गर्ने थियो । त्यो तीमध्ये कोही पनि थिइन । त्यस बखत त त्यहाँ त्यो गरिब भनिने किसिमकी पनि थिइन । गरिब हुनु पनि मान्छेको बीचमा हुनुपर्यो नि त ।

त्यो त अहिले एक्काइसौं शताब्दीको अँगालोमा बेरिएर आदिम दिनचर्या व्यतीत गर्न बाध्य भएकी युवती थिई । फरक थियो, निर्वस्त्र भइसकेकी थिइन । केही दिन अझै बाँकी थियो, त्यो आदिम युगकी स्त्री निर्वस्त्र हुन । तैपनि त्यसको शरीर कहाँ ढाकिनुपर्ने र कहाँ उम्रिनुपर्ने हो त्यस हिसाबले वस्त्रावृत थिइन । कारण जेसुकै होस्, ढाकिने अङ्ग नै बढी उम्रिएका देखिन्थे । सबभन्दा सद्दे भाग धोतीको सप्को थियो, जसको कुनै खास भूमिकै थिएन, ढाक्न र छोप्नमा । त्यो पनि विशेष चिन्तित देखिँदैनथी । यहाँ देख्ने को थियो र उम्रेको ढाकेको हेर्नलाई ?

कहिलेकाहीँ नुहाउँदा ओर्दा त्यो आफैं निर्वाङ्ग भएर खहरेमुन्तिर उभिन्थी । नुहाइसकेपछि पनि हतार गर्दैनथी । त्यसै अवस्थामा पहिले कपाल झड्कार्ने, सुकाउने र सम्याउने गर्थी । अनि बिस्तारै कुनै अनावश्यक, अनिच्छुक, तर बानी परेकाले अनिवार्य वस्तुभै आफ्ना च्यातिएका वस्त्रहरू तानेर बेवास्ताले बेर्दथी ।
त्यससित भाव थियो, तर हेर्ने मान्छे थिएन । भाषा थियो, बोल्ने मान्छे थिएन । पहिलेपहिले कोही नहुँदा तीन महिनाकी छोरीसित एकोहोरो कुरा गरेर पनि काम चलाउँदथी । यहाँ के गर्ने ?

प्रलय यस्तै हुँदो रहेछ क्यारे ! त्यो सोच्दथी । प्रलय कसरी आउँछ थाहा छैन, तर प्रलयमा कि मान्छे समाप्त हुन्छ कि समाप्त हुने गरी एकान्तमय बन्दछ । त्यसलाई लाग्दथ्यो त्यो अहिले प्रलयलाई भोगिरहेकी छ । त्यसपछि प्रलय भोग्दा भोग्दै समाप्त हुनेहरूको आभासमा टन्न कसिँदाकसिँदैमा एक दिन आफैँ समाप्त हुन्छे । यसरी बाँच्दा अन्त्यमा अरू के होला त ?

तर चामल देखेपछि त्यसका ती सारा सोचाइ सम्मोहित जस्तै भएर निदाए । त्यसमा यस्तो जाँगर आयो, जुन यतिका दिनमा कहिल्यै आएको थिएन । त्यसले मास्तिर उक्लेर सकेसम्मका छेस्काछुस्की बटुली । एकाध रुख लडेका थिए । केही रुख पहिलेदेखि नै काटिएका थिए र तिनका वरपर छेस्काछुस्की छरिएका थिए । त्यसको काम तिनैबाट चल्थ्यो । त्यस दिन त्यसले झन् चनाखोपनका साथ बटुली परपरसम्म गएर ।

ढुङ्गामुनि आएर एकछिन भुङ्रो खोस्री । अलिकति आगो फेला पर्यो । त्यो आगो लिएर, भाँचेर चराको गुँड जस्तो पारेको ससाना चिङ्नाहरूबीच राखेर फुक्न थाली । चिसो हुनाले धेरै बेर लाग्यो । निकै बेर फूफू गरेपछि र उसको मुख त्यसका तोडले रक्तिम वर्णको भएपछि धूवाँ आउन थाल्यो । त्यसका आँखामा धूवाँ पस्यो । आँखा पिरा भए र श्वासप्रश्वासको असन्तुलनले गर्दा त्यो खोक्न थाली । तर त्यसले त्यो झन् प्रसन्न भई । धूवाँ बढेपछि आगो बल्ने आशा पनि बढेको थियो ।

त्यसले भएको एउटा सानो ताउलीमा भात बसाली । दाल, तरकारी, नुन, तेल भन्ने त शब्द पनि बिर्सिसकेकी थिई । त्यो त ताउलीमा बिस्तारै पहिले फोका उठ्ने र पछि गुदगुद हुने साधारण एउटा प्रक्रियालाई पनि मन्त्रमुग्ध भावले हेरिरहेकी थिई । सृष्टिको कुनै अनुपम दृश्य हेरिरहेझैं । त्यसले माड काढी । अनि भात भर्सिन भनेर एकछिन छाडिदिई । पहिले ऊ नुहाउन चाहन्थी । आफ्नो प्रफुल्लता बढाउने उपायहरू गरिरहेकी थिई । आज त्यसले अरू दिन जस्तो गरिन । त्यो लुगा फुकालेर नुहाउन उभिइन । लुगासहित नै छाँगोमुन्तिर उभिई, के पनि हुन सक्छ भने उत्साह र हतारमा त्यसले त्यसो गर्न बिर्सेकी होस् ।

आज नुहाउनमा पनि त्यसलाई विशेष आनन्द आइरहेको थियो । त्यो युवतीलाई लाग्न थाल्यो, आज त्यससित एउटा शरीर पनि छ । यद्यपि त्यो अझै भोकै थिई तैपनि त्यो क्षण तत्काल बेग्लै बनेको थियो त्यसका लागि । त्यसले आफ्नो शरीरलाई चारैतिरबाट मली । तत्काल त्यसका यौवनका लक्षण र प्रतिक्रियाहरू प्रकट हुन थाले । त्यसमा के पनि मिसिएको थियो भने, चामल केवल एकै छाकका लागि थिएन । केही दिन पुग्ने गरी थियो ।

नुहाएपछि बरु त्यसले आफ्ना वस्त्रहरू फुकाली । ती अब नाम मात्रका वस्त्र थिए । तैपनि त्यसले धोतीचोलो सब निचोरी । धेरै निचोर्दा फाट्ने डर थियो, त्यस कारण अख्रेको रूपमा ल्याएर छाडिदिई । आफू बस्ने चट्टानमाथि सुकाउन भनेर फिँजाइदिई । त्यस दिन पानी थामिएको थियो र उज्यालोमा अलिकति वृद्धि भएको थियो ।

त्यो चट्टानमाथि बसेर कपाल झट्कार्न थाली । त्यसलाई आफ्नो नितम्बमा चट्टानको स्पर्श बडो सुखद र पुरुषको स्पर्शजस्तो लागिरहेको थियो । त्यसपछि त्यसले भात पस्की । तृप्त भएर खाई । त्यो तृप्ति त्यसलाई जीवनको प्रथम तृप्तिजस्तो लागेको थियो । त्यसले नजिक बगिरहेको पानीलाई अञ्जलिमा भरीभरी खाई । त्यसबाट त्यसलाई झन् तृप्तिको अनुभव भएको थियो । भोक र प्यासबाट मुक्त भएको शरीर वास्तवमा त्यसलाई आफ्नै शरीर त्यस दिन आफ्नै होइन, अर्काको शरीर जस्तो लागेको थियो । यो म होइन, कोही अरू हो, जो तृप्त भएको छ, यस्तैयस्तै ।

ढुङ्गाबाट बनेको शरीर त्यसले केही दिन जे बाँची, त्यसलाई नाउँ नदिए पनि हुन्छ, चामलका साथ बाँचेकी थिई । चामल सकिँदै गयो । पहिलेको चकमन्न र सङ्कटको आवाज पहिलेभन्दा चर्को लाग्न थाल्यो । त्यसको खिन्न दिनचर्या फेरि त्यसै गरी चलिरह्यो । राति उज्यालोको त कतै प्रश्नै थिएन, केवल चट्टानको भित्तामा जीउ अड्याएर थाहा पाउँदथी म अझै छु ।

एक दिन त्यो चट्टानमाथि बसिरहेकी थिई । पानी परे पनि केही छैन भनेझैं गरी । वास्तवमा ढुङ्गामुन्तिर ओत लाग्दालाग्दा पनि त्यो कहिलेकाहीँ दिक्क मान्ने मात्र होइन झस्कने पनि गर्दथी । कच्चा रङ सरेजस्तै ढुङ्गाको ढुङ्गापन आफूमा सर्ला भनेझैं गरी ।

त्यस्तो क्षणमा त्यस्तो सदैवको अनकन्टारको ठाउँमा, त्यस दिन अचम्मसित एउटा पुरुष आइपुग्यो, घुम्दाघुम्दै वा बाटो बिर्सेर । संयोगले त्यस दिन त्यसले लुगा लगाएकी थिई । पुरुषलाई देख्नासाथ त्यो झस्की । त्यसले सकेसम्म आफ्नो लुगा ठीक पारी । तानतुन गरी ।
पुरुष भने त्यसलाई हेरिरह्यो । एक त जति तानतुन गरे पनि त्यो वस्त्र थियो, रबर थिएन । त्यस कारण शरीरको पर्याप्त भाग दगुर्ने अवस्थामा उम्रेका थिए । त्यसमाथि भिजेका कारणले वस्त्रसहित पनि त्यो यथेष्ट मात्रामा उत्तेजक देखिन्थी ।

पुरुषले सोध्यो, ‘तिमी यहाँ कहिलेदेखि छ्यौ ?’

‘धेरै दिन भयो ।’ त्यसले जबाफ दिई । पहिलो पटक बोल्न पाएकाले त्यसलाई उकुसमुकुस फ्याँकिएजस्तो लागेको थियो । एकैछिन मात्र सङ्कोच भएको थियो । बोलेपछि त्यसलाई भित्र प्रसन्नता भयो । वास्तवमा चामल पाएको दिनपछि आजै त्यो प्रसन्न भएकी थिई । ऊ चट्टानबाट ओर्लेर आई ।

‘यही हो तिमी बस्ने ठाउँ ?’ पुरुषले सोध्यो ।

‘हो ।’ त्यसले भनी ।

‘एक्लै बस्छ्यौ ?’

‘अँ ।’

‘अरू तिम्रा मानिसहरू…’

‘सब बगे ।’

‘गाउँ पनि ?’

‘धेरै ठूलो गाउँ थिएन । गाउँ पनि बग्यो ।’

‘कसरी बग्यो ?’

‘थाहा पाइनँ। म बेहोस थिएँ ।’

‘केही पनि फेला परेन ?’

‘केटाकेटीका दुई लास फेला परेका थिए । मैले बगाइदिएँ ।’

पुरुषले स्त्रीतिर हेर्यो । स्त्रीको जबाफ दिँदाखेरिको तटस्थताले ऊ अलि अन्योलमा पर्यो । तैपनि भन्यो ।

‘तिमीसित ओढ्ने केही छैन ?’

‘पुग्ने छैन ।’ त्यसले त्यत्तिकै तटस्थताले जबाफ दिई ।

‘त्यसो भए धन्दा नमान,’ पुरुषले भन्यो, ‘म तिमीलाई कम्मल ल्याइदिन्छु ।’ कम्मल ओढेपछि पाइने न्यानोपनलाई सोचेर त्यसले आशावादी आँखाले पुरुषलाई पुलुक्क हेरी । आँखा त्यसका ठूलठूला र मोहक थिए, यसमा सन्देह थिएन ।

‘म भोलि नै तिमीलाई कम्मलको बन्दोबस्त गरेर ल्याइदिन्छु ।’ पुरुषले आश्वासन दियो, ‘आज त म पनि बाटो भुलेर यहाँ आइपुगेँ, बाटो नभएर पनि बाटो खोज्दै । यहाँबाट कहाँ जानुपर्छ ?’

‘त्यो थाहा पाएको भए म पनि यहाँ बस्दिनथेँ ।’ स्त्रीले भनी ।

‘तिमी एउटा उपकार गर्न सक्छ्यौ ?’ पुरुषले सोध्यो ।

‘के ?’ त्यसले भनी ।

‘भोलि म कम्मल ल्याइदिन्छु,’ पुरुषले भन्यो, ‘तर आज म तिम्रो न्यानो पाए मात्र रात काट्न सक्छु । म सहरको मानिस हुँ, तिमी जस्तो किसिमले सुने कल्पना पनि गर्न सक्तिनँ ।’

त्यो केही बोलिन । त्यसै गरी त्यो तटस्थ बनिरही । पुरुष त्यससित रातभरि न्यानो मानेर सुत्यो । भोलिपल्ट आफ्नो कम्मल ल्याइदिने बाचा दोहोऱ्यायो र हिँड्यो ।
दुईतीन दिन बित्यो । कम्मल ल्याउने पुरुष आएन । तर त्यसपछि एक दिन अर्को एउटा पुरुष आयो ।

त्यसले भन्यो, ‘म तिम्रा लागि चामलको बोरा ल्याइदिन्छु ।’

त्यस रात चामल ल्याइदिने पुरुष त्यससित सुत्यो । भोलिपल्ट आफ्नो बचन दोहोऱ्यायो र हिँड्यो । त्यो पुरुष गएको पनि केही दिन बिते, चामल त आएन । एक दिन एउटा अर्को पुरुष आयो ।

यो तेस्रो पुरुषले भन्यो, ‘तिमीलाई छाप्रोको आवश्यकता छ । म तिमीलाई छाप्रो बनाइदिने बन्दोबस्त गरिदिन्छु ।’ त्यस रात त्यस चट्टानमुनि छाप्रो बनाइदिने पुरुष सुत्यो । भोलिपल्ट त्यसले पनि आफ्नो प्रतिज्ञा दोहोऱ्यायो र हिँड्यो । त्यो तटस्थ थिई । पछिका पुरुषहरूसित त बोल्न पनि छाडेकी थिई । केवल चट्टानमुन्तिर तिनीहरूसित सुतिदिन्थी । कोही आएन । त्यो फेरि त्यस्तै भयो । त्यस्तै जस्तो पहिले थियो । यतिले पुग्छ अब, दोहोऱ्याउनुपर्दैन ।

एक रात सुतेर भोलिपल्ट ब्युँझँदा जस्तो ऊ गर्ने गर्दथी, आफ्नो जीउ छामेर चट्टानलाई हेर्ने काम, त्यसै गर्नासाथ त्यो झस्केर मात्र होइन, जुरुक्क उठी । त्यसका मास्तिर चट्टानको ओत थिएन । बादलले टम्म ढाकेको आकाश देखेर त्यो झस्केकी थिई अथवा हरेस खाएकी थिई, त्यो भन्न सकिन्न । त्यसपछि त्यसले चारैतिर आँखा डुलाई । निकै तलतिर देखी, चट्टान आफ्ना ठाउँबाट उखेलिएर गुड्दै एक ठाउँमा पुगेर अड्केको थियो । त्यसलाई चट्टानले किन थिचेन ? चट्टान उखेलिँदा के त्यस्तो चमत्कारी किसिमले उखेलिएछ र त्यो बाँची त्यसको रहस्य त्यसले बुझ्न सकिन । तैपनि त्यो तेस्रो पटक खुसी भएको क्षण त्यही थियो ।

सुरक्षा र असुरक्षाको एउटा अनौठो मोहजालमा त्यो आजसम्म बाँचेकी थिई । आज एउटा आतङ्क दिने ढुङ्गाले त्यसलाई असुरक्षादेखि मुक्ति दिएको थियो । त्यसले सोची, मलाई नथिचेर पनि यस ढुङ्गाले मलाई आश्रय नै दियो । अब जेसुकै होला देखाजाला । ढुङ्गाको आश्रय नभएपछि अब त्यो जहाँ पनि जान सक्थी। त्यसले मुक्ति पाएकी थिई ।

महिना बिते । पानी घट्यो । प्रकृति हाललाई शान्त भएको थियो । तर त्यसलाई भेट्न कोही आएन, कम्मल, चामल र छाप्रोवालामध्ये कोही पनि । बरु एउटी छोरी जन्मी, कारण स्पष्ट छ, भनिरहनुपर्दैन । त्यो अब कुनै गाउँमा बस्न थालेकी थिई । छोरी तीन महिनाकी जुन दिन भई त्यसलाई आफ्नी त्यो छोरीको सम्झना आयो, जो त्यसको छातीमा सधैँ झुन्डिरहन्थी, त्यो बिस्तारै रुन थाली । लोग्ने सम्झी ।

फेरि रुन थाली । त्यसपछि यो छोरीलाई हेरी । केही शान्त भई मनमनै सोची, मेरी बगेकी छोरी फर्केर आएकी हो ।

कति वर्ष बितेपछि त्यसकी किशोरी छोरीले आमासित प्रश्न गरी, ‘मेरा बाबु को हुन्, आमा ?’

त्यसले एकछिन गमेर अनि गम्भीर भएर जबाफ दिई, ‘तेरा बाबु ईश्वर हुन् ।’

‘ईश्वर ?’

‘तिनैले प्रलय, प्रकोप र पशु पठाएर मेरो गर्भ धारण गराएका हुन् ।’

छोरीले धेरै बुझिन । उसले आमाबाट सुनेको कथाको आधार लिएर सोधी, ‘अब फेरि त्यस्तो प्रलय भयो र मैले तपाईंजस्तो बन्न पर्यो भने के होला आमा ?’

उसले रोमान्चका लागि प्रश्न गरेकी थिई ।

त्यसले छोरीतिर भावहीन अनुहार लगाएर एकछिन हेरी र भनी, ‘तँलाई पनि त्यहाँ कम्मल, चामल र छाप्रो दिनेहरू आउनेछन् ।’

छोरी आमाको अनुहारमा टल्केर आएको ढुङ्गाले गर्दा बढी आतङ्कित भई र आमालाई घचघच्याउन थाली ।