पहाडको बाटोमा एक्लै हिंड्न निकै गाहारो पर्छ । मलाई दुईतीन दिनका लागि यस्तै बाटो हिँड्नु थियो । तर मैले बाटोमा एउटा सिपाहीलाई फेला पारें, जसले मेरो यात्रा धेरै सुगम पार्यो ।

पहिले उसले मलाई सोध्यो- “ए बाबु, तपाईं कता हिँडेको ?”

परिचितले बोलाएझैं पछिबाट हकार्यो । मैले फर्केर हेरें । एउटा सिपाही फौजी पोसाक लाएको आफ्नो सानो डेग छिटोछिटो अगाडि बढाउँदै मनेर आइरहेको थियो । फौजी सिपाहीको नृशंसताका सम्बन्धमा मैले धेरै सुनिराखेको थिएँ । त्यसो हुनाले सिपाहीसँग साथ छुटाउने सानो उत्तर ‘इलाम’ दिएर म अगाडि बढें । तर तबसम्म त्यो मनेर आइपुगेको थियो ।

“ओहो !” हाँस्ता सुनको पाताले बाँधेको अगाडिको दाँत प्रकाशमा टल्क्यो । “म पनि उतै जान लागेको छु । आज दिनभरि त साथै हुने भइयो, हगि दाइ ?” बडो लापरबाहीसँग त्यसले भन्यो ।

कालो कोट, फौजी टोपी, खाकी प्यान्ट । त्यसको कालो कोटको जेबबाट एउटा सस्तो फाउन्टेन पेनको क्लिप पनि टल्किरहेको थियो । क्विन एक घडी पनि त्यसको नाडीमा बाँधिएको थियो, जो उसले हात उठाउँदा बोल्दाखेरि बीचबीचमा हात उठाउने उसको बानी थियो- देखिन्थ्यो । एउटा ठूलो रातो रुमाल आफ्नो घाँटीमा त्यसले बेरिराखेको थियो ।

“म त सिपाही हुँ, तर तपाईं ईश्वरले झुटो नबोलाए तपाईं विद्यार्थी हुनुहुन्छ । होइन के ?”

मैले हाँसेर स्वीकार गरें ।

“कुरा यो हो, को कस्तो हो, के काम गर्छ, म उसको पहिरनबाट, उसको कुराबाट भन्न सक्छु । तपाईंको रगत खाने, आजसम्म मैले धोखा खाएको छैन, कमसे कम यस विषयमा । म पढ्नलेख्न जान्दिनँ । अँ, आफ्नो दस्तखत महिनावारी लिने बखतमा गर्न सक्छु र रामायणसम्म बाच्छु । मैले यति पढ्न पनि ब्यारेकमै सिकेको, तर पढ्नमा नै लागेको भए तपाईं जस्तै दुब्लोपातलो पहेंलो हुने थिएँ ।”

त्यसका कुरामा अब मैले आनन्द पाउन थालें । त्यो बाटामा सबैसित परिचित जस्तै कुरा गर्थ्यो- “कता हिंडेको ?”

मान्छेहरू त्यसको फौजी आकृतिका डरले केही भन्न सक्तैनथे । कुनै छिप्पिएकी उमेरकी स्वास्नीमानिस भेटिएमा त्यो उसलाई सासूको उपाधि दिन्थ्यो र ती सासूका छोरीहरूको स्वास्थ्यका विषयमा सोध्थ्यो- “तपाईंकी सानी छोरी कस्ती छ ? भन्नुहवस् त, मेरो मन परेकी सासू ।”

त्यो मेरो विषयमा जान्ने इच्छा राख्तैनथ्यो । आफ्नो कुरा भन्नलाई नै फुर्सत पाउँदैनथ्यो, मेरा विषयमा के खोजीनिती गरोस् !

“म क्वेटा छाउनीमा छु । वहाँ गएको धेरै दिन भयो । मेरी एउटी दुलही पनि छ तर यतै पहाडतिर । त्यो रोगी र बेकामकी छ तैपनि दुईवटा छोरा भइहाले । म घर नगएको धेरै दिन भयो, जाने इच्छा पनि छैन । मेरी दुलही निश्चय नै अर्कासित गइसकेकी होली । छोराहरू पनि गुन्डा भइसके होलान् । अँ, सानोचाहिने छोरा चलाकजस्तो थियो, त्यसलाई पढाउने मेरो ठूलो खायस थियो । तर को दुःख बेसाओस् । मेरा बाबुले मलाई पढाएनन्, म मजासँग छु । क्वेटामा नै एउटी दुलही खोजिहालेको छु । जहाँ बसे पनि मन लाग्ने कुरा हुनुपर्छ ।”

सिपाहीको कुरा सुन्दा निकै आनन्द पाइँदो रहेछ, किनभने त्यो केही कुरा पनि नलुकाई खुलासा भन्दछ । किन कुरा लुकाओस् र ? मैले गम्भीर विद्यार्थी झैं सोधें- “तर तिमीहरूको सैनिक जीवन कस्तो हुन्छ नि ?”

“हहह… तपाईंले पनि के सोधेको ? तपाईंको मासु खाने बडो मजा हुन्छ । तपाईंहरूलाई परेजस्तो पीर हामीहरूलाई पर्दैन । खूब मजा गर- हाम्रो अफिसर पनि यही भन्छ । अहिले म त्योसँग छुट्टी लिएर यता आएको । हालैमा लडाइँ हुने कुरा छ । त्यसो हुनाले यता रङ्ख्ट तैयार गर्न आएको हुँ । किजात नहोला, ६ ओटालाई फसाइसकेको छु । सिपाही बन्नाले दूधको कुल्ला गर्न पाइन्छ, खसीको टाउको चमका राख्न पाइन्छ । फसाउनु के हो, उनीहरूको उद्धार गर्नु हो । आफ्नो देशको निमित्त सिपाहीहरूको आवश्यकता छ ।”

सिगरेटको धुवाँ मुखबाट निकाल्दै भन्यो, “लडाइँमा मर्नाले सोझै स्वर्ग पुगिन्छ ।“

यसबेला त्यसको मुख गीता पाठ गर्ने मानिसको जस्तो गम्भीर भयो ।

त्यसको चाखलाग्दो कुराले बाटो सजिलैसँग काटिइरहेको थियो । त्यही समयमा घाँस काटेर फर्कन लागेका केटीहरू सामुन्नेतिरबाट आइरहेका थिए । आँखा झिम्क्याउँदै त्यसले भन्यो, “पख्नोस् है, म अब यिनीहरूलाई जिस्क्याउँछु ।”

अगाडि बढेर पहिले त त्यसले उनीहरूलाई सलाम गर्यो । पछि कुन्नि के भन्यो । त्यसको कुरा सुनेर अरू सबै त धत् भनेर आफ्नो बाटो लागे तर एउटीले घाँसको भारी भैंमा फ्याँकी र कम्मरमा हात लाएर आफ्नो सारा शरीर हल्लाउँदै दाँत देखाईदेखाई त्यसलाई गाली गर्न

थाली ।

मेरो साथी सिपाही लाग्यो, पेट मिचीमिची हाँस्न र मतिर फर्केर भन्यो, “बडो मापाकी रहिछ । सधैं आफ्नो लोग्नेलाई यसै गरेर गाली गर्दी हो, म जे किरिया पनि खान सक्तछु ।”

हामी अगाडि बढिरहेका थियौं । “यी केटीहरूलाई बुझ्न सारै गाहारो हुन्छ । म पनि एकचोटि एउटीको फन्दामा परिसकेको थिएँ । अँ…” त्यसले लामो सास तान्दै भन्यो ।

त्यसबखतमा त्यो पत्थरको मूर्ति कठोर देखा पर्यो । त्यसका गोडा मसिनझैं स्वतः अगाडि बढिरहेका थिए । ठिक्क हाम्रो सामुन्ने पहेंला सूर्य पहाडको अर्कापट्टि ओर्लिरहेका थिए । मैले बडो उत्सुकतासँग सोधें- “अँ, त के भयो ?”

“अँ, म भन्दै थिएँ । म पनि एउटी केटीलाई प्रेम गर्थें । कसरी म त्यसको प्रेममा परें, मलाई थाहा छैन । त्यससँग कति दिन मैले हाँसीखेली बिताएँ । एकदिन आइतबार मैले आफूलाई त्योसित प्रेम गर्न थालेको पाएँ । त्यसदिन मलाई बिदा थियो । साँझ पर्नासाथ म दौडीदौडी त्यसकहाँ गएँ ।”

त्यसको सास बेगसित चल्न थाल्यो- “त्यसदिन त्यसले नीलो गाउन लाएकी थिई, पोडे । त्यसदिन त्यो निक्कै राम्री भएकी थिई ।”

ठीक त्यै समयमा हामीलाई उकालो लाग्नु थियो । “पर्खनुहवस्, दुईवटा उखुको लाँक्रा किनेर ल्याउँछु । उकालो लाग्यो । उखु टेकीटेकी हिंड्न सजिलो हुन्छ र माथि पुगेपछि त्यसलाई चुस्ता थकाइ पनि मेटिन्छ । मन परेन के यो कुरा ?”

यति भनेर त्यो गयो र एकछिनपछि दुईवटा उखु किनीकन लिएर आयो । एउटा उखु मलाई दिएर त्यसले फेरि भन्न थाल्यो, “तर त्यस केटीले मलाई खूब छकाई । त्यो कप्तानसँग पो गई । त्यसको राम्रो लुगाले त्यसलाई लोभ्यायो । तर म तपाईंलाई विश्वास दिलाउँछु, त्यो त्यस बूढो कप्तानसँग पनि बस्न सक्तिन । यसैगरी उडिरहन त्यसलाई आनन्द आउँछ, त्यस राम्री केटीलाई ।”

हावाको सानो लहरले त्यसको अन्तिम वाक्यलाई बगाएर लिएर गयो ।

म आफ्नो मनमा त्यसको तर्कना गरिरहेको थिएँ । त्यसो हुनाले मैले केही बोलिनँ । मलाई चूप लागेको देखेर त्यसले मुसुक्क हाँसेर भन्यो, “म एक बोतल रक्सीको बाजी लाउँछु । तपाईंले अहिले आफ्नी स्त्रीलाई सम्झिरहनु

भैरहेको छ । होइन त यो कुरा ? हेर है, झुट्टा नबोल्नू, किरिया ।”

मैले केही पनि उत्तर दिइनँ । केहीबेरपछि मैले सोधें- “भन त, सिपाही दाइ, तिमीहरू लडाइँमा कसरी जान्छौ ? बम, गोली, मृत्यु म त कल्पना पनि गर्न सक्तिनँ त्यस भीषणताको ।”

तिरस्कारपूर्ण हाँसो हाँसेर उसले मेरो काँधमा धाप मारेर उत्तर दियो- “तिमी जस्तो कलिलो मान्छेको निमित्त त्यो ठाउँ होइन । मलाई त लडाइँमा मजा आउँछ, तपाईंको रगत खाने ।”

यस्तै कुरा गर्दागर्दै हामीहरू बास बस्ने ठाउँमा पुग्यौं । दिन त दुई घण्टा अझै बाँकी थियो तर पश्चिमको पहाडले सूर्यलाई ढाकिदिएका हुनाले पानीको कलकल ध्वनिसँगसँगै अन्धकार पनि छिटैछिटै तलतिर झरिरहेको थियो ।

मैले भनें- “अब त म अगाडि हिंड्न सक्तिनँ । राति बस्ने ठाउँ खोज्नुपयो ।”

“ठाउँको निमित्त केही धन्दा नमान्नुहवस् । म यहाँको ढुङ्गाढुङ्गादेखि परिचित छु । मेरा पुर्खाहरू यहीं बस्थे । हिंड्नुहवस्, म तपाईंलाई एउटा पसलमा लिएर जान्छु । त्यस पसलकी बुढियालाई चिन्छु । कुनै समय थियो, जब त्यस बुढियालाई घेरेर कति मान्थे, मेरा बाबु पनि तिनीहरूमध्ये एउटा थिए, त्यसको खूब बिक्री हुन्थ्यो तर अब त्यो बुढियालाई कोही पनि फुटेको आँखाले पनि हेर्दैनन् । तपाईंको मासु खाने, त्यसकी एउटी छोरी नभएकी भए म पनि अहिले त्यहाँ जाने थिइनँ ।”

कुरा गर्दागर्दै हामीहरू त्यो पसलनेर आइपुग्यौं । घर काठको थियो, पुरानो र पानीले कुहिसकेको । सामुन्नेको भाग खसिसकेको थियो । त्यसो हुनाले मानिसलाई भित्र पस्ता निहुरीकन जानुपर्थ्यो ।

हामी भित्र पस्यौं, कोठामा धुवाँ रँगमगिएको हुनाले सानो टुकीको प्रकाश झन् धमिलो भएको थियो । त्यसमा पनि मेरो आँखा निद्राले लट्ठ भएको हुनाले मलाई अहिले त्यहाँको दृश्य सपना जस्तो लाग्दछ । भित्र दुईवटा पहाडी मानिस चिया र पुरानो बासी रोटी खाइरहेका थिए । कराएर कुरा गर्दा तिनीहरू कैलेकैले आफ्नो हात टेबुलमा फ्याँक्थे । कुनामा, मैले देखें- आगो बलिरहेको थियो, जसमाथि एउटा चियाको केतली बसाएको थियो । यै धुवाँको कारण थियो ।

छेउमा एउटा विचित्र सेफको ढाँचाको आलमारी थियो । त्यसमा लगाएको काँच फुटिसकेको थियो । त्यसो हुनाले त्यसभित्र रहेको लिली बिस्कुटको पुरानो टिनको डब्बा अरेन्ज पिकोको खाली डब्बा र दुईतीन गिलास देखा पर्थे । एउटी मोटी बुढिया आफ्नो कुहिनो टेबुलमा टेकाएर ती दुईवटा पहाडीको कुरा ध्यानपूर्वक सुनिरहेकी थिई । कैलेकैले खित्का छाडेर हाँस्थी र बीचबीचमा केही बोलिहाल्थी ।

त्यो कोठामा प्रवेश गर्दा सिपाही अगाडिअगाडि र

म पछिपछि थिएँ । सिपाहीलाई देख्नेबित्तिकै त्यो बुढिया उभिई र तलदेखि माथिसम्म त्यसलाई हेरेर भनी- “आच्चे कताबाट बाटो बिर्सेर ?”

“बाटो बिर्सेर होइन । आँ, तिम्री छोरी खोइ नि ?” आफ्नो दुवै हात हल्लाउँदै त्यो कोठाको स्वामी झैं यताउति टहल्न थाल्यो ।

“छोरी त बाहिर गएकी छ, अब आइपुग्ने बेला भयो । तपाईंले त हामीलाई चटक्क बिर्सनुभएछ ।”

त्यही समयमा एउटा अलिक मोटी युवती कोठाभित्र पसी र उपेक्षा गर्दै भनी- “बिर्सन देऊ, किन हामीलाई कसैले सम्झोस् !”

त्यो स्त्रीले मैलो छिटको धोती लगाएकी थिई । त्यो अन्धकारमा पनि त्यसको गालाको कालोकालो दाग देखा पर्थ्यो । कम्मरमा धोतीभन्दा माथि एउटा मैलो लुगाको टुक्रो बाँधेकी थिई । त्यो विशेष राम्री त थिइन, तर उसमा यौवनको स्वाभाविक आकर्षण अवश्य थियो ।

त्यसलाई देख्नासाथ सिपाही कुदेर त्यसनेर गयो । “ओ, तिमी, पत्याउने त छैनौ तर तिमीले नै मलाई यहाँसम्म तानेर ल्याएकी । तिमीलाई बिर्सन सक्छु ? मैले त यहाँ आउनासाथ तिम्री आमासँग तिम्रो विषयमा सोधें । उत्तिखेरै तिमी पनि आइहाल्यौ । भन, के किरिया हालूँ ?”

“भो भो, धेरै कुरा नगर । आँखाको सामुन्ने त धेरै धेरै कुरा गर्छौ पछि …” भन्दै त्यो अर्को सानो कोठाभित्र पसी । सिपाही पनि त्यसको पछि दगुर्यो । भित्र पसेर त्यो युवतीले एउटा टुकी बाली र बिछाएको सुकुलमा लडी ।

सिपाही दैलोमै थचक्क बस्यो र कुरा गर्न लाग्यो । “लौ त, भन मेरो निमित्त तिमीले के-के लिएर आयौ ?”

० ० ० ०

एकाबिहानै सिपाहीले मलाई हल्लाएर उठायो । अझ दुई घडी रात बाँकी नै थियो । बाहिर असाध्य जाडो थियो । पर्वतका दुई श्रेणीको बीचमा चिसो बतास बगिरहेको थियो । नजिकैको खोलो कलकल गर्दै बगिरहेको थियो । मानिसहरू अझै उठिसकेका थिएनन् । कुखुराहरू बास्न थालेका थिए । चारैतिरको पहाड कालाकाला र धुम्म देखिन्थे । त्यो ठाउँमा निकै जाडो पर्ने हुनाले ती पहाडहरूमा कुनै वृक्ष उम्रेका थिएनन् । म आँखा मिच्दै उठे । त्यो सिपाहीले लापरबाहीसँग, “मेरो सानो मालिक, म त बिदा लिन्छु, मलाई यता जानु छ, तपाईंलाई उता,” मेरा दुवै काँधलाई आफ्नो बलियो हातले दुख्ने गरी हल्लाउँदै भन्यो ।

मेरो मस्तिष्कमा विषादपूर्ण विचार आउन थाल्यो । म त्यसलाई स्नेह गर्न लागिसकेको थिएँ तर त्यसलाई कसैको केही वास्ता रहेनछ ।

लमकलमक गर्दै त्यो आफ्नो बाटो लाग्यो । म उभिएर हेरिरहें । मैले लडाइँमा मारिएका सिपाहीहरूको पत्थरको स्मारक धेरै देखेको छु । तर हाडछाला भएको सिपाहीसँग भेट्ने मौका एकचोटि मात्रै पाएँ ।

(विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘दोषी चश्मा’बाट)