(१)

बादल जतिसुकै कालो होस् त्यसको भित्री चाँदी जस्तो सेतो हुन्छ । १९९० सालको भूइँचालोले हाम्रो देशलाई ठूलो हानि गरेता पनि दुई चार सुधार अवश्यै गर्यो । त्यसले धेरै कोठे रानीहरू खुला हावाको महत्वको कदर गर्न सिकायो भनेर पनि ती सुधारको गणना गर्दा एउटा औंला भाँचे हुन्छ, किनभने चित्रकारीले कपोलकल्पित बगैंचाको चित्रमा हामीले देखे ज्यादा चडका भयो, वा ज्यादा उत्ताउलो भयो भनी समालोचना गरिने रङ्ग घोली प्रकृतिले पोतेको फूलहरू र झारपातहरू ल्याई उद्यान-सेवकको मगज लडाई सिंगारेका बगैंचाहरूमा पहिले त्यस्तै रङ्गका पुतलीहरू मात्र कहिले लुकामारी कहिले लघारालघार गरी खेलिरहेका देखिन्थे । अब ठूला-ठूला पुतलीका नाना रङ्गका नानाले ती बार-बगैँचा झन झिलीमिली देखिन थाले ।

त्यस्ता बगैंचामध्येको एउटा सानो बगैंचाभित्र टण्टलापुर घामबाट बची भोगटेको रूखको छहारीमा दिदी र भाइ पुस्तक हेरिरहेका थिए । साहिंली १७ वर्षकी, गोरी, पातली तर टाम्मटुम्म परेकी फरासिली, मन सिंगारपटार र लुगाको रङ्ग मिलाउनपट्टि लागिसकेको थियो। चतुरे, ४ वर्ष कान्छो, राम्रो, भुकुल्ले, जोधा, पुल्पुलिएको थियो ।

त्यो पुस्तक तिनीहरूका बाबु डिठ्ठा चन्द्रबहादुर अधिकारीले उसको जर्साबको दराज (यस संसारको सूक्ष्माकार झैँ) नयाँलाई ठाउँ दिन सफा गरिँदा फ्याँकिने ठहरिएका फुटकर दुई तीन कापीमध्ये ल्याएको सन् १९१४ को सचित्र बेलायती मासिक पत्र थियो ।

त्यसमा महासमरको रणभूमिमा वा त्यसमा खावाभित्र मरेका अफिसरहरूका कुनै कुमसम्म कुनै छातीसम्मका तस्विरहरू खजित थिए । त्यही तस्वीरका कैयन् प्रतिले तातो आँसुमा नुहाए होलान्, कैयन् प्रति चिसो आँसुमा भिजे होलान् तथा कैयन् प्रति फुराएका नाकको बाफमा बाफिए होलान् । यो प्रति चाहिं अर्कै रङ्गमा रङ्गिएको थियो ।

ती अफिसरहरूमा साहिंलीलाई सबभन्दा कुन राम्रो लाग्यो रोज कि रोज भनी चतुरेले ढिपी गरेको हुनाले साहिंलीलाई एउटा अफिसर देखाउन कर लाग्यो साहिंलीले रोजेको मुडले अफिसर जङ्गी पोशाकमा थियो । बायाँ आखिभौंको टाउकोको सीधामाथि प्रस्टसँग चिरिएको सिउँदोमाथि बायाँको कपाल उज्यालोले सेतो भई समुद्रका तरङ्गझैं लहराउँदै कानभन्दा केही माथि थामिई पत्लिंदै गएको, दाहिने पाखाको कपाल भने एकछत्तै कालो भई मानु बिजोडामा पनि कुनै अवस्थामा सौन्दर्य बस्तछ भन्ने जताइरहेको थियो ।

अन्तरीय बन्ने गरी मिची कपाल नउम्रेको पुष्ट निधार र सेप्रा भए तापनि कहीं हाड नउठेका गालामा फिक्का टाउका भएका र पुच्छर झिना हुँदै गएका टिपे जस्तो मसिना आँखिभौं, केही कोप्चा र नानी माथिल्ला पलकमा लुक्न खोज्ने सधैं लाज मानिरहने आँखा नफर्केको र चाहिनेभन्दा नउठेको नाक, जुँगाको रेखीसमेत नबसेको पातलो ओठको कलिलो अफिसरलाई हेर्दा उसको वीररस गाढा वात्सल्यरससित रयाल्लिनाले स्वादै नआउनेसम्मको फिका हुन गयो भन्ने पर्दथ्यो ।

साहिंलीले त्यो अफिसर नरोजेको भए त्यसलाई आफूले रोजी त्यो नसकेकोमा साहिंलीलाई उल्लीबिल्ली लाउने चतुरेको सुर थियो । उसले त्यही रोजिदिएकोले चतुरे चुप लाग्यो । दिदी चाहिंले रोज्दा लाउँदा चतुरेले इत्रेर भएभरको चुत्थो अफिसर रोज्यो ।

साहिंलीले उसको चाल बुझी तैपनि हाँसेर भनी, “छि: भाइ त के भाको ! त्यस्तो मान्छे पनि राम्रो लाग्ने ! छि: तिमीले रोजेको मान्छे त मरेको बिरालो काखी च्यापेर ‘ठिमी जाने बाटो कता हँ ?’ भनेर सोध्ला जस्तो छ ।”

चतुरेको आँखालाई सेतो भूइँमा काला छिर्का छरिएर पखेटा भएको पुतलीले खिंचिसकेको थियो, साहिंलीको कुरापट्टि ध्यानै नदिई किताब हेर्न छोडी त्यो पुतलीको पछि-पछि गयो । पुतली बेपत्ता भएपछि चतुरेले अलिकति ढुंग्रे झार जम्मा गरी साहिंली कहाँ आई भन्यो-

“साइँलीदी, तिम्रो आँखामा ताल्चा मारुँ है ?”

“आ ! नाइँ । यत्रो बडामा भएर पनि कस्तो केटाकेटी मिजास नगएको !”

“म रानी भन्छु, बिन्ती छ साइँली ! हुन्छ है ?”

आखिरमा चतुरेकै जीत भयो । ढुङ्ग्रेका आँख्ला छुट्याउँदै दिदी चाहिंका तल्ला र माथिल्ला घुमेका लामा परेला जोल्टिने गरी आँख्लाभित्र बन्द गर्न थाल्यो । हुँदा-हुँदा साहिंलीका दुवै आँखामा हेर्न नहुने गरी चतुरेले ताल्चा मार्यो अनि खोकिलामा लुकाएर ल्याएको गुलाफका पत्ता नाकमा कोचिदिई हाँस्तै भागेर गयो ।

* * * * * * *

(२)

माथि बयान गरेको घटनाको करीब ५ वर्षपछि कोजाग्रतको जुवा फुकेको दिन डिठ्ठा चन्द्रबहादुर निकै धनी भए तापनि बाहिर जुवा नखेल्ने हुनाले र छोराको पनि त्यसमा लत बसेकोले चाडसम्म मनाउनलाई स्वास्नी छोराछोरी बटुली झिंगेदाउ खेल्न लागेको थियो ।

कान्छी छोरीको खास्टोको सप्को लाग्दा आमाचाहिंले झर्की त्यो खास्टोबाट एक टुक्रा धागो चुँडेर ‘थू थू’ गरी फ्याँकेको चतुरेलाई चित्त बुझेन । त्यहीं चतुरेले कुरा उठाइसकेको थियो, चन्द्रबहादुरको पैसा ताकी एउटा झिंगा आउन लागेको हुनाले उड्ला भनी चन्द्रबहादुरले छोरालाई बोल्न दिएन ।

झिंगा त्यताबाट फर्की साहिंलीको पैसाको छेउमा एउटा खुट्टो चढाई त्यहाँबाट उडी उड्दा उड्दै कान्छीको पैसाको बीचमा छोएर गयो । कान्छीको हुन्छ भन्ने चन्द्रबहादुर, साहिंलीको हुन्छ भन्ने उसको स्वास्नी, त्यसमा कुरामा दुईजनाको ठाकठुक पर् यो। आखिरमा साहिंलीले नै पैसा सोहोरी । एक मोहोरको पैसा रित्तिएपछि चन्द्रबहादुर “भित्र उसको मालिककहाँ जान्छु” भनी उठेकाले खेल पनि उठ्यो ।

चन्द्रबहादुर निस्केपछि चतुरेले कुरा झिक्यो, “हैन आमा, सप्को लाग्दा धागो चुँडेर फ्याँकेन भने के हुन्छ ?”

“सप्को लाग्ने मान्छे सुक्तै गएर मर्छ रे,” थन्कोमन्को गर्दै आमा चाहिंले उत्तर दिई ।

“नङको छिटा पर्दा ‘मच्छे’ भनेन भने पनि त्यस्तै हुन्छ रे हैन आमा ?” कान्छीले सोधी ।

“किन हैन त !” आमाले जवाब दिई ।

“यो कुरा साँच्ची हो भन्ने”, चतुरेले भन्यो, “तिमीलाई विश्वास छ ? मानिसको शरीर र सप्को, नङको छिटासित के सम्बन्ध छ एकछिन गौर गरेर विचार गर्नुभएको छ ?”

“यहाँ विश्वास-सिश्वासको केही कुरा छैन । पुरुखादेखि जे चलेर आएका छ त्यही गर्नुपर्छ । उनीहरूको तेरोभन्दा धेरै बढ्ता बुद्धि थियो । अंग्रेजी पढ्यो कि मान्छे बिग्रन्छ भनेको साँच्चै रहेछ । उसै उसै म जत्ति जान्ने कोही छैन भन्ने-के-रे तमक आउँदो रहेछ । माउभन्दा चल्ला जान्ने खुकुरीभन्दा कर्द लाग्ने, हैन के ?”

“अंग्रेजी पढेर म बिग्रिएँ भन्न त्यसबेला सुहाउँछ आमा, जब म ह्याट प्याण्ट नेक्टाइमा डटिई अंग्रेजी फ्यासनमा हिँड्छु, जब म आफ्नो धर्मलाई छोडी क्रिश्चियन धर्म अपनाउँछु, जब म जुत्ता लगाई टेविलमा जमी काँटा चम्चा नचाई भात खान थाल्छु, जब म पर्खनोस्, मेरो कुरा सिध्याउन दिनुहोस्, अनि तपाईंको कुरा गर्नुहोला- जब म नेपाललाई छोडी बेलायतलाई प्रेम गर्न लाग्दछु । अंग्रेजी पढेर बा र तपाईंको झन् बढ्ता आदर गर्न सिकें, मातृभूमि र मातृभाषाको कदर गर्न जानें । हो, अंग्रेजी पढेर एउटा कुरामा भने म बिग्रिएँ- अन्धविश्वास हट्यो, आत्मविश्वास बढ्यो । तपाईंहरूले शिक्षा दिएर आँखा खुलाउनुभयो, खुलेको आँखा हेर्न खोज्दछ कसो गरूँ ? बन्दै रहन दिनुभएको भए झगडै हराउँथ्यो, अब तपाईंको ‘खुकुरीभन्दा कर्द लाग्ने’ भन्ने कुरा रह्यो। खिया परी भुत्ते भएको खुकुरीभन्दा साँध लाएको कर्द लाग्न के बेर छ र ? यूरोपियनहरूले बाबु-बाजेले गरेकै कुरामा मात्र अन्धविश्वास गरी त्यसैको पछि उनीहरूभन्दा अघि बढ्न नखोजेको भए आज हामी ती नयाँ आविष्कारहरू देख्न पाउँदैनथ्यो जो साँद लाएको कर्दबाट निक्लिरहेछन् । हामीहरूले अघि बढ्न प्रयत्न गर्नैपर्दछ । उसमा बाबु- बाजेको अनादर हुँदैन, बरु छोरा प्रख्यात हुन सक्यो भने मरेका पुरुखा पनि सजीव भई कैयन् मानिसहरूका मुखारविन्दबाट निस्कन थाल्दछन् ।”

“अधर्म बोल्नु हुँदैन, अहिलेसम्म त मलाई राम्रै आदर गर्छस् । तर बुहारी ल्याएपछि पो थाहा हुन्छ, त्यस बेलामा पनि हामीलाई मान्ने पो मान्ने ! फेरि खिया परेको खुकुरी भनिस्, खिया त के सात बाक्सी परेकोभन्दा पनि बढ्ता भई धमिराले गुँड लाएको च्यवन ऋषि कहाँ !  हजारौं पटक साँद लाएको तँ कहाँ! अँ ! त्यस्तो खुकुरीले काटिसकेको टुक्रा मसिन्याउने कर्दहरूको के दुःख !”

“आमा, जवाब त मुखमा आएको थियो, तर सत्य कुरा होस् सही बरु त्यसलाई मनको मनैमा राखी तपाईंहरूलाई रिस नउठाउनु पनि मेरा कमजोरीहरूमध्ये एउटा हो । जे होस्, ऋषिहरू जुन कालमा थिए त्यही समयको सभ्यता अहिलेसम्म चलेर आएको भए त भारतवर्षको अवस्था अर्कै हुन्थ्यो भन्छन् । त्यो सभ्यता त बीचमा टुंगिएर भारतवर्षका धेरै भागहरूमा जङ्गलीहरूको बास भयो रे । आस्ते आस्ते अहिले हामी यतिसम्म भएका छौं । बूढी-रुढिलाई ऋषिवाक्यको स्थान दिनु अनर्थ हो । ऋषिवाक्य अथवा धर्मशास्त्रको कुरा त भिन्दै हो ।”

“तँ चिप्लेकीरा जस्तो जहाँ समात्यो चिप्लिक्क चिप्लिन्छस् । अर्काको कुरालाई कहिले टुङ्गियो भन्दोरहेछ, कहिले त्यो त भिन्दै कुरा भन्दोरहेछ, हैन के ? बूढी-रुढिले के बिरायो ? तँसँग खान माग्यो कि लाउन माग्यो ? साँचो रहेछ भने बेसै भो, साँचो रैन छ भने पनि मानिदिएर हानि के छ ?”

“झूट कुरालाई सत्य मान्दा जेजे हानि हुन्छ ती सब हानि …।”

“जान्छु अर्काको काम कति बितिरहेछ तँसँग को बात मारिरहोस् !”

कुरा सिद्धिनै नदिई आमाभित्र गएको देखेर चतुरे हातले खै ? भन्ने भाउ लगाई टाउको एकातिर ढल्काई मुसुक्क हाँस्यो, अनि बगैंचातिर लाग्यो । साहिंली भोगटेको बोटमनि बसी केवराको ट्वाक गाँसिरहेकी थिई । चतुरे उहीं गई बस्यो । साहिंलीबाट उसकी छोरीलाई भक्खर सुताएर आएको, केवराको फूल त्यो बगैंचाको होइन आमाले किनेको, उसको हातमा मुसा कुनै औषधिले आफै कम भएको भन्ने जवाफ लिएपछि चतुरेले भन्यो- “साँच्ची, यसपाला त तपाईं महिनौंपछि आउनुभयो । हामीलाई त अलि-अलि गरेर बिर्सन लाग्नुभयो कि क्या ?”

“चेलीबेटीको जातले पनि माइत कहिल्यै बिर्सन्छ ? माइतको कुकुर पनि प्यारो हुन्छ भन्ने उखानै छ । उसमाथि पनि म त धनी घरबाट गरीब घरमा परेकी भनिहालें नि- घरमा कहिले कोई कहिले कोई बिरामी भइरहेर आउन नपाएकी । यो पाला त सात दिन बस्ने गरी जान्छु भनेर बिदा मागेर आएँ ।”

“म फेरिएको छु कि दुब्लाएको छु, लौ भन्नोस् त ?”

“उस्तै हो । मानिस त केटाकेटीमा थाम्मर-थुम्मर परेको भए तापनि अग्लो हुँदा एक पटक छाँट्टिन्छन् । तिमी त केटाकेटीमा पनि भुकुल्लै थियौ, भुकुल्लाको भुकुल्लै बढ्यौ । तिमी दुब्लाएको त मलाई थाहा छैन ।”

“एउटा कुरा तपाईंसँग सोध्न मन लागेको वर्षौं भयो, आजसम्म सोध्न नपाएर रहिरहेछ ? अचम्म होइन ? तपाईं यहाँ आउनुहुन्छ सोध्न बिर्सन्छु, तपाईं घर जानुहुन्छ सम्झन्छु । अनि ‘ज्या ! अर्को पाला त बिर्सिन्न’ भन्यो, फेरि तपाईं आउनुहुन्छ, उस्ताको उस्तै । यसै गरेर कति पटक हिंड्यो । धेरैजस्तो त तपाईं यहाँ आउँदा म निस्किसकेको हुन्छु, म नफर्कंदै तपाईं गइसक्नुहुन्छ, भेटै हुन्न । फेरि कहिले मेरो पढाइको चपेटा पर्ने, कहिले तपाईंको कामको झमेला पर्ने । उसमाथि मानिस भएको ठाउँमा सोध्न पनि ठीक नहुने …।”

“के कुरा हो, भन न त !”

“अरू केही होइन साँच्ची-साँच्ची भन्नोस्, तपाईंलाई भिनाज्यूको माया त दुनियाँभरमा सबभन्दा बढ्ता लाग्ने भइगयो, मायाको कुरा छोडिदिऊँ, भिनाज्यू कतिको मन पर्छ ?”

“तिमी त के भाको ! तिम्रो सोध्ने कुरा त्यही हो त ?” साहिंली हाँसी ।

“हो ! तर माया लाग्नु, मन पर्नु, राम्रो लाग्नु, एउटै कुरा होइन नि । माया लाग्दैमा मन पर्नुपर्छ भन्ने केही छैन, मन पर्दैमा राम्रो लाग्नु भन्ने केही छैन, फेरि राम्रो लाग्दैमा…।”

“हो हामीलाई पनि थाहा छ । आफ्नो लोग्ने मन नपरेर हुन्छ भनेको । मन परेन भनेर अर्काकोसित साट्न पाइन्छ र ?”

“तपाईंलाई ज्यादै मन परेको छ त ?”

“आचे ! किन छैन त ! तिमी त अचम्मको मान्छे रैछौ !”

“ठट्टा गर्नुभएको हो क्यारे !”

“तिम्रो मुटुको रगत खाने । अब पनि पत्याएनौ ?”

“पत्याएँ,” भनेर घोसेमुन्टो लगाई चरिअमिलोको झार उखेल्दै मुटु आकारका पातलाई चुना-चुना पारी चतुरेले फ्याँक्न लाग्यो ।

“भाइ, तिमीले के विचार गरेको हँ ?” भनी साहिंलीले सोधेको केहीपछि उसले भन्यो-

“सम्झनुहुन्छ ? तपाईंको बिहे हुनुअगाडि, यही रुखमुनी हामी दुई- एउटा किताब हेर्न लागेका थियौं । तपाईंले त्यसमा एउटा मान्छे रोज्नुभयो । यी मानिसको अनुहार सम्झनुहुन्छ ?…गजब ! त्यस्तो मानिस रुचाउनेलाई फेरि भिनाज्यू जस्तो जुङे, चिम्से – नरिसाउनुहोस् है । खल्वाट, छ्वाँके, कालो मान्छे कसरी मन पर्नु ! उसमाथि कसरी माया बस्नु ! त्यो किताबको मानिसभन्दा भिनाज्यू राम्रो पनि लाग्ने भइसक्यो कि ?”

“त्यसो त उही राम्रो लाग्छ नाइँ । तर राम्रो लागेर कागतको मान्छेसँग बिहे हुन्छ र ?”

“त्यसले तपाईंलाई राम्रो लाग्ने मानिसको किसिमको पो देखाउँछ, बिहे गर्ने कुरा त होइन त ?”

“भिनाज्यू पनि चार जनाको अगाडि छि भन्नु त छैन, ब्यारे !”

“बिहे गर्नुअगाडि आमाले तस्वीर देखाई तपाईंको मंजुरी लिनुभएको रे होइन ?”

“हो… हरे भाइ, म साँच्ची भन्छु फेरि अरूलाई त नभन नि ! सत्र-सत्र वर्षसम्म कसैले माग्न नआउँदा त सत्ते जोरी-पारीको लाज लाग्ने भइसकेको थियो । त्यस अवस्थामा मलाई एउटा मान्छेले माग्यो रे भनेको सुन्दा त, के खुशी लागेको भन्छु- मलाई त हाँसूँ-हाँसू पनि लाग्ने, रुँ-रुँ पनि लाग्ने खै, के भाको के भाको !… दुई चार दिनपछि आमाले तस्वीर देखाउनुभयो । पहिले त नराम्रो लाग्यो । तर ‘हुन्न’ भन्दा त्यो मानिसको खिस्रिक्क परेको अनुहार सम्झँदा त के भन्नु त्यो मानिसको माया पो लाग्यो । आमाले पनि वरपर सबै कुरा देखाउनुभयो । अनि त मैले ‘हुन्छ’ भनिदिएँ । त्यस दिनदेखि नै त्यो मान्छेको माया बढ्दै गयो ।”

“बिहे भएपछि झन् मन पर्न पनि थाल्यो । तपाईंलाई यहाँका धेरैजस्ता आइमाईको प्रतिरूप सम्झनु ठीक हो होइन, म भन्न सक्तिनँ । जे होस्, तपाईंको मन देखेर छक्क खान्छु ! तर छक खाने कुरा पो के छ र ? बाल्यावस्थादेखि नै साना जुत्ता लगाइराखेर चिनीयाँ स्वास्नीमान्छेको खुट्टालाई डल्लो पारी बिगारेजस्तै पहिलादेखि नै बन्धनमा पारी तपाईंको मन ‘लोग्ने’ पदलाई प्रेम गर्न परोक्षतः तालिम गरिएको हुन्छ । त्यो पद अनुहारको हकलाई चाहे जस्तोसुकैले धारणा गरोस् तपाईंलाई पर्वाह रहँदैन, किनभने बाल्यकालदेखि तपाईंको दिलले ‘लोग्ने’ पदमा भएका माधुर्य, लालित्य, सौन्दर्य इत्यादि जो जो छन् ती सब त्यो पद पाउने मानिसउपर पोखिनाले त्यो मानिस अर्कै बन्दछ । यसैले लोग्नेलाई तपाईं दिलले हेर्नुहुन्छ तालिम नभएको आँखाले होइन, हृदयले सुँघ्नुहुन्छ नसधाएको नाकले होइन । लोग्नेलाई हेर्न तपाईंका आँखामा ताल्चा मारेको छ, सुँघ्ने नाकमा ठेडी कोचिएको

छ ।”

“आँखामा ताल्चा मार्ने, नाकमा ठेडी मार्ने को हो कुन्नि ?”

‘पुष्कर शमशेरका रचना’बाट