दिउँसो पसलमा चिया बिक्छ, राति रक्सी- यो त्यहाँ आउने सबैलाई थाहा छ ।

दुई वटा लामा-लामा बेन्चमाथि केही मानिसहरू झुकेर बसेका छन् । धेरैजसो मानिसहरूले आधा मुख छोपिने गरेर टोपी लगाएका छन् । उनीहरूका टाउका र हातको छायामुन्तिर भद्दा आकारका गिलासहरू छन् ।

पसलकी मालिक्नी ती मानिसहरूका अगाडि भुइँमा बसेर ठूलो मकलमा मासु सेक्न लागेकी छ ।

आगोमा बोसो परेर निस्केको धूवाँसँग मसला डढेको गन्ध सानो कोठाभरि घुम्छ ।

धूवाँ र मसला डढेको गन्धमा मानिसहरूले आपसमा कुरा गरेको फुसफुसाहट मध्यम हुन्छ ।

“निराशा, चिन्ता, पीडा, भोक यी सबै पलायन हुन् । यिनीहरूले जीवनका तात्त्विक गुणहरूलाई नष्ट गर्दछन् ।’

“तिमीले भनेका यी कुनै पनि पलायन होइनन् । निराशा मानिसको मनको असन्तोषको अभिव्यक्ति हो । प्राप्तिप्रतिको असन्तोष ! जो जीवनप्रति सच्चा आस्तिक छ त्यसले सबै अन अस्तित्वदेखि बेग्लै आस्थामा आफूलाई डुबाउँछ । भोक र चौडा तिमी हामीले आपसमा नबनाएका परिपाटी हुन् ।’

मकलको भरभराउँदो आगोको रापमा मासु सेकिरहेकी मोटी पसल्नीको

चेप्टो मुख आगोको फिलिङ्गोजस्तै रातो देखिन्छ ।

‘बिचरो एउटा अव्यवस्थित मान्छे आफू व्यवस्थित हुनका लागि कति व्यग्र हुन्छ, त्यसको लागि ऊ के गर्दैन । उसको चिन्तालाई तिमी पलायन भन्छौ ।’

‘अँ, ऊ आफ्नो व्यग्रतामा जे पनि गर्छ त्यो गरेकोबाट उसलाई बाँच्नमा बल मिल्छ । तिमी यसलाई ठीक भन्छौ ! उसले त यस लापर्बाहीका लागि दण्ड पाउनुपर्छ ।

‘यो खालि हठधर्मिता हो,’ दुब्लो जीउ र चिम्सा आँखा भएको मान्छेले ठाडो-ठाडो कपाल भएको मान्छेलाई बीचैमा रोक्छ । ‘भइगो, खाने कामलाई नरोकौं ।

अनि उसले चिम्सा आँखालाई अझ चिम्सा पारेर मासु सेकिइरहेको मकलतिर हेर्छ । सायद ऊ बहस धेरै लम्याउन चाहँदैन ।

ठाडो-ठाडो कपाल भएको मान्छे चुप लागेर आफ्नो गिलासमाथि निहुरन्छ ।

पसल एकछिन शान्त हुन्छ ।

पसलमा भएका सबै मानिसहरूका आँखा एक-एक मकलमा सेकिइरहेको मासुमा लागिरहन्छन् । कोही चुप नलागी बसिरहेका मानिसहरू मासु सेकिरहेकी पसल्नीलाई भद्दा इसारा गरेर जिस्क्याउँछन् । पसल्नी उनीहरूको त्यस अशिष्टतामा सङ्कोच मान्दिन, बरु उसका आँखा रमाइलो माने झैँ गरी नाच्छन् । ऊ फलामको सुइरोमा उनिएको मासुलाई आगोमा ओल्टाइपल्टा गरिरहन्छे  ।

‘यो त ज्यादै कडा भयो, अलिकति पानी देऊ न दिदी !’ लामो बेन्चमा गुटमुटिएर बसिरहेकामध्ये कसैले लरबरिएको स्वर झिक्छ ।

‘ल-ल !’ पसल्नी सिल्भरको लोटा समातेको हात पानीको घ्याम्पोमा डुबाउँछे सात जोड हल्लाउँदै त्यो कराउने मान्छेनिर पुग्छे । त्यस मान्छेको ताजा देशी रक्सी भएको गिलासमा उसले अलिकति पानी खन्याइदिन्छे । त्यो स्वर लरबरिएको मान्छेले हातको गिलास छोड्छ र पसल्नीको मोटो थुलथुल परेका पाखुरामा समातेर तान्छ । ‘यी सबै नीच हुन् !’ ठाडो ठाडो कपाल भएको मान्छेले गिलासमा मुख गाड्छ ।

पुलिस !

पुलिस !

मध्यम फुसफुसाहट एकैछिनका लागि पसलमा व्याप्त हुन्छ ।

‘मेरो पसलमा पुलिस पनि आउँछ,’ पसल्नी हाँस्छे ।

‘ए, तिमीले सरकारबाट लाइसेन्स लिएकी छौ ?’ कसैले ढुक्क भएर सोध्छ । पुलिस एउटा मान्छेलाई घिच्याउँदै भित्र पस्छ । भित्र पस्नेबित्तिकै उसले यताउता टाउको घुमाएर पसल्नीसित भन्छ- ‘अलिकति देऊ त चाँडै !’

पुलिस निर्धक्क भएर एउटा बेन्चअगाडिको टेबुलमाथि गएर बस्छ । उसलाई अरू त्यहाँ भएका जति सबै ऊदेखि डराएर दबेको जस्तो लाग्छ । त्यसैले ऊ टेबुलमा राम्ररी जमेर घुँडामाथि घुँडा अड्याउँछ र आफूले सँगै घिच्याएर ल्याएको मान्छेपट्टि गर्वले हेर्छ । त्यो मान्छेको अनुहार फुस्रो कालो छ ।

‘मलाई छोडिदिनोस् ।’

पसल्नीले देशी रक्सी भरिएको काँसको गिलास ल्याएर पुलिसको हातमा राखिदिन्छे ।

‘मलाई छोडिदिनोस्,’ फुस्रो कालो अनुहार भएको मान्छे सुकेको स्वरमा कराउँछ ।

‘चोरको डाँको ठूलो !’ पुलिसले त्यो मान्छेको गर्धनमा हातले बेस्सरी समाउँछ ।

पसल्नीले मकलमा चलाउन बिर्सेको मासु एक पाखो स्वात्तै डढ्छ । ‘यो चोर हो !’ मासु डढेको धूवाँसितै कोही फुसफुसाउँछ ।

‘यसको हातमा हेर न,’ पुलिस लापर्बाहीसित भन्छ । फुस्रो कालो अनुहार भएको मान्छे निहुरेर हातमा फलामको एउटा सानो मार्तोल व्यग्रतासँग खेलाइरहेको हुन्छ ।

‘एउटाले यस गधालाई ल्याएर मकहाँ भिडाइदियो,’ पुलिसले एकै सासमा गिलास रित्त्याउँछ ।

‘वाह ! कस्तो चोर यो?’

‘एउटा मार्तोल ।’

‘खालि एउटा सानो मार्तोल ।’

बेन्चमा झुकेर पिउनेहरूको संयुक्त हाँसो एकैचोटि निस्कन्छ ।

‘मलाई छोडिदिनोस्, मैले अझ केही चोरेको छैन ।’

पुलिसलगायत फेरि सबै एकैचोटि हाँस्छन् ।

‘मार्तोलचोर पनि चोर हो । निकै चलाख चोर छ यो !’

‘चोरीबाट बच्ने नयाँ तरिका !’

‘सते, मैले केही चोरेको छैन । म झ्यालबाट कोठाभित्र पस्नेबित्तिकै पहिले भुइँमा पडिरहेको यो मार्तोल देखेर उठाएँ ।’

‘अनि तैंले त्यही मार्तोलले बाकसको ताल्चा खोल्न लाग्न पक्डिइछस् होइन साले !’ पुलिसले टेबुलबाट ओर्लेर त्यो फुस्रो कालो अनुहार भएको मान्छेलाई एक लात हान्छ ।

त्यो मान्छे ढुनमुनिन्छ ।

‘म अस्तिदेखि भोको छु,’ त्यसको स्वर मसिनो हुन्छ । ‘मेरी स्वास्नी आजै मरी ।

मासु र मसला डढेको धूवाँ गुम्म हुन्छ ।

‘यसभन्दा पहिले मेरो छोरो मरेको थियो,’ फुस्रो कालो अनुहार भएको मान्छे आफैँ बक्दै जान्छ । ‘अनि जुन रात मैले पहिलो चोटि एउटाको दराज फोरेको थिएँ त्यसै दिन मेरो ४० रुपियाँको जागिर खोसिएको थियो ।’

‘साला! तँलाई डर लाग्दैन अनैतिक काम गर्न?’ पुलिसले सबै जनाको अगाडि एउटा अश्लील शब्द झिक्छ ।

‘के गरेको छु मैले? कसैकी छोरीबेटीमाथि हात उठाएको छु?’ ‘गधा !’ पुलिसले त्यसलाई गर्धनमा समातेर भुइँमा घोप्ट्याउँछ ।

“देख्यौ, यस क्षुद्रले आफ्नो बेबकुफीको उचित दण्ड पाउँछ नि !’ ठाडो- ठाडी कपाल भएको मान्छेले दुब्लो जीउ र चिम्सा आँखा भएको मान्छेको कानमा

मुख जोर्छ ।

‘तँलाई डर लाग्दैन?’ पुलिसको स्वर ठूलो हुन्छ ।

मलाई एउटा ईश्वरको डर लाग्छ,’ फुस्रो कालो अनुहार भएको मान्छे तड्पिन्छ । ‘मैले जे गरेको छु, ईश्वरकै आदेशबाट गरेको छु ।’

‘त्यसो भए चोर्न यसलाई ईश्वरले सिकायो ?’

गिलासहरू आपसमा ठक्कर खाएर जलतरङ्गझैँ बज्छन् र सामूहिक हाँसो मकलको धूवाँसितै उठ्छ ।

पुलिसले बरबराइरहेको फुस्रो कालो अनुहार भएको मान्छेलाई समातेर सडकमा निक्लने ढोकातिर घिच्याउँछ ।

‘ईश्वरले मलाई यतिन्जेल बचाएको थियो ।’ त्यो मान्छे फुत्कन जोड गर्छ- ‘एकछिन पख् न ! म ईश्वरसित सोध्छु, फेरि यो विश्वासघात केलाई….?”

‘साले तेरै ईश्वर बोल्छ ।’

फुस्रो कालो अनुहार भएको मान्छे मार्तोल हातमा उठाएर तड्पिन्छ- ‘म साँच्चै पक्डिएँ । त्यसो भए मेरो हात एकछिन छोडिदेऊ, म उसको आदेश दिने मुखमा यो मार्तोलले पेचकिला कसिदिन्छु ।’

ठाडो-ठाडो कपाल भएको मान्छेसँगै बसेको दुब्लो जीउ र चिम्सा आँखा भएको मान्छे रित्तो गिलासलाई टेबुलमा लडाएर उठ्छ ।

‘यो सब कति चाँडै भयो । देख्यौ, त्यो मान्छे पीडित भएर पनि अस्तित्ववादी छ । पलायनलाई सायद त्यसले चिनेको छैन, नत्र अन्त्यसम्म त्यो यसरी सङ्घर्षरत हुने थिएन । त्यसको सोझो विश्वासलाई तिम्रो विधानको परिपाटीले चित्त बुझाउन सक्छ? भन त त्यो सोझो मान्छे कसरी दण्डको भागी भयो !’