टोकियोमा फेरि हिउँ पर्नै लाग्यो । गएको वर्षभन्दा धेरै छिटो जाडो आयो । धेरै छिटो रुखका पाताहरू झर्न थाले । यौटा चिसो सिरेटोले मुटु कपाउन लाग्यो । त्यहाँ भन्दा यहाँ धेरै जाडो र चिसो हिउँ । त्यहाँ भन्दा यहाँ बाँच्न धेरै कठिन भयो । पाल्देनलाई यस्तै केही लाग्यो । टिभी हेर्दाहेर्दै सगरमाथा चढेका अनुहारहरूले पाल्देनलाई नराम्ररी गिज्याएझैँ लाग्यो । उसले टिभी बन्द गर्यो।
त्यहाँ भनेको पाल्देनको जन्मेको गाउँ सोलु र यहाँ भनेको संसारको अति महँगाे सहर टोकियो । टोकियोको सुरुङ्मुनिको रेलसँग जोडिएको यौटा सानु गाउँ । त्यस गाउँको यौटा घर र त्यसभित्रको यौटा कोठामा पाल्देनलाई बस्न मन लागेन । ऊ बाहिर निस्क्यो । सडकसम्म आयो । धेरै हिउँ र हुस्सु छ हुस्सुसँगै गाँसिएको सिमसिमे पानी छ । दिनको दुई बजे नै साँझ पर्न लागेको निर्रथकता छ । यस निर्रथकताभित्र पाल्देन आफैँलाई सोध्छ- “तँ किन र केका लागि टोकियोमा आइस् हँ ?”
यसका धेरै किसिमका जवाफहरूलाई पाल्देन आफैँभित्र तयार गर्छ । पाल्देनले जापानी केटीसँग बिहे गर्यो र अहिले मोजसँग टोकियोमा बसेको छ वा पाल्देन टोकियोमा नोकरी गरी बसेको छ । कत्ति धेरै रकम घरमा पठाइसक्यो, थाहा छ ? पाल्देन अब जापानी नागरिक हुन्छ । ऊ अब नेपाली होइन है ! पाल्देनजस्तो जिन्दगी बिताउन पाए पो हुन्थ्यो ! आफ्नो त भाग्य नै छोटो । यी जवाफहरूलाई एकै ठाउँमा गाँसेर ऊ आफूभित्र सोच्तछ । आफ्नो जालमा आफैँ परिस् होइन पाल्देन ? खाइनस् कि ठूलो भाग !
अब पाल्देनले कुनै ठूलो भाग खोजेको थिएन । न त कुनै ठूलो नोकरी नै खोजेको थियो । अरू साथीहरूले जस्तै ट्रेकिङ गराउने यौटा अफिसमा सानु गाइडको जागिर खाएको थियो । किनभने हिमालकै फेदमा जन्म भएको कारणले सारा हिमालको जिम्मा पाल्देनलाई थियो । सारा हिउँ असिना ठन्डीको भाग पाल्देनलाई थियो । हरेक वर्ष मनले माने पनि नमाने पनि विदेशीलाई ट्रेकिङ गाइड भएर जाने जागिर पाल्देनले खाएको थियो । सारा देशका उत्तरी भाग हिमाल भएझैं सारा नेपालीहरू गाइडकै जागिर खाएर, विदेशीलाई घुमाएर, तिनलाई खुसी पारेर नै पेट पालिरहेका छन् भन्ने पाल्देनको यकिन ठहर थियो । साला त्यही जागिर खाँदा त भेट भयो जापानी सिल्बिया सानसँग । नाम सिल्बिया र मान गरेर बोलाउँदा नेपालीमा “ज्यू” भनेजस्तो सान ।
अनि कति च्वाँक केटी थिई सिल्बिया भन्या । अरू जापानी होचा हुन्छन्, त्यो अमेरिकनजस्ती अग्ली थिई । अरूका नाक थेप्चा हुन्छन्, त्यसका भने बाहुनीहरूको झैं चुच्चो । गालामा गुराँसको फूलको रातो, अनि दाँत चाहिँ हिउँझैँ सेता चम्किला । प्लेनबाट झरेर अफिस पुग्नासाथ सिल्बियाको गाइड पाल्देन नै भयो । त्यो राति पाल्देनलाई साँच्ची निद्रा परेको थिएन । तोङ्वा त कत्ति डबका खायो हो उसले । सबै रुपियाँ सिल्बियाले तिरिदिएपछि त होस र बेहोसीमा पाल्देन कराएको थियो- क्या लक्की नम्बर पाल्देनको ! क्या लक्की टुरिस्ट पाल्देनको !
पाल्देन भोटे घोडाझैँ फुर्तिलो र पाइनदार भएको थियो । त्यसमाथि सिल्बियाले टोकियोमा नै अलि-अलि नेपाली सिकेर नमस्ते पाल्देनज्यू भनेर अनुहार रातो पारिदिँदा त पाल्देनलाई आफू कुन संसारमा छु, कहाँ छु भन्ने नै पत्तो थिएन । सारा खुसीहरू, सारा रमाइलोहरू, सारा चार्डपर्वहरू एकै पटक, एकै दिन जापानी च्वाँक केटीले लिएर आएकी अनुभव पाल्देनको थियो ।
त्यो थियो र अहिले पाल्देन सडकमा छ जुन सडक भर्खरै तोरीको तेलले मालिस गरेको जस्तो छ । पाल्देन सडकमा त निस्क्यो तर कहाँ जाने ?
टोकियोमा आएदेखि पाल्देनलाई दुई कुराको सङ्कट छ- “कहाँ जाने र के गर्ने ?” कुनै बार वा पबमा जाऊँ र टन्न मात्तिएर आऊँ भने पाल्देनको गोजी रित्तो छ । कुनै डिपार्टमेन्ट स्टोरमा गएर केही सामान हेरूँ भने पनि कसका लागि हेर्ने ? बा-आमा मरिसके । दिदी-बहिनी पोइल गइसके । दाजुभाइले अंशको घरबारी खाइसके । साथीभाइ त्यस्तै हुन् । अनि येनको बिटो पनि त चाहियो नि !
घरमा एक्लै धुमधुम्ती बसिरहूँ, कति बसिरहने ? कति दिन वा रात बस्ने ? वा कति वर्ष बस्ने ? कोठामा बसूँ भने सिल्बियाले फ्रिजमा राखेर छाडेकी कुखुराको मासु र रक्सी दुई घण्टालाई पुग्दैन । अनि बाहिर साथीभाइकहाँ जाऊँ भने सबै जना रूखमा फलेका नोटहरू धमाधम टिपिरहेका छन् । तिनलाई अनाहकमा बाधा दिन किन जाने ?
अनि नसम्झूँ भन्दा पनि पाल्देन सोलुको सानो सल्लेरी बजार सम्झन्छ । वास्ताकिस्ता नगरूँ भन्दा पनि ठमेलका गल्लीहरू सम्झन्छ । अब फेरि कहिले नेपाल जाने बा ? ऊ लामो सास फेर्छ र नजिकैको पार्कसम्म पुग्छ । सधैँ गइरहेको पार्क हो । कुनै बहादुर जापानीको सालिक गर्वसाथ राखिएको छ । फूलैफूलले सजिएका बगैँचा र लोभलाग्दा फोहराहरू छन् । जाडो भए पनि पार्कमा आउने युवा-युवतीहरूलाई कुनै जाडो छैन, कुनै शीत छैन । ती आफ्नो प्रेमलाई जीवन्तता दिइरहेकै छन् । वर्षौंवर्षको भेटघाटपछि बल्ल भेट भएजस्तो ती आँखाहरू साटिरहेका छन्, जिब्राहरू साटिरहेका छन् । पाल्देनले निःशुल्क टोकियोमा हेर्न पाउने दृश्य यही हो । होइन भने जहाँतहाँ रुपियाँ-पैसाको कुरा मात्र छ ।
समय सर्छ र पाल्देन फेरि आफ्नो विगतमा पुग्छ । सेतो हिउँमा चुचुराहरूमुनि, कहालीलाग्दा लेकहरूमा पुग्छ । कुनै जङ्गलको पहरामाथि फुल्ने लालीगुराँसको बोटमा पाल्देन साटिन्छ जुन बोट हेर्नलाई राम्रो र रहरलाग्दो छ, तर छोएपछि सजिलै भाँचिने र टुक्रिने जसका कलिला हाँगाहरू छन् । पाल्देनलाई लाग्छ- उसको मन ती कलिला हाँगाहरूझैँ छन् स-साना सम्झनाहरूमा पनि टुक्रिने र भाँचिने । उसको यही कोमलतालाई सिल्बिया सानले बुझी र कुनै मोडमा कराई- ‘कति सुन्दर मान्छे छ, पाल्देन कति परिश्रमी र मिहिनेती युवक छ पाल्देन तिमीजस्तो युवालाई जापानमा लान पाए !’
पाल्देनले एक्कासि सोच्यो- ‘जापानमा जान पाए’ । जापानमा जान पाए उसले कति धेरै धन-सम्पत्ति कमाउन सक्थ्यो । कति धेरै घरहरू काठमाडौँ र सोलुमा बनाउन सक्थ्यो । अझ ऊ आफैँ ट्रेकिङ एजेन्सीको मालिक भएर थुप्रै पाल्देनहरूलाई नोकर बनाउन सक्थ्यो । अरूको नोकर भएर गोरुझैँ जिन्दगी बित्ने थिएन ।
अनि यी सबै भाव र भावनाहरू अप्रत्यक्ष रूपले एकै पटक झांगिएका थिए । सिल्बिया केही नेपालीमा, केही अङ्ग्रेजीमा र नसके जापानीमा भए पनि आफ्नो मनका कोमलताहरू प्रकट गर्थी । अलिकति अप्ठेरो बाटो आयो कि सिल्बिया हात दिन्थी र पाल्देन गर्वले मुस्कुराउँथ्यो । साँझलाई रङ्गीन बनाउन आफ्नै हातले पाल्देनलाई दुई-चार गिलास बढी बियर खुवाएर सिल्बिया विजयले मुस्कुराउँथी । कुन बेला डाँडा आयो र गयो, कुन बेला खोला आयो र तरियो, कुन बेला उकालो र ओरालो सिद्धियो- पाल्देन र सिल्बियालाई थाहा भएन । साथीहरू आउनुअगाडि ती बासमा पुगेर खाजा खाइसकेका हुन्थे, नभए पनि चिया खाइसकेका हुन्थे ।
पाल्देनलाई यही ट्रेकिङमा थाहा भयो- संसार यति विशाल छ, यहाँ यति धेरै भाषाहरू, उपभाषाहरू भए पनि हृदयको भाषा सबैले भाषिक सञ्चार गर्दा रहेछन् । पाल्देनले भाषा नभए पनि आँखा-आँखाले बोल्यो, औँला-औँलाले बोल्यो, दाँत-दाँतले बोल्यो, ओठ-ओठ, जिब्रो-जिब्रोले बोल्यो । पाल्देन कहिले आदिम मान्छे भयो, कहिले आजको मान्छे । जति दिन र रातहरू जोडिन लागे, पाल्देन आफैँलाई लाग्यो सिल्बिया उसकै लागि जन्मिएकी रहेछ अथवा ऊबिना बाँकी दिनहरू पाल्देन काट्न नसक्ने रहेछ ।
पाल्देनका केही सपनाहरू थिए, जसलाई उसले सिल्बियाको छायामा हुर्काउन चाह्यो । आफ्ना सारा विगतहरूले उसलाई धोका दिएका थिए । आफ्ना सारा आफ्ना भन्नेहरूले सिस्नोले झैँ उसलाई पोलेका थिए । सामान्य खानु-पिउनुको जिन्दगीबाट पाल्देन माथि उठ्न चाहन्थ्यो । यसैले ट्रेकिङबाट फर्कंदा-नफर्कंदै तिनीहरूले अब कहिल्यै नछुट्टिने किरिया खाइसकेका थिए । स्वयम्भूको डाँडामाथि अस्ताउन लागेको सूर्यलाई हेरेर तिनले आफ्नो प्रेमको सूर्य कहिल्यै नअस्ताउने प्रतिज्ञा गरेका थिए । ठमेलका गल्लीहरूमा ती साथ थिए, झोंछेको फ्रिक स्ट्रिटमा घुमेर गाँजाको चुस्कीको स्वाद लिँदा ती साथ थिए ।
अनि सिल्बियाले भनेकी थिई- “बौद्ध परम्पराअनुसार हामी बिहे गरी जापान जाऊँ पाल्देन ।”
यी शब्दहरू पाल्देनका लागि झन् खुसीका शब्दहरू थिए । बुद्धका शान्त आँखाहरूबाट आशीर्वादका मौन स्वरहरू निस्केको आभास पाल्देनलाई भयो । बुद्ध उसको परम्परा र संस्कृति मात्र होइन, लामो जीवनदर्शन थियो ।
“तिमी बुद्धिष्ट हौ ?” पाल्देनले कुनै दिन सोधेको थियो ।
“म बुद्धलाई श्रद्धा गर्छु पाल्देन । मेरो मनमा सानैदेखि भगवान् बुद्धप्रति अगाध श्रद्धा र विश्वास छ । तिमी बुद्धको देशको मान्छे- मलाई तिमी स्वयम् यौटा सानु बुद्धजस्तो लाग्छ मेरो पाल्देन !” सिल्बियाले लामो अँगालो हालेकी थिई ।
पाल्देन पार्कको बेन्चबाट उठ्दा उसको कानमा यी शब्दहरू रिङरिङाइरहे, अझ झनझनाइरहे- यौटा सानु बुद्ध, ए लिट्टिल बुद्ध, एउटा सानु बुद्ध । सिल्बिया सधैँझैँ आज पनि मध्यरातमा आउँछे । मध्यरातमा आएर सिल्बिया सुत्न सक्तिन, उसलाई निद्रा आउँदैन । निद्राबाट ब्युँझिएर उसले सिल्बियालाई त्यही आदिम सेवा बाध्य भएर दिनुपर्छ- जो उसले वर्षौवर्ष दिइआएको छ । यही कुराको सम्झनाले पाल्देनको सारा आत्मा मरेर आउँछ र आत्महत्या गरेर जिन्दगीलाई टोकियोमै यता कतै सधैँका लागि बिसाइदिऊँ भन्ने लाग्छ ।
बिजुली बत्तीहरू बलिसकेका छन् । पाल्देन हतारसँग फर्कन्छ । यसरी फर्कंदा उसको मनमा न कुनै पुराना सम्झनाहरू छन्, न कुनै नयाँ योजनाहरू छन् । न कुनै इच्छा र आवेगहरू नै हुन्छन् । पाल्देन शून्य मन लिएर त्यही घरमा फर्कन्छ, कुनै विचार, आकाङ्क्षा वा सपनाबिना । मानौँ, केही पनि भएको थिएन, केही पनि हुनेछैन- यो संसार यसरी नै चलेको छ, चलिरहनेछ । र, थुप्रै पाल्देनहरू जन्मनेछन्, मर्नेछन् । फेरि जन्मने छन्, मर्नेछन् ।
किन हो किन पाल्देनको मन गह्रौं छ । मनभित्र कतै ठूलो ढुङ्गा बसेजस्तो । र, त्यो ठूलो ढुङ्गा त्यही बेला बसेको थियो- जब सिल्बिया र ऊ बौद्धमा गएर लामा राखेर बिहे गरेका थिए । बाहिर पाल्देन जति हाँसे पनि, जति नै खुसी भए पनि उसको भित्री मन किन हो किन खुल्न सकेको थिएन । कहीँ कतै केही गह्रुङ्गोपना थियो, उदासीपना थियो, जसलाई यही हो भनेर पाल्देन व्यक्त गर्न सक्तैनथ्यो ।
टोकियोमा आएपछि उसले सिल्बियालाई अनुरोध गरेको थियो- “म पनि कतै केही काम गरूँ कि ?”
काम गर्ने कुरालाई सिल्बियाले पूरै नकारेकी थिई । उसको पासपोर्ट आफूसँग राखेर भनेकी थिई- “पाल्देन तिमी अब सिल्बिया सानको श्रीमान् पनि हौ । जापानमा आएर तिमीले जूठा भाँडाहरू माझ्न पर्दैन । न तिमीले कसैका केटाकेटीहरू नै हेरिदिनुपर्छ । तिमी शानसँग घरमा बस, टि.भी. हेर र जिन्दगीलाई रमाइलो बनाऊ ।”
कुरा एकदमै राम्रो र आदर्श थियो । तर हरेक रात पाल्देन बलात्कारको शिकार हुनुको पीडाले छटपटाउँथ्यो । जसलाई आफू यौटा स्वचालित यन्त्रमा साटिएको र सधैँ सिल्बियाको आज्ञाले थिचिएको अनुभव हुन्थ्यो । पाल्देनका आफ्ना निजी इच्छाहरू मरुभूमिका बालुवाझैँ भएका थिए । ऊ केही भन्न र गर्न सक्तैनथ्यो । कुनै स्कुलको आज्ञाकारी बालकलाई झैँ सिल्बिया उसलाई आज्ञा दिन्थी र चुपचाप सकी-नसकी त्यसलाई ऊ स्वीकार गर्थ्यो ।
अब सोलु र सल्लेरीका जङ्गलहरूमा पाल्देन सपनामा मात्र दौडन्थ्यो । हिमालका चुलीहरू ऊ टेलिभिजनमा मात्र हेर्थ्यो । पाल्देनभित्रको पाल्देन प्रतिरात मर्दै जान्थ्यो, सुक्दै जान्थ्यो । फेरि नेपाल फर्केर त्यही ट्रेकिङकाे जागिर खान पाए पनि हुन्थ्यो भन्ने यौटा झिनो सपना बोकेर पाल्देन बाँच्दैथ्यो ।
अनि एक दिन पाल्देनले भाग्ने विचार गर्यो । तर भागेर पनि ऊ कुनै साथीकहाँ दुईचार दिन लुक्न सक्छ, तर नेपाल पुग्न ऊ सक्दैनथ्यो । ऊसँग न पासपोर्ट छ न पैसा छ, न केही छ न केही । अनि एकदिन पाल्देनले रेलमा किचिएर मरिदिने विचार गर्यो । तर आत्माहत्या जस्तो जघन्य अपराध अरू केही हुन सक्तैन भनेर त्यस विचारलाई पनि उसले छाडिदियो ।
पाल्देन घरमा पुग्दा किन हो सिल्बिया छिट्टै आइपुगिसकेकी रहिछे । यति रातिसम्म कहाँ गएको भनेर सिल्बियाले केरकार गरी । रक्सी खाएको छ कि भनेर मुख पनि सुँघ्न आइपुगी । पाल्देनले सिल्बियाको अनुहार हेर्यो- केही वर्षमा त्यो अनुहार साटिइसकेको रहेछ । त्यो लाम्चो नाक थेप्चो भएको र आँखाहरू गाडिइसकेका रहेछन् । अनुहारमा चायाँ र पोतो पर्न लागेको रहेछ ।
“पाल्देन तिमीलाई कस्तो छ ?” – सिल्बियाले गम्भीर भएर सोधी ।
“म ठीकै छु,” बोल्न त पाल्देन बोल्यो, तर उसलाई लागेको थियो । ऊ सरासर झुटो बोलिरहेछ ।
“तिमीलाई एउटा राम्रो उपहार ल्याइदिएको छु मैले । यो बुद्धिष्टहरूले जप गर्ने माला हो, फुर्सदमा बुद्धलाई सम्झेर तिमी जप गर्ने गर, तिम्रा पापहरू नास होलान् ।” सिल्बियाले माला दिन चाही ।
तर पाल्देनले निर्णय गर्न सकेन- त्यो माला लिएर, जप गरेर उसले कुन पापको प्रायश्चित गर्ने हो ? कुन अपराधको ? पाल्देनलाई थाहा भएन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।