बाटो हिँड्दा सधैं हाँसेर बोल्ने निरोल्नी दिदी हिजोआज बोल्दिनन् । बाटामा उभिएर कसैसँग बात गरेको पनि देखिँदैन । हुन त ऊ जागीरे महिला हुन् । समय मिलाउन नसकेर होला भन्दै थिएँ ।
धेरै दिनपछि उनीसँग जम्काभेट भयो उनैको घरनजीकै । अनुहारमा अघिको कान्ति र हँसिलोपन देखिँदैन । फुस्रो हाँसो खिस्स हाँसेर उनी जानलाग्छिन् ।
हतारहतार उनलाई रोक्दै कुरा गर्छु, “तिमी त बोल्नै छाड्यौ त, बुहारी आएपछि तिमीसँग समय प्रशस्तै हुनुपर्ने, आज झन् छुट्टिको दिन । एकछिन बसेरै सुखदुःखका कुरा गरौँ भन्या । चिया दिनुपर्छ भनेर डराए जस्तो पो छ त !”
“जे सोचे पनि सोच्नुहोस् । आज बात गर्ने इच्छा छैन । फेरि अर्को दिन गरौंला है दिदी !”
उनको घरबाट चर्को आवाज आउँछ । कान त्यतैतिर ठाडा पार्दै झसङ्ग हुन्छु म ।
“तेरी आमा बाटोमा कोसँग खुसुक्क कुरा गरिरहेको देख्छु, तैँले देख्या छैनस् ? छैन भने आँखा तन्काएर हेर् ।”
अब बुझ्न बाँकी रहेन निरोल्नी दिदी परिवर्तन भएको कारण । यसरी कति मान्छेलाई कतिले गलत सोचिरहेका हुन्छन् ! उनीहरूको असल समस्यालाई कसैले पनि अनुभव गर्न खोज्दैनन् । घरको वातावरण र समस्याले मान्छेलाई यसरी अल्झाउने रहेछ कि उनीहरू सबैथोक त्याग गरेर मौनता अपनाउन बाध्य हुन्छन् ।
बिचरी, जागीरे छोरालाई धूमधामसँग बिहे गरी ल्याएकी बुहारीको अत्याचारको चपेटामा पो रहिछन् ! फर्केर हेर्दा उनी त्यहाँबाट गइसकेकी थिइन् ।
० ० ०
नितेश शान्त स्वभावको मृदुभाषी हुनुको साथै पढाइमा अब्बल विद्यार्थी थिए । दुइटै छोरालाई संस्कार दिन सफल थिए पितामाता । घरको माहोल अत्यन्त खुशहाल हुनेगर्छ । बुबाआमा दुवै जागीर जाने । दुई दाजुभाइ बीच माया देख्दा म नष्टालजिक हुन्थेँ । कति सुखी घर भन्ने लाग्थ्यो त्यतिखेर ।
पढ्दापढ्दै तालिम दिएर सानो छोरो हितेस पनि जागीरतिरै लाग्छ । लक्ष्मी माताको कृपादृष्टि यिनीहरूसँग रहेछ भन्थे गाउँका मान्छे ।
बुहारी आइन् । उनको पनि शिक्षिकाको पदमा नियुक्ति भएको एकसाल बितिसकेको थियो । घरमा दुई वटा कार आँगन शोभायमान पार्दै खडा छन् । तर उनी माइतीघरमा बसेर जागीर जाने कुरा गर्छिन् ।
सासूससुराको कुरालाई काट्दै उनी भन्छिन्, “म यहाँ बसेर आवतजावत गर्न सक्दिनँ, चिया र भात दिन्छे भनेर सोच्नु पनि पर्दैन ।”
सङ्घात शुरू हुन्छ ।
नितेश बिचरा ! यता आफ्नो प्रेम उता मातापिता ! कसको सुन्नु । दोधारमा पर्छ । कसरी यति ठूलो गल्ती भयो उसको! तनुसँग यति लामो समयको प्रेम गर्दा ऊभित्रको लालची र ईर्ष्यालु स्वभाव देख्न नपाउनु के उसको अन्धो प्रेमको परिणाम हो या सरलतामाथि प्रश्न चिह्न ?
नितेशको मनको गहिराइसम्म कालो बादल छाउँछ । हिजोसम्म जिन्दगीलाई हेरेर आएको नजरिया एक्कासि बद्लिन्छ, जीवन त कुहिरोभित्र लुकेको घामजस्तै रहेछ, खुशी आउने अघि नै छोपेर लुक्नुपर्ने ।
शायद मौन बसेर समाधान खोज्दै हुन्छ नितेश । बोल्ने त कसको पक्षमा ।
बरु मौनताले केही समाधान देला भन्दाभन्दै कुरो गहिराइसम्म पुग्छ । जागीरबाट छिट्टै घर आउँदा आमाको गुनासो र बाबाले बुझाइरहेको देख्दा आँखाबाट आँसु आउँछ नितेशको ।
आमा भन्छिन्, “मैले के पाप गरेकी रहेछ र आज आफ्नै घरमा यति अवहेलित हुनुपर्यो, नितेशका बाबा ? कति खुश थिएँ म ! आफ्नो पनि अझै चार/पाँच साल जागीर छ । बुहारीलाई ढिलो हुन्छ भनेर काम गर्ने मान्छे पनि खोजेकी थिएँ । तर एक बात नबोली मलाई सासूसँग बस्न सक्दिनँ भन्दा कस्तो लाग्यो होला ! यही दिन देख्न मैले छोरा जन्माएकी थिएँ र ?”
एकशब्द बोल्दैन छोरो ।
“तिम्रो गल्ती छैन । उनीहरूको परवेशको गल्ती हो रेणु । तिमी निश्चिन्त बस । म छोरासँग कुरा गर्छु ।”
बाबाको कुरा सुनेर नितेश चुप्प लागेर बस्न सकेन । ऊ आमालाई अँगालो मारेर डाको छोडेर रुन्छ ।
“मलाई माफ गर्नुहोस् आमा । उसको यस्तो निकृष्ट स्वभावबारे मैले केही थाहा पाउन सकिनँ ।
अहिले म आफैँलाई लुकाएर एउटा मूकदर्शक भइरहेको छु आमा ! बोलेर कसलाई सम्हाल्न सक्छु मैले अब, कसलाई बुझाउन सक्छु जसले आफैँलाई बुझाउन सकेको छैन ।”
नितेशको असहायपन र भक्कानिएको अनुहार आमा बाबाको लागि साह्रै पिडादायक हुन्छ । आजसम्म कहिल्यै उसलाई यति निराश देखेका थिएनन् उनीहरूले ।
आफ्नो पीडा बिर्सिएर दुवै एकसाथ भन्छन्, “हिम्मत हार्नु हुँदैन छोरा ! सब ठिक हुन्छ । समय यतिखेर शायद हाम्रो विपक्षमा चल्दैछ ।”
जीवनको चक्र कहिले कता घुम्छ कसैलाई थाहा हुँदैन । कोठाभित्र शून्यता छाउँछ । अकल्पनीय शून्यता ।
घर बाहिरका गमलामा फुलेका फूलहरू ओइलिएर हेरिरहेका हुन्छन् । उनीहरूलाई पानीको आवश्यक अनुभव भइरहेको देखिन्छ ।
निरोल्नी दिदी त्यतैतिर एकोहोरिन्छिन् । बिचरा गमलाका फूल, मानिसको लडाइँमा परेछन्!
आफ्नै कोठाभित्र बसेर आफूलाई प्रश्न गर्छ नितेश, म सही छु या गलत ! अब मौनता तोड्नुपर्छ मैले, नत्र ढिलो हुन्छ ।
ऊ आफ्नो सरकारी क्वार्टर जाने फैसला गरेर प्याकिङ शुरू गर्छ ।
ऊ अघि पनि बसेकै हो । अब घरमा मिलाप नभएपछि के गर्नु ! पहिल्यै दुखी छिन् आमा । त्यसैबीच फैसलाले अझ दुखी नहोऊन् भन्ने सोचेर आमालाई सम्पूर्ण बुझाई आफ्नो गाडी निकाल्छ ।
कसले जान्दछ जीवनले कुन मोडमा पुगेर अर्को बाटो लिन्छ ! आज तनुलाई फोन गर्न मन लागेन । ऊ आफ्नै माइतमा रमाइरहोस् ।
धेरै दिन छोडेको कोठाभित्र माकुराको जालो लागेको हुन्छ । बडारकुडार पारेर सुटकेसबाट नयाँ च्यादर निकालेर ओछ्याई ऊ पल्टिन्छ । अतीतको पन्ना उसको सामु आउँछ र भन्छ, “के सोचेको नितेश ? घरबाट यहाँ भागेर त आइपुगिस्, तर के आफूबाट भाग्न सक्छस् ? गल्ती तेरो हो । अब तैँले आफैँ सुधार गर्नुपर्छ ।”
“मैले के गल्ती गरेँ ? तनुसँग प्रेम गरेर विवाह गर्ने ? कि घर छोडेर यहाँ आउने ?”
“दुइटै !”
उसको जिद्दी स्वभाव जानेर पनि इग्नोर गर्नु तेरो सबैभन्दा ठूलो गल्ती हो । अनेक जिद पूरा गर्दै आउँदा एकपटक सोच्नुपर्छ आमा बाबाको त्याग पनि तेरो जीवनमा माइने राख्दछ । अब कसलाई छोड्ने नितेश ? एउटा नछोडे विकल्प छैन ।
ना…इँ, नाइँ…, नाइँ !
यति सारो कराउँछ कि छेवैको कोठाभित्र सुतिरहेको उसको जुनियर के भयो सर भन्दै कोठाभित्र कुदेर आउँछ ।
उसलाई लाज लाग्छ र अलि अप्ठ्यारो तरीकाले बोल्छ, “केही भएको छैन अमर, सपना देखेछु ।”
साँझ परिसकेको हुन्छ । बाहिर सुनसान प्रकृति । जामुनाको बोटमा केही निशाचर चरी आहारा खोजेर बस्नथाल्छन् । उसलाई आमाको हातको चिया याद आउँछ । निबुवाको रस हालेर ठिक्क चिनी मिलाई बनेको चियाले दिनभरिको थकान मेटिदिन्थ्यो । लामो सुस्केरा हाल्दै अमरको काँधमा हात राखेर चिया पिउन जाने आग्रह गर्छ ।
तेल कम्पनीको कोलनी । ब्रिटिशकै दिनमा बनिएका घर अझै छन् एकदुई । शिरीषका रूखका बीचबाट उनीहरू चिया पसलतिर लाग्छन् । सिरसिरे हावाले शरीर मन शीतल पार्ने कोशिश गरिरहेको हुन्छ, तर नितेशको मनमा बलेको आगोले उसलाई पोलिरहन्छ । हावा बाहिर चल्छ, भित्र पस्न सक्दैन ।
करिबन नौ बजेतिर ऊ कोठामा आएर सुत्ने बिचार गर्छ । आमाको फोन आउँछ – “खाना खाइस् ?”
“खाएँ, आमा ! होटलमा खाएर आएँ ।”
आमा ढुक्क पर्छिन् तर उसको भूँडीमा भने मुसा कुदिरहेका हुन्छन् ।
तनुको व्यवहारले उसको मनमुटु चिरिएको छ । झगडा गरेर गएपछि न तनुको फोन आएको छ न उसका मातापिताले केही सोधेका छन् ।
राति धेरै बेरसम्म निद्रा आउँदैन । ढिलो आँखा जोडिएछन् । बिहान अबेरसम्म सुतिरहेको नितेशको ढोकामा कसैले दस्तक दिन्छ । आँखा मिच्दै ढोका खोलेर अघिल्तिर प्रहरीलाई देख्दा झसङ्ग हुन्छ ऊ ।
“नितेश निरौला तिमी नै हो ?”
प्रहरीको प्रश्नको जवाफमा हो भन्दै टाउको हल्लाउँछ नितेश ।
“आफ्नी नवविवाहिता पत्नीलाई आमाछोरा भएर अत्याचार गरी यहाँ आएर किन लुकेका ?”
“के भन्नुहुन्छ हजुरहरू ? हामीले तनुलाई के अत्याचार गर्यौं ? ऊ आफैँ आमालाई मनपरी भनेर घरबाट निक्लेर गएकी हो हजूर । कसैले गलत इन्फरमेशन दियो हजुरलाई ।”
तनुको बाबालाई हेर्दै नितेश भन्नलाग्छ – “बाबा के यो मेरो लुक्ने जग्गा हो ? यहाँ बसेर म जागीर गर्छु भन्ने कुरा हजुरहरू सबैलाई थाहा छ । यो नाटक किन ? तनुको गलत कुरालाई हजुरहरू बडावा दिँदै हुनुहुन्छ, किन ?”
तनुका बाबा केही बोल्दैनन् । बाहिर सुनसान थियो । अब एक छिनपछि यो बाटोमा कमिला सरह मान्छे हिँड्न थाल्छन् । के भन्लान् प्रहरी आएको देख्दा !
“हजुरहरू जान सक्नुहुन्छ । कहीँ पनि केही भएको छैन । तनुलाई मसँग बिहे गरेर खुशी मिलेन भने उनको जे इच्छा त्यही गरून् । बाधा छैन ।” नितेश दैलो बन्द गरेर भित्र पस्छ ।
आमा बाबा पनि कति लबस्तरा रहेछन् एक्कासि प्रहरी लिएर आउने ! अघिल्लो दिनदेखि केही नखाएको भोको शरीर भुइँचालो आएजस्तै हल्लिन थाल्छ । ऊ घर सम्झिन्छ ।
गाडी निकाल्छ र घरतर्फ लाग्छ । दश किलोमीटर बाटो कतिखेर कट्यो थाहै नपाई घरको आँगनमा गाडी थामिन्छ ।
छुट्टीको समय । खाना बन्दै थियो । नितेश सिधा पकाएको ठाउँमा पुग्छ । छिटो भात दिने आग्रह गर्दै टेबलमा बसेको देखेर आमालाई बुझ्न बाँकी रहेन उसले बेलुका के खाएनछ ।
तृप्तिले खाना खाए पनि प्रहरी उसलाई खोज्दै गएको कुरालाई भुल्न सकेको छैन । आमालाई भनेर अरू दुःख थपिदिने मन पनि छैन उसलाई ।
हेर्दै जाऊँ समयको तमाशा !
शिक्षित भएर आजका पिँढी सभ्य हुन जानेनन् । उनीहरू आत्मकेन्द्रित भएको कारण के हुन सक्छ ? आफैँलाई बुझाउन प्रयास गर्दै मनमा कुरा खेलाउँछिन् निरोल्नी त्यै डाइनिङ टेबलमा बसेर ।
“आफू बिहे भएर आएपछि कसरी घरका सबैलाई खुशी पार्न सकिन्छ भनेर सबैको ख्याल राखेको याद गर्छिन् उनी । त्यसो त सासुससुराको माया पनि पाएकी थिइनँ उनले । शायद कुनै मोडमा गल्ती गरिन् होला । त्यसैले आज आफूले माया गर्न चाहँदा पनि लिन खोज्दिनन् बुहारी !” तै पनि मनमनै भन्छिन् – उनीहरू दुईजना मिलेर बसून् । जब एउटा सन्तान हुन्छ तब अवश्य बुझ्नेछन् आमा र सन्तान बीचको माया ।
“आमा !”
बाहिर कान्छो छोरो पुकारिरहेको हुन्छ । आमाको बोली नसुनेपछि नजीक आएर आमालाई फकाउने शैलीमा बोल्न थाल्छ, “के सोचेर बसिरहनुहुन्छ आमा ! चिन्ता नगर्नुस् । म छु । हजार सुख छोड्न तैयार छु मेरा मातापिताको लागि ।”
“केही होइन । सब ठीक हुन्छ छोरा । फ्रेस भएर आइज । म चिया ठीक पार्छु ।”
एउटा सुन्दर माहौल तैयार पार्ने कोशिश गर्छिन् उनी
बिधि र बिधाता भन्छन् – मान्छे, कहिलेकाहीँ बिधिले दिए पनि बिधाताले दिँदैन ।
हितेश बिरामी पर्छ । मातापिता दुवै उसलाई लिएर दिल्ली जान्छन् । नितेश एक्लै घरमा रहेको थाहा हुन्छ तनुलाई । ऊ आउँछिन्, तर लालचसँगै ।
यो घर र घडेरी आफ्नो नाउँमा गर्न चाल चल्छिन् उनका बाबासँग मिलेर । कुनै हालमा समर्थन नपाएपछि ऊ नितेशमाथि झुटो इल्ज़ाम लगाई एफ आइ आर फाइल गर्छिन् ।
फेरी पुलिसको सामना गर्नुपर्छ नितेशले ।
आफ्नो दुर्भाग्यपूर्ण प्रेमलाई धिक्कार दिँदै ऊ जामीनको लागि साथीहरूसँग गुहार लगाउँछ ।
सबैको सल्लाह पाएपछि नितेश डिभोर्स पेपर तैयार पार्न वकीलसँग पुग्छ ।
बिहेको तीन महिनाभित्र बिछोडिन्छ एउटा जोडी !
उता मेजर सर्जरीपछि हितेशलाई घर ल्याइन्छ । सबै निःशब्द हुन्छन् । यति ठूलो फैसला एक्लै लिनु उचित होइन थियो तर गलत जस्तो पनि लागेन निरोल्नी दिदीलाई ।
अलि अलि गर्दै उनको हाँसो फिर्ता आउँछ । तबसम्म पूर्ण रूपमा हाँस्न बोल्न थाल्नुहुन्छ जब नितेशको अर्को विवाह मञ्जुसँग हुन्छ ।
० ० ०
बाह्र वर्षपछि…
एउटा होटलमा जम्काभेट हुन्छ तनुसँग नितेशको साथमा मञ्जु र दुई स-साना नानीहरू । मञ्जु तनुकी सानीमाकी छोरी । अलि टाढा हुनाले र गरीब भएको कारण उनीहरूसँग सम्पर्क राख्दैनथे तनुका मातापिता ।
पढाइ पूरा नगरी कलेज छोडेकी मञ्जुलाई नितेशसँग देखेर तनुको मनमा ढ्याङ्ग्रो बज्दछ । खान मगाएको छोला पुरी त्यहीँ छोडेर बिल बुझाउँछिन् र त्यहाँबाट निक्लेर घरको बाटो लाग्छिन् । आफ्ना चाउरिन लागेका गालामा बगेका आँसु रुमालले पुछेर ऊ सोच्दछिन् – अहङ्कारले एक्लो पारेको आफ्नो जीवनको कहानी ।
“आज मेरा पनि त्यस्तै नानीहरू हुन्थे, माया गर्ने पतिको साथ हुन्थ्यो । नितेशले बारम्बार बुझाउँदा पनि घमण्डले मैले सबैथोक गुमाएँ बाबाको कुरामा आएर । अहिले न बाबा रहनुभयो न मेरो जिन्दगी खुशहाल भयो ।”
साँच्चै, नारीले आफ्नो मर्यादा भुलेपछि पछ्ताउनैपर्ने रहेछ । निस्तेज आँखाले आकाशतिर हेर्छिन् ।
एक हूल चरी जोडी बाँधिएर आफ्नै गुँडतर्फ गइरहेका थिए हाँस्दै हाँस्दै…।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ कार्तिक २०८२, बिहीबार 










