बीच बजारमा, ओसिएको माटोमा यदाकदा साना झारहरू उम्रिएका छन् । व्यस्त बजार, व्यस्त मान्छे, व्यस्त छोरा कामबाट घर फर्किंदैछ । यही क्रममा उसले देख्यो ।

धुस्रो इस्टकोट धारी अठसठ्ठी / सत्तरी को वृद्ध हतारिंदै भुइँतिर आँखा सोझाउँदै, हात अघि बढाउँछ । ऊ छिटोछिटो भुइँमा फ्याँकिएको प्लास्टिकका टुक्रा, कागजका टुक्रा टिप्छ । साना-साना झारहरू पनि उखेल्छ ।

उसले यो काम यति तुफानका साथ गर्‍यो कि जसरी चीलले कुखुराको चल्ला झम्टिन्छ ।

छोराले चिन्यो, उहाँ त उसको बा हो । छोरालाई बेस्सरी रीस उठ्यो । उसले वृद्ध बाको हात जोडले झट्कायो । वृद्धको हातबाट प्लास्टिकका टुक्रा, कागजका टुक्रा, झार असरल्ल भुइँमा छरियो ।

बा र छोरा बीचमा मौनतामा कुरा भए । बाको, डरले अथवा भनौं हीनताबोधले मुखाकृति  बिग्रियो । आँखा रसायो । आँसु आँखाभरी छल्किन थाल्यो । छोराको अनुहारमा रीस उम्लिएको थियो ।

“तपाईंले के गरेको बा यो ? किन औकात देखाउनुभको ?” छोरा मुर्मुरियो ।

बा ठिङ्ग छन् बिना हलचल । तर उनका हात गोडा काँपिरहेका छन् । उनको मलिन अनुहार  अझै न्यास्रिएको छ ।

व्यस्त बजारमा यी दुईको तमासा एकाध बाहेक कसैलाई वास्ता छैन । वृद्धका ओठ थर्थराएको छ । वृद्ध बाको इस्टकोटको गोजीमा दश, बीसका नोट थोरै बाहिर निस्किएको छ । ती पनि थर्थराइरहेको छ ।

छोरा रन्थनिंदै घरतिर लाग्छ । वृद्ध बा टुलुटुलु छोरालाई हेरिपठाउँछन् ।

त्यो रात छोरा खूब रोयो । बुहारीलाई सम्हाल्न हम्मेहम्मे पर्‍यो ।

छोरा रातभरि आत्मग्लानिमा डुबिरह्यो । देवता जस्तो बाको चित्त दुखायो ।

आज उसले सानो छँदा बामे सर्दा सम्हालेका हात … । ओहो ! कस्तो ? अहिले सम्झँदा पनि मन भक्कानिएर आउँछ । आज उसले यो के गर्‍यो ?

ताते चालेको बेला सामाएका हात आज उसले कस्तरी झट्कार्‍यो । उसलाई वृद्ध बाको त्यस क्षणको दृश्य अझै आँखा अगाडि छ । बाका त्रसित आँखामा टिलपिलाएको आँसु । उसलाई बाको खूब माया लाग्यो । त्यो रात बा ढिलासम्म आउनुभएन । छोराबुहारी राति अबेरसम्म बाको बाटो हेरिबसे । तर बा आएनन् ।

* * * *

छोरा भखर शहरको रूप धारण गरेको बजारमा सानोतिनो व्यवसाय गरेर बस्छ । आमा बितेपछि उसले बालाई पनि गाउँबाट शहर ल्याएको हो । बा शहर बस्न मान्नुभएको थिएन । तर छोराले कर गरेपछि बा राजी हुनुभएको थियो ।

बाको यो शहरमा चिनजानको मान्छे खासै छैन । छोरालाई बा खोज्न कहाँकहाँ जाने अलमलमा पर्‍यो ।

सोच्दा सोच्दै उसले सम्झियो, घलेबालाई ।

घलेबा बाको गाउँको बालापनको साथी ! पछि बसाइँ सरेर स-परिवार शहर आए । बा घलेबाको कुरा गरिरहनु हुन्थ्यो । एकदिन समी चोकमा भेटेको कुरा गर्नुभएथ्यो । छोरालाई घलेबाको घर कता छ ? थाहा छैन । ऊ अन्योलमा पर्‍यो ।

घलेबाको ठेगाना पत्ता लगाउन लागिपर्यो । गाउँमा फोन गरेर बुझ्यो । फोनको रिप्लाइ एक- दुई जाना बाहेक अरूले गरेनन् ।  रिप्लाइ दिनेले पनि थाहा नभएको बताए । यतिन्जेल रातको साढे बाह्र बजिरहेको थियो । छोरा छट्पटाइ रह्यो । बुहारीले ढाडस दिइरही ।

छोराको मन त हो । बाको खूब माया लाग्यो । सोच्यो कतै बा अघिकै ठाउँमा त हुनुहुन्न ? ऊ अपर्झट कोठाबाहिर निस्क्यो । पुरानो स्प्लेन्डर बाइक निकाल्यो । स्टार्ट गर्न खोज्यो । घ्यार्र आवाज मात्र आयो । बाइकको किक हान्यो । फेरि घ्यार्र मात्र गर्‍यो ।

श्रीमतीले झ्यालबाट पर्दा उघारेर रातको मधुरो उज्यालोमा हेरिरहेकी थिई । उनले केही भनिनन् । बस उनले बा प्रतिको माया उनको  श्रीमानमा पाइन् ।

धेरै बेरसम्म छोराले बाइक घ्यार्र पार्यो । अनि निराश भएर आफ्नो कोठाभित्र पस्यो ।

ओछ्यानमा उसलाई सोचाइले गाँजिरह्यो । रातभर छट्पटिरह्यो । यता कोल्टे फेर्छ । उता कोल्टे फेर्छ । निद्रा लाग्दैन ।

सडकको बत्तीको उज्यालो  झ्यालमा लगाएको पर्दाबाट छिट्फुट छिरेको छ । बत्तीको उज्यालो उसको छोराको अनुहारमा परेको छ । उसले छेउमा सुतिरहेको आफ्नो छोरालाई हेर्‍यो । अबोध बालक मस्त निद्रामा छ । उसले छोराको कपाल मुसार्‍यो । यो क्षण उसले आफूलाई बाको ठाउँमा राख्यो । उसको मन कुँडिएर आयो । हिक्कहिक्क भयो । आँखा त्यसै रसाएर आयो ।

छोराको मन रातभर बेचैन भइरह्यो । उसको मगज बा सँगको पलहरूमा रुमलिरह्यो ।

* * * *

त्यो दिन उसलाई धमिलो सपना जस्तै लाग्छ । ऊ करीब तीन साढे तीन वर्षको हुँदो हो । माथि  डाँडामा घाम अस्ताउने क्रममा छ । घरको छानामा अस्ताउँदो घामको लालिमा किरण परेको छ ।

बा कुटो र टर्चलाइट लिएर अलैंचीमा पानी लगाउन जान लाग्नुभको छ ।

“म पनि जान्छु ।” उसले  बालाई भन्यो ।

बाले नजानको लागि फकाउनु भयो । आमाले फकाउनु भयो । दिदीले फकाई ऊ मान्दै मानेन ।

ऊ बाको पछि पछि दौडियो । बाले आफ्नो हिंडाइको चाल अझ बढाउनु भयो ।

“म पनि आउँछु नि बा !”  भन्दै ऊ रुँदै बाको पछि लाग्यो ।

आमाले “बाबू, नजा है ।” भनेको माथि घरदेखि सुनिन्थ्यो ।

ऊ एकोहोरो बाको पछि लागिरह्यो । बाको खुट्टा अलिअलि गर्दै ओझेल  भयो । ऊ थाकेर डीलमा बस्यो । फेरि  बालाई पछ्याउन अगाडि बढ्यो । तल पुगेपछि एक जना आइमाई घाँसको भारी बोकेर उकालो आउँदै गरेको देखिन्छ ।

सुनसान बाटोमा सन्ध्याको समयमा एक्लो बालक कुदिरहेको देखेर आइमाई सोध्छिन्, “को हौ बाबू तिमी ? कता जान लागेको ?”

ऊ चूपचाप हिंक्कहिंक्क आवाज निकाल्छ मात्र ।

फेरि आइमाईले  सोध्छिन्, “तिमी कस्को छोरा ?”

फेरि पनि चूप छ ऊ ।

“तिम्रो दिदीको नाम के हो ?”

उसले जवाफ फर्कायो, “नाना !”

उसले दिदीलाई आफ्नो भाषामा “नाना” भन्थ्यो । ऊ सम्झेर मुस्कुरायो । यो मुस्कान आवाजमा बाहिर निस्कियो शायद । छेउमा सुतिरहेकी श्रीमतीले सोधी, “के भयो ? किन हाँस्नुभको ?”

“केही होइन !”

फेरि ऊ स्मृतिमा फर्कियो ।

रात छिप्पिसकेको थियो । चिसो हावा चलिरहेको थियो । भोक लागिरहेको थियो । ऊ बाटो बिराएर कतै हरायो । सिउसिउ गर्दै एउटा कुनामा बस्यो । झ्याउँकिरी एकतमासले कराइरहेको थियो । पर कताकता स्याल पनि कराइरहेको थियो ।

घबराहट बढ्दै थियो । डरले ठाउँ बनाउँदै थियो । शरीरले थकान महसूस गर्दै थियो । आँखा झिमिक्क-झिमिक्क भैरहेको थियो । ऊ सुस्तसुस्त त्यही निदायो ।

आँखामा उसले उज्यालो महसूस गर्‍यो । टर्चलाइटको उज्यालो रहेछ । कसैले उसको जीउ झट्कार्दै उठाउँदै थियो । ऊ अनायास बिउँझियो । बिउँझिंदा उसले देख्यो- चार / पाँच जना मान्छे टर्चलाइट र हातमा लौरो लिएको । त्यही बीच उसले आफ्नो बालाई देख्यो ।

घर पुग्दानपुग्दै भालेको डाकसँगै उज्यालो भयो ।

* * * *

उसले फेरि बालाई सम्झ्यो । मन कटक्क दुख्यो । ऊ निदाउने प्रयत्न गर्‍यो ।

बिहान उठ्दा घाम माथि आइसकेको थियो ।

श्रीमतीले बाको बारेमा सोधिखोजी गरिसकेकी रैछे । घलेबाको  घर पत्ता लाग्यो ।

ऊ घलेबाको घरतिर लाग्यो । बाइकले धोका दिएकोले ऊ सार्वजनिक गाडीमै गयो । बाटाभरि बाको बारेमा कुरा खेलाइरह्यो । अब आइपर्ने सम्भावित घटनाक्रमलाई केलाइरह्यो ।

जब ऊ घलेबाकोमा पुग्नेछ । तब उसले देख्नेछ – आफ्ना बालाई । बाको मलिन र दुखी अनुहार छोरालाई देखेर खुशीमा परिणत हुनेछ ।

बा भन्नुहुनेछ, “छोरा त आइस् ! ”

दुवैका आँखा आँसुले भरिनेछन् ।

र बालाई ढोगेपछि बा भन्नुहुनेछ, “छोरा अबदेखि मेरो चित्त कहिल्यै नदुखाएस् है !”

घलेबा यो घटनाको जानकार भैसकेका हुनेछन्  र भन्नेछन्, “देउता जस्ता बाको चित्त दुखायौ बाबू तिमिले ।”

घलेबा फेरि थप्नेछन् बाका तरिफका हरफहरू, “तिम्रा बा असाध्यै असल, भलाद्मी, मिलनसार, कसैको कुभलो नचिताउने ।”

घलेबाका कुरा सुनेर छोराले पुलुक्क आँखा घुमाउनेछ  र सौम्य मुस्कान फ्याँक्नेछ बातर्फ ।

सोचाइको गहिराइमा डुबुल्की मार्दामार्दै छोरा गन्तव्य पुग्यो । र सोधपुछ गर्दै घलेबाको घरमा पुग्यो ।

घर एकतले रहेछ । अगाडि सानो आँगन छ । एउटा सानो सल्लाको रूख छ । सल्लाको रूखको पछाडि दुई मानव आकृति  कल्याङमल्याङ गरेको सुनिन्छ । थोरै अगाडि बढेपछि छोराले बालाई देख्छ ।

बाले छोरालाई देख्नुभन्दा अगाडि नै घलेबा बोल्छन्, “ए ! बाबु पनि आइहालेछन् त बालाई लिन ।”

फेरि घलेबा थप्छन्, “हिजो तिम्रो बालाई चोकमा भेटें । तिमीलाई थाहै नदिई मैले यहाँ ल्याएँ । मलाई माफ गर है बाबू । तिम्रो बालाई सधैं मेरो घर जाऔं भन्दा आनाकानी गर्थे हिजो चैं मैले जबर्जस्ती ल्याए । तिमीलाई जानकारी दिन पनि पाएन ।”

छोरा प्रष्ट भयो  कि बाले घलेबासँग पनि हिजोको घटना खोल्नुभएको रैनछ ।

“ल ! बा जाऊँ घर ।” छोरा बोल्यो ।

बा चूपचाप छोराको पछि लाग्नुभयो ।

छोराका मनमा अझै पनि हिजोको घटना खेलिरहेका थिए ।

– “हिजो किन प्लास्टिकका टुक्रा, कागजका टुक्रा टिप्नुभएको ? अनि झार किन उखेल्दै हिंड्नुभएको ? ”

– “हिजोको घटनाले बा तपाईंको मन साह्रै दुख्यो है !”

छोराको मनमा यस्तै अनगिन्ती प्रश्न भित्रै दबिए ।

न उसले बालाई सोध्यो न बाले उत्तर दिए ।

यस्तै अनुत्तरित प्रश्नसँगै बा र छोरा घरतिर लागे ।