शिक्षिकाको पेशामा पच्चीस बर्ष बिताएँ, एकल महिला भएर पनि छोरालाइ राम्रो शिक्षा र संस्कार दिएर हुर्काएँ । त्यही छोरा अहिले विदेशमा सेटल्ड भएको छ । छ महिना अघि “बिदेशमा स्थायी सरकारी जागिर पाएँ, अब हजुर पनि आउनुस्” भनेर मलाई जाने चाँजोपाँजो मिलाइदिएकाे थियो । जागिर राजिनामा दिएर, पेन्सन पट्टा बनाएर, घर रेखदेख गर्ने मान्छे खोजेर ठिक पार्न मलाई छ महिना लागिहाल्यो।

म पनि आधुनिक शिक्षित नारी भएकोले छोराले विदेशी केटी प्यामेलासँग माया बसेको कुरामा केही आपत्ति जनाइन । उनीहरुले विदेशमै बिहे गरे, मैले सहर्ष आशीर्वाद दिएँ ।

शोभा लामिछाने

बुहारी विदेशी भए पनि सुवासिली छे । म हरेकपल्ट फोन गर्दा, “ह्वेन आइ विल बि अ ग्रेनमम ?” भनेर सोध्दा, “मम ! वि विल बि ब्लेस्ड ईफ यु कम” भनेर उत्तर दिन्थी । म उता आउने पक्का भएपछि मेरै लागि नेपाली भाषा पनि सिकिसकेकी छ रे।

जीवनको पहिलो हवाइजहाज यात्रा, त्यो पनि अन्तर्राष्ट्रिय उडान । छोराले म लिन आउँछु पनि भनेको थियो । तर म पनि के कम, आउन सकिहाल्छु नि, पढेलेखेकी मान्छे हुँ, भनेर गफ दिइहालेँ, तर मन कताकता डरले ढक्क फुलेको थियो।

भदाभदैहरु एयरपोर्टसम्म छोड्न आएका थिए, त्यहाँबाट भित्र पसेपछि त गुन्टा गुडाउँदै यता र उता एक्लै, बोर्डिङ, इमिग्रेसन आदि आदि।

विमान चढेपछि एयर होस्टेजले सिट देखाइदियो । राम्रा राम्रा कलिला युवती मात्रै एयर होस्टेस हुन्छन् झैँ लागेथ्यो, तर त्यहाँ त अधबैंसे मङ्गोलियन पुरुष पो रहेछ । सिटमा बसेर सिटबेल्ट कसेँ । विदेशमा छोराबुहारी र नातिनातिनासँगै घुमेको कल्पना गर्दै सफर काटेँ ।

एयरपोर्टमा छोरा लिन आइसकेको रहेछ । आफ्नै गाडीमा आफैँले हाँकेर घर पुर्यायो । राम्रो चिल्लो सडक, गाडी चलेको हल्लेको पनि थाहै नभई कयौं किलोमिटर सरर गुड्न सकिने । भवनहरु पनि उस्तै अग्ला राम्रा, धुलोको नाम निसान नभेटिने वातावरण । यसै भएर पो सितिमिति विदेशिएका नेपाली नेपाल नफर्कने । मनमनै गुन्दै थिएँ । बुहारी गेटमै मलाई अँगालो हालेर स्वागत गर्न आई, अनि एकैछिनमा नेपाली बुहारीले झैँ, खुट्टामा ढोग पनि दिई । म खुसीले उसलाई उठाएँ र उसको गोरो, चौडा निधारमा म्वाइँ खाएँ । हामी तिनैजना भित्र पस्यौँ ।

मिठा-तिता विगतका गफ गर्दै खाना खाएर निदायौँ । एक हप्ता जति हामी सँगसँगै घुम्यौँ, बुहारी राम्रोसँग नेपाली बोल्न जान्ने भइछन् र सबैले नेपाली भाषामै कुराकानी गर्यौं, हास्यौँ,  रमायौँ ।

बिस्तारै दिनहरु बित्नथाले। मैले बुहारीलाई फेरि सम्झाएँ, “म हजुरआमा कहिले बन्ने ?”

“एज योर बीस मम । आज हामी जाँदैछौ, इम्प्लान्टको डेट लिन ।”

छोरा बिहानै अफिस गैसकेको हुनाले बुहारी र म खाना खाइवरीसँगै निस्कियौँ । प्यामेलाको आफ्नै कार थियो । बाहिर एक पार्क छेउमा गाडी पार्क गरी उनले मलाई भनिन्, ‘मम, यु सिट हेयर फर टेन मिनट्स, म दस मिनेटमा फर्किहाल्छु ओके ?’

ओके । मैले स्वीकार्दै भनेँ।

पार्कमा टहलिँदै छेउमा रहेको एउटा भव्य महलमा आँखा पर्यो, लेखेको थियो ” पब्लिक हेभेन ।” नेपाली मा उल्था गर्दा “जनताको स्वर्ग ।”

त्यतैतिर हेर्दै गर्दा झट्ट ढोकामा उभिएकी गार्डको पोशाककी किशोरीको नाकमा फुली देखेँ । यी त पक्कै नेपाली या भारतीय हुनुपर्छ भन्ने अड्कल काटेँ र नजिकै गएर सोधेँ, “हेल्लो, आर यु इन्डियन अर नेपाली ?”

उनले मीठो मुस्कान छोड्दै भनिन् “नमस्ते आमा; म नेपाली नै हुँ ।”

मन हर्षले गदगद भयो, “अनि नानी के अफिस हो यो ?”

“यो सरकारी वेश्यालय हो आमा !”

“विश्वविद्यालय भन न, क्याम्पस हो ?”

उनी मुखको चाम बाँधेर मौन रहिन् ।

एकैछिनमा भित्रतिरबाट एउटा गोरो किशोर आएर मेरो देब्रे हात समात्यो र भन्यो, “हे गोरजियस लेडी, मे आइ बि योर पार्टनर फर टुडेज हेभनस् जर्नी ?” यतिभन्दै उसले मेरो हातको पछाडि चुम्बन गरिहाल्यो ।

“धत्तेरिका मर्न नसकेको मुर्दा”, गाली गर्दै झट्ट हात तानेँ ।

गार्ड नानी आएर किशोरलाई गाली गर्दै भनिन्, “डन्ट बोदर हर, सि ईज माइ भिजिटर नट द क्लाइन्ट ।”

त्यसपछि उनले मलाई पार्कमै बसिरहन अनुरोध गरिन् र भनिन् यो सरकारी वेश्यालय नै हो आमा । यहाँ पुरुष महिला दुबैका लागि रोजाइअनुसारका यौन साथीहरू पाइन्छ । अघिको किशोरको व्यवहारले हजुरलाई अप्ठ्यारो लागेकोमा क्षमा चाहन्छु।

हरे राम, के के देख्न पाइने रहेछ । म भुतभुताउँदै पार्कमा रहेको कुर्सीमा थचक्क बसेँ ।

एकैछिनमा प्यामेला आइ र गाडी स्टार्ट गरी, ” मम लेट्स गो ।”

गाडी दशमिनेटपछि अर्को भवनमुनि रोकियो । झरेर यसो आँखा घुमाएको “डिपार्टमेन्ट अफ चाइल्ड प्रोडक्सन” लेखेको देखेँ। नेपालीमा उल्था गर्दा “सन्तानोत्पादन विभाग” हुने भो ।

फाइनल्ली मम हजुरको ग्रान्डमम बन्ने ड्रिम पूरा हुने भयो।

“टुडे इज माइ इप्लान्टेसन डे। मलाई आज यहीँ भर्ना गर्छ र बच्चा मेरो गर्भमा पठाउँछ । प्रभिन बिजी छन् सो यु विल स्टे विथ मि ।”

“गर्भमा बच्चा पठाउँछ ? के तिमी प्राकृतिक तरिकाले आमा बन्न सक्दिनौ र ?”

“मम यो स्टेटको रुल अनुसार प्राकृतिक रुपले आमाबाबा बन्न पाइन्न । सर्टेन इकोनोमिक सेटलमेन्ट भएपछि, यही आएर आफूलाई मनपर्ने बानी बेहोरा हुनसक्ने गुणको बच्चा इम्प्लान्ट गर्ने हो । एज लाइक यु चुज फ्लावर फ्रम नर्सरी । जस्तै हजुरले कुनै मनपर्ने फूलको बेर्ना ल्याएर आफ्नो बारीमा हुर्काउनुहुन्छ ।”

म अवाक् भएँ । वंश धान्ने नातिको कल्पनामा रहेकी मलाई यो के सुन्नुपर्यो । हो रहेछ विदेश भनेको धर्म नष्ट हुने ठाउँ रहेछ जस्तो लाग्यो । तर पनि नियम र छोराबुहारीको इच्छा स्विकार्नै पर्यो ।

त्यसदिन हाम्रो घरमा भब्य पार्टी भयो, प्यामेलाको पाठेघरमा बच्चा सरेछ, अर्थात सकुशल ईम्प्लान्ट भएछ र पहिलोपटक उनको पेटभित्र चलेछ । खुसियालीको माहोल, गाना बजाना खाना पिना, रमाइलो भयो । भोलिपल्ट प्यामेलालाई हल्का रगत देखियो रे, डाक्टरलाई फोन गरिन् घरमै बेड रेस्ट गर्ने सल्लाह दियो । छोरा प्रभिन पनि श्रीमतीको स्याहारसुसार गर्न घरमै बसेर अफिसको काम गर्न मिल्ने रहेछ । अब हामी तिनैजना घरमै रमाइलोसँग दिन काट्न थाल्यौँ ।

एक रात अचानक मेरो निद्रा टुट्यो, पल्लो गेस्ट रुममा सिसा फुटेको जस्तो आवाज आयो, म प्यामेला लडिन् कि भनेर हत्तपत्त निस्किएँ । गेस्ट रुमको ढोकाबाट एक अर्धनग्न किशोरी रिसमा भुतभुताउँदै बाहिर निस्किई । “आई ह्याभ पेड फर यु, एन्ड यु ड्याम्न फेल अस्लिप विदआउट स्याटिस्फाइङ मि ? आइ विल कम्प्लेन यु, ड्यामेड ।”

ऊ निस्केर गई, पछिपछि भित्री लुगा मात्र लगाएर प्रभिन निस्कियो । अर्को ढोकाबाट प्यामेलाले पनि यो दृश्य देखिरहेकी थिई।

केही दिन हामी सब चुपचाप भयौँ । कोही केही बोलेन। मैले एकदिन आँट गरेर बुहारीलाई सोधेँ। “आयम सरी डियर, यु मस्ट बि हर्ट। खासमा सबै पुरुष धोकेबाज हुने रहेछन् । मेरो छोरालाई गतिलो संस्कार दिएँ भनेको त ऊ पनि ब्याड रहेछ । तिम्रो गर्भावस्थामा यसरी अर्कीलाई घरमै ल्याउने हो त ?

“फर्गेट इट मम, इट्स नट हिज फल्ट ।”

“तिमीले उसलाई माफ गर्यौ ? तिमीहरुबिच अन्डरस्टान्डिङ भयो त ?”

“या मम । उहाँले त आफ्नो काम मेहनतसाथ नै गर्नुहुन्छ । गड नो, त्यस दिन थाकेर निदाउनुभएर क्लाइन्ट रिसाइन् ।”

“काम ? क्लाइन्ट ? हैन के काम गर्ने हो र प्रभिनले ? सरकारी जब भनेको होइन ?”

“सरकारी नै हो । हि इज ए हाइ क्लास मेल प्रोष्टिट्युट, आइ मिन गिबोलो ।”

“के भनेको ?” म छाँगाबाट खसेजस्तै भएँ ।

“हो मम, उसले धनी धनी केटीहरुलाई सन्तुष्ट पार्नुपर्छ, यही जागिर हो ।”

हरे भगवान्, जति नै आधुनिक भए पनि आफ्नो सन्तान वेश्या भएको म देख्न चाहन्नथेँ । त्यो पनि छोरा, पुरुष वेश्या ? अनि घरमै ग्राहक ? थुक्क! छँदा खाँदाको जागिर राजिनामा दिएर यो नरकमा म किन आएँ ?

म तिमीहरुसँग अब एकछिन पनि बस्न सक्दिनँ । म झटपट मेनढोकाबाट बाहिरिएँ । पछाडि प्यामेला रुँदै थिई, “प्लिज स्टप मम, आइ बेग यु, फर योर ग्रान्डसन।”
“कुन कुकुर कुकुरनी को बीउ हो, मेरो नाति होइन त्यो, चाहिएन।”

म भएभरको शक्ति लगाएर फटाफट बाहिरिएँ ।

“प्रभिन,, प्लिज स्टप योर मम, सि इज गन” प्यामेला चिच्याउँदै थिई ।

एकैछिनमा छोरो पछाडिबाट मलाई भेट्टायो र च्याप्प मेरो कम्मरमा समात्यो। “प्लिज मम नजानु, यसरी हतारमा डिसिजन नलिनु। हामी सल्लाह गर्न सक्छौँ । म यो जब चेन्ज गरुलाँ ।”

“अब चेन्ज गरे के नगरे के ? तिमीहरु मर्यौ मेरा लागि। छोड्, छोड्”, मैले जोडले उसको हात छुट्टाउन खोजेँ, तर जति बल गर्दा पनि सकिनँ।

एकैछिनपछि, त्यही मङ्गोलियन एयर होस्टेज आएर कुममा थपथपाउँदै भन्यो, “एनी प्रोब्लम म्याम ? डु यु वान्ट टु रिमुभ सिटबेल्ट ? मे आइ हेल्प यु ?”