सेन्ट पल, मिनीसोटा राज्यको राजधानी । सेन्ट-थमस विश्वविद्यालयको अडोसपडोसको क्षेत्र । मेपलका पातहरूमा रंग चढ्दै थिए— शरद ऋतुले पदार्पण गरेको संकेत थियो । सूर्य पश्चिम क्षितिज तिर ओरालो लाग्दै थियो । सेवानिवृत्त प्राध्यापक मुकुलदेव पन्त कुकुरलाई लिएर सायम्कालीन हिँडडुलमा निस्किएका थिए । फर्कंदा छिमेकमा विद्यार्थीहरूले ‘बा-बी-क्यू’ गरिरहेका देखे । मन्द-मन्द सिरेटो चलिरहेको थियो तर विद्यार्थीहरूले माहौल तताइरहेका थिए । हल्का संगीत बजिरहेको थियो । सबैको हात-हातमा केही न केही पेय पदार्थका क्यानहरू थिए । कोही चुरोटको धुवाँ बुङ्बुङ उडाउँदै थिए । गाँजाको गन्ध पनि मिसिएको थियो । लाग्छ संसार यिनीहरूकै हो । बाँच्न यिनीहरूले नै जानेका छन् । चिन्ताहरू पक्कै होलान्, तर बियरको घुटकोसँग पिइरहेका थिए । चुरोटको धुवाँसँगै उडाइरहेका थिए । निश्चिन्त, बिन्दास रहन सक्नु यो पिँढीको विशेष गुण नै हो जस्तो लाग्छ ।

उनले आफ्नो घरको फाटक खोलेर भित्र के पस्न लागेका थिए, ईभाले आवाज दिइन् ।

“हे सुगर अंकल, कम एण्ड ज्वाइन अस फर अ ड्रिंक !”

उनी एकछिन् अनकनाए  । अन्ततः निम्तो स्वीकार गरे “स्योर, इन अ बीट” ।

उनलाई थाहा थियो, उनी हाँसको बथानमा बकुल्लो हुनेछन्, तै पनि ईभाको निमन्त्रणाको मनितो राख्न चाहे ।

प्राध्यापकले पहिला कुकुरलाई पानी दिए र केही ‘ट्रीट’ (कुकुर आज्ञाकारी भएर निर्देशनहरु खुरुखुरु पालन गरेमा पुरस्कार स्वरूप दिइने खानेकुराका स-साना टुक्राहरू) । त्यसपछि उनी सफासुग्घर भए, अनि विद्यार्थीहरूको पार्टीमा उपस्थिति जनाए । उनी खासै पिउँदैनन्, तर अडमिल्दो बन्न पनि चाहँदैनन् ।  एउटा बियरको बोतल समाते र रिकापीमा केही खानेकुराहरू लिए ।

“हे, ईभा, तिमीले उहाँ सरलाई किन ‘सुगर अंकल’ भनेको ?” एक आगन्तुक युवाले जिज्ञासा राखे ।

ईभा हाँसिन् । स्वभावतः कृष्टिना लज्जा भावमा मुस्कुराइन् ।

० ० ० ०

सामाजिक सुरक्षा लाभ, अर्थात् पेन्सन,  पूर्ण रूपमा पाउन अझै केही वर्ष कुर्नु पर्ने हो, तर प्राध्यापक पन्तले समय अगावै अवकाश लिए । आत्मनिर्भर भइसकेका छोरा-छोरीहरू लाखापाखा लागिसकेका थिए  नै, श्रीमतीले पनि केही वर्ष अघि टाटा-बाइबाई गरिन् – अब माथि नै भेटौंला है बूढा भनेर । उनको रोग कोलन क्यान्सर हो भनेर पत्ता लाग्दा तेस्रो स्टेजमा पुगिसकेको रहेछ; बचाउने हरेक प्रयास निरर्थक भए । एक्लोपनको अनुभूतिले प्राध्यापकलाई सग्लै निल्न थाल्यो । काममा उत्साह र लगन हरायो । उनले जागिर छोडे । केही समय यायावर भए ।

जीवन एक सफर हो भन्छन्, तर पच्चीसौँ वर्षदेखिको सहयात्री बिनाको यात्रा के रमाइलो हुन्थ्यो र ! नेपालमा नातेदारहरू, साथीभाइहरू पनि भेट्न गए । शुरुका केही दिन नयाँ भएकोले सबैले चिज गरे । बोलाए-ख्वाए । त्यो मेलो सकियो । उनलाई पो फुर्सद थियो, सबैलाई त्यो सुविधा कहाँ हुनु । मान्छेहरूको चासो उनी प्रति कम हुँदै गयो । फेरि शून्यताले घेर्न थाल्यो । भेट्न आउनेहरू पनि समस्या र गुनासोका पोकाहरू मात्र लिएर आउन थाले । उनलाई झिँजो लाग्न थाल्यो । उनी अमेरिका नै फर्किए जहाँ उनको जीवनको उर्वर समय बितेको थियो । टुक्रिएर छरिएको जीवनलाई फेरि समेट्ने प्रयास गरे । अवसाद-विषादहरूलाई पन्छाउँदै जीवनका कटुसत्यहरूलाई अँगालो हाले ।

आफ्नै भन्नु त यहाँ पनि कोही छैन । सबै यहीँ बनेका सम्बन्धहरू हुन् —भोजभतेरका सम्बन्ध —अपनत्व बिनाका सम्बन्ध—भावना बिनाको सम्बन्ध । भेट हुन पार्टी कुर्न पर्छ । बिचमा संवाद बिरलै हुन्छ । पहिला श्रीमतीसँग निम्ता आए जति भोजभतेर–जमघटमा उपस्थित हुने उनी, आजकल कम जान्छन् । चिनेजानेकाहरू पनि धेरै बसाइँ सरेर गइसके । एउटा कुरा के भने यहाँ झमेला एकदम कम छ । कसैको कसैसँग केही अपेक्षा हुँदैन । कसैको मुलाहिजा गर्नु पनि पर्दैन । सबै आ-आफैँ मस्त रहन्छन् ।

रक्तचाप केही उच्च छ । नियमित औषधी सेवन गर्छन् । ‘गुड-कोलष्टरेल’ पनि कम छ । त्यसको अलावा अरू स्वास्थ्य सम्बन्धी खासै समस्या छैन । उनी नियमित व्यायाम गर्छन्, त्यसैले शरीर चुस्त छ । कपाल आधा-आधी फुलेका छन्, तर डाई गरेका छैनन् । उनलाई आफ्नो उमेर लुकाउनु छैन । पुस्तकालय जान्छन् । कुकुरलाई डुलाउन लैजान्छन् । कहिले समीट एभन्यू त कहिले स्टोन आर्च ब्रीज तिर टहलिन्छन् । बाँकी समय घरतिरै ढुलमुल गरिरहन्छन् । घरको अघिल्लो ‘पोर्च’मा विकरका फर्निचरहरू छन् । उस्तै परे त्यहीँ दिन बिताइदिन्छन् । छिमेकमा वा सडकमा कोही देखा परे हात उठाउँछन् ।

एकदिन प्राध्यापक ‘पोर्च’मा बसेर कुनै पुस्तकमा मग्न थिए । मौसम केही बदली  थियो । छिमेकको घर अगाडी एउटा ‘यू-हल’ कम्पनीको ट्रक रोकियो । चार-पाँच ‘युनिट’ भएको त्यो घरमा प्राय: विद्यार्थीहरू भाडामा बस्ने गर्थे । सायद कोही यहाँबाट बसाइँ सर्दै थिए वा नयाँ आउँदै थिए । ट्रकबाट कलकलाउँदा दुई युवतीहरू ओर्लिए । तिनीहरू चौबीस-पच्चीस वर्ष वा सो भन्दा कम उमेरकै हुनु पर्छ । ती एसियाली वा ल्याटिनो मूलका जस्ता देखिन्थे । लगत्तै अर्को कार आयो र केही अरू युवाहरू ओर्लिए । उनीहरूले ट्रकबाट सामान झार्न थाले ।

“वेलकम टु द नेवरहूड” –प्राध्यापक पोर्चबाट आफ्नो ‘ड्राईव-वे’ मा ओर्लिए र हात हल्लाए ।

“थ्याङ्क्स”– एउटीले जवाफ दिइन् ।

“लेट मि नो ईफ यू निड एनी हेल्प” – उनले सहयोगको आशय व्यक्त गरे ।

“नो, वि आर गूड, थ्याङ्क्स फर द अफर” – फेरि उही युवतीले मुस्कुराउँदै प्रत्युत्तर दिइन् ।

युवतीको लवज नेपाली जस्तो लाग्यो । भारतीय वा ल्याटिनो त पक्कै होइन । तर बढी किन चासो लिनू ? यहाँ अरूले धेरै नीतिखुती गरेको रुचाउँदैनन्  । बड्डाले आफ्नो उत्सुकताको बिर्को बन्द गरे र भित्र पसे । भान्साकोठाको ‘सिंक’मा जूठाभाँडाहरू भरिएका थिए — माझ्न थाले । उनी ‘डिसवाशर’को प्रयोग गर्दैनन् । त्यसमा बानी कहिल्यै परेन ।

भाँडा माझ्दै गर्दा प्राध्यापकलाई आफ्ना छोरा-छोरीहरूको याद आयो । उनीहरूले कलेज शुरु गर्दाका दिनहरू सम्झिए । स्नातक सकिएपछि स्नातकोत्तरको लागि अर्कै राज्य गए । त्यसपछि उतै घरजम गरे । हुर्केका बच्चाहरूले बाबु-आमाका गुँड छोडेर जानु स्वाभाविक नै हो ।

सायद त्यस्तै एक-डेढ घण्टा भएको थियो होला —ढोकाको घण्टी बज्यो । उनले ‘सिक्यूरिटी मनिटर’मा देखे— उही नयाँ छिमेकी युवतीहरू रहेछन् । एकजनाको हातमा कचौरा पनि थियो । अनौठो लाग्यो । प्राध्यापकले ढोका खोले र उत्सुकतापूर्ण नजर आगन्तुक युवतीहरू तर्फ फ्याँके ।

“हाउ क्यान आई हेल्प यू, प्रिटी गर्ल्ज?”

युवतीहरू बोल्न असहज मानिरहेका जस्ता देखिन्थे । एउटीले अर्कीको आङमा चिमोट्दै बोलिन् – “ओई, बोल्न बोल्” । प्राध्यापकको अनुमान गलत थिएन–उनीहरू नेपाली रहेछन् ।

अर्की युवती शुरुमा अनकनाइन् र बोलिन् –”हे, इट्स अ बिट अकवार्ड, बट कुड वी पसिब्ली बरो सम सुगर ? वी वान्टेड टु मेक कफी बट ह्याविङ् ट्रवल लोकेटिङ् ह्वेर वी प्याक्ड द सुगर इन द बक्स । (भन्न अलि अप्ठ्यारो लाग्दैछ, तर अलिकति चिनी पैँचो पाइन्छ होला ? हामीले  कफी बनाउन खोजेको, तर चिनी कुन बाकसमा परेछ, पत्ता लगाउनै सकिएन)

प्राध्यापक मुस्कुराए र नेपाली मै जवाफ दिए —“भइहाल्छ नि” ।

“ए हजुर पनि नेपाली हो, कस्तो संयोग?” केटीहरूका अनुहार उज्याला भए– कोपिलाबाट भर्खरै फक्रिएका गुलाफ जस्ता । मुस्कुराउँदा उनीहरूको सुन्दरतामा निखार आयो ।

छिमेकीसँग नुन, तेल, चिनी पैँचो माग्ने नेपाली चलन यी नानीहरूले बिर्सेका रहेनछन् । अञ्जान छिमेकीसँग चिनी माग्न आउन सक्नेलाई हिम्मतिला नै भन्नु पर्छ । प्राध्यापकले मन-मनै गमे ।

“मेरो नाम मुकुलदेव हो, है । म रिटायर्ड फ्रोफेसर । अनि नानीहरूको नाम ?”

“ म ईभा र ऊ चाहिँ कृष्टिना — हामी ‘रुम-मेट’ हौँ” । दुई मध्य एउटी चाहिँ चहकिएर बोलिन् ।

अहिलेको जमानामा नेपाली युवतीहरूको पाश्चात्य नाम हुनु कुनै नौलो कुरो भएन । लक्ष्मी, सरस्वती, देवी, पार्वती, सिता नाम अब कसले राख्नु ?

“अमेरिका जाने भनेर नाम त वेस्टर्न राखिदिएछन् नि, बाबु-आमाले” प्राध्यापकले हल्का ठट्टा गरे । कृष्टिना मुस्कुराइन् मात्र । जवाफ ईभाले दिइन् — “हजुर, त्यसै भन्नु पर्‍यो” । उनी उसैगरी लच्किंदै बोलिन् ।

केटीहरू कलेज जुनियर वा सिनियर (तेस्रो वा चौथो वर्ष)का जस्ता देखिन्थे तर प्राध्यापकले उनीहरूलाई चिढ्याउन चाहे ।

“कलेज फ्रेसम्यान्स ?”

“नोऽऽऽऽ, हामी सिनियर हौँ”
ईभाका आँखाका गुच्चाहरू घुमे । कस्तो भने नि, अलि उमेर घर्की सकेकालाई सानो भनिदिँदा मक्ख पर्छन् । तर, त्यसको विपरीत नवयुवाहरूलाई ‘बच्चा’ भनिदिँदा भने चिढिन्छन् ।
प्राध्यापकले नखोलेको एउटा चिनीको  सिङ्गै पोका नै ल्याएर दिए —“ल नयाँ छिमेकीहरूलाई मेरो यो ‘वेलकम गिफ्ट ।”

“अंकल, यू आर सो फनी”— ईभा नै बोलिन् ।

विद्यार्थीहरूले ‘प्रोफेसर पन्त’ भनेर सम्बोधन गर्ने गर्थे ।  ती युवतीहरूले ‘अंकल’ भनेर सम्बोधन गर्दा आफू जीवनको उत्तरार्द्धतिर गमन गर्दै गरेको कटु सत्य उजागर भयो । थोरै आहत भए । जसलाई पनि नाता लगाएर बोल्नु पर्ने कस्तो नेपाली संस्कार है ? दाइ सम्म भनेको भए हुन्थ्यो नि । प्राध्यापक मनोवाद गर्न थाले ।

“अनि बोल्ने जिम्मा चाँहि ईभाको मात्र हो ?” प्राध्यापक कृष्टिना तर्फ हेर्दै जिस्किए ।

“अँ, आन्टीले भन्नु हुन्थ्यो, यसको बोली अलि ढिलो फुटेको हो रे, अहिले पनि त्यस्तै छ ।” ईभाले कृष्टिना तर्फ अङ्कित गर्दै भनिन् । कृष्टिनाले ईभालाई कोखामा चिमोटिन् ।

“अरू केही मद्दत चाहिए भन्नू है” प्राध्यापकले शिष्टता जाहेर गरे ।

“भइहाल्छ नि अंकल” । ईभाले जवाफ दिइन्  ।

“थ्याङ्क्स, सुगर अंकल” । कृष्टिनाको बल्ल बोली फुट्यो । तर हडबडमा गडबड भएछ, लगत्तै सच्याइन्— “आई मिन, थ्याङक्स फर सुगर, अंकल !”

प्राध्यापकको हाँसो फुट्यो । ईभाले पनि हाँसो थाम्न सकिनन् । मुख हत्केलाले छोपेर हाँस्न थालिन् । कृष्टिना भने रातो-पिरो भइन् । फर्किंदै गर्दा ईभाले कृष्टिनालाई चिमोटिन् । सायद अहिले चिमोट्ने पालो ईभाको परेको थियो ।

“सुगर अंकल रे ! धन्न सुगर ड्या..” त्यहिबेला अकासमाथिबाट जहाज उडेकोले ईभाले के भनिन् कुन्नि प्राध्यापकले राम्ररी बुझेनन् । तर उनीहरू खित्खिताउँदै गए ।

त्यसपछिको देखभेटमा कृष्टिनाले त होइन, ईभाले चाहिँ उनलाई ‘सुगर अंकल’ भनेर जिस्काउन थालिन् । युवाहरूको समूहमा प्राध्यापक ‘सुगर अंकल’ भनेर चिनिए । प्राध्यापकले ननिको मानेनन्  । यी अबोध, नादानहरूका कुरामा के मन दुखाउनू । उनले कुनै प्रतिवाद गरेनन् ।

केटीहरू दुवै सेन्ट थमसका विश्वविद्यालयका विद्यार्थीहरू रहेछन् । ईभा अलि ठट्यौली स्वभावकी रहिछिन् —बोल्दा हाँसेर बोल्नु पर्ने, शब्दसँगै शारीरिक भावभङ्गी देखाउने, आँखा नचाउने, भृकुटी तन्काउने, चहकिने, पुतली जस्तै चञ्चले । कृष्टिना भने ठीक विपरीत —शान्त, सकेसम्म नजर लुकाउने, अन्तरमुखी स्वभावकी, बोल्नै परे मात्र मुख खोल्ने, होइन भने मुस्कुराएरै टारिदिने ।

प्राध्यापक ‘पोर्च’मा बसेर पढिरहेका हुन्थे वा बोटबिरुवाहरूको स्याहार-सुसार गरिरहेका हुन्थे । उनले ख्याल गरे — दुवै युवतीहरू अलग-अलग समयमा निस्कन्थे । सायद उनीहरू राति ढिलो फर्कन्थे, त्यसैले प्राध्यापक उनीहरू साँझ फर्केको चाहिँ देख्दैनथे । उसो त प्राध्यापक अर्काको निजी जीवनबारे सोधखोज गर्दैनन्, तर  कुराकानीबाट प्रतीत हुन्थ्यो —ईभा र कृष्टिना दुवै कडा मिहेनत गर्थे । जीवनलाई काम र पढाइका दुई पाङ्ग्राहरूले सँगै गुडाउनु चुनौतीपूर्ण थियो । अमेरिकी सपना यहाँ किस्तीमा सजाएर कहाँ राखिएको हुन्छ र !

एकदिन हुलाकीले भूलवश कृष्टिनाको चिट्ठी प्राध्यापकको पत्रमञ्जूषामा राखिदिएछन् । प्राध्यापकलाई हेक्का भएन र उनले खोलिहाले । त्यो एउटा ‘क्रेडिट कार्ड’को ‘स्टेटमेन्ट’ रहेछ । कृष्टिनाले तिर्नु पर्ने हजारौँ डलरको बक्यौता रहेछ र कम्पनीले ताकेता गरिराखेको रहेछ । चिट्ठी  बन्द गरेर कृष्टिनाको बाकसमा लुसुक्क राखिदिए । प्राध्यापकले लख काटे —कृष्टिना गम्भीर आर्थिक समस्यामा छिन् । त्यसैले त उनी दिल खोलेर हाँस्न सक्दिनन्  ।

० ० ० ०

हेमन्त ऋतुको आगमन सँगै मेपलका रूखहरू नाङ्गा हुन थाले । पातहरू सुकेर झर्न थाले । प्राध्यापकको दिनचर्या पनि बदलियो – सुकेर झरेका पातहरू सोहोर्ने, बिरुवाका मरेका हाँगाहरु ठुन्क्याउने, बाह्रमासे फूलहरूलाई  प्लास्टिकले छोप्ने, लनमा हिउँदे मल छर्ने आदि  । यी ऋतुहरूले पनि मान्छेको दिनचर्यामा कति विविधता ल्याइदिन्छ, होइन भने मान्छेको जीवन एकतमासको हुन्थ्यो होला । एकदिन उनले महसुस गरे – ईभा केही हप्ता देखि देखिइरहेकी थिइनन् ।

“ईभालाई देख्दिन नि आजकल ?” कृष्टिनासँग जिज्ञासा राखे ।

“ऊ आफ्नो बोइफ्रेण्डसँग बस्न गई, अंकल !” कृष्टिनाको आवाज मसिनो थियो । अनुहार थकित ।

“ओह, अनि नयाँ ‘रुममेट’ खोज्दैछौ कि ?”

उनले संक्षिप्त जवाफ दिए, ”खोज्दैछु”

रुममेटले बिचैमा छोडेर जानुको अर्थ हो, थप आर्थिक भार ।

“तिमीलाई सबै ठीक त छ नि ?” प्राध्यापकले जिज्ञासा व्यक्त गरे ।

कृष्टिनाले पुलुक्क प्राध्यापकको मुखमा हेरिन् । खै के सोचिन् । एकछिनमा शुष्क जवाफ दिइन्, “ठीक छु, अंकल । सोध्नु भएकोमा धन्यवाद ।”

उनलाई प्राध्यापकको प्रश्न औपचारिक लागेछ क्या हो, जवाफ पनि औपचारिक नै दिइन् । आजकलका बच्चाहरू आफ्नै बाबु-आमाहरूसँग समेत दुख: बाँड्न चाहँदैनन् । छिमेकीसँग के बाँड्थे र !

केही दिन पछि कृष्टिनासँग एक युवक देखिन थाले । ती युवकको हरकतले उनीहरूको सम्बन्धबारे केही अड्कल गर्न सकिन्थ्यो । एक दिन टार्गेट सुपरमार्केटमा उनीहरूसँग जम्काभेट भयो । उनीहरू हात समातेर हिँडिरहेका थिए । प्राध्यापकलाई देख्ने बित्तिकै कृष्टिनाले हात फुत्काइन् ।

“अंकल,  ऊ मेरो नयाँ रुम मेट– शरण” । थोरै लजाउँदै परिचय गराईन् ।

“जस्ट अ रुम मेट अर मोर ?” प्राध्यापकले मौका छोडेनन् ।

कृष्टिनाको गाला रक्तिम भयो । फिस्स हाँसिन् । हुन त आजकलका युवा-युवतीहरूलाई प्रेम-सम्बन्ध बारे बोल्न कुनै संकोच हुन नपर्ने हो, तर कृष्टिना न परिन् ।

“अंकल, बुझ्नु न ।”

युवक कपाल कन्याउँदै हाँस्यो । हाँस्दा, उसका पहेँला दाँतहरू देखिए– ओंठ कलेटी परेको । केटो क्रिष्टिनाको खुट्टामा राख्न पनि नसुहाउने खालको थियो । सिकुटे, कपाल रङ्गीबिरङ्गी, रोगी जस्तो देखिने, पहिरन पनि बेढङ्गको । प्राध्यापकलाई ऊ बिलकुलै मन परेन । उनी मनमनै भुत्भुताए – ‘कस्ता केटा हेर्छन्, केटीहरू !’

हिउँद लाग्यो । मिनीसोटाले हिउँको सिरक ओढ्यो– चिसो सिरक । जताततै सेताम्मै । बकहिलमा ‘स्केटिङ्’ र ‘स्नो-बोर्डिङ’ गर्नेहरूको चहलपहल बढ्यो । तालहरू जमे । तालमा ‘आईसफीसिङ्’ गर्नेहरू (जमेको मोटो बरफको पत्रलाई प्वाल पारेर माछा मार्नेहरू) देखिन थाले । यस्ता क्रियाकलापहरूमा रस नभएकाहरूको लागि भने यो हिउँद कष्टप्रद हुने नै भयो । पैदलयात्रीहरू एकदमै कम देखिन्थे । प्राध्यापकको छिमेकीहरूसँगको देखभेट पातलिँदै गयो । कृष्टिना कहिलेकाहीँ देखिन्थिन् । शरण भने बिरलै देखिन्थ्यो । पछि त गायब नै भयो ।

वसन्त ऋतुको पदार्पण सँगै तापक्रम केही चढ्यो । हिउँ पग्लिन थाले । मान्छेहरू फाट्ट-फुट्ट बाहिर देखिन थाले । पैदलयात्रीहरू, कुकुर डुलाउनेहरूको चहलपहल अलि बढ्यो । तर कृष्टिना देखिएकी थिइनन् । उनले सोचे — सायद पढाइमा वा काममा व्यस्त भइन् होलिन् । एक साँझ उनलाई ईभाको फोन आयो – “सुगर अंकल, म ‘आउट-अफ-टाउन’ छु  । एकपटक कृष्टिनाको कोठामा गएर हेरिदिनू न, मैले दुई दिन भयो सम्पर्क गर्न खोजेको, तर उसको फोन नै उठ्दैन । न ‘मेसज’को जवाफ दिन्छे । तीन-चारदिन देखि काममा पनि गएकी छैन रे !”

प्राध्यापक हतारिँदै कृष्टिनाको कोठातिर गए । ढोका भित्रबाट बन्द थियो । घण्टी थिचे, ढकढक्याए, तर ढोका खुलेन । भुईँ-तलाको अपार्टमेन्ट भएकोले झ्यालबाहिर बाट भित्र चियाउन मिल्थ्यो । भाग्यवश पर्दा लागेको छैन रहेछ  । उनले भित्र चियाए– बिस्तरामा उनी लम्पसार परेकी थिइन् । हात लत्रिएको थियो । अनुहार अर्कोतर्फ फर्केकोले उनको अवस्था अनुमान गर्न सकिएन । एउटा अनिष्टताको बादल मडारियो । अज्ञात भयले प्राध्यापकको शरीर चिसो भयो । उनले झ्याल खट्खटाए, तर पनि उनी उठिनन् । धन्य, खापा खुलै रहेछ । झ्याल उचालेर उनी भित्र पसे । नाडी छामे, मुटुमा चाल थियो, तर सुस्त । श्वास-प्रश्वास पनि चलिरहेको थियो । अनुहारमा पानी छम्के, तर पनि उनको होश फिरेन । हत्त न पत्त प्राध्यापकले ९११ कल गरे । दुई मिनेट पनि  भएको थिएन,  दमकल र एम्बुलेन्सका साइरनहरू गुञ्जिन थाले ।

त्यसबिच प्राध्यापकले कोठाको सर्सर्ती अवलोकन गरे – घटनाको केही सूचक भेटिन्छ कि भनेर । कोठा अस्तव्यस्त थियो । टेबलमा बिलहरूको चाङ थियो —हस्पिटलको, कलेजको, क्रेडिटकार्डको, आदि-आदि । साइड-टेबलमा स्लीपिङ ट्याब्लेटको एउटा रित्तो बट्टा थियो । के कृष्टिनाले आत्महत्या गर्ने प्रयास गरिन् ? उनको ध्यान बट्टाले थिचेर राखेको कागजमा गयो – घरपट्टिले कोठा खाली गर्न दिएको पन्ध्र दिने सूचना रहेछ,  जसमा एक हप्ता त गुज्रिसकेको रहेछ ।

अस्पतालले दुई दिन राखे पछि उनलाई ‘डिस्चार्ज’ दियो । अस्पतालमा ईभा लगायत अरू केही साथीहरू आएका थिए, तर शरण थिएन ।

प्राध्यापकले ईभालाई कानमा सुस्तरी सोधे, “शरण देख्दिन नि ।”

“त्यसले त कृष्टिनाको पैसा-गहना सब गुटमुटाएर टाप ठोक्यो नि, टेक्सासतिर पुगेको छ रे गधा !” ईभाले सिधा-सापट जवाफ दिइन् ।

“ओहो, कस्तो दुर्भाग्य!” प्राध्यापकले अफसोच व्यक्त गरे, “कस्ता-कस्ता निर्दयी मान्छेहरू हुन्छन्, यो संसारमा !”
तीन-चार दिनमा त कृष्टिनाले अपार्टमेन्ट छोड्नु पर्थ्यो । अब के गर्ने ? उनका साथीहरू मुखामुख गर्न थाले । उनीहरू किंकर्तव्यविमूढ देखिन्थे । दुई-तीन दिन दुःख-सुख गरे पनि दीर्घकालीन विकल्प दिन भने उनीहरू असमर्थ देखिए ।
कोही किन र कसरी बेघर हुँदा रहेछन् भन्ने प्राध्यापकले प्रत्यक्ष अनुभव गरे । उनी कहिलेकाहीँ ‘ईष्ट लेक स्ट्रिट’ को बाटो हिँड्छन् । प्राय: गरी हिमालयन रेस्टुरेन्टमा खाना खान जाँदा त्यो बाटो प्रयोग गर्छन् । लेक स्ट्रिट पार गर्ने ‘हाइवे ५५’ को पुलमुनि जहिले पनि एकहुल घरबारबिहीन् मानिसहरू सुतिरहेका हुन्छन् ।

कोही बेखर्चीहरू ‘मिड-टाउन’ तिरका चोकहरूमा र सडकका ‘र्‍याम्प’हरूमा ‘होमलेस, एनिथिङ् हेल्प्स’ भन्ने संकेत बोकेर उभिएका देखिन्छन् । विश्वकै सबै भन्दा धनी कहलिएको देशमा बेघर सडकवासीहरू ? भिखारीहरू ? उनले कतै एउटा पढेका थिए – अमेरिकामा झण्डै सात लाख मानिस सडकमा सुत्छन् । सुन्दा पनि अविश्वसनीय लाग्छ । अलि अशक्त, वृद्ध, र महिलाहरू देखे भने प्राध्यापकको मन पग्लिन्छ र चानचुन पैसा छ भने दिई पनि हाल्छन् । उनले त्यस्तै सडकवासीहरूको भिडमा कृष्टिनालाई उभिएकी कल्पना गर्न पुगे ! उनले निधो गरे – अहँ, कृष्टविनाको बास पुलमुनि हुन सक्दैन ।

“मेरो बेसमेन्टमा एउटा कोठा छ । तिम्रो अरू व्यवस्था नहुञ्जेलसम्म त्यसमा बस न त !” प्राध्यापकको मुखबाट स्वतःस्फूर्त एउटा प्रस्ताव झर्‍यो ।

कृष्टिना एकछिन् सोचमग्न भइन्  । एउटा सामान्य चिनजानको पर-पुरुषको घरमा कसरी आश्रय लिने ! सायद उनी द्विविधामा परिन् । यस्तो प्रस्ताव राख्दा वास्तवमा प्राध्यापक आफैँ पनि विश्वस्त थिएनन् । तर, विकल्प पनि त केही थिएन । एउटी नेपाली चेली बेखर्ची भएर अलपत्र परेको कसरी टुलुटुलु हेर्ने ? कतै फेरि आत्महत्याको बाटो त रोज्दिनन् ?

“कृष्टिना, अंकलले ठीक भन्नु हुँदै छ । अहिले अरू कुनै उपाय छैन । हजुरको उदारताको लागि धेरै धन्यवाद, अंकल !” ईभाले समर्थन जनाइन् ।

अन्ततः कृष्टिनाले स्वीकृतिमा शिर हल्लाइन् । यद्यपि उनको अनुहारमा प्रशस्त अनिश्चितता र संकोच झल्किन्थ्यो, जुन स्वाभाविक नै थियो ।

“चिन्ता नगर कृष्टिना, सबै कुरा ठीक हुँदै जानेछ ।”  प्राध्यापकले ढाडस दिने प्रयास गरे ।

सबै मिलेर कृष्टिनाका सामानहरू प्राध्यापकको बेसमेन्टमा सारिदिए । कृष्टिना बिस्तारै तङ्ग्रिंदै जान थालिन् । पहिले भन्दा केही सहज पनि भइन् । प्राध्यापकसँग बिस्तारै घुलमिल हुँदै गइन् । उनले प्राध्यापकसँग आफ्ना कथाका पोको बिस्तारै खोल्न थालिन् ।

कृष्टविनाको जीवन संघर्षमय रहेछ । उनी सानै हुँदा बाबु जनयुद्धको चपेटामा परेर बितेका रहेछन् । उनी पूर्ण रूपमा एकल आमाद्वारा हुर्काइएकी छोरी रहिछन् । उनी अमेरिका आउँदाको खर्च जुटाउन घरजग्गा धितो राखेर लिएको ऋण ज्यूँ-का-त्यूँ रहेछ । कोरोनाको महामारीले उनको रोजगारी पनि गुमेछ । त्यही बेलातिर नराम्ररी बिरामी परिछन् र एक ‘सेमेस्टर’ त पढाइ छोड्नु परेको रहेछ । स्वास्थ्य बिमा पनि गुमाइछन् र अस्पताल शुल्कको जिम्मेवारी उनी माथि नै आएछ । उनका समस्याहरूको चाङ विकराल थियो । सबैभन्दा प्रमुख समस्या बनेको थियो –कलेजको चालु सेमेस्टरको ट्यूशन । समयमै नतिरे उनी क्लासबाट निकालिने थिइन् । उनको भिसा रद्द हुने जोखिम थियो । उनी डिप्रेशनको शिकार जस्तो भइछन् र स्लीपिङ् ट्याबलेटको सहारा लिन पुगिछिन् ।

धेरै सोच्दै नसोची प्राध्यापकले उनको कलेजको शुल्क तिरिदिए । कमाउने भएपछि फिर्ता गर्नू भनेर । उनी एक्लो मान्छे, खासै खर्च पनि थिएन । उनको पेन्सनले सबै खर्च पुग्थ्यो । घर-गाडीको ऋण चुक्ता थियो । छोरा-छोरीहरू पनि सक्षम र आत्मनिर्भर थिए । प्राध्यापकसँग केही संचिती थियो, आखिर त्यो के का लागि ? कहिलेका लागि त यदि यस्ता जरुरतमन्दहरूको काम नआउने हो भने ? सायद उनले यस्तै सोचे र कृष्टिनालाई सहयोग गरे । कृष्टिनाले खै के सोचिन्, चुपचाप स्वीकार गरिन् ।

क्रेडिटकार्ड र अस्पतालका ऋणहरू कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर प्राध्यापकले सल्लाह दिए । केही प्रयास गरेपछि कम्पनीहरूले आधा-आधी रकम माफ गरिदिए र बाँकी रकम किस्ताबन्दीमा तिर्न सक्ने सुविधा  दिए । ऋणदाताहरूलाई पनि लाग्दो होला, सबै रकम गुमाउनु भन्दा केही न केही असुलउपर भएकै राम्रो । उनले कलेजमा आंशिक काम पनि पाइन, प्राध्यापकको सिफारिश काम लाग्यो । कृष्टिनाको जीवन बिस्तारै लयमा फर्किन थाल्यो ।

o o o o

एक अपराह्न सदा झैँ पोर्चमा बसेर प्राध्यापक सडक अवलोकन गर्दै थिए । फाटक बाहिर कोही देखियो ।

“हे प्रोफेसर पन्त”

कलेजको पूर्व सहकर्मी जेम्स पिटर्सन रहेछन् । कहिलेकाहीँ साइकल चलाउँदै यो मोहल्लातिर आउँछन् । उनले मित्रलाई बोलाए । पोर्चमा बसेर दुई पूर्व सहकर्मीहरू गफिए । प्राय: विश्वविद्यालयकै कुराहरू भए । डा. मिगेल कोरडोना शिक्षा मन्त्री भएपछिका परिवर्तनहरूका कुरा गरे । विज्ञान र प्रविधिमा भएका चमत्कारका कुरा गरे ।‘च्याट जिपिटी’ जस्ता ‘एआई टूल’ले गर्दा विद्यार्थीहरूलाई अल्छी बनाएका र गृहकार्य जाँच्न अप्ठ्यारो परेका कुराहरू गरे । अन्तमा मित्र जेम्सले प्राध्यापक पन्तको सेवा-निवृत्त एकल जीवनको दिनचर्याबारे चासो व्यक्त गरे ।

उनीहरू गफिंदै थिए, त्यही बेला कृष्टिना फाटक खोलेर भित्र पसिन् ।

मित्रले आँखाको शानले नै प्रश्न गरे – उनी को ?

“ओ, यिनी कृष्टिना हुन्, नेपालबाट आएकी विद्यार्थी ।”

प्राध्यापकले आफ्नो पूर्व सहकर्मीको परिचय दिए । कृष्टिनाले अभिवादन गरिन्  र भित्र पसिन् ।

“तिमीले कृष्टविनाको बारेमा त बताएका थिएनौ त !” मित्र उत्सुक भए । अमेरिकीहरू अरूबारे त्यति चासो राख्दैनन्, तर प्राध्यापक पन्त नजिकको साथी भएकोले होला, उनी बढी नै जिज्ञासु देखिए ।

प्राध्यापक अकमकाए । के भनूँ, के भनूँ भयो र भनिदिए –”पेईङ् गेष्ट ।”

“पेईङ् गेष्ट रे ? कसले कसलाई पे गर्ने ?” मित्र जेम्स छिल्लिए ।

“त्यस्तो होइन ।”  प्राध्यापकले शुष्क जवाफ दिए ।

त्यही बेला कृष्टिना बाहिर आइन् ।

“हजुरहरूलाई केही पिउने कुराहरू ल्याई दिऊँ – कफी, चिया, पानी ?”

“पाँप होला ?” पाहुनाले सोधे । (अमेरिकातिर कोका कोला, फ्यान्टा जस्ता कार्बोनेटेड पेय पदार्थलाई सामान्यतया पाँप वा सोडा भन्छन्)

अघि प्राध्यापक पन्तले सोध्दा केही पिउँदिन भनेको मान्छे, अहिले पाँप माग्छ! प्राध्यापक अलि छक्क परे । कृष्टिनाले कोकको एउटा क्यान ल्याएर पाहुनालाई दिइन् र भित्र पसिन् ।

“वाह, तिम्रो पेईङ् गेष्ट ‘हट’ छिन् ।  तिमी भाग्यमानी रहेछौ । मोज ग र!” रसिक स्वभावका मित्रले आँखा चम्काए । उनले जाँदा जाँदै भने – “आफ्नो त भाग्य नै खोटो ।”

मित्रले कृष्टविनाको शालीनतालाई देखेनन्, उनको शिष्टाचार र सत्कार-भाव पनि देखेनन् । देख्यो त उनको भरभराउँदो यौवन । उनले विधुर प्राध्यापक पन्तलाई भाग्यमानी भन्दै गर्दा सपत्नी आफूलाई भने अभागी संकेत गरे । अर्थात् बिसौँ वर्ष देखिको विवाहित श्रीमतीको मृत्युको कामना गरे ! ‘बदमास खैरे’ मनमनै मित्रलाई गाली गरे ।

एउटा एकल पुरुषले नाता नपर्ने कुनै नारीलाई आश्रय दिँदा मान्छेहरुले के अर्थ निकाल्न सक्छन् भनेर प्राध्यापकले पहिलो पटक महसुस गरे । उनी फिस्स हाँसे । थप स्पष्टीकरण दिइराख्न भने जरुरत ठानेनन् । अर्काले के सोच्छन् भन्ने कुरो आफ्नो काबु भन्दा बाहिरको कुरा पनि पर्‍यो । तर त्यसै रात प्राध्यापकले आफ्ना छोरा-छोरीहरूलाई फोन गरेर कृष्टिनाबारे बताए, ता कि उनीहरू पनि मित्र जेम्स जस्तै चकित नहुन् र अनेक शंका-उपशंका नगरुन् ।

o o o o

एक दिन —ईभाको जन्मदिनको  उत्सव छ, फर्किंदा ढिलो हुन्छ भनेर जनाउ दिई कृष्टिना बाहिर निस्किन् । प्राध्यापक आफ्नै दैनिकीमा जुटे । कुकुरलाई लिएर टहलिन निस्के । फर्केर केही कसरत गरे । स्नान गरे । हल्का गर्मी महसुस भयो । फ्रीजबाट एउटा बियरको बोतल निकालेर चुस्की लिन थाले । टिभी हेर्दा हेर्दै कुनबेला भुसुक्क निदाएछन् – कुकुर भुकेपछि मात्र प्राध्यापकको निद्रा खुल्यो । त्यहीबेला फोनमा ‘सिक्योरिटी एलर्ट’ बज्यो । मनिटरमा कृष्टिना देखिइन् । ढोका खोल्ने असफल प्रयास गर्दै थिइन् । सायद ‘कोड’ मिलिरहेको थिएन । प्राध्यापक ढोका खोल्न गए । उनले ढोका तान्नु र कृष्टिनाले धकेल्नु एकै पटक परेछ, अनियन्त्रित भएर कृष्टिना भित्र हुत्तिइन् । धन्न प्राध्यापकले उनलाई च्याप्प समाते  । उनको मुखबाट मदिराको गन्ध ह्वास्सै आयो ।

“हे सुगर अंकल, मलाई हमेसा लड्नबाट बचाउने हजुर मात्र एक हुन्छ ।”

पहिलो पटक गल्तीले ‘सुगर अंकल’ भने पनि त्यसपछि उनले कहिले यसरी सम्बोधन गरेकी थिइनन् । यो नै पहिलो पटक हुनु पर्छ । बोली लरबरिएको थियो । उनको भावभङ्गीमा अर्कै थियो । संकोच रत्तीभर थिएन ।
उनी काउचमा थचक्क बसिन्  । पुरानो काउचको स्प्रिङ किरिक्क गर्‍यो । उनी प्राध्यापकसँग ढेस्सिन पुगिन् । प्राध्यापक अलि पर सरे । उनले प्राध्यापकलाई एक तमासले हेर्न थालिन् । हेराइ घातक थियो । प्राध्यापकको मुटु भेद्यो । आङ सिरिङ्ग भयो ।
“हजुर मसँग किन यति धेरै जाति हुनु भा’को ? मलाई आश्रय दिनु भयो, कलेजको फी तिरिदिनु भयो, जागीर मिलाई दिनु भयो, किन ? हजुरको कुनै स्वार्थ छ ? सबैले भन्छन्, हजुर मेरो सुगर ड्याडी हो रे !”

प्राध्यापक हतप्रभ भए – “सुगर ड्याडी ! मतलब ?”

“बुझ्नु भएन, ‘सुगर ड्याडी’ माने नेपालीमा ‘चिनी बुवा ।’  प्रोफेसरलाई पनि यति कुरा थाहा छैन होला त ?”, कृष्टिना बेपरवाह हाँस्न थालिन् ।

“हे एलेक्सा, ह्वाट ईज सुगर-ड्याडी ?” कृष्टिनाले एलेक्सा यन्त्रलाई अर्थ बताउन निर्देशन दिइन् । एलेक्साले दिएको जवाफको भावानुवाद यस्तो थियो, ‘सुगर ड्याडी’ को मतलब उमेर ढल्केका धनी पुरुषहरू जो कम उमेरका केटीहरूसँग मित्रता गर्छन्, पैसा र महँगा उपहार दिन्छन् र बदलामा … ।”

“एलेक्सा, स्टप” । प्राध्यापकको निर्देशनमा एलेक्सा यन्त्र चुप लाग्यो ।

आज के भयो कृष्टिनालाई ? के खाएर आइन् वा कसले उराल्यो ? प्राध्यापक चकित परे । मदिराको असर हो ? मदिराले मान्छेको धकको बिर्को खोलिदिन्छ भन्छन् । आज कृष्टिनाको धक उम्लिएर पोखिन थाल्यो ।

“कृष्टिना, तिमी सायद होशमा छैनौ ? जाऊ गएर सुत ।”

प्राध्यापक उठे । उनी कृष्टिनाको पाखुरामा समाउन पुगे । तर कृष्टिनाले अटेरी गरिन् । उनी गइनन् । एक तमासले प्राध्यापकलाई हेरि नै रहिन् । त्यसपछि उनको अनुहार बिग्रियो । आँखाबाट आँसुका दानाहरू बरबर्ती झर्न थाले । उनी रुन पो थालिन् ।

“म सानै हुँदा बाबा बित्नु भयो । बाबाको माया कस्तो हुन्छ, अनुभव नै गर्न पाइन । स्कुल-कलेजमा केही केटा-साथीहरू बने । प्रेम गर्छु भन्थे, सालाहरू सबै बोका मात्र रहेछन् । वास्तवमा मलाई प्रेम गर्ने पुरुष नै छैनन् ।”

एकछिन उनी मौन बसिन् । उनको नजर भुइँतिर गढ्यो । खुट्टाको बूढीऔँलाले कार्पेट कोट्याउन थालिन् । कोठामा सन्नाटा छायो । त्यो एउटा विस्फोटनको पूर्वको शून्यता रहेछ । एउटा रहस्योद्घाटन हुँदै रहेछ ।

“म हजुरलाई प्रेम गर्छु, प्रोफेसर । के हजुर पनि मलाई प्रेम गर्नु हुन्छ ?” कृष्टिना हठात् बोलिन्, बन्दुकबाट गोली पड्किएको जस्तो ।

प्राध्यापकको मुखबाट वाक्य फुटेन । उनको मस्तिष्क सन्न भयो । भाउन्न भएर आयो । आश्चर्य र भयले शरीरमा चिट्चिट पसिना छुट्यो । लामो-लामो श्वास लिए । मुटुको वेगलाई थाम्ने यत्न गरे । बिस्तारै कृष्टिनाका कुराहरू दिमागले प्रशोधन गर्न थाल्यो । उनले कृष्टिना आए पछिका घटनाका कडीहरू जोड्न थाले ।

कृष्टिना कलेज र काम बाहेक बाहिर निस्कन छोडेकी थिइन् । कहिलेकाहीँ ईभा भेट्न आउँथिन् । फुर्सद हुँदा उनी बरु घरधन्दा गरेर बस्थिन् । घर सफा राख्ने, खाना बनाउने, कुकरलाई डुलाउन लैजाने आदि काममा सहयोग गर्थिन् । मनाही गर्दा-गर्दै पनि उनले प्राध्यापकको कपडा धोइदिने, पट्याएर राखिदिने गर्न थालिन् ।

हुँदाहुँदै प्राध्यापकले समयमा औषधी खाए-नखाएको समेत चासो दिन थालिन् । प्राध्यापक बेला-बेला औषधी खान बिर्सन्थे । कृष्टिनाले एउटा ‘पिल अर्गनाइजर बक्स’  किनेर ल्याइदिइन् । खाना खाने तालिका पनि खासै थिएन, प्राय: जसो अपराह्नतिर एक छाक खान्थे । साँझतिर केही कटाक-कुटुक चपाउँथे । कृष्टिनाले साँझको खाना खान बाध्य पारिन्– शारिरिक कसरत गर्ने मान्छेलाई खुराक चाहिन्छ भनेर ।

एकदिन प्राध्यापकले व्यायाम गर्दा ढाड सड्काए । बस्न, उठ्न सहारा चाहिने भयो । कृष्टिना काममा नगई प्राध्यापकको सेवा गरेर बसिन् । कहिले बरफ लगाइदिन्थिन् त कहिले तातो-भातको पोकाले सेकिदिन्थिन् । कृष्टिनाको सेवाभावले प्राध्यापक नतमस्तक भए ।

प्राध्यापक बाहिर निस्कँदा कहाँ जान लागेको, कतिबेला फर्किने जस्ता कुराहरू सोध्थिन् । श्रीमती परमधाम भएपछि प्राध्यापकको दिनचर्याबारे सोधखोज गर्ने कोही थिएन  । मनमौजी भएका थिए । कसै प्रति जवाफदेहिता थिएन । डोरी चैट भएको चङ्गा जस्तो स्वतन्त्र थिए । कृष्टिना आए पछि भने स्थिति बदलिएको थियो । आफ्नो स्वतन्त्रतामा हस्तक्षेप हुँदा पनि उनले प्रतिरोध गरेनन्, बरु सहर्ष स्वीकार गरे । आफ्नो बारे सोध्ने, सोच्ने कोही त छ भन्ने भयो । तर किन? कृष्टिना उनको कोही पनि त होइन । एउटी पराईकी छोरीले किन उनको यति धेरै ख्याल राख्छिन्? प्राध्यापक कहिलेकाहीँ घोत्लिन्थे, तर कुनै उत्तर पाउँदैनथे ।

अर्को एउटा घटना – प्राध्यापक एक रात टिभी हेर्दा हेर्दा सोफामै निदाएका थिए । अलि-अलि पिएको बेला त्यसो गर्छन् । सपनामा उनकी श्रीमती आइन् । उनको शरीरबाट चमेली र लावेन्दरको मिश्रित सुगन्ध आइरहेको थियो  । उनले कम्बल ओढाइदिइन् । चस्मा फुकालेर साइड-टेबुलमा राखिदिइन् । असरल्ल परेको कपाल हातले सपक्क पारिदिइन् र निधारमा चुमेर गइन् । उनको कोमल हातको स्पर्श बिहान सम्म महसुस भइरह्यो  । कस्तो अचम्म ! बिहान उठ्दा उनले आफूलाई कम्बल ओढिरहेको पाए । दिवङ्गत श्रीमतीको भूत पक्कै आएन । के उनी तन्द्रामा थिए? निःसन्देह कम्बल कृष्टिनाले ल्याएर ओढाइदिएकी हुनुपर्छ, तर चुम्बन ?  के त्यो रात उनलाई कृष्टिनाले चुम्बन गरिन् ? बिहान कृष्टिना बाहिर निस्कँदा अत्तरको वासना छोडेर गइन्– उही लावेन्दर र चमेली फूलको सुगन्ध ।

कृष्टिनाले जे भनिन्, घटनाक्रमहरूले पनि त्यही संकेत गर्‍यो । प्राध्यापक जडवत् उभिइरहे । शर्म, भय, र आश्चर्यले उनलाई एकैचोटी बेर्यो ।

कृष्टिनाले उनलाई झक्झक्याइन् ।

“मलाई प्रेम गर्नु हुन्न ?”

“तिमी के भन्दैछौ, कृष्टिना, तिमीलाई मेरो उमेर थाहा छ ?”

“थाहा छ, सलमान खान भन्दा केही वर्ष बढी त हो नि ! म त हजुरलाई जवान नै देख्छु ! ह्याण्डसम पनि हुनुहुन्छ ।” कृष्टिनाको रोदन एकैछिनमा हाँसोमा बदलियो ।

“मैले उमेर मिल्नेहरूसँग संगत गरिसकेको छु । दे आर अल फऽऽऽ ब्वाईज !” उनका अनुहारका मांसपेशीहरू खुम्चिए । उनी अलि फोहरी बोल्न थालिन् ।”

“कृष्टिना !” प्राध्यापकले कृष्टिनालाई रोक्न चाहे ।

“सरी, सरी, प्रोफेसर !”

एकछिनको मौनता पछि फेरि बोलिन्, “ मलाई उमेर मिल्दो जोडी होइन, भरोसा चाहिएको छ, माया चाहिएको छ, विश्वास चाहिएको छ । तन्नेरीहरूको यौन-पुतली बन्नु भन्दा पाको उमेरका पुरुषको प्यारी बन्न चाहन्छु । म प्यारी छु नि हैन ? त्यसैले त हजुरले मलाई यति धेरै माया गर्नु हुन्छ ।” उनी आफैँ पुलकित भइन् ।

कृष्टिना प्राध्यापक तिर बढिन् । प्राध्यापक पछि हटे ।

“हजुरलाई म मन पर्दिन ? म राम्री छैन ? हजुरको साथी जेम्सले त मलाई ‘हट’ देख्यो त ? हजुरले  देख्नु हुन्न ?” उनी अलि चिढिइन् । ज्याकेट उतारेर काउचतिर फ्याँकिन् ।

उनको स्याप्प परेको पेटमा केही टलक्क टल्कियो । गहिरो, बक्राकार नाभिमा पत्थर जडित आभूषण झुण्डिएको रहेछ । प्राध्यापकको नजर कृष्टिनाका समथर मध्यभागबाट उन्नत वक्षहरू तर्फ उक्लिए । ती यौवनका उन्मत्त उभारहरू ‘ट्यांक-टप’ वस्त्रभित्र अटेसमटेस गरिरहेका प्रतीत हुन्थे । देब्रे वक्षस्थल माथि एउटा गुलाफको ट्याटु पनि खोपिएको रहेछ । प्राध्यापकले आफ्नो सामु बैँसको एउटा लप्का देखे । पतझर मौसममा झरेका पातहरू जस्तै सुकेका थिए उनी । वासनाको एउटा फिलिङ्गो खस्यो । उनी सल्किन थाले । कृष्टिना भर्याङतर्फ बढिन् । प्राध्यापकका नजरले उनका नितम्बलाई भर्याङसम्मै पछ्याए । तन  बूढो भए पनि आँखाहरू त तन्नेरी नै रहेछन् । पुरुष न हुन् –आज उनी बहकिए । भर्‍याङमा पुगे पछि कृष्टिनाले टाउको घुमाइन् र एउटा रहस्यमयी मुस्कान छरिन् । प्राध्यापकले त्यसलाई प्रणय-निमन्त्रणाको रूपमा बुझे ।

प्राध्यापकले आफूलाई हठात् जवान महसुस गर्न थाले । उनका इन्द्रीयहरू जागृत भए । पौरुष ग्रन्थिहरूमा रक्तप्रवाह ह्वात्तै बढ्यो, अकस्मात्को वर्षाले खहरे उर्लिए जस्तै । शील-धर्मको बाँध टुट्ने संकेत देखियो । त्रेता-द्वापरयुगका तपस्वीहरू त कामायनी अप्सराका रूप र लावण्य सामु फतक्कै गलेका थिए रे, भने कलियुगका प्राध्यापक पन्त कुन चिज हुन् र! यी मिथकहरूमा जानै पर्दैन, आधुनिक युगमै यस्ता थुप्रै दृष्टान्तहरू पाइन्छन् ।

प्राध्यापक उठे र भर्‍याङ तर्फ बढे । भर्‍याङ दुई तर्फ जान्थ्यो — एउटा माथिल्लो तला, जहाँ उनको शयन कक्ष थियो । अर्को, तल ‘बेसमेन्ट’, जहाँ कृष्टिनाले डेरा जमाएकी थिइन् । सँघारमा पुगेपछि प्राध्यापक टक्क अडिए र सोचमा परे– कुन भर्याङ रोजूँ ? एकातर्फ अनुशासन छ, शील धर्म छ, नैतिकता छ । अर्को तर्फ एउटा भर्भराउँदो जोवन भएकी नवयौवनाको प्रेम निवेदन छ, प्रणय आमन्त्रण छ, असमेल वासना छ । प्राध्यापक द्विविधाग्रस्त भए ।