‘घाँस, आज म तँलाई मेरो जीवनको कथा सुनाउँछु । त्यसपछि तेरो मप्रति कुनै गुनासो रहने छैन । मैले तेरो जति शीर छेदन गरे पनि मलाई माफ गर्नेछस् ।’

बैसाखको चर्को घाम छ । बिहानीपख घामका किरणहरु तराईको खुल्ला फाँटमा फैलिसकेका छन् । घाम चर्को भए पनि हल्का हावाको शितलता छ । म त्यही हावाको ऊर्जा लिएर यहाँ खडा हुन सकेकी छु । र म आज फेरि खुल्ला बारीमा आइपुगेकी छु । एउटा बोरा, एउटा हँसिया र एउटा गम्छा, अर्थात् सल टाउकामा बोकेर ।

यो मेरो नित्य कर्म हो ।
मैले यही हँसियालाई प्रेम गरेकी छु । यही चापट हाल्ने बोरालाई सप्रेम स्पर्श गरेकी छु आजका दिनसम्म । यही नाम्लो र

बाँस्कोटा धनञ्जय

यही नाइलनको डोरीलाई स्नेही हातले समातेकी छु । बोराले मेरो पिठ्यूँलाई अंकमाल गरेर मात्रै दिन काट्छ । मेरो पिठ्यूँमा उसले गरेका चुम्बनका डोबहरु मेरो स्मृतिपटलमा हरपल जीवन्त भएर बाँचेका छन् । हँसियाले बारबार मेरा औंलाहरु पालैपिलो काटेर रगतका थोपा झार्दै मेरो जिन्दगीको कसम खाइरहन्छ; ‘म तिम्रै हुँ’ । नाम्लो र डोरीले मेरा निधारमा लामा लामा भाग्यका रेखाहरु दिनहुँ कोरिरहन्छन्, तर म ती रेखाहरु पढ्ने प्रयास गरिरहन्छु । तर सक्दिनँ उसको भाषा बुझ्न ।

‘शीला, कता ? घाँस काट्न ?’ काकाको यो आवाज मलाई न्यानो दिन आउँछ संधै । उसदिन पनि उनैले मलाई जिज्ञासा राखेर सोधेका थिए । मैले बोलाउने र मेरो विगत, वर्तमान र आगतलाई मजाक नबनाउने मैले त्यस घरमा गएदेखि बुझेको अशल मान्छे हुन् उनी ।
‘हजुर ।’ मैले उनको प्रश्नको सीधा जवाफ फर्काएँ ।

जे भए पनि आज अलिक धेरै ने घाँस काट्नु छ । सधैँ पनि काट्नु परिरहेको छ । हिजोको आजलाई जोहो गरेर राख्न सकिएन । हिजै सकियो । अलिक अलिक ज्वरो पनि आइराथ्यो । त्यही भएर आज बिहानलाई नै रहेन ।
बिहान उठेर घर बढारेँ । आँगन बढारेँ । लुँडो लगाएर पुछेँ । गाइको थला सोहोरेँ । खोले पकाएर दिएँ । कुटी अलिकति हिजो काटेको थियो, त्यो हालिदिएँ । नहाइधुवाइ गरेर तीनवटा गाई दोएँ । दुईवटाको दुध सधैँ लिन आउनेलाई दिएँ । एउटा गाईको बाँकी रहेको दुध उमालेँ । छोरीहरुलाई अलिअलि पिउन दिएँ । परिवारका बाँकीलाई चिया पकाएर बैठक कोठा लगिदिएँ । उनीहरु भर्खर उठेर बैठक कोठामा भेला हुँदै थिए ।

त्यसपछि म बोरा, हँसिया र डोरी बोकेर यहाँ आएँ । यही गरामा । आज पन्द्र वर्षदेखि मेरा पाइतालाले निरन्तर चुम्बन गरेको माटोको गरो । कति पटक यो माटोले मेरा पाइतालालाई स्पर्श गरिसक्यो हो ! अब त यो गराको, त्यो गराको, र ती आँठाहरुको माटोले स्पर्श गरेनन् भने त्यो दिन मेरा पाइतालाहरु निराश हुन्छन् । बेचैन हुन्छन् । मैले यहाँ आएर खाली खुट्टाले यो माटोलाई छोएपछि म पवित्र हुन्छु । यही महसुस गरेकी छु ।

घाम ताता हुन थालेका छन् । तर मलाई तातो भएको छैन । घामको ताप मेरो शरीरले नपना गर्न नसक्ने भएको निकै भयो । मैले शरीरमाथि दिगविजय गरेँ भन्ने लाग्या छ । अब म तपस्याको चरम विन्दुमा छु । ज्ञान र शक्ति प्राप्त गर्दैछु । यस्तै लाग्दैछ ।

यो गराको घाँस कति छिटो पलाएको ? काटेको दश दिन मात्रै भए जस्तो लाग्दैछ । जति छिटो बढ्छ उति छिटो म तेरो शीर मुण्डन गरिरहेकी छु । घाँस, तँ र म उस्तै भएछौंः छिटो बढ्नाले मेरो पनि टाउको मुण्डन भयो तेरो जस्तै । र तँलाई मुड्न आइपुगेँ । नत्र म सानै हुन्थेँ भने मेरो बिहे पनि हुने थिएन, यहाँ यो लोकको यो लीला पनि देख्नु र भोग्नु पर्ने थिएन । त्यसैले म भन्छु, घाँस तँ अब नपला । अनि त्यसपछि कसैले तँलाई शीर छेदन गर्ने छैनन् ।

हुन त तँ छिटो पलाउँछस् र त मेरो काम चलेको छ । म छिटो बढेँ र त यिनीहरुको काम चलेको छ । तर तँलाई थाहा छैन घाँस, तेरो नाम नै निर्गतिलो छ । कसले तेरो यो नाम राखिदिए, तिनको भलो कहिल्यै नहोस् । तेरो नामको अलङ्कार तँलाई थाहा छ ? ‘घाँस’, अर्थात् काम नलाग्ने, बेवकुफ, मूर्ख, स्वाँठ, दिमाग नभएको, पत्रु । अनि मेरो नाम शीलाको अर्थ थाहा छ तँलाई ? शीला, अर्थात् लोप हुनलागेको, सकिएको, निख्रिएको, सिद्धिएको, नाम र इज्जत नभएको, कतै पुगेर सकिएको वा नासिएको । ढुङ्गो वा पत्थर भएको । निर्जीव भएको । म यहाँ आइपुगेर कसरी शीला लागेँ ? मेरो आगत कतै छ त तेरो जस्तै ? केवल हरपल शीरछेदन गरिइनु पर्ने ।

अझ, तँलाई थाहा छैन, हाम्री फुपू आमै हरेक बिहान पाखामा घाँस काट्न भनेर जान्थिन् । जहिल्यै हिँड्ने बेलाई तेरो र मेरा नाम लिन्थिन् र भन्थिन्, ‘आज जौबारीतिर यसो घाँस सिला खोजेर ल्याउनु पर्थ्यो ।’ म ‘शिला’ पत्थर बनेँ एैया आत्था नभन्ने । अनि म फुपू आमैको ‘सिला’ बनेँ हराएकी, अर्थात् कसैको नजरमा नपरेकी । त्यही रहेछ कारण, तँ र म जुम्ल्याहा भएको । र यसरी भेट भएको ।

यो पल्लो गरामा पनि घाँस हान्न पाएको भए पुग्दो हुन्थ्यो घाँस । पोहोर साल त ढुक्क भएको थियो । निर्मला आन्टीलाई मटरको पानी मागेर दुईखेप हालेपछि घाँस ओइरो आएको थियो । गाईको मल पनि हालेकी थिएँ । तर यसपाली पाइएन । छोरीहरु बिरामी भए । तिनवटीलाई नै कोरोना लाग्यो । कोरोनाले सायद थाहा पायो, मलाई हान्यो भने त यी गाई पनि मर्छन्, मेरा छोरी पनि मर्छन्, अनि मेरो आश्रयमा बसेका यी बूढाबूढी पनि मर्छन् । अर्थात् मेरो श्रीमान् बाहेक सबै मर्छन् । यही बुझ्यो कोरोनाले । र मलाई घाँस काट्ने अवसरबाट बञ्चित गरेन !

‘ए शिला बहिनी, मेरो यो रछ्यानको घाँस पनि काटेर लैजाउ, सारै झोडी भयो । गोमन सर्प आउँछ भन्ने तराई भयो ।’

‘हुन्छ, दिदी । भोलि काट्छु ।’

‘ए शिला नानी, यहाँ हामीले पनि खसी पालेका छन्, यताको घाँस नकाट्नु है । अस्ति पनि खुसुक्क लगिछौ ।’

‘हवस् भाउजू ।’

‘शिला, घाँस बोक्न तिमीमात्रै आउँछौ, माइलालाई पनि जुँ भन्नु नि । त्यो तिघ्रेले चाहिँ स्वास्नीलाई सघाउनु हुँदैन ?’

‘हवस्, काकी ।’

‘शिला, यो घाँसमा युरिया हानेको भए राम्ररी आउँथ्यो । अब काटेर हानिदिनु युरिया ।’

‘हवस्, सर ।’

‘शिला बहिनी, गाउँ पनि बाक्लियो र सहर बन्न थाल्यो । घाँस रोप्ने ठाउँ पनि साँघुरिँदै गयो । दुई वटा गाई बेच्नु नि एउटा राखेर ।’

‘हवस्, फुपू ।’

यसरी बिहानदेखि बेलुकासम्म ‘हवस्’, ‘हुन्छ’ भनेर जीवनको यात्रा तय गरेकी छु । कतै भुइँ घाँस, कतै घाँसे बिरुवा लगाएर घाँसको जोहो गर्दैछु । मेरो जीवनको अभिन्न पाटो यही घाँस भएको छ । यही बोरा भएको छ । यही नाम्लो भएको छ । यही डोरी भएको छ । यही हँसिया भएको छ । यही गराका आली र चपरी भएका छन् । यही माटो र गोबर भएको छ ।
आज मेरो जन्मदिन । घाँस, म तँसँग एका बिहानै मीत लगाएर जन्मदिन मनाउँदै छु । हरेक जन्म दिनमा छोरीहरुले फेसबुकमा मेरो फोटो हालेर शुभकामना दिन्छन् दीर्घायुको । भरे हाल्छन् मेरा फोटा । तिनलाई भन्न पनि सक्दिन, मलाई अब यो जन्मको बोझ नसम्झाऊ भनेर । तर तिनका निन्याउरा अनुहार हेर्छु, र मुस्कुराउँछु, म यिनका लागि जन्मिएकी हुँ ।

त्यसैले रमाउनै पर्छ । यही सोच्ने गर्छु ।

घाँस, तर मेरो उसबेला धुमधामसँग जन्मदिन ‘ह्याप्पी बर्थ डे’ भनेर मनाउने काम हुन्थ्यो । दाइहरुले खसी काट्थे मेरो जन्म दिनमा । आफन्तहरु बेलाएर खान दिन्थे । बुबाका साथीहरु धेरे हुन्थे । तिनले मेरो प्रगति, दीर्घायु, शान्ति र सम्बृद्धिको कामना गर्थे । क्यामेराम्यान बोलाएर फोट खिचाउँथे । गाउँमा फेबुक थिएन, त्यही भएर प्रिन्ट गरेर एलबममा राखिन्थ्यो ठुला फोटा ।
०००००

‘शिला, घरमा मोरङ्गदेखि तँलाई माग्न आज आउँदैछन् कुटुम्बहरु । चनाखो हुनु नि आज ।’ म बिहानै पाँचथर क्याम्पस जान भनेर तयार हुन लाग्दा आमाले मलाई यो अकल्पनीय समाचार सम्प्रेषण गर्नुभयो ।

‘म कहाँ हिँड्न आँटेकी छु, थाहा पाउनु भएन ? अब सबै काम सकेर यही एउटा काम बाँकी रह्यो तपाईंहरुको । म ब्याचलर्स नसकि बिहे गर्दिन भनेर कतिखेप भयो भनेको ? तपार्इँ आफै अन्मिएर जानू ।’ मैले मेरी आमालाई मुख छाडेँ ।

‘बुबासँग सबै कुरा भइसकेको छ रे । उतै लगेर बिराटनगरको ठूलो क्याम्पसमा पढाउने रे तँलाई ।’

‘मेरो कन्पारो तात्यो तपाईँहरुका कुराले । म आफै केटा हेर्छु र आफै बिहे गर्छु । तपाईँहरुलाई झन्झट दिन्नँ ।’

‘त्यसरी हुन्न, शिला । हैसियत, खानदान मिल्नु पर्छ । जात र धर्म मिल्नु पर्छ । परिवार मिल्नु पर्छ । यी सब हिसावले त्यो परिवार ठीक छ । चिनजानका मान्छे हुन् ।’ बुबाले कुरा थप्नुभयो ।

‘तपाईँको त्यो भगवान् भोलेनाथ भए नि परेन । मैले यसबारेमा सोचेकै छैन, बुबा ।….. प्लीज ।’

तर आमाले धेरै जिद्धी गर्नुभयो — खानदानी परिवार छ । काजी परिवार । काम गर्ने मान्छेहरु छन् घरमा । बिसौं बिगाहाको खेती छ । एउटा भएको भाइ पनि अमेरिका छ । ऊ फिरेर आउने पनि होइन । त्यो सबै सम्पत्ति आफ्नै हुन्छ । त्यो विरासतमाथि एकाधिकार चल्छ तेरो । ठूलो खान्दानी परिवार हो । हाम्रो भन्दा ठूलो ।

‘हामीले छोरी हेर्न आउँदा हुन्छ भनेरै आज आउँदैछन् । तँलाई यहाँ नदेख्दा, अनि फिदिम गएकी छ भन्दा बोलीको ठेगान नभएको परिवार भनेर हाम्रो इज्तमा दाग लाग्छ ।’ आमाले सम्झाउनु भयो ।

मैले बिद्रोह गर्ने नसोचेको पनि होइन, तर यी मलाई जन्म दिने बाआमाले मप्रति आजीवन गुनासो गर्लान् भन्ने लाग्यो । म बी.एड. प्रथम वर्षको पढाई गर्न एडमिसन फारम भर्न जान लागेकी थिएँ, तर गोडा रोकिए ।

खानपिन पछि गफ सुरु भए ।

‘हाम्री एकमात्र छोरी, शिला ।’ बुबाले ती तीन जाना पाहुनालाई मेरो परिचय दिन थाल्नु भयो ।

‘हजुर ।’ अलिक जुँघा लामा भएको अधबैंसे मान्छेले छिटो प्रतिकृया दिए । मैले सोचेकी थिएँ, उनी केटाको बाबु होलान्, तर काका रहेछन् ।

‘यो अहिले वी.एड. पढ्ने भन्दैछ,’ बुबाले प्रशंग फेरि जोड्नुभयो, ‘यो हाम्री लक्ष्मी हो । दुई दाजुभाइकी एक्ली चेली ।

यसलाई हामीले घरको कुनै पनि काम लगाएका छैनौँ । सबै हाम्रा खेताला र गोठालाले गर्छन् । यसले पढ्न बाहेक केही पनि जानेकी छैन । पढाइमा अब्बल छे । बाहृ कक्षमा क्याम्पस फस्ट गरेकी हो । हजुरहरु पाउँदा मलै यी सब कुरा किनारामा राखेर यो फैसला गर्दैछु ।’

बुबाको न्यारेटिभ सुन्दा त बुबाले गल्ती गर्नु भए जस्तो लागेन । ठीकै गर्दैहुनुहुन्छ जस्तो पो लाग्यो ।
केटो पनि सुरिलो, राम्रै लाग्यो । केटाको बाबु चाहिँ कम बोलिरहेका थिए । काका सबै बोल्दैथिए ।

‘हजुर, हजुरहरुकी छोरी हाम्री लक्ष्मी हुन् । एक्ली बुहारी । अरु त सबै पखेटा लागेर गए । उनलाई हामी यहाँ र उहाँको जीवनमा अन्तर हुन दिने छैनौँ । हाम्रामा पनि खेती गर्ने, घाँस गर्ने, बस्तु गर्ने, धन्ना गर्ने अरु नै छन् । यिनले राम्ररी पढाइलाई अघि बढाइन् भने हुन्छ ।’

यसरी थापा काजी परिवारकी म बुहारी भएर भित्रिएँ । लुइरे केटाको शालीनता बुझ्न थालेँ । खानदानी बुझ्न थालेँ । काम गर्न राखिएका कामदारहरु बुझ्न थालेँ । काजी परिवारको विरासत बुझ्न थालेँ ।

अनि लाग्यो, त्यो परिवार प्याज जस्तै रहेछ । प्याजको दिउल निकाल्न बोक्रा ताछ्न थालेँ । खोज्न थालेँ त्यसको दिउल । जति बोक्रा ताछ्दै गयो उति अर्को बोक्रा निस्किने, तर अकल्पनीय बोक्रा । तर मैले मेरो भावना मेरा बुबा आमालाई कहिल्यै बाँडिन । मेरा कारणले म उहाँहरुलाई दुखी बनाउन चाहन्नथेँ ।

समय बित्दै गयो । प्याजका बोक्रा ताछिँदै गए । उनीहरुले मेरा आमा बुबासँग भनेका कुरा सत्य रहेछन् । तर फेरि सबै असत्य । सत्य र असत्यको सापेक्षता कति भयाभह ! काम गर्न राखेका मान्छेमा ज्याला नपाएको असन्तुष्टि देखेँ, छोडेर गए म हुँदा हुँदै । बिराटनगरमा पढ्न थालेर पनि छोडेँ, घर बेहाल भए पछि । घर सम्हाल्न थालेँ ।

ती अथाह सम्पत्ति धमिरा लागेर पुर्लुक पुर्लुक ढलिरहेको देखेँ मैले । आफ्नो जग्गा गाविस अध्यक्षमा ससुराले चुनाव लड्दा, पार्टीलाई चन्दा दिँदा र कार्यकर्ता पाल्दा सबै बैंकमा राखेर ऋण लिएका रहेछन् । उकास्न सकेनन् । घर भएको कित्ता र बिराटनगरको एउटा घरबाहेक सबै बेच्नु पर्यो । अनि मेरो सुरिलो श्रीमान्, कम बोल्ने बानी होला भन्ठानेँ, उनको कुनै पढाइरहेनछ । स्कूलमा गुण्डागर्दी गरेको आरोपमा निलम्बनमा परेर उनको पढाइ नौ कक्षामा सीमित भएको रहेछ ।

यतिकैमा म आमा भएँ । तीन वटी छोरीकी आमा बनें करकापले । मेरो इच्छा दुई मात्रै थियो । सायद तिनलाई छोरो चाहिएको थियो, भन्न सकेनन् । अनि ती छोरी अहिले विद्यालय जान्छन् पढ्न । ठूलीले त एघार कक्षा पास गरिसकी ।
आज सुसराको बेरङ्गी विरासत छ । समाजमा सबैले चिन्छन्, तर नकारात्मक । दुबैजना सुगरका रोगी छन् । विराटनगरको घर भाडामा लगाएको छ । त्यसबाट औषधी गर्ने र सासूससुरालाई खर्च गर्ने पैसा आउँछ । अरु कुनै कमाइ छैन । श्रीमानले एउटा कार लिजमा चलाउँछन् । तयो कति कमाउँछन्, आजसम्म फुटेको कौडी देखेको छैन । राति घरमा आउँछन् । हस्स गन्हाएर आउँछन् । चुपचाप खाना खाएर सुत्न जान्छन् । रातभरि म्यासेन आउँछन् । थाहा छैन कसले र किन । उनको मोबाइल मैले आजसम्म हेरेको छैन ।

मैले बिराटनगर पढ्न छोडेर आएपछि शिक्षकको जागीर खाने सुर गरेँ । ससुरा पहिला त्यही स्कुलका अध्यक्ष थिए भन्ने सुनेकी थिएँ । त्यही भएर सुटुक्क निवेदन दिएँ । प्राथमिक शिक्षकको लागि ।

‘शिला, यता आऊ ।’ ससुराले बोलाए ।

‘हजुर, किन बोलाइस्यो ?’ म उनको अगाडि हाँजिर भएँ ।

‘तिम्ले शिक्षा निकेतनमा प्राविको शिक्षकको लागि निवेदन दिएको कुरा साँचो हो?’

‘हो, हजुर ?’

‘किन? किन ? तिमीले आफूलाई मात्रै हेरेर हुन्छ ? हामी चाहिँ केही होइनौँ ? मैले जग्गा दिएर बनाएको स्कुल हो त्यो । मैले मास्टर नियुक्ति गरेर राखेका ती झारपातलाई मेरी बुहारीले जागिर देऊ भन्नु ?’

‘घर चलाउन अलिक अलिक पैसाको सहयोग मिल्छ कि भनेर मात्रै ।’

‘पर्दैन । घर चलाउन बिराटनगरको घरभाडा आउँछ । यी तीन माउ गाई छन् । यिनको ओलन बेच्दा पुग्छ ।’

मैले ससुराको हुँदै नभएको शीर उठाउनु पर्यो जागीर नखाएर ।
यतिकैमा गाईलाई घाँस खोले गर्ने चतुरसिंह काका र उनको परिवारबीच ससुरासँग लेनदेनको विषयलाई लिएर झगडा भएछ । तिनले घर छाडे ।

‘शिला, चतुरे डाकाले छोडेर गयो । पहाडमा कोदाको खोले खान नपाएर सुकेनाश परेको डाकालाई ल्याएर पालेँ, एक कठ्ठा जग्गा पनि दिएँ । आज ज्याला खोजेर मुन्टियो ! अर्को मान्छे नभेटुञ्जेल तिमीले नै गाईको हेरचाह गर, त्यसको आम्दानी पनि कसैलाई नदेऊ । छोरी पढाऊ ।’

‘हवस्, बुबा हजुर ।’

त्यसपछि तीनवटा गाई मेरो काँधमा आए । यस अघिनै तीनवटी छोरी मेरो काँधमा आइसकेका थिए । अब म छ वटा लक्ष्मीकी मालिक्नी भएँ । मेरो श्रीमानले मलाई ‘पाल्न’ ल्याएको रे, मैले उनलाई पाल्नु परेको छ । छोरी पढ्ने खर्च मै निकाल्छु । तिनलाई चाहिने कुरा मै किन्छु ।

मेरो चाहिँ कहाँबाट आउँछ जुटाउनु पर्ने यत्रो खर्च यदि मैले घाँससँग प्रेम गरिनँ भने ? यसबेला मलाई माग्न मेरो जन्मघर पहिलोचोटि गएका बेलामा सगौरव आफ्नो परिवारको गाथा फलाक्ने ती जुँघावाल काका प्रायः भेट्दै पिच्छे ‘शीला, कता ? घाँस काट्न?’ भन्ने प्रश्नहरु गरिरहन्छन् । सुरु सुरुमा ती न्याना लाग्थे । हिजोआज त ती व्यङ्ग्य जस्तो लाग्न थालेका छन् । सायद उनलाई लाज लागेको हुन सक्छ, किनकि उनले भनेको कुनै पनि कुरा असत्य थिएन, तर ती कुनै पनि कुरा सत्य पनि रहेनन् । उनको काजी खानदानको अहंता यसरी ध्वस्त भएको मैले देख्दा उनलाई लाज लागेको हुन सक्छ मेरो अनुहार देख्दा ।

म टाउकामा घाँसको भारी बोकेर हिँडेको देखे भने काका अर्को बाटो लाग्छन् । जम्काभेट हुँदा मात्रै ‘शिला, कता ? घाँस काट्न हिँड्या ?’ भन्छन् ।

अब घाँसको भारी पनि पुग्यो । घर जाने ।

घाँस, यो कथा मैले तँलाई मात्रै सुनाएको हुँ । कसैलाई नभन्नू । मेरो रुपान्तरणको कथा हो यो ।

दमक, झापा