यो मेरो गाउँ !
गाउँको पूर्व पातलिन थालेको घना जंगल । जंगलको बीचैबीच सहर जाने उत्तरपूर्व लागेको कच्ची मोटरबाटो ।
गाउँको पश्चिम एउटा बर्खे खोला । खोलामा एउटा अधकल्चो काठेपुल ।
त्यही खोलापारि कोशी किनारमा उत्तरदक्षिण लस्करै बसेका अरू दुईचार गाउँ ।
ती पारिका गाउँहरूभन्दा निकै ठालु, पल्टिएर बसेको मेरो त्यो गाउँ । मेरो गाउँमा स्कुल छ, हाई स्कुल छ । हप्तामा दुई दिन बुधवार र आइतवार लाग्ने हटियाले गृहिणी र बूढापाकालाई सजिलो । अनि छन् चोकचोकमा, चिया चमेना र रक्सीका पसल । सहर जाने ट्याक्सी स्ट्यान्ड त ठूलै कुरो भइहाल्यो । यी सबै कुराका लागि पारिका गाउँलेहरू यही गाउँ आउनुपर्ने हुन्छ । अनि अर्को महत्त्वपूर्ण कुरा, यो गाउँका बासिन्दाहरू चर्पी प्रयोग गर्ने भएका छन् । सबैको कोठेबारीको पुछारमा खाल्डो खनेर ठड्याइएको झोपडी पाइखाना । यति कुराले मेरो यो गाउँ अरू गाउँको दाँजोमा ठालु पल्टिएको छ ।
तर वर्षाका चार महिना असारदेखि असोजसम्म वर्षाले बिगारेको कच्ची सडक, अनि पानी र हिलो माटोमा आहाल बसेको कच्ची पाइखाना । यति बेला चैं मेरो गाउँको ठालुपन अलिकता खच्केको हुन्छ ।
यसरी यी चार महिनाभरि पूर्व टोलेहरूका लागि शौच जाने ठाउँ पूर्वको जंगल र पश्चिम टोलेहरूका लागि खोला किनार हुने गरेको छ । खोलाछेउ घर भएको मलाई यस्तै बानी परेको छ ।
गाउँको स्कुलबाट एसएलसी पास गरेर सहर पढ्न बसेको दोस्रो वर्ष बित्दै छ । दुईमहिने गर्मी बिदामा सबै किताब बोकेर घर आएको म । अर्थशास्त्र र राजनीतिशास्त्र मूल विषय राखेर पढ्दै अंग्रेजीको महत्त्व बुझ्दै गएको म । गाउँका स्कुलमा नौदस पढ्दै गरेका केटाहरूसँग अंग्रेजी बोल्नु अनि तर्किएर भाग्न खोज्ने केटाहरू देखेर मक्ख पर्दै तृप्त हुने मेरो अहं । चियापसल वा साँझमा पार्क भन्ने गरिएको चोकमा शीतल खान बसेका सोझा किसान बन्धुहरूबीच, गाउँको गरिबीसँग अर्थशास्त्रमा आदम स्मिथदेखि मार्सल, रबिन्सन हुँदै पिगु जस्ता अर्थशास्त्रीहरूको परिभाषा र सिद्धान्तको व्याख्या गर्नु अनि ती श्रोताहरूका अनुहारमा देखिएका अचम्म परेका भावहरू पढेर त्यसैत्यसै भ्यागुता फुलेझैं फुल्ने मेरो मन ।
हिजोको बुधबारे हटिया । अरू व्यापार घामपानी-घामपानीले रोक्दै-छाड्दै गरे पनि चोकको दक्षिणपूर्व हटियाको एक छेउमा करवीरेले देखाउँदै गरेको जादु र उसको जडीबुटीको पसल वेरोकटोक चलिरहेकै थियो ।
पानी पर्न थामिएपछि म पनि दर्शकहरूको भीडमा उभिन पुगें । मेरो पातलो शरीर, अग्लो कद । करवीरेको जादु भीडको पछाडि नै उभिएर पनि देख्न सजिलै थियो ।
उसले डमरु बजाउन हल्लाएको हातझैं बायाँ हातको मुट्ठी हावामा हल्लाएर मन्त्र पढिसकेर एउटा सेतो टेबल टेनिस बल मुखमा हालेर निलेजस्तो गर्यो र एक छिन डकारे जस्तो गरेर सहस्रौं टेनिस बल ओकल्दै भुइँमा बिछ्याइएको गम्छामा राख्दै गयो । म सम्झँदै थिएँ यो हातको सफाई तर पनि कसरी ? आश्चर्य कै कुरो थियो मेरा लागि । अरू दर्शक त आँखा झिमिक्कै नगरी खुला मुख टोलाएका टोलायै थिए ।
उसले यसरी अरू पनि चमत्कारहरू देखायो । अनि हरेक चमत्कार पछिको दसपन्ध्र मिनेट भने च्याप्टो खुला राखिएको अटैचीमा फिँजाएर राखेको औषधीको पुडियाको गुण बखान गर्दै थियो उसले, ‘ए हजुर ! शरीर कमजोर छ भने बिहान एक गिलास गाईको दूध र एउटा अण्डासँगै यो एक पुडिया दवाई कम्तीमा एक महिना लिनुस्, जस्तो बूढो पनि जवान ! खोकी, सर्दी, ब्रोन्काइटिसमा बिहान महसँग एक पुडिया, साँझ हर्दी, नुन, अदुवा र मरीच हालेर उमालेको तातो पानीसँग एक पुडिया पन्ध्रै दिन मात्र । ए हजुर, बिमारी निको नभए मलाई भन्नोस् ।’
यसरी हरेक जादुपछिको दसपन्ध्र मिनेटको समयमा एक रुपैयाँ पुडियाको त्यो दवाई चालीसपचास थान बिक्री गरेकै हुन्थ्यो ।
अनि कार्यक्रमको अन्त्यतिर उसले बाँसको ढाकीको बिर्को खोलेर गुजुल्ट्याएर राखेको एउटा डोरी सबै दर्शकलाई देखाउँदै भन्यो, ‘ए हजुर, यो काली नागको पुत्ला, यसलाई ब्युँताउने मेरो काला जादु, मेरा आमा, बुवा, दाजु, भाइ, दिदी, बहिनी कृपया शान्त भएर उभिइरहनुहोला । तपार्इंहरू चलमलाउनुभयो भने, हल्ला गर्नुभयो भने, यो काली नागले तपार्इंहरूलाई राति हिँड्दा बाटामा लखेट्नेछ, डस्नेछ । त्यसैले एक छिन शान्त बस्नुहोस् ।’
उसले यति भनेपछि घरतिर लाग्न लागेका दर्शकहरू पनि त्रास र कौतूहलले यथास्थान अडिग भए ।
म ईश्वर र जादुटोना नमान्ने मान्छे, तर उसले देखाइरहेको चमत्कारले मेरो मान्यता फेल खाने स्थितिमा थियो । त्यसैले म पनि हात बाँधेर उभिइरहें ।
उसले त्यो डोरीरूपी नाग भएको ढाकी बिर्को लगाएर भुइँमा राख्यो र झोलाबाट बिन निकालेर निधारमा लगाएर ढोगेजस्तो गर्यो । एक चरण मन्त्र बरबराएपछि बिनको टुँडो मुखमा हाल्दै गर्दा म उभिएको दिशातिर डरलाग्दो नजरले हेर्न थाल्यो । म डराएँ र अचम्म पर्दै आफ्नो छेउछाउ हेरें । झन्डैझन्डै करवीरे जस्तै अनौठो भेषधारी मान्छे त्यस्तै झोलाबाट डमरु झिक्दै अर्को हात मुट्ठी पारी आफ्नो थुतुनोछेउ पुर्याएर मन्त्र बरबराउँदै थियो । मन्त्र जपिसकेर उसले अलि स्पष्ट स्वरमा ‘सत काली, मेरो वचन नजाए खाली’ भन्दै डमरु बजाएर मन्त्रले फुकेको आफ्नो मुट्ठीभित्र केही भएझैं करवीरेतिर फ्याँक्यो ।
यता बिन बजाउन लागेको करवीरेले मुखमा छिराएको टुँडो बाहिर निकाल्न खोजेजस्तो गर्यो । करवीरे ह्वाँ… ह्वाँ… गर्दै भुइँमा लड्यो । मुखमा कोचिन खोजिरहेको बिन र त्यसलाई बाहिर निकाल्न खोजिरहेको करवीरेका राताराता बल्ड्यांग्रिएका आँखा र बिनको टुँडोबाट बग्न थालेको रगतले एकदमै डरलाग्दो दृश्य देखाइरहेको थियो । सबै दर्शकको नजर कहिले त्यो नयाँ जादुगर त कहिले करवीरेतिर ओहोरदोहोर गरिरहेका थिए । यत्तिकैमा वरिपरिबाट घेरेर उभिइरहेका दर्शकहरू माझबाट डल्लोडल्लो कदको चतुरे थापाले घेरा बीचमा पसेर करवीरेलाई उठ्न सहयोग गर्न थाल्यो । एक छिनमा करवीरेकै झोलाबाट एउटा मानव खप्पर र दुइटा नलिहाड निकालेर अघि टेनिस बलहरू फिँजाएको गम्छामाथि विशेष आकृति बनाएर राखिदियो ।
मभन्दा दुई वर्ष अघिदेखि एसएलसी दिँदै मसँगै दिएर पनि फेल भई बसेको चतुरे अहिले मेरा अगाडि एउटा पहेली भएको थियो । किन करवीरेको यस्तो चाकर होला ?
एक छिनमा करवीरे सम्हालिएर उठ्यो र एक हातमा त्यो मानव खप्पर अनि अर्को हातमा एउटा नलिहाड लिएर मन्त्र बरबराउन थाल्यो । यतिन्जेल त्यो नयाँ जादुगर दर्शकहरू माझबाट निस्केर फटाफट निकै मास्तिर लागिसकेको थियो । मेरा लागि अर्को अचम्म, गाउँलेले चंखे भन्ने गरेको दीर्घे प्रसाई उसको पछिपछि थियो । चंखे स्कुलमा चतुरेकै साथी थियो र सँगसँगै एसएलसी फेल हुँदै आएका थिए ।
नयाँ जादुगर पच्ची-सतीस कदम मास्तिर लागेको भए पनि एक छिन अडिएर अररोपरेर छाती पिट्दै ‘मार्यो बाबा’’ भन्दै भुइँमा लड्यो । लडेको नयाँ जादुगरलाई सम्हाल्न चंखे भुइँमा बस्यो र उसको छाती सहलाउन थाल्यो । अलि बरमा चंखेको सहारा लिएर ऊ उठ्यो र लुगाको धूलो टकटक्याउँदै मास्तिर लागेको थियो, कता अल्पियो थाहै पाइएन । सायद यो पनि उसको जादु थियो ।
नयाँ जादुगरलाई नदेखेको मेरो दृष्टि चंखेतिर सर्यो । ऊ हामीतिर अर्थात् करवीरेको कार्यस्थलतिर आइपुग्यो । मैले फर्केर करवीरेको जादुस्थलतिर हेरें— ऊ पनि त्यसरी नै गायब ।
अघिका दर्शकहरू अल्याङटल्याङ गर्दै थिए । नजिक आइपुगेको चंखेलाई औंलो ठड्याउँदै ‘तेरो गुरु कायर, पछाडिबाट हमला गरेर भाग्ने’ भनेर चतुरे अनुहार रातो पार्दै थियो ।
चंखेले पनि भन्यो, ‘तेरो नि त, तेरो गुरु कहाँ हरायो डरले ?’
‘ऊ त आज दिनभरि यो हटियामा जादु देखाएर थाकेकोले घर गयो ।’
‘मेरो गुरु पनि अघि ट्याक्सी स्ट्यान्डतिर जादु देखाएरै आ’को हो नि ।’
आफ्नो गुरु श्रेष्ठ र अर्कोको पत्रु भनेर होच्याउँदा-होच्याउँदै दुवै जना पहिले हात हालाहाल र पछि कुटाकुटै गर्न थाले । आफ्नो गाउँका दाजुभाइहरू, अघि जादु हेर्न बसेका दर्शहहरूले छुट्याइदिए । चंखे र चतुरेको कुरो सुनिरहेका दर्शकहरू आफूहरू पनि सायद गुन्दै थिए, ‘दुवै जादुगर बेतोडका रहेछन् । तर कुन जादुगर चैं शक्तिशाली हो त ?’ म पनि अचम्मै परेको थिएँ । जादुगर त जादुगर भैहाले, मसँगै एसएलसी दिएका चंखे र चतुरे किन त्यति साह्रो बौलाएका, साँच्चै नै जादुगरहरू महान् हुन् त ?
आइतबार बिहान कलेज खुल्ने । कलेज खुल्नु दुई दिनअगावै साथीभाइहरूसँग बसेर पढाइको छलफल गर्नुपर्ने । आज बिहीबार दिनभरि घरमा किताब पल्टाएर बसे पनि मनले भने करवीरे र अर्को जादुगरको चमत्कार सम्झिरह्यो । चतुरे र चंखेको घमासान युद्ध केलाई होला भनी हुँडलिइरह्यो ।
वर्षाको पानीले सहर जाने कच्ची मोटरबाटो भताभुङ्गै छ भनेर सुनेको थिएँ । भोलि हिँडेरै जानुपर्ला भनेर झोला तयार गर्न थालें । प्लास्टिकको बोरामा किताबहरूलाई बेरेर, पारि टप्पुको मेजर बूढाले दिएको लाहुरे झोलामा हालें । फाल्टो लुगा जम्मा एक जोर र एक जोर भित्री लुगा गम्छा बेरेर राखें । बेलुकी भात खाएर सम्साँझै सुतें ।
रातभरि कतिपल्ट आकाश गर्जनसहित पानी पर्दै रोकिँदै गर्यो । राम्रो निद्रै परेन । बिहान तीनै बजे उठेछु । कोठेबारीको पाइखाना ढलेको तीनचार महिना भइसकेको थियो । सिलाबरको डल्ले लोटामा पानी लिएर खोलातिर लागें ।
जूनलाई बादलले छेके पनि रात औंसीको जस्तो चकमन्न र अँधेरो थिएन । भ्यागुताहरूको ट्वारट्वार र झ्याउँकिरीको र्याइँर्याइँ कताकताबाट आइरहेको थियो । सधैँ कहिले बयरको झ्याङ त कहिले खसुरेको गाछीमा छलिएर बस्ने म, आज राति झरी सम्झिएर काठेपुलमुन्तिर लागें ।
त्यहाँ पुग्दा म अचम्म परें । पुलको जिपमुनिको झाडी जंगल सफाचट छ । थपमा, सफासुग्घर पारेर त्यहाँ छरिपट्ट रहने गरेका पाँच-छ वटा काठका मुडकाहरू गोलो गरेर वरिपरि र एउटा अलि ठूलो मुडका बीचमा राखिएको । कुनै मिटिङ भएको वा हुन लागे झैँ । मलाई शौचले त्यति बल गरेको थिएन । त्यसैले बादलले छेलिएको जूनको मधुरो उज्यालोमा चारैतिर हेरेर त्यो माजरा खुट्याउन खोज्दै थिएँ ।
अगाडिपट्टि अलि परबाट दुई जना मान्छे गुनगुन गर्दै आएको सुनेर म सतर्क भएँ र हत्त न पत्त एक कान्लोमुनि काँस र बयरको झाडीबीच आफूलाई छलाएर टुक्रुक्क बसेँ । नजिक आउँदै गरेको आकृति त मैले देख्न सकिनँ, आवाज चाहिँ स्पष्ट हुँदै आयो । दुवै जनाको आवाजले मान्छे ठम्याए पनि आफैँलाई विश्वास लागेन । अस्ति बुधबारे हटियामा आआफ्ना गुरुको श्रेष्ठतालाई लिएर कुटाकुट गर्ने चंखे र चतुरे नै थिए । यसरी मित्रवत् गुनगुन गर्दै आएका दुई जना ठीक म माथिको डिलको त्यो मिटिङ स्थलमा बसे सायद । एक छिन शान्त भए । म डिलमुनि आफूलाई झाडीबीच सक्दो लुकाउँदै शौच आसनमै बसेको थिएँ । डिलमाथि चतुरे बोलेको सुनियो, ‘यार, अस्ति साँझ हटियामा तैँले हानेको मुक्का साँच्चै जोडको पर्यो त । ह्याँ हेर् त, मेरो यो बँगारा नै हल्लियो ।’
चंखे– ‘तैँले हानेको झापड झन चर्को थियो । आँखा तिरमिराएर कान झनन्न हुने गरी हानेको थिस् । रिस त उठेको हो तर कन्ट्रोल गरेर हानेको तर तिरमिराएको आँखाले तेरो अनुहार र मेरो मुक्का बीचको दूरी ठम्याउन नसकेर त्यस्तो भयो यार ।’
यति कुरा गरेर फेरि एकछिन शान्ति छायो ।
म शौच आसनमा टुक्रुक्क बसेको भए पनि उनीहरूबाट छलिन हतारहतार हाफपाइन्ट र कट्टु नखोली बसेछु । अहिले शौचले अलि अलि बल गर्न थाल्यो, तैपनि उनीहरूतिरको कौतूहलले थामिरहेकै थिएँ । एक छिनमा मास्तिरबाट कोही आएझैं वातावरणमा आएको हलचलले मेरो कान र शरीर झन सतर्क भयो ।
माथि डिलमा चंखे र चतुरेको सामूहिक स्वरमा ‘नमस्कार’ सुनियो । उनीहरूको स्वर र लयबाट मैले अनुमान लगाएँ, दुवै जनाले आफ्नो आसनबाट उभिएर शिर निहुर्याएर नमस्कार गरेका हुन् । अनि आगन्तुकको स्वर ‘के छ केटा हो ? आइपुग्यौ ?’ सुनेपछि म झन तिनछक्क परेँ । यो स्वर त त्यही चटकी करवीरेकै थियो ।
माथि दिमागले परिस्थिति पहिल्याउन बल गर्दै थियो भने उत्ति नै खेर तलबाट शौचले निस्कन बल गर्दै थियो । एउठा ठूलो कसरत गर्नु परेझैं टुक्रुक्क बसेकै आसनमा कट्टु र हाफ पाइन्ट घुँडामुनि सारेँ । यो कसरत गरुन्जेल डिलमाथिका करवीरे, चंखे र चतुरेको वार्तालाप अस्पष्ट भइरह्यो । तलबाट विसर्जन हुन खोजिरहेको मलको वेगलाई ध्वनिरहित पार्न मुठी बसेर दाँत किटकिटाउँदै ब्रेक लगाउँदै छाड्दै थिएँ, ठीक त्यति बेलै टाउकामाथि पुलमा कोही हिँडेको आवाज आयो । त्यो पारिको गाउँतिरबाट कोही आएको थियो, मैले स्पष्ट थाहा पाएँ ।
मलाई लागेको थियो— डिलमाथि करवीरे, चंखे र चतुरेको वार्तालाप रोकिएला, म जस्तै टाउको निहुर्याएर आफूहरूलाई लुकाएर बस्लान् । तर, एक-डेढ मिनेटमै तीनै जनाको सामूहिक स्वरमा ‘नमस्कार हजुर’ सुनियो । अहिले पनि तीनै जना उठेरै नमस्कार गरेछन् ।
आगन्तुकले ‘बसबस केटा हो, के छ हालखबर ?’ भनेपछि मैले स्पष्टै थाहा पाएँ— यो त झन् नाइके नै रहेछ ।
छोटो भलाकुसारीपछि सायद भेटघाटको मूल मुद्दामा आएका होलान् । सबैभन्दा पछि आउने, मैले नाइके ठहर्याएको मान्छे नै बोल्यो, ‘अबको दुई महिना यो बैजनी रङ्गको खोलमा राखेर यो दवाई बेच्ने र हाम्रो जादुमा टेनिस बलको सट्टा परेवा निकाल्ने र पानीको धाराको सट्टा आगोको ज्वाला निकाल्ने । म पनि आफ्नो जादुमा एक-दुई आइटम चेन्ज गर्छु ।’
एक छिनको शान्तिपछि करवीरेले ‘हुन्छ हुन्छ धनवीरे दाइ, त्यसै गर्छु’ भनेपछि फेरि एकछिन शान्ति छायो ।
अहिले चतुरे र चंखेको सामूहिक स्वरमा— ‘हामी पनि यो एकदुई वटा जादु सिक्न पाऊँ न हजुर ।’
यतिन्जेल म छेलिएको झाडीको सानोसानो छिद्रहरूबाट उनीहरूको अस्पष्ट आकृति, चलेका हात र हल्लिएका टाउकाहरू पालैपालो देख्न थालेको थिएँ ।
अहिले त्यो नाइके बोल्यो, ‘हुन्छ हुन्छ केटा हो । बिस्तारै हुन्छ । भइहाल्छ नि ।’
अनि फेरि करवीरे बोल्यो, ‘अहिले दुईचार महिना तिमीहरूले गरिआएकै काम अझ राम्रोसँग गर्दै जाओ । आउँदो दसैँतिहार पछिको सुरुआती जाडोमा त्यो पूर्वको चारकोसे झाडीमा लगेर म सिकाइदिउँला, बुझ्यौ ?’
चतुरे र चंखे सायद खुसी भए होलान्, उनीहरूको ‘हवस् हुन्छ हजुर’ को सामूहिक स्वरको लयमा त्यो खुसी अलिअलि झल्कँदै थियो ।
बिहानको उज्यालो अलिअलि बढ्दै थियो । मेरो दृष्टि स्पष्ट हुँदै थियो । करवीरेले आफ्नो झोला निकाल्दै थियो । मैले देखेँ— पहिला एक गड्डी नोट र अनि फेरि खुद्राखुद्री नोटहरू उसले चारै जनाका बीचमा भएको टेबल जस्तो मुडकोमा राख्यो र ‘यो हप्ताको आम्दानी यति नै भयो’ भन्दै अघि बसेको मुडकामा गएर बस्यो ।
उसले पैसा झिकेर राख्दै गर्दा छेलिएको त्यो नाइकेलाई अहिले मेरा आँखाले ठ्याम्मै समाते । तैपनि विश्वास नलागेर आँखाहरूमा बल लगाएर हेरेँ । अहँ, त्यो चौथो मान्छे अरू कोही हुँदै होइन, अस्ति हटियामा डमरु बाएर मन्तर फ्याँकेर करवीरेलाई ढाल्ने नयाँ जादुगरै हो ।
त्यो धनवीरे भनिएको नयाँ जादुगरले पनि आफ्नो झोलाबाट दुई गड्डी र खुद्राखुद्री त्यही मुडकामा राख्यो र सबै मिसाएर गन्न थाल्यो । गनिसकेर सायद भाग लगाउन खोज्दै थियो । मेरो मल विसर्जनको दोस्रो पारिले बल गर्न थाल्यो । म त्यसरी नै बल गरेर ब्रेक लगाएर छोड्दै थिएँ, अकस्मात् घाँटी खसखसायो र रोक्दारोक्दै ख्वाइँख्वाइँ दुईतीनपल्ट खोकिहालेँ । खोक्दा आकस्मिक प्रयोग भएको शक्तिले मल विसर्जनमा पनि केही गर्जन पैदा भएछ । माथिबाट करवीरे र धनवीरे दुवै कराए, ‘ए केटा हो, कुन चाहिँ जासुस हो, सालेलाई घेरेर खतम पारिहाल ।’
चंखे र चतुरे माथि डिलको दुईतिरबाट कुद्दै मछेउ आइपुगे । मलाई सिद्ध्याउने दुवै जादुगरको आदेश, म थर्कमान भएँ । चंखेले जुल्फी समातेर मेरो मुन्टो आकाशतिर फर्काइदियो । एकपल्ट दुवै जना झस्किए, तर तुरुन्तै कठोर अनुहार बनाए । एक जनाको हातमा नांगो खुकुरी र अर्काको हातमा चुप्पी । मेरो टाउको र गर्दनमा तेर्सिएका । अलिकता आश थियो— स्कुले साथी त हुन्, मारी त नहाल्लान् । पछिपछि आएका करवीरेले हातको बिन र धनवीरेले हातको डमरु पनि मेरो कानैनजिक ल्याइपुर्याए । अघि माथि भएको छलफल जस्तै चारै जना मलाई कसरी सिद्ध्याउने र लासलाई कहाँ ठेगान लगाउने भनेर द्रुतगतिमा छलफल गर्न थाले ।
केही छिनको रस्साकसीपछि करवीरे बोल्यो, ‘बिहान हुन लागिसक्यो, लास ठेगान लगाउन भ्याइँदैन । थानामा पनि नयाँ इन्सपेक्टर खरेल आएको छ । खरो मिजाज, घटनाको स्थलगत जाँचबुझ गर्न सिपालु छ । अझ उसले ल्याएको जासुस कुकुर । हुँदैन धनवीरे दाइ, यसलाई साथी नै बनाउनुपर्छ । बरु पढेलेखेको छ, हामीलाई मद्दतै होला ।’
यति भनेपछि दुवै जना गुरु ‘ल ल, यसलाई लिएर माथि आओ’ भन्दै डिलमा उक्लिए ।
चतुरे चुप्पी आफ्नो म्यानमा राख्दै ‘लौ शंकरे, तेरो भाग्य बलियो रहेछ, चाँडो आची धोएर माथि हिँड्’ भनेर उभिइरह्यो । म लबस्तरो झैं उनीहरूकै अगाडि आची धोएपछि चंखेको खुकुरीको टुप्पोले धकेलिँदै माथि उक्लिएँ । छ वटा मुडका छँदै थिए, मलार्इ एउटामा बस्ने इसारा गर्यो धनवीरेले । चारै जनाले मुखामुख गरे ।
धनवीरेले अघि एकै ठाउँ राखेको पैसा गन्न थाल्यो । गनिसकेर पाँच भाग लगायो र बोल्यो, ‘जम्मा नौ सय नब्बे भएछ । हामी दुई जनालाई तीनतीन सय ।’ अनि एक भाग आफूले लिएर करवीरेलाई एक भाग दियो र फेरि भन्यो, ‘तिमीहरू दुई जनालाई एक सय बीस एक सय बिस र यो नयाँ साथीलाई एक सय पचास ।’
उसले मतिर पनि रुपैयाँको सानो गुच्छा बढायो । मैले ‘के माजरा होला’ भनेर बुझ्न खोज्दै हात बढाएँ । चंखे र चतुरेले अलि अँध्यारो मुख लगाएको देखेर करवीरेले दुवैका कानमा पालैपालो खुसखुस केही भन्यो । दुवै जना हँसिला भए ।
एक छिनमा धनवीरे मतिर हेर्दै भन्यो, ‘भाग्यमानी रहेछौ केटा, हाम्रो उद्योगमा सामेल हुन पायौ । यो चंखे र चतुरेले झगडा गरेरै हाम्रो प्रचार गर्छन् । तिमीले आफूले पढेको किताबी ज्ञानको सहाराले तटस्थ रहेको जस्तो गरेर हाम्रो जडीबुटी र जादुको बखान गरिदेऊ, बजारमा । सक्छौ भने तिमी पढेको सहरमा पनि गरिदेऊ, हामी त्यतै पनि आउँला । अहिले यो बोहनी मात्र हो, दसैँमा दसैँ मान्न मनग्गे पुग्ने गरी पाउँछौ । हैन, यताउति गर्छौ भने चंखे र चतुरेको हतियार त देखेकै छौ, हामीले केही भन्नै पर्दैन ।’
यति भनेर धनवीरे गहिरो नजरले मलाई हेर्दै मेरो पिठ्युँ मुसार्न थाल्यो । बाँकी तीनै जनाको पनि हेराइ त त्यस्तै थियो । मैले पैसा कमाउन पढेको अर्थशास्त्रको किताब, त्यसमा भएका विद्वानहरूका सिद्धान्त र परिभाषा सम्झिएँ र बिस्तारै ‘हुन्छ हजुर, म यी चंखे र चतुरेलाई भेट्दै गर्छु नि’ भनिसकेर उभिएँ । करवीरेले ‘ठीक भन्यौ । यिनीहरूबाटै हामी तिम्रो कुरा बुझाउँला र हाम्रो कुरो तिमीलाई बुझाउँला, है’ भनेर फेरि पनि त्यसरी नै हेर्यो ।
अघि जे जस्तो आक्रोश, उत्तेजना र त्रासमा वार्तालाप भएको भए पनि अहिले सबैले मुस्काएर एकअर्कासँग हात मिलायौँ । सबै आआफ्नो बाटो लागे, म चैँ निकै बेर टोलाएर हातको एक सय पचास रुपैयाँ खेलाइरहेँ ।
म घर पुग्दा छ्याङ्ग उज्यालो भइसकेको थियो । गाउँ आउँदा बिहानबेलुका र घर बस्दा लगाउने गरेको हाफ पाइन्ट कति बेला फुकालेर फुल पाइन्ट लगाइसकेछु । आजको दिन सहर फर्किन्छु भनेको मात्रै थिएँ, आमाले ‘किन बिहानै बाबु, मासु पकाउन लागेको, भात खाएर मात्र जा है’ भन्दै एकछिन स्नेहपूर्ण दृष्टिले हेर्नुभयो र भान्सातिर लाग्नुभयो । र भान्साबाटै फेरि भन्नुभयो, ‘ए शंकरेका बुवा, त्यो बरालिने भाले कति दिनपछि बल्ल हिजो वास बस्न आको छ । त्यसैलाई काटौँ । बित्थामा कुन दिन हराउने हो ।’
जुठेल्नोमा दतिवन लगाउँदै उभिनुभएका बुवा बोल्नुभयो, ‘अँ हगि, ठीक भनिस् बूढी । त्यसैले पो ऐलेसम्म खोर नखोलेकी रैछेस् त हैन ?’
भित्रबाट आमाको केही जवाफ आएन । तर मैले अनुमान लगाएँ— बुवाको कुरो सुनेर आमा मक्ख परी हाँसिरहनु भएको छ ।
म ‘एक छिन चोकतिर पुगेर आउँछु नि’ भन्दै निस्किएँ ।
माइजूको होटलमा चिया खाने ग्राहकहरू करिबकरिब भरिभराउ थिए । कुनाको बेन्चको खाली ठाउँमा आफूलाई लगेर राखेँ । पुलमुनिको सभा छलफल र मेरो जिम्मेवारी दिमागमा घुमिरहेकै थियो । चिया खान बसेका ग्राहकहरू करवीरे र धनवीरेको औषधी र जादुकै बखान गर्दै हुन्छन् ।
एक छिनमा मैले केही नभनीकनै मेरो अगाडि टेबलमा एउटा चिया र दुइटा कुकिजको प्लेट माइजू आफैँले राख्दै हुन्छिन् । माइजूकहाँ पाइने आठ आना कप स्पेसल चिया, चारआना गोटा कुकिज अन्यत्र विरलै खान पाइन्थ्यो । आज खल्तीमा एक सय पचास भएकाले मनले आँट गरेर आएको थिएँ । पाइन्ट पछाडिको खल्तीमा नोट छामिरहेको मेरो हात । मैले माग्दै नमागी अगाडि आएको चिया र कुकिज । मैले अचम्म मानेर माइजूलाई हेरेँ । माइजू अलिकता मुस्कुराएर ‘मेजर साहेबले’ भन्दै फर्किनुभयो ।
अलि पर अर्को कुनामा बसेका मेजर बूढा पनि मलाई हेरेर मुस्कुराइरहेका रहेछन् । ‘खा कान्छा खा, अप्ठेरो नमानी खा’ भन्दै छेवैको अर्को बूढोतिर फर्केर उनले थपे, ‘हाम्रो गाउँमा यो केटोले चैँ केही गर्छ है । सहरका उसका अरू साथीभन्दा पनि जान्ने भा’को रैछ पढ्नलाई ।’
म उनको कुरो निहुरिएरै मुस्कुराउँदै सुन्दै थिएँ र गुन्दै थिएँ । अस्ति वैशाखमा मेरो गाउँघर घुम्न आएका साथी धुर्वे र मदनेसँग यहीँ माइजूको होटलमा भएको छलफलमा मैले उनीहरूलाई गाँजेको मेजर बूढाले देखेसुनेका थिए, चिया र कुकिज उनीहरूकै पैसाले खुवाएका थिए, मैले भने राजनीतिशास्त्र र अर्थशास्त्रका विभिन्न परिभाषाा उनीहरूलाई मुखै बन्द हुने गरी पिलाएको थिएँ । सायद त्यसैले भनेका होलान् । चिया बिस्कुट खान थालेपछि म सम्झिन्छु— हिजो किताबकापी र कपडा हालेको झोला अनि उनैले दिएको सैनिक पोसाक, ऊनीको पाइन्ट । र स्वेटर, भित्री सिलाएर चौडाइ सानो पारी जाडोमा लगाउने गरेको । भरे सहर जाने बेलामा बुवाले दिनुहुने खर्च यस पालि नलिउँला भन्थेँ, अब दोधारमा पर्दै हुन्छु । मेजर बूढाले फेरि थपे, ‘तेरो झोला त फाटेको छैन नि ? भन् है, मसँग अरू एकदुइटा छन्, चाहियो भने लिन आइज ।’
सेनाले कुस्तै सामान बोकेर जंगल, पहाड, काँडाघारी कुद्ने झोला मेरो हलुका सामान लिएर वर्षको चार पाँचपल्ट सहर ओहोरदोहोर गर्दा के गरी फाट्ने र ? म चुपो लागेर हाँसिरहन्छु ।
० ० ० ०
भात खाएर हिँडेको म, ट्याक्सी स्ट्यान्ड छेवैबाट हिँड्दा पनि ट्याक्सी जान्छ कि जाँदैन, सोध्दै सोधिनछु । बाटोको हिलो छल्दै सहर लागेछु । पिठ्युँमा लाहुरे झोला, एउटा हातमा चप्पल, घुँडासम्म सारेको पाइन्ट, अर्को हातमा ढ्याङ्ग्रे छाता । आधा बाटो हिँडेपछि एक नम्बर गियरमा घ्वाइँघ्वाइँ कराउँदै आएको ट्याक्सी । जताततै खाल्डो परेको हिलाम्मे बाटो । त्यही हिलो खाल्डो छल्दै जँड्याहा मान्छे हिँडेझैँ बाटोको वल्लो छेउ र पल्लो छेउ गर्दै आउँदै हुन्छ । त्यसपछि लगभग दुइटा ट्याक्सीले मलाई उछिनेर जान्छन् । सबै ट्याक्सी पेसेन्जरले टन्न । आधा बाटो हिँडिसकेको भएर मलार्इ खाँदिएर बस्न मन लागेन । मेरो छेउ आउँदै रोकिन खोज्दै थियो ट्याक्सी, म चुपचाप हिँडिरहेँ ।
‘ए शंकरे ?’
शहरको सिनेमा हलछेउको चियापसलभित्रबाट धुर्वेले बोलाएको सुनेपछि आफू शहर पुगिसकेको हेक्का भयो मलार्इ ।
साँझ भात खाएर धुर्वे, मदने र म तीनै जना सँगै अर्थशास्त्र र राजनीतिशास्त्रका किताब पल्टाएर बस्यौँ । धुर्वेले कार्ल मार्क्सको द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तको समाज र राष्ट्रमा देखिएको व्यावहारिक रूप छलफल गरौँ भन्यो । मैले गर्मी बिदामा गाउँ जानअघि नै उनीहरूलाई छर्लङ्ग हुने गरी बुझाइदिएको थिएँ द्वन्द्वात्मक भौतिकवादको सैद्धान्तिक पक्ष । आज आएर म आफैँ अलमलमा पर्दै थिएँ । एकतिर करवीरे र धनवीरेको जादुई प्रतिद्वन्द्विता, अर्कोतिर चंखे र चतुरेको मल्लयुद्ध, दुवै आएर यो द्वन्द्ववादमा फ्युजन भइरहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।