
ढाकामोहन बराल
काबुल विमानस्थलको प्रवेशद्वारमा आज फेरि अब्दुल्लाह काकासँग भेट भयो । उनका आँखा ओभाइसकेका थिएनन् । भित्र कान्छो छोरो अब्बासलाई अमेरिकी जहाजमा चढाएर फर्कँदै रहेछन् । मलाई अँगालामा बेरेर बेसरी डाँको छोडेर रोई काराउनाको आँसुले भिजेको मेरो कपडा काठमाडौँ पुग्दासमेत ओभाउन सक्दैन जस्तो लाग्यो । मुटुबाट निस्कने मायाँलाई वेशभूषा, भाषा, धर्म र संस्कृतिले रोक्न नसक्दो रहेछ । मायाँ बग्न रगतको नाता नै पनि चाहिने होइन रहेछ । यो बिरानो देशमा पनि अब्दुल्लाह काकाको आँखामा आफ्नै घरमा आमाको र बुबाको मायाँ देखेँ । उनी रुँदै भन्दै थिए, “हेर नौ ओटा सन्तान भएर पनि आफूसँग भएको कान्छो छोरालाई अमेरिकी जहाजभित्र हुलेर आएको छु । तिम्रो त आफ्नै सुन्दर र शान्त मुलुक छ जाऊ आफ्नै देशमा चारैतिर डर र त्रासले भरिएको यहाँ नबस । तिम्रो सम्झना आँखामा लिएर बस्छु म ।” मेरो पनि मन थामिन सकेन बिछोडको वेदनाले मेरो पनि आँखा भरिएर आयो परेलीको डिलले रोक्न सकेन । उता काठमाडौँमा मेरा बुबा र आमादिनको भोक न रातको निद्रा भएर मेरो प्रतीक्षा गरिराखेका छन् । म एक अन्ताराष्ट्रिय गैरसरकारी संस्थामा सुरक्षा गार्डको रूपमा काम गर्न आएको पनि चार वर्ष पुगिसक्यो । म बस्ने ठाउँ र काम गर्ने स्थान करिब तीन सय मिटरको दूरीमा थियो ।
यहीबिचमा अब्दुल्लाह काकाको घर पर्दथ्यो । म सधैँ आउने जाने गर्ने क्रममा उनीसँग देखादेख हुन्थ्यो । एक दिन उनले बोलाए तर भाषाको कारणले मैले वास्ता गरिनँ तर मेरो साथी जो मभन्दा छ महिना पहिले आएको थियो उसले भनेअनुसार मलाई काकाले छोरा भनेर सम्बोधन गर्दै रहेछन् । बिरानो देशमा कुनै सम्बोधन मात्रले पनि स्वयं आफ्नाको झझल्को दिने रहेछ मलाई पनि छोरा भनेर गरिएको सम्बोधनले घरका हुनुभएका बुबाको याद आयो र मेरो पाइलाको गति सुस्त हुन थाल्यो उनी पनि मुसुक्क हाँसे ।
काबुलमा नयाँ वर्षको चहलपहल चलिरहेको थियो सधैँ जस्तै म कामबाट कोठातर्फ फर्कँदै थिएँ उनी घरबाहिर मलाई नै पर्खेर बसेको रहेछन् मलाई देख्नासाथ मेरो हातमा खानेकुराले भरिएको टिफिन बक्स थमाइहाले । मैले प्रश्नवाचक चिह्नले उसलाई हेरेँ उनले पनि बुझेछन् उनले भने “यो शाकाहारी हो ।” पछि बुझ्दा यो उनीहरूले नयाँ वर्षमा खाने हाफ्ता मेवा भन्ने परिकार रहेछ । घरबाट टाढा मैले आफन्त भेटेको थिएँ समय बिस्तारै बितिरहेको थियो । मस्तावा, बोरानी काडु, चोपान कवाफ अथवा कावुली पुलाउजेजस्तो भए पनि उनको घरमा मिठो मसिनो जे भए पनि मलाई दिइरहन्थे । कुराको प्रसङ्गमा उनले एकपटक भनेका थिए, “जबसम्म यो छोरा काबुलमा रहन्छ तबसम्म म पनि भेडाको मासुबाहेक अन्य मासु खान्न ।” त्यसपछि म उनले दिएको सबै निर्धक्क खान थालेँ । काम गर्ने संस्थाको निर्देशनविपरीत म उनको घरका पनि जान थालेँ । उनको घरमा उनको कान्छो छोरा अब्बास रउनीमात्र बस्दा रहेछन् । उसले अमेरिकी सेनाको कार्यालयमा दोभासेको काम गर्दो रहेछ त्यसकारण मलाई कुराकानी गर्न सजिलो भयो ।
तीन ओटा श्रीमती विवाह गरेका अब्दुल्लाह काका छ जना छोरा र तीन ओटा छोरी भएका रहेछन् तर हाल उनीसँग यही यौटा छोरो मात्र थियो । सामान्यतया गृह युद्धको समयमा तुलनात्मक रूपमा राजधानी सहर नै सुरक्षित हुने हुनाले उनी पनि नाजिबुल्लाहको शासनकालको बेलामा एउटा उँटसहित सात दिन लगाएर सबै परिवारको साथ बामियानबाट काबुल आइपुगेका थिए तर अल्लाहको मर्जी भएपछि कसको के लाग्छ आएको तीन महिना पनि नहुँदै मुजाहिद्धिनले हानेको रकेट उसकै घरमा खस्यो जसले उनका दुई भाइ छोरा र एक श्रीमतीलाई अल्लाहको प्यारो बनायो । असुरक्षित महसुस भएपछि उनीहरू पनि सोभियत सेना रहेको ठाउँतर्फ बस्न थाले जेठो छोराले रसियाली र युक्रेनी भाषा सिक्न थाल्यो सोभियत सेना फर्कँदा ऊ पनि उनीहरूसँगै रुस गयो त्यसपछि युक्रेनतिर गएछ फर्केर आएन । मेरो अनुहार ऊसँग मिलेको कारण मलाई काकाले छोरा भनेर बोलाउँदा रहेछन् मलाई रवीन्द्रनाथ टैगोरको ‘काबुलिवाला’ भन्ने कथाको याद दिलायो । बाँकी रहेका परिवारलाई मुजाहिद्धिनहरूको सङ्घर्ष चर्केको बेलामा आफू अरू चाँजोपाजो मिलाएर आउने भन्दै पाकिस्तानमा शरणर्थीका रूपमा पठाए । उनीहरू हाल पाकिस्तानको पेशावरमा रहेछन् । मुजाहिद्धिनको नेता गुलबुद्धिन हिक्मतीयार सत्तामा आएपछि न उनीहरूलाई फर्काउन सके न आफू नै जान सके काखको दुधे बालक नै उनको सहारा बन्यो । आज यो छोरालाई पनि अमेरिकी सेनालाई दोभासेको रूपमा सहयोग गरेको भन्दै आक्रमण हुन्छ किभनेर सिट पनि झिकिएको जहाजमा भेडालाई खोरमाहुले जस्तै हुलेर आफूबाट टाढा धेरै नै टाढा पठाउन पाएकोमा सन्तोष मान्दै छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 









