ढाकामोहन बराल

 

हिमवतखण्डमा लामो लडाइँ भयो । मानिसहरूको थाल बस्यो, कपडा च्यातिए, छाना चुहिए । बसेको थाल दौड्न्छ भनियो र लडाइयो ।  च्यातिएको कपडा सिलाउन सिकाउने भन्दै भिडाइयो । चुहिएको धुरी छाउन भन्दै दौडाइयो । प्रजा र राणा लडे, पञ्च र जनता लडे,  राजा र रैती लडे,  शहरका र जङ्गलका लडे,  सुकिला र फोहरी लडे, काँग्रेस र कम्युनिष्ट लडे । तल्लो भेग र माथिल्लो भेग लडे । पूर्वका र पश्चिमका लडे । सिमानाका र केन्द्रका लडे अनि लडे चुच्चे थ्याप्चे पनि । लाग्द्थ्यो, यहाँको इतिहास भनेकै लडाइ मात्र हो ।

बसेको थाल दौडिएन, च्यात्तिएको भोटो फेरिएन,  चुहिएको छाना  टालिएन । कसरी हो थाह भएन केही समयलाई युद्ध बिराम भयो । कसले लडाइँमा नियम मिच्यो भन्ने बिबाद आयो । सोध्ने कसलाई ? सबै जनाको सल्लाह भए बमोजिम हिमालय पर्वतसँग सोध्न जाने निर्णय भयो, जो यस खण्डमा प्रत्येक  लाडाइँको साक्षी भइरहेका थिए ।

सबैको अनुरोधपछि हिमालय पर्वतले भने “मैले अरू केही देखिनँ केवल एउटा मगध मात्र देखेँ जुन चारैतिर दौडन्थ्यो, सबैकोमा पस्दथ्यो र बोराका बोरा हिरामोती, मणि र धन सम्पत्ति भर्थ्यो र हल्का व्यङ्ग्य  मुस्कान फाल्दै  आफैँसँग  लैजान्थ्यो ।”

हिमालय पर्वतको कुरा सुनेपछि उनीहरू एक आपसमा लडाइँ नलड्ने निर्णय गरे । अब बिस्तारै बसेको थाल दौडन थाल्यो , च्यात्तिएको भोटो फेरिन थाल्यो र चुहिएको छाना बदलिन थाले । मानिसहरू दङ्ग पर्न थाले तर उता मगध भने अझै पनि कसरी पस्न सकिन्छ भनेर दाऊ हेर्दैछ ।

“उठ्ने होइन आज के भयो हजुरलाई ? घाम त थाप्लोमथि आइसक्यो ” श्रीमतीको आवाजले झल्याँस्स भएँ । निर्णय त सपनाको पो रहेछ ।