खोलाको बगरमा बालुवाका थुप्राहरू उठाइएका थिए । थुप्राहरूमा फरक फरक मानिसहरूको स्वामित्व रहेको थियो । चिसो पानीभित्र पसेर गुणस्तर युक्त बालुवा झिक्ने प्रतिस्पर्धा चलेको थियो । महिला, पुरुष र बालबालिकाहरूले आफ्नो बलले सके सम्मको भारी बोकिरहेका थिए ।

बगरबाट करिब एक किलोमिटर पर यौटा विद्यालय थियो । सरकारले हालैको शिक्षा आयोगको परीक्षाबाट छनौट गरेर मलाई सोही विद्यालयमा पठाएको थियो । मेरो विद्यालयको चौरमा भन्दा खोलाको बगरमा केटाकेटी धेरै थिए ।

“म ज्ञान दिन खटिएको मान्छे । म कसरी टुलुटुलु हेर्न सक्छु र ? जानु पर्यो एकपटक बगरतर्फ ।” भन्ने सोच्दै म खोलाको छेउमा पुगेँ ।

म बगरमा पुग्दा नपुग्दै एउटा सानो बालकले सोध्यो, “सर प्लास्टर कि जोडाई ?”

मैले बुझ्न सकिन । सोचेँ, मैले नबुझेका थुप्रै प्रश्नहरू रहेछन् यहाँ ।

म अकमकाएको देखेर एक जना ठूलो मान्छेले बुझाए, “सर हजुरले कस्तो बालुवा खोज्नु भएको हो ? प्लास्टरको लागि मसिनु कि जोडाइको लागि खस्रो ?”

बल्ल अघिको प्रश्न बुझेँ ।

“म बालुवा लिन आएको हैन । हेर्नुहोस् विद्यालय टाढा पनि छैन । अबको समय शिक्षा र चेतनाको हो  । आफ्ना छोराछोरीलाई विद्यालय पठाउनुहोस् ।” मैले भनेँ ।

अघि मलाई आउँदा आउँदै बालुवाको बारेमा सोध्ने बालकले सोध्ये “हामी विद्यालय गयो भने दिनको कति पाउँछ ?”