जीवन दाहाल

“बाबा, तपाइँ कहिले फर्किने ?”-नेपालबाट तीन वर्षपछि मुनाले स्काइपमा सोधी मदनलाई ।
“चाहिएको जति खर्च पठाएकै छु, लाउन खान खाँचो छैन अनि किन यति चाँडै फर्कनु पर्‍यो र !” मदनले नबुझैं गर्‍यो।
“तपाईंले घर छोड्नु भएको कति भयो ? थाहा छ तपाईंलाई ?”- मुनाले समय सम्झाउन खोजी ।
“थाहा छ ५ वर्ष भो, अझै ८-१० वर्ष बसेर मात्र फर्कन्छु । कमसे कम ऋण तिरेर घर बनाउने पैसा त जम्मा होस् न,” मदनले योजना सुनायो ।
“बीचमा यसो महिना दुई महिना बस्ने गरी आएर फर्कन मिल्दैन र !” मुनाले आशा छोडिन ।
“अँ, ५०° को बालुवा बल्ने गर्मीमा ज्यान माया मारेर धन जोडेको प्लेन चढेर उडाउनलाइ हो नि !” मदनले बाउँठिएको उत्तर फर्कायो र थप्यो, “किन बीच-बीचमा फर्किरहनु ? पैसाको काल ।”
“बेला बेलामा तपाइँको साह्रै न्यास्रो लाग्ने भएकाले नि !” मुनाले कारण खोली ।
“त्यही भएर त स्काइप, भाइबर जोडी दिएको नि, अनि किन न्यास्रिनु ? घर हेर न घर,” मदनको भनाइ थियो।
“घर ! तर कुन ?” जहाँ न लोग्ने छ, न लोग्नेका ज्यानको न्यानो,” मुनाका मनमा प्रश्न उब्जियो ।
गौरादह-१२, झापा