१. पहिलो कथा

(नेपाल-भारत लघुकथा सम्मेलनमा वाचित)

 

दृष्टिकोण

हरिप्रसाद भण्डारी

गोधुली साँझ चारैतिर रमाइलो थियो । टोलका बालबालिकाहरू खुला चौरमा जम्मा भएर खेलिरहेका थिए । चराचुरिङ्गीहरू बास बस्ने तर्खर गर्दै थिए । साँझमा प्रहरी भ्यान आयो, घनश्यामको घरअगाडि रोकियो अनि घरमा बसिरहेका घनश्यामलाई गाडीमा राखेर लग्यो ।

यो सबै देखेका छिमेकीहरूले प्रतिक्रिया व्यक्त गरे –

– नेता हूँ भन्थ्यो, कुनै नचाहिने काम गर्यो कि !

– तस्करी गर्छ भन्थे, कुनै केसमा पर्यो कि !

– हैन सरकारी र सार्वजनिक सम्पत्ति लँड्याएको छ भन्थे, अख्तियारले पो समात्यो कि !

– यसको शान देख्दा निको चाल छैन भन्ने त मलाई लागेको थियो ।

छिमेकीहरूले मनमनै घृणा व्यक्त गरे ।

साँझ सञ्चार माध्यामहरूबाट मन्त्रिमण्डल पुनर्गठन भएको र घनश्याम मन्त्री भएको खबर प्रशारण भयो ।

त्यसपछि बधाई दिन तिनै छिमेकीहरू घनश्यामको घरमा लाम लागे ।

####
(लघुकथा समाज, नेपालले प्रथम द्विभाषिक लघुकथा गोष्ठी, नेपाल-भारत लघुकथा सम्मेलन २०७७ मंसिर १३ गते सम्पन्न गर्यो । यस गोष्ठीमा नेपालका १० जना लघुकथाकारहरूमध्ये हरिप्रसाद भण्डारीले पनि लघुकथा वाचन गर्नु भएको थियो ।

लघुकथाकार हरिप्रसाद भण्डारीका ३ लघुकथा संग्रहहरू चिराग, अविरल यात्रा र कालासर्पको खोजी प्रकाशित छन् ।

प्रस्तुत दृष्टिकोण लघुकथाले हाम्रो हाम्रो राजनीति र समाजको द्वैध चरित्रको सही चित्रण गरेको छ ।)

२. स्वर्णकालीन लघुकथा

 

तथास्तु

अशेष मल्ल

रातको बाह्र बजेको थियो । कोठामा म थिएँ, स्वास्नी थिई बिरामी र सोचिरहेको थिएँ- अप्रेसनका लागि जुटाउनुपर्ने पाँच लाख रूपियाँ कहाँबाट ल्याउने ?

एकाएक प्रकट भए भगवान् कोठामा । झस्किएँ । के भयो ? के यो सत्य त हो ! चिमोटेँ आफैँलाई । रहेनछ यो कुनै सपना वा भ्रान्ति ।

मुस्कुराउँदै भने भगवानले, “ए मनुवा ! के माग्छस् माग् ।”

यो अप्रत्याशित क्षण । म के मागूँ ?

“छिटो माग्,” भने भगवानले ।

हडबडिएँ सायद । के माग्ने ? बिल्डिङ्ग, गाडी, पैसा ? सोचेँ माग्छु – चाहिएको छ अप्रेसनका लागि, सुखी जीवनका लागि । तर कति माग्ने ? दस लाख, पचास लाख, एक करोड, दस करोड ?

“छिटो माग्, समय सकिन लाग्यो,” भगवानले घडी हेर्दै भने ।

एकै सासमा भनें, “दस करोड रूपैयाँ दिनुस् प्रभू ।”

“तथास्तु” भगवान् बिलाए । एकाएक थुप्रिए करोडका नोटहरू । खुसीले उफ्रिएँ र उठान खोजेँ स्वास्नीलाई । के छोएको थिएँ स्वास्नीलाई, चिसो भइसकेकी थिई । नाडी छामेँ । थिएन नाडी ।

थियो स्वास्नीको लास एकातिर । अर्कोतिर नोटका बिटाहरू थिए, अनि थिएँ म बीचमा अवाक् ।

चिच्च्याएँ, – ” प्रभु ! मलाई स्वास्नीको जीवन दिनोस् ।” तर थिएनन् भगवान् त्यहाँ । थियो शून्यता । केवल शून्यत । थिए नोटका बिटाहरू ।

####
(नेपाली लघुकथाको स्वर्णकालीन दशक ०३० लाई मानिन्छ । यही समयदेखि लघुकथाकार अशेष मल्ल लघुकथामा प्रवेश गर्नु भएको हो । उहाँ कथा, कविता र नाटक लेखनमा पनि सक्रिय हुनुहुन्छ । अशेष मल्ल सर्वनामको माध्यमबाट सडक नाटकको प्रणेता पनि बन्नु भएको छ ।

किशोर पहाडीसँगको सहकार्यमा उहाँले सौरभ -०४६ र अभिभावक -०५० लघुकथा विशेषाङ्क प्रकाशनमा ल्याउनुभएको थियो ।

प्रस्तुत “तथास्तु” लघुकथामा कथाकारले स्वैरकल्पनाको आधारमा सम्बन्धको अगाडि पैसा केही हैन भन्ने कुरो बढो कुसलता पूर्वक दर्साउनु भएको छ ।)

 

३. मलाई मन परेको लघुकथा

 

छिमेक

जीवन दाहाल

नयाँ छिमेकी थपियो ।

पुरानाहरुले आगन्तुकको स्वागत गर्दै भने, “यहाँ उदण्डता वर्जित छ, हेक्का राख्नु होला र हाम्रो ठाउँ यही एकबुँदे संविधानले चलेको छ ।”

नव प्रवेशीले सबैभन्दा पहिले चुलोमा फोहर (दिसा) गर्‍यो र छिमेकीको परिक्षण गर्‍यो–

छिमेकी केही बोलेनन् ।

चुलाबाट झरेर मझेरी फोहर गर्यो छिमेकमा दुर्गन्ध पुग्ने गरी–

छिमेकीले चेतावनी दिए, “आफ्ना घरमा जे सुकै गर तर छिमेकमा दुर्गन्ध आउनु हुँदैन, विचार गरे ।”

नव प्रवेशीले हुँकार गर्‍यो, “खबरदार ! अर्काका निजी मामलामा हस्तक्षेप गर्ने हैन नत्र ….।”

अनि उसले पिंढीमा निस्किएर फोहर गर्‍यो–

छिमेकीले नाक थुने केही बोलेनन् ।

हौसिएर उसले आँगन फोहर गर्‍यो–
छिमेकीले आ–आफ्ना झ्यालढोका थुने ।

अनि उसले सिमानामा फोहर गर्‍यो र छिमेक पुरै दुर्गन्धित बनायो ।

यसपछि छिमेकीले के गरे होलान् तपाईं आफैँ अनुमान लगाउन सक्नु हुनुहुन्छ ।

####
(नेपाली लघुकथामा सक्रिय कथाकारको रुपमा लघुकथाकार जीवन दाहाललाई पनि लिनुपर्छ । उहाँ झापा, गौरादहमा बसी लघुकथा प्रेषित गरिरहनु हुन्छ ।

“छिमेकी” लघुकथामा लघुकथाकार दाहालले छिमेकमा हुने एक प्रवृत्तिलाई बढो यथार्थपरक पाराबाट लेख्नु भएको छ । यस कथाले नजानिदो पारामा देश देश बीचको सम्बन्धलाई पनि दर्शाएको छ । कथाको वीजवाक्य खुल्ला समापनमा छोडिएकोले पाठकहरूले आआफ्नै तर्कहरू पनि जोड्न र घटाउन सक्छन् ।)