हेर्दाहेर्दै सोमप्रसादले शहरको मुटुमा घडेरी किन्यो, आधुनिक बङ्गला ठड्यायो । उसको भेष, भूषा अस्वाभाविक तडकभडक देखेर म छक्क परेको थिएँ । उसको बूढीको शान, शोख त झन् बेग्लै देखिन्थ्यो ।

केही  वर्षअगाडि सम्म हामी एउटै घरको डेरामा बस्थ्यौं । जागीरमा खासै  भिन्नता थिएन, न त तलबमै फरक । कान्छीको भट्टीमा लोकल पिएर पनि  सन्तुष्टि लिने दिनहरू थिए । तर, ऊ पत्तै नपाई कसरी माथि उक्ल्यो, उक्लेको उक्ल्यै गर्‍यो । कहिले भन्सार, कहिले मालपोत… रसदार ठाउँहरू छिचोल्दै  बढुवा हुँदै सम्पन्नताको शिखरमै पुग्यो ।

‘म चाहिँ ?’ जहाँको त्यही । न बढुवा, न सरुवा । महीनाको तलब आउँछ, महीनामै सकिन्छ । जीवन न त सजिलो छ, न सुरक्षित । अभाव नै अभावमा घिस्रिरहेको छ जिन्दगी ।

कहिलेकाहीँ उसको त्यो सानदार जीवन देखेर मेरो मनभित्र  हल्का ईर्ष्या उठ्छ, अनि सोच्दछु- “मसँग पनि उसको जस्तै योग्यता थियो, तर ऊ भने कहाँ पुगिसकेको छ  म चाहिँ… यही भाडाको कोठाभित्र बाट बाहिर निस्किन सकेको छैन ।”

एक दिन उसले मलाई शहरकै शानदार रेस्टुरेन्टमा डिनरको अफर गर्‍यो ।

विदेशी ह्विस्कीले मेरो गला तातिरहेको बेला, मैले अवसर चुकाइनँ उसको  कान नजिकै गएर फुसफुसाएँ, “मित्र, यो चमत्कारी परिवर्तनको रहस्य त भन न ! सुटुक्कै भए पनि, म पनि केही सिकूँ !”

ऊ मुस्कुरायो, अघिल्तिर झुकेको मेरो कानमा झुक्दै, फुसफुसायो— “प्रिय मित्र,  मेरा तीन अभिन्न मित्रहरूको साथले म यो स्थानमा पुगेको हुँ ।”

मैले चकित हुँदै सोधेँ, “ती अभिन्न मित्रहरू को को हुन् ?”

उसले गर्वसाथ भन्दै थियो, “चाकरी, चाप्लुसी र भ्रष्टाचार ।”