इजलास सामु कठघरामा उभ्याइयो उनलाई ।
“खास कुरा के हो ? स्पष्ट बताऊ ।” श्रीमानले आदेश गरे ।
“पढ्ने तीव्र इच्छा थियो । घरको आर्थिक अवस्थाले साथ दिएन । रोजगारी गर्दै स्नातक पढ्ने सपना बोकेर काठमाडौं हानिएँ । तर काठमाडौं सोचे जस्तो रहेनछ श्रीमान् ।” उनले जवाफ दिइन् ।
लामो सास तान्दै पुनः थपिन्, “पढाइकै क्रममा मेरो जस्तै विपन्नता, पीडा र भावना मिल्ने ऊ भेटियो । दुवै सँगै बसे खर्च बचत हुने र पढाइ पूरा गर्न सकिने विचारले सँगै बस्न थाल्यौं । हामी सँगै बस्नु समाजको लागि आँखा बिझाउने काँडा बन्यो । एक कान, दुई कान हुँदै कुरो मेरो गाउँसम्म पुगेछ ।” उनी एकोहोरिँदै आँखा चिम्लिइन् ।
“अनि के भो ?” श्रीमानको प्रश्नले झसङ्ग गरायो ।
“सहजताको लागि हामीले मन्दिरमा विवाह गर्यौँ । आफन्तहरू काठमाडौं आएर हाम्रो जात नमिल्ने भन्दै छुटाउन खोजे । उसलाई कुटपिट गर्दै ज्यानकै धम्की दिन थाले । उसले अपहरण गरी बलात्कार गरेको कुरा सरासर गलत हो । यो हामी दुवैको राजीखुशीले भएको हो श्रीमान् ।”
“जेसुकै भए पनि बीस वर्ष नपुग्दै विवाह गर्नु अपराध हो । यस्तो विवाह बदर हुन्छ भन्ने थाहा छैन ?” अलि कडा स्वर पार्दै बोले श्रीमान् ।
“कानूनले १८ वर्ष पुगेपछि वयस्क मानेको छ । त्यो उमेरपछि विवेक प्रयोग गर्न सक्छ भनेर राष्ट्रको भविष्य निर्धारण गर्ने जनप्रतिनिधि छान्ने मतदानको अधिकार दिएको छ । अनि आफ्नै भविष्यको निर्णय गर्न वञ्चित गर्ने यो कस्तो इन्साफ हो श्रीमान् ?” बोल्दा बोल्दै उनी पनि आवेशमा आएर प्रतिप्रश्न गरिन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 









