
इन्द्रकुमार श्रेष्ठ सरित्
कोरोनाको महामारी छ । लकडाउनले गर्दा कतै हिँडडुल गर्न पाइएको छैन । दैनिक ज्याला मजदूरी गरेर खानेको बेहाल छ । माइलीले लोग्ने र बालखा छोरीलाई हेरी, उसको श्वास घाँटीमा अड्किएझैं भयो । रोगी लोग्ने र बालखा छोरीलाई यो अप्ठ्यारोको बेलामा के खुवाउने होला ? नशा खुम्चिने रोगले थलिएको लोग्ने बलबहादुरले केही भनेझैं लागेर माइली लोग्ने नजिक गई तर लोग्ने निद्रामै छटपटाएको रहेछ ।
जसोतसो बनिबुतो गरेर तीनजनाको परिवार पाल्दै आएकी माइली लकडाउनको बेलामा राहत पाइन्छ कि भनेर धेरै ठाउँमा धाइन् तर कतै नागरिकता खोजिने त कतै सिफारिस चाहिने भएकोले रित्तै हात फर्किन् । टोलमै दयालुहरुले विपन्नहरुलाई खाना खुवाउने कार्यक्रमबाट खाना ल्याउँदै खाँदै तीन दिन त बित्यो । त्यसपछि के गर्ने ? लुगा धोएर र भाँडा माझेर भए पनि केही जोगाड गर्ने माइलीले भरमग्दूर प्रयत्न नगरेकी होइन तर मान्छेसँग मान्छे डराउनुपर्ने बेलामा कसैले काम लाउनै चाहेनन् । पानी मात्र खाएर कति दिन बाँच्न सकिन्छ र ?
सँगैको कोठामा बस्ने चिन्नाश्वामी मास्टरले पनि माइली र उसको परिवारलाई निकै मद्दत गरिरहेको थियो । भारतबाट नेपाल आएर निजी कलेजमा पढाउने चिन्नाश्वामी एक्लै बस्थ्यो । माइलीले उसको लुगा धोइदिए बापत र खाना बनाई दिएबापत चिन्नाश्वामीले राम्रै पैसा दिन्थ्यो । तर चार महिनादेखिको लकडाउनले तलब नपाएर ऊ पनि चिन्तित थियो । तैपनि एकपटक उसैसँग आफ्नो दुखेसो पोखिन् माइलीले । अन्नाश्वामीको कुरा सुनेर माइली चुपचाप त्यहाँबाट फर्किन् । त्यसपछि माइलीले घरबेटीलाई गुहारिन् । घरबेटीले पनि अन्नाश्वामीकै कुरा दोहोर्यायो । माइलीलाई फड्को होलाझैं भयो । उफ ! म कता जाउँ ? कोसँग सहयोग मागुँ ? माइलीले आफूलाई साइटमा काम दिने ठेकेदारलाई गुहार्न पुगिन् । ठेकेदारले यो अप्ठ्यारो बेलामा आफूसँग सुकामोहर नभएको कुरा बतायो ।
आँखामा आँसु र मनमा पीडा बोकेर माइली डेरामा फर्किन् । लोग्ने र बालखा छोरीले केही खान नपाएको मलिन अनुहार सम्झेर उनलाई भक्कानो छुटेर आयो । आँखाको आँसु मजेत्रोले पुछेर माइलीले मन दह्रो गरी र अन्नाश्वामीको ढोका सुस्तरी ढक्ढकाइन् ….?।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










