तीन पुस्ता अघि । ऐचोपैँचो चल्थ्यो, बाँसको कलमले लेखिन्थ्यो । नुन, तेल ठोरीबाट ल्याइन्थ्यो । अस्पताल थिएन । तन्त्रमन्त्र, टुनामुनाले उपचार हुन्थ्यो । मेरो हजुरबुबा गाउँका मुखिया । उहाँलाई न्यायाधीश भने पनि हुन्थ्यो ।
प्रजातन्त्रको उदयपछि निजी स्कुल, अस्पताल खुल्न थाले । गाउँगाउँमा मोटरबाटो पुगे । कुटानीपिसानी गाउँमै हुन थाले । घरबाटै विदेशमा समेत कुरा हुन थाल्यो । मेरो हजुरबुबा दिनप्रतिदिन गल्दै हुनुहुन्थ्यो ।
गणतन्त्रपछि हातहातमा मोबाइल देखिए । खेताला पाइन छोडे । गाउँघर शून्यजस्तै थियो । अनायास हजुरबुबाले जेठो नातिलाई चिठी लेख्नुभयो र खाममा टिकट टाँसेर मलाई दिँदै भन्नुभयो, ‘बाबु । यो अम्रिका बस्ने दाजुलाई अहिल्यै बजार झरेर पठाइदे ।’
मैले तुरुन्तै खोलेर टाइप गरें र पठाइदिहालें पनि । हजुरबुबाले चिठी खोलिएको देखेर चर्को स्वरले भन्नुभयो, ‘यो चिठी बजार गएर किन नखसालेको ?’
मैले ल्यापटप देखाउँदै भने, ‘यी हेर्नुस् त ! दाजुको जवाफ पनि आइसक्यो ।’
उहाँले नेपाली फन्टमा लेखिएको पत्र पढ्नु भयो र ल्यापटपको दायाँबायाँ एकटकले हेरिरहनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 







