चोकमा भीमकाय गाई बाँधिएको थियो ।

एक हुल मानिस नारा लगाइरहेका थिए, “गाई हाम्री आमा हुन् । गौहत्या गर्न पाइँदैन, पाइँदैन ।”

अर्कोतिर अर्कै हुलले आवाज उठाइरहेको थियो, “कसैको धर्म लाद्न पाइँदैन, पाइँदैन । गाईको मासु खान पाउनुपर्छ, पाउनुपर्छ ।”

अर्कोथरी कराउँदै थियो, “निरपेक्ष देशमा गौहत्या गरेकै कारण पुलिसले चाहिँ किन पक्रनु ? फेरि खानेले पनि चाहिँ किन गाई नै खान खोज्नु ? यस्तो अराजकता चल्दैन, चल्दैन ।”

गाई खान खोज्ने र बचाउन खोज्नेहरूबिच धेरै दिनसम्म झडप चलिरह्यो । तर कसैले बिचरा गाईलाई ध्यानसम्म दिएनन् । गाई भोकले फनफनी घुम्दै बाँ बाँ कराइरह्यो । गाईको हालत निकै नाजुक भइसकेको थियो ।

अन्तमा, एक मुठा कलकलाउँदो हरियो घाँस बोकेर एउटा रक्स्याहा कतैबाट हल्लिँदै हल्लिँदै दृश्यमा देखा पर्यो । गाईलाई उक्त घाँस खान दियो र सबैतिर फर्किएर ठुलो स्वरमा चिच्यायो, “तिमीहरूको धर्म र आस्था, तिमीहरूको राष्ट्रिय प्रतीक, तिमीहरूको आहार-संस्कार  हुनुभन्दा पहिले गाई एउटा प्राणी हो । जनावर हो । गाईले बाँच्नलाई घाँस खानुपर्छ । एक मुठा घाँस दिन नसक्ने नाथेहरूको यत्रो हल्लीखल्ली ??”

झगडालुहरू जिल्ल परेर हेरिरहे ।