साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई हाल कोरियामा रहनुभएको कवि तथा कथाकार सुरेश राईकृत नवीनतम पुस्तक सम्झनाको फोटोकपी” प्राप्त भएकाे छ ।

हाल कोरियामा रहनुभएको कवि तथा कथाकार सुरेश राईकृत नवीनतम पुस्तक हो – “सम्झनाको फोटोकपी” ।

१ सय १२ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘ट्रेन्डिङ’, ‘दूरी’, ‘टग अफ वार’, ‘जना’, ‘लामो दूरीको सम्बन्ध’, ‘वनझाँक्री’, ‘मृत्युवादी कवि’, ‘हुकुम’, ‘देश परदेश’, ‘शंका’, ‘ह्वेल माछाको कान’, ‘गाउँ आई फर्केको बाटो’ लगायत ५० थान कविता संग्रहित छन् । साथै यसमा बोनस कविता भन्ने परिच्छेदमा तीन वटा अंग्रेजी कविता समाविष्ट छन् ।

‘सम्झनाको फोटोकपी’ कवितासंग्रहमा कतै रातो गुलाफ झैँ माया प्रेम फुलेका छन् । कतै बिदेसिनु पर्ने वाद्यता छरपस्ट पोखिएका छन् । यसले पाठकको मन छुन्छ नै । यसै गरी कतै गाउँ त कतै शहर, संग्रहमा सम्पूर्ण काठमाडौं सजिएको छ । कवि कहिलेकाहीँ प्रकृतिमा आनन्द लिन्छन् भने कहिलेकाहीँ देशको विसंगतिप्रति दुःख साथै आक्रोश पोख्छन् । मीठो र फरक विम्बप्रयोगले पनि कवितासंग्रह पठनीय र संग्रहनीय छ ।

उहाँको ‘ह्वेल माछाको कान’ कविताले पुष्टि गर्छ उहाँ संस्कारित कवि हुनुहुन्छ । (कोक्पाको कथा : राई भाषामा – हजुरबुबाको कथा हो, जसमा जमिनभित्र एक विशाल ह्वेल माछा बस्छ, त्यसले कान हल्लाउँदा भुइँचालो जान्छ भनी सुनाइन्थ्यो ।)

ह्वेल माछाको कान

के यस्तो हुन नसक्ला कि

बेलाबेला कान हल्लाइदिएर ह्वेल माछाले

सुध्रनु भन्ने चेतावनी दिएको पो हो कि

मानवता हराएको यो सहरलाई

कुनै सन्देश पो दिँदैछ कि

हो, पक्कै केही यस्तै हुनुपर्छ

जरुर केही त सन्देश हुनै पर्छ ।

पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा सुरेश राई कवि हृदय लिएर उल्लेख गर्छन्, “…देशले परदेश पठायो । आफू परदेश हुँदा आमा बित्नु भो । कोरोनाको आतङ्क उत्कर्षमा पुगेको समय थियो । हवाई अड्डाहरू बन्द थिए । आमालाई अन्तिम पटक हेर्न समेत पाइएन । छि ! कति निरीह प्राणी मान्छे । मृतात्माको सम्झनामा ढुङ्गे किताब लेख्ने, बटुवाको निम्ति चौतारी बनाई छोड्ने हाम्रो संस्कार छ । जब घर फर्किएँ, उहाँको नाममा तिनै निर्जीव वस्तुहरू मात्रै भेटेँ । आमा भेटिनँ । हृदयभित्र भावनाहरू कोरिए–

‘आमा त एक थान शिलापत्र हुनु भो

एक चौतारी, एक सगर हुनु भो

आमा त कुलकी देवी हुनु भो

मेरो हृदय र मस्तिष्कमा

झन्झन् अमर अजर हुनुभो’

छिचिमिराझैँ कविताहरू सलबलाउन थाले । यिनै भावनाहरूको सँगालोका रूपमा यो संग्रह तपाईंको हातमा आइपुगेको छ ।”

पुस्तकलाई शब्दमिडिया प्रा.लि. साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । सम्झनाको फोटोकपीको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।