भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्य रूपमा मनाउँदै थियो सरकार ।

एउटा गोष्ठीमा भ्रष्टाचार विरुद्धको अभियानमाथि प्रकाश पार्दै मन्त्रीज्यूले भन्दै हुनुहुन्थ्यो, “भ्रष्टाचार समाजको कलङ्क हो । एउटा महारोग हो । आर्थिक अपराध हो । सामाजिक र राजनीतिक प्रणालीलाई नै ध्वस्त पार्छ म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न ।”

सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउने दृढ सङ्कल्पका साथ आफ्नो मन्तव्य समापन गरेर अगाडिको उच्च आसनमा आएर बस्नुभयो ।

त्यहाँ अगाडि टेबुलमा आजका दैनिक अखबारहरू लहरै राखिएका थिए । अखबारहरूमा ठुल्ठुला अक्षरमा आजसम्म भएको भ्रष्टाचारहरूको बारेमा खोज-अनुसन्धानमूलक लामो लेख छापिएको रहेछ ।

भ्रष्टाचार गरेर कुन कुन मन्त्री नेताहरूले के कति कसरी अकुत सम्पत्तिहरू कमाए भन्ने बारेमा एउटा लामो नाम लिस्ट र विवरणहरू रहेछ  ।

मन्त्रीज्यूको छड्के आँखा त्यो लामो लिस्टमा सरर दौडियो । बिस्तारै त्यो उज्यालो मुख मण्डल भय मिश्रित मलिन हुँदै गयो । बादल मडारिएझैँ अनुहार निलो–कालो हुँदै गएको प्रस्ट देखिन्थ्यो ।

मन्त्रीज्यू आसनबाट जुरुक्क उठेर हतार भएको सङ्केत गर्दै अर्को भ्रष्टाचारविरुद्धको गोष्ठीमा सहभागी हुन दौडिनु भो ।