“हेर्दा सुन्दर भएर के गर्नु  तँ गुलाब काँडैकाँडा भएको हिंसक होस् । टिप्न खोज्नेलाई नै रगत र पिडा दिने, त पापी होस्।”

सयपत्रीको यस्तो नराम्रो गाली सुनेर गुलाबले जवाफ दियो- “म त प्रेमको प्रतिक हुँ । सबैले मलाई प्रेम साटासाट गर्न प्रयोग गर्छन् । मसँग जोरी खोज्नेलाई मेरा काँडाहरुले घोच्लान् तर मलाई प्रेम गर्नेलाई म सधैँ प्रेम गर्छु । बरु त सयपत्रीको केही काम छैन । मानिसले दशैँतिहारमा तँलाई २/४ दिन प्रयोग गर्छन् अनि फालिदिन्छन ।”

“ए गुलाब र सयपत्रीहरु हो ? के चुरीफुरी गर्छौ ? तिमीहरु दुबै केही दिनमा नै ओइलाएर जानेछौ। म जस्तो हुनुपर्छ कहिल्यै नओइलाउने !” भन्दै मखमली कड्कियो ।

गुलाब, सयपत्री र मखमलीको कुरा सुनेर मुसुमुसु हाँस्दै सुनाखरीले आफ्नो विचार राख्यो । “तिमीहरु के फूर्ति लाउँछौ ? हामी एक हजारभन्दा बढी जातिका छौँ । हाम्रो रुपरङ्ग अनेकौँ छ । हामी संसारभरी फौलिएका छौँ । फूल त हामी सबै फूलै हौँ तर हामीसँग औषधीको पनि गुण छ । तिमीहरुसँग त्यस्तो के छ?”

यसरी चर्काचर्की भइरहेको बेला अचानक भयङ्कर रुपमा पानी, हावा, हुन्डरी, बतास र आधिबेरी आयो र सबै फूलहरुको अस्तित्व समाप्त गरिदियो।