
रूमी
इतिहासमा कयौँ सुफी सन्त र कवि जन्मिए । तीमध्ये केही कविका रचनालाई अझै पर्यन्त रूचाइन्छ ।
तीमध्ये एक हुन्, तपाइँहामीले सुनिरहेको नाम, रूमी । केही सन्तका कविता कतै हराए तर जलालुद्दिन रूमीका कविताहरू भने उनको मृत्युको ९०० वर्षपछि पनि उत्तिकै चाखका साथ पढिँदैछन् ।
१३ औँ शताब्दिका महान् फारसी कवि रहस्यवादी सुफी मानिन्छन् । उनले त्यस बेला कोरेका कविता यतिबेलाका प्रेमीहरूका लागि भने निकै रूचिकर कविता बन्न पुगेका छन् ।
पछिल्लो समयमा त अमेरिकामै पनि बढी पढिने कविका रूपमा उनको ख्याति बढ्न थालेको छ ।
सन् १२०७ मा फारसको बल्ख शहर (अचेल यो अफगानिस्तानमा पर्छ)मा जन्मिएका जलालुद्दिन रूमीका पिता शेख बहाउद्दिन उनको समयका एक महान् विद्वानका रूपमा परिचित थिए । फारसका धनीमानीहरू बहाउद्दिनको उपदेश सुन्न आउने गर्थे । उनको प्रभाव कतिसम्म थियो भने कतिपय गम्भीर मामिलामा उनको अन्तिम आदेश लिइन्थ्यो र फतवा जारी गरिन्थ्यो ।
एक मतका अनुसार, मंगोलहरूसँगको विवादका कारण उनको परिवारले बल्ख नगर छोड्नु पर्यो । पछि उनका पिताले टर्कीको कोन्यालाई आफ्नो स्थायी बसोबास बनाए ।
रूमीको बालापनको नाम मोहम्मद थियो । यही कारण उनको पूरा नाम उच्चारण गर्दा मौलाना जलालुद्दजिन मोहम्मद रूमी पनि भनिन्छ । रूमीले शुरूवाती शिक्षा आफ्ना पिताबाटै पाए ।
उनको पिताको निधनपछि बाँकी शिक्षा सैय्यद बुरहानुद्दिन मुहक्किक अल तर्मिदीबाट प्राप्त गरे । उनकै पिताका खास चेलामध्ये थिए यी सैय्यद । सैय्यदसँग बसेर रूमीले करिब नौ वर्ष गहन अध्ययन गरे । यसपछि उनी एलेप्पोस्थित उच्च शिक्षा लिने कलेजमा भर्ती भए । उनको उच्च शिक्षा पूरा भएपछि टर्कीको कोन्यामै फर्किए र उनका पिताले स्थापना गरेको मदरसा (स्कुल)मा शिक्षकका रूपमा भर्ती भए ।
यतिञ्जेलसम्म उनको ख्याति निकै बढिसकेको थियो र उनका पितालाई सुन्नझैँ उनका विचार सुन्नका लागि टाढाटाढाबाट मानिसहरू आउने गर्थे । उनका प्रत्येक वाक्य रूचाउनेहरूले उनका विचारहरू सङ्कलन गरी विभिन्न पुस्तकहरू बनाइसकेका थिए । उनका किताबहरूको चर्चा र प्रशंसा भए पनि उनलाई अझै जीवनमा खालीपन महसुस भइरहन्थ्यो ।
एक दिन रूमी मदरसामा किताबहरूबाट घेरिएर बसेका थिए । केही कुरा पढ्न मग्न भइरहेका थिए । ठीक सोही बेला अर्का सुफी सन्त शम्स तबरेजसँग भेट भयो । यो भेटपछि नै रूमीले वास्तविक आध्यात्मिक साथी फेला पारेको महसुस भयो ।
किताबले घेरिएका रूमीलाई तबरेजले सोधे, ‘यो के हो ?’
रूमीले भने, ‘तपाईंले थाहा नपाएका चिजहरूसँग संकलन हो ।’
यसपछि तबरेजले केही किताब उठाए र नजिकैको अँगेनामा किताब फ्याँकिदिए । यो देखेर रूमीको रिसको पारो तात्यो । उनले चिच्याउँदै भने, ‘यो तिमीले के गर्यौ ?’
तबरेजले मुस्कुराउँदै भने, ‘कुनै किताब आगोमा सेलाउनु भनेको त्यो काम हो, जुन तिमीलाई अहिलेसम्म थाहा छैन ।’
यसपछि तबरेज रूमीको मदरसाबाट निस्के । यस घटनाले रूमीको जीवनमा ठूलो हलचल मच्चियो । यसपछि उनले तबरेजलाई गुरू थापे । शम्सको प्रशिक्षणपछि उनी पूर्णरूपमा सुफीवादमा रमाउन थाले ।
यसअघि उनको जीवनशैली अर्कै थियो तर सुफीवादमा रमाउन थालेपछि अर्कै हुन थाल्यो । यसपछि उनको मदरसाका अन्य सहकर्मीहरू रूमीसँग रिसाउन थाले । उनीहरू रिसाउनुको अर्को कारण तबरेजसँग रूमीको हिमचिम पनि थियो । यी दुईको हिमचिम यति बढ्यो कि रूमीका शिष्यमध्ये एकले तबरेजको हत्या गरिदिए ।
यस घटनापछि रूमी एक्लैएक्लै रहनबस्न थाले । यो एकान्तिकताको फाइदाका रूपमा रूमीले कयौँ महाकाव्य लेखे । उनका दुई कृति ‘दिवान-ए-शम्स-तबरिजी’ र ‘मसनवी’ निकै लोकप्रिय भए । पहिलो महाकाव्य तबरेजलाई समर्पित गरिएको गजलहरूको संग्रह हो । यसमा लगभग ४ हजार छन्द छन् । मसनवी ६ खण्डमा छ । यसमा २५ सय छन्द छन् ।
यी दुई कृतिका कयौँ भाषामा अनुवाद भएका छन् ।
सन् १२७३ मा उनको मृत्यु हुँदा उनलाई अन्तिम बिदाई गर्न ठूलो भिड जम्मा भएको थियो । रोचक त के भने उनको बिदाई समारोहमा सबै धर्म सम्प्रदायका मानिसहरू भेला भएका थिए । उनका रचनामा ईश्वरका प्रति प्रेमभाव र भक्तिलाई मात्र जोड दिएका हुनाले अन्य धर्मावलम्बीहरूले पनि उनका रचनामा उनीहरूकै ईश्वर देख्ने गरेकाले रचनाकारप्रति सम्मान बढेको हुनसक्ने केही विज्ञ बताउँछन् ।
रूमीलाई उनकै पिताको चिहान छेउमा गाडिएको थियो ।
रूमीको एउटा प्रख्यात लघुकथाः
कसैले आफ्नी प्रियतमाको ढोका ढक्ढक्यायो ।
भित्रबाट आवाज आयो, ‘को हो हँ ?’
उसले भन्यो, ‘म हुँ, म ।’
ढोकाभित्रबाट आवाज आयो, ‘यो घरमा म र तिमी एकसाथ बस्न सक्दैनौँ ।’
कयौँ प्रयासपछि पनि ढोका खुलेन ।
यसपछि प्रेमी फर्कियो । ऊ कयौँ ठाउँमा अपहेलित भइरह्यो, विभिन्न ठाउँमा ठोक्कर खाइरह्यो । उसको हरेक पटक यही प्रार्थना हुन्थ्यो, कसैगरी त्यो ढोका खुलोस् र प्रेमिकाले भित्र छिर्न दिऊन् ।
वर्ष दिनपछि ऊ फर्कियो र उसले फेरि ढोका ढक्ढक्यायो ।
ढोकाभित्रबाट कसैले फेरि सोध्यो, ‘को हो ?’
प्रेमीले भन्यो, ‘तिमी हौ ।’
यसपछि ढोका खुल्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 




