साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

रूमीका कथाः शृङ्खला ५ : इँटाको पर्खाल

Chovar Blues Mobile Size
रूमी

रूमी अर्थात् मौलाना मोहम्मद जलालुद्दीनको जन्म ३० सेप्टेम्बर सन् १२०७ मा फारस सम्राज्य ( वर्तमानमा अफगानिस्तान) मा भएको थियो । न्यायवादी, इस्लामी विद्वान, धर्मविज्ञानी, सुफी सन्त र कविका रुपमा उनको परिचय स्थापित छ । उनले सुफी परम्परामा नर्तक साधुहरु (गिर्दानी दरवेसहरू) को परम्परालाई सम्वर्धन गरे । रूमी रात-दिन मानिसलाई उपदेश दिएर समय बिताउँथे । यसै क्रममा उनको भेट विख्यात सन्त “शम्स तबरेज”सँग भयो । रुमीलाई उनै तरबेजले अध्यात्म-विद्याको शिक्षा दिए । उनीसँगको भेटपछि रूमी आत्मचिन्तन र साधनामा समय बिताउन थाले । शम्स तबरेजसँगको संगतपछि रूमीले उपदेश दिने, घोषणा गर्ने र पढने-पढाउने काम बन्द गरे । रूमीका समर्थकले शम्स तबरेजले गर्दा रुमीको यो हालत भएको भनेर शम्सको हत्या गरिदिए । यस घटनाले रूमीको जीवनमा निकै गहिरो प्रभाव पार्‍यो । यसपछि उनी विरक्तिए र एकान्तबास रोज्न थाले ।

उनको लेखनमा ईश्वर र प्रेमको सुगन्ध हुन्छ । उनका रचनाले सात सय वर्ष कटाइसकेका भए पनि हिजोआज खोजीखोजी पढिन्छ । उनले कविता मात्र होइन, हाल नेपालमा लेखिने लघुकथा शैलीका धेरै कथा लेखेका छन् । उनका कथामा कुनै पनि आध्यात्मिक चेतनालाई सटिक कलाले लेपन गरिएको हुन्छ । उनका केही कथाहरूलाई नेपालीमा अनुवाद गरेर शृङ्खलाबद्ध रूपमा साहित्यपोस्टमा प्रकाशन गरिँदैछ ।

इँटाको पर्खाल

एउटा नदीको किनारमा अग्लो पर्खाल थियो । पर्खालमा एउटा तिर्खाएको मानिस बसेको थियो । पानी प्यास लागेर त्यो मानिसको प्राण निक्लन लागिसकेको थियो । पर्खालले पानी भएको ठाउँसम्म पुग्न बाधा पुर्‍याइरहेको थियो । त्यो मानिस व्याकुल हुँदै थियो । उसले पर्खालको एउटा इँटा निकालेर पानीमा फ्याँकिदियो । पानीबाट निक्लिएको छप्लङ्ग आवाजले उसलाई मोहित गर्‍यो । त्यो आवाज प्रेमिकाको जस्तो सुनियो । छप्लङ्ग आवाजले रक्सीको मात चढेझैँ भयो । त्यो प्यासी मानिसलाई पानीको आवाज यति धेरै मन पर्यो कि उसले एउटा-एउटा इँटा निकालेर पानीमा फ्याँक्न थाल्यो ।

sagarmani mobile size

नदीको पानी आजित भएर मानौँ यस्तो भनिरहेको थियो, `ए भद्र मान्छे ! ममाथि इँटा फ्याँकेर तिमीलाई के चाहिँ फाइदा हुन्छ हँ ?

प्यासीले पनि आफ्नो दशालाई यसरी प्रकट गरिरहेको थियो, `मलाई यसमा दुई वटा फाइदा भइरहेको छ । त्यसैले त म यसलाई निरन्तरता दिइरहेको छु । पहिलो फाइदा; पानीको आवाजबाट गुञ्जिएको संगीतले मधुरता प्रदान गर्दैछ । दोस्रो लाभ; जति इँटा यो निर्मल पानीमा फ्याँक्छु, त्यति नै पानीको निकट हुँदैछु । किनभने पर्खालको जति धेरै इँटा उक्याउँदै जान्छु, त्यति नै पर्खाल पनि तलतल आउँछ । पर्खाल तलतल आउनु भनेको पानीको निकट पुग्नु हो ।’

मूल कथा : रूमी
अनुवाद : जनक कार्की

लेखक परिचय
जनक कार्की
प्रतिक्रिया
Loading...