रूमी

रूमी अर्थात् मौलाना मोहम्मद जलालुद्दीनको जन्म ३० सेप्टेम्बर सन् १२०७ मा फारस सम्राज्य ( वर्तमानमा अफगानिस्तान) मा भएको थियो । न्यायवादी, इस्लामी विद्वान, धर्मविज्ञानी, सुफी सन्त र कविका रुपमा उनको परिचय स्थापित छ । उनले सुफी परम्परामा नर्तक साधुहरु (गिर्दानी दरवेसहरू) को परम्परालाई सम्वर्धन गरे । रूमी रात-दिन मानिसलाई उपदेश दिएर समय बिताउँथे । यसै क्रममा उनको भेट विख्यात सन्त “शम्स तबरेज”सँग भयो । रुमीलाई उनै तरबेजले अध्यात्म-विद्याको शिक्षा दिए । उनीसँगको भेटपछि रूमी आत्मचिन्तन र साधनामा समय बिताउन थाले । शम्स तबरेजसँगको संगतपछि रूमीले उपदेश दिने, घोषणा गर्ने र पढने-पढाउने काम बन्द गरे । रूमीका समर्थकले शम्स तबरेजले गर्दा रुमीको यो हालत भएको भनेर शम्सको हत्या गरिदिए । यस घटनाले रूमीको जीवनमा निकै गहिरो प्रभाव पार्‍यो । यसपछि उनी विरक्तिए र एकान्तबास रोज्न थाले ।

उनको लेखनमा ईश्वर र प्रेमको सुगन्ध हुन्छ । उनका रचनाले सात सय वर्ष कटाइसकेका भए पनि हिजोआज खोजीखोजी पढिन्छ । उनले कविता मात्र होइन, हाल नेपालमा लेखिने लघुकथा शैलीका धेरै कथा लेखेका छन् । उनका कथामा कुनै पनि आध्यात्मिक चेतनालाई सटिक कलाले लेपन गरिएको हुन्छ । उनका केही कथाहरूलाई नेपालीमा अनुवाद गरेर शृङ्खलाबद्ध रूपमा साहित्यपोस्टमा प्रकाशन गरिँदैछ ।

पवित्र प्रेम

एक जना बहुतै सुन्दर स्त्री थिइन्, परी जस्तै । उनी बाटोमा हिँडदै गर्दा कुनै कारणवश उभिएकी थिइन् । एक जना व्यक्ति उनीतर्फ आउँदै थिए । जब नजिक आए, परीजस्तै सुन्दर स्त्रीलाई देखेर ऊ तनमनबाटै मोहित भयो । यति मोहित भयो कि उसको होसै हरायो । जब हल्का होसमा आयो, उसले ती स्त्रीलाई एकटकले हेर्न थाल्यो । यसपछि पनि उसले होस गुमाएर स्त्रीलाई अँगालोमा बाँध्ने मनासय राखेर अगाडि बढ्यो । स्त्री झस्किएर पछाडि हटिन्, `के भयो यसरी अगाडि बढेर आउँदै छौ । आफ्नो मूल्य मान्यताबाट सीमाहीन हुँदैछौ है तिमी !´

पुरुषले जवाफ दियो, `यो सबै तिम्रो रूपको जादु हो । तिम्रा हाउभाउले तीर वर्षायो । के भनुँ, तिम्रो सौन्दर्यले हृदयलाई छेडिदियो । जब तिमीमाथि मेरो अधिकार छ भन्ने लाग्यो, अनि बल्ल मलाई यसरी अँगाल्ने सहास आयो । मेरो आफ्नो रक्षाको लागि तिमीलाई परास्त गर्नपर्छ भन्ने लाग्यो । अब म तिम्रो प्रेमी हुँ । तिमीलाई प्राप्त नगरी मैले शान्ति पाउने छैन ।´

स्त्रीले भनिन्, ´मेरो पछाडि एउटी दासी आउँदै छिन् । उनी मभन्दा अधिक सुन्दर छिन् । जब तिमीले उसलाई देख्ने छौ, अत्यधिक खुसी हुने छौ। ऊ त्यहाँ हेर त, उनी यतै आउँदै छिन् ।´

पुरुषले पछाडि फर्किएर हेर्‍यो । दासीलाई कतै देखेन ।

अब देखिएला, तब देखिएला भनेर हेर्दा पनि दाशीलाई कतै देखेन । जब हेर्दाहेर्दै आँखा टट्टियो, सुन्दर स्त्रीले त्यो पुरूषलाई एक झापड लगाइन् र भनिन्, `ए ! कपटी, तिमीलाई लाज लाग्दैन ? मसँग प्रेमको दाबी गरेर अर्की स्त्रीलाई त्यसरी हेर्न कुन मनले मान्यो ? तिमी प्रेमी होइनौ, धोकेबाज हौ ।´

मूल कथा: रूमी
भावानुवाद: जनक कार्की