
बिपीको मोदिआइन उपन्यासमा सानो बालक अहिले पनि त्यही वाणी सुन्दै होला, “ठूलो होइन असल मानिस बन्नु है बाबू ।”
हो त्यो बाबू असल मानिस बन्नु पर्छ भन्ने सोचमा थियो । मोदिआइनले त्यस्तो प्रभाव पारेकी थिइन् । म सोच्छु ऊ अहिले कत्रो भयो होला ? कस्तो मानिस बन्यो होला ?
म पनि मोदिआइनले भनेको असल मानिस हुन चाहन्छु । तर म असल हुन जन्मिएको हो कि होइन ? सन्देह छ । चाहेर हुन्छ हुँदैन त्यसमा पनि सन्देह छ । आखिर म खराब हुन्छु—यस्तो इच्छा कसले राख्छ र ? फेरि इच्छा नराखेरै पनि किन ऊ खराब हुन्छ । यही बन्छु भन्ने इच्छा नराखेरै पनि किन ऊ त्यही बनेको हुन्छ ?
‘मोदिआइन’को बालकले जस्तै म पनि केही सुन्दैछु टाढाबाट आएको प्रतिध्वनि—
एकोदर समुद्भूता एकनक्षत्र जातकाः ।
न भवन्ति समाः शीले यथा बदरकण्टकः ।।
सानैदेखि यस्तो श्लोक सुनेर हुर्किएकी थिएँ म । एउटै गर्भमा, एउटै नक्षत्रमा जन्मिएर पनि किन कोही मानिस एउटै गुणको उस्तै स्वभावको हुँदैन ? म यस्तै अज्ञात सत्य जान्न चाहन्छु । तर जान्न सकिँदैन ।
यस बखत पनि त्यही अबोध्य उत्सुकता छ मसँग । मोति बहादुर इङ्नाम अहिले यहीं हुँदा हुन् मेरो प्रश्न उनलाई दिने थिएँ । जस बखत कस्तो उत्तर पाउँथेँ होला ? त्यसो त मलाई थाहा छ । विश्वस्त हुने जवाफ उनीबाट पाउने थिइनँ । कोहीबाट पनि पाउने छैन । जब त्यो रहस्य उद्बोध हुन्छ, हो त्यतिखेर सृष्टिको अस्तित्व नै रहने छैन ।
मोति बहादुर इङ्नाम कसैका पिता हुन्, मेरा पनि पिता नै हुन् । यस धर्तीका सबै पुरुष पिता हुन् । मानव पुरुष मात्र होइन मानवेतर पुरुष पनि पिता नै हुन् । पिता हुनकै लागि ती जन्मिएका हुन् । अनि नारीहरू आमा हुनको लागि । म पनि एउटी आमा हुँ ।
एक अविवाहित यौवनाले ‘म आमा हुँ’ भन्दा तपाईंलाई लाग्ला म विभ्रान्त स्थितिमा छु । तर होइन म होशपूर्ण अवस्थामा छु । होशपूर्ण चेतनाले बोलिरहेकी छु ‘म आमा हुँ’ अर्थात् आमा हुनकै लागि म जन्मिएकी हुँ । म कसैकी आमा नहुँला तथापि आमा हुनकै लागि प्रकृतिले मलाई जन्माएकी हुन् । आमा बन्न सक्ने गुण छ मसँग—आमामा हुनु पर्ने स्वभाव छ मसँग । त्यसैले म अविवाहित आमा हुँ । सन्तान विहीन आमा हुँ ।
पूर्वीय दर्शनका दृष्टिले प्रकृतिका सम्पूर्ण सन्ततिमा म आमा र बाबु देख्ने गर्छु । फेरि पनि भन्छु मोति बहादुर मेरा पनि बाबु हुन् । उनको स्मृतिग्रन्थ पढेपछि अझ मर्यादाका साथ भन्छु— तिमी मेरा पनि बाबु हौ ! तिमी महान् छौँ । यतिखेर म तिमीलाई नै सम्झिरहेकी छु । श्रद्धाले सम्झिरहेकी छु । अरूले पनि तिमीलाई श्रद्धाले सम्झिरहेका छन् । जगत्ले चिन्ने खालको तिमी महान् पुरुष त होइन नै । तर तिमी असल मानिस भने निश्चय हौ । यस निमेष मलाई यही लागेको छ ।
बाबु तिमी त त्यसदिन महाप्रयाणको यात्रामा थियौ । त्यसपछि यहाँ केके भयो ? के तिमीलाई थाहा छ ? थाहा पाउन चाहन्छौ ? ब्रह्मलीन हुनु अघि—केही समय अघिसम्म तिम्रो एउटा आकाङ्क्षा थियो नि ! के अहिले त्यो कुरा स्मृतिमा छ ? त्रिविमा सँगै अध्ययन गरेका तिम्रा मित्र डा. गोविन्दराज भट्टराईलाई—तिमीले सुनाएको इच्छा के अहिले पनि सम्झिएका छौ ? एक चोटि सम्झिने प्रयास गर त ! तिमीले भनेका थियौ नि ! “मेरा केही यात्रा विवरण आलेख साथै जीवनका विभिन्न मोडमा भएका केही महत्वपूर्ण घटनाहरूको विवरण प्रकाशन गर्ने विचार छ कस्तो हुन्छ होला (पृ–४९५)।”
बाबु ! तिमी यहाँ नभए पनि हो आज तिम्रो इच्छाले पूर्णता पाएको छ । तिम्रा मित्रबाट ठूलो कार्य सम्पादन भएको छ । त्यो निकै अप्ठ्यारो काम थियो उनले भनेका छन्, “… तर यो सम्हाल्नै नसक्ने अवस्थाको थियो । लेख्ने अभ्यास नभएका व्यक्तिले रहर गरेको कुरा शुद्धाशुद्धि छोडौँ, कति असङ्गत र अव्यवहारिक पनि थियो । खासगरी दुई विदेशका भूमि हङकङ र अमेरिका यात्रामा, उतैको संस्कृतिमा—प्रचलित शब्दमा, कुरा टिप्ने हुँदा अङ्ग्रेजी र नेपाली सराबरी थियो, … (पृ–छ)।”
सुन त ! यसरी तिम्रो डायरी, तिम्रो अतीत अनि भ्रमण तथा केही संस्मरणहरू अहिले आएर सम्पादन कलाले पठन योग्य भएको छ । यसले तिमीलाई पर्याप्त चिनारी गराउन सकेको छ । तिमी धन्य छौ, तिम्रा परिवार धन्य छन् । जसले तिम्रो चाहनालाई मर्यादा गर्न सके । जुन प्रशंसनीय कुरा हो । डायरी लेख्नु आफैँमा एउटा सचेतता थियो । त्यसलाई प्रकाशमा ल्याउनु अझ महान् सचेतता लाग्छ त्यो परिवारको । यस्तो उदाहरणीय कर्म सबैका लागि प्रेरणा योग्य बनेको छ ।
थाहा छ तिमीलाई ? मैले तिम्रो स्मृतिग्रन्थ पढिसकेँ नि ! त्यसमा अन्त्यसम्मै तिमी कस्ता मानिस हौ भनेर मैले खोजिरहेँ । तिम्रो संयम बडो आदर योग्य लाग्यो । भोलिको समय आजै देख्न खोज्ने तिम्रो चेतनाले म निकै प्रभावित भएँ । डायरी लेख्ने तिम्रो आदत मलाई झन् बढी मन प¥यो । २०६४ सालदेखिको दैनिकीलाई तिमीले यसरी सुरक्षित गर्नु कति महत्वपूर्ण कुरा छ ।
बाबु ! तिमी निःसन्देह रहू । तिमीलाई लाग्दो हो म मरिसकेँ । त्यसो होइन तिमी मरेका छैनौ । जीवितै छौ । मैले त जीवितै भएको देखेँ । हेर त कति धेरै बन्धुबान्धव, मित्र, आफन्तले तिमीलाई सम्झना गरेका छन् । तिम्रो उदार र सहयोगी व्यक्तित्वको थोरै पनि कन्जुस नगरी प्रशंसा गरेका छन् ।
यतिखेर डा. भट्टराईले सम्पादन गरेका ‘मोति बहादुर इङ्नाम स्मृतिग्रन्थ’ अध्ययनबाट म अभिभूत भएकी छु । विश्वास छ बाबु तिम्रो जीवन दर्शनबाट अरू पनि प्रभावित हुने छन् जस्तो म भएँ ।
जीवनपर्यन्त पनि कहीँ अर्को जीवन छ, अर्को बचाइ छ भने त्यो उसले छोडेर गएको कर्म र त्यसको सुवासमै छ । हेर न अक्षरको शक्ति कति हुँदो रहेछ ? बाबु तिमी यहाँ नभएर के भयो ? तिम्रो शब्द शब्दले तिम्रो आकृति कुँदेको छ । त्यो डायरी पढ्दा तिमी यहीँ कतै छौ आभास हुन्छ । आफ्नो स्मृतिग्रन्थ कस्तो बनिएछ भन्ने तिमीलाई बडो उत्सुकता होला । पख एकछिन धैर्य गर म बताउँदै जाने छु तिम्रो परिचयदेखि तिम्रा स्मृतिका पानाहरू—
पूर्वी पहाडको सुब्बाङगी परिवारमा जन्मिएका मोति बहादुर इङ्नाम (२००४–२०७८) । कठिन सङ्घर्ष र दुरूह परिस्थितिले निर्माण भएको एक व्यक्तित्व । जीवनको उत्तरकालमा साहित्यिक सङ्गत भनौँ या प्रेरणादायक साहित्यिक भेटघाटले एउटा उत्कण्ठा उब्जाएका व्यक्ति । वैश्विक महामारी (कोभिड) फैलिनु केही समय अघि नै उनले आफ्नो डायरी छपाउने तयारी गरेका थिए—आफ्ना पुराना मित्र भट्टराईसँगको भेटपछि । उनलाई थाहा थिएन कसैलाई थाहा थिएन कोभिडले यस्तो वितण्डा ल्याउँदैछ भन्ने । थाहा थिएन मृत्यु लीला रच्दैछ भन्ने । अनि थाहा थिएन उनी यही घनचक्करमा पर्दैछन् भन्ने पनि । उनी जीवित छँदा काम सम्पन्न नभइसकेको डायरी—जसमा स्मृति लेखन जोडिएर आज यो मिश्रित रूपको आकृति भएको छ । उनी सशरीर हुँदा हुन त डायरीले डायरीकै नाम पाउने थियो । इच्छा त डायरी नै बनाउने थियो तथापि मञ्जुर भएन नियति । अन्ततः स्मृति ग्रन्थमा रूपान्तरित भयो उनको डायरी । उनका मित्र डा. भट्टराईले यसको सम्पादन बडो मिहिनेतले गरेका छन् ।
पाँच खण्डमा विभक्त लामो पृष्ठ सङ्ख्या (५५४) को स्मृतिग्रन्थले जीवनी लेखनकै काम गरेको छ । टुक्राटाक्री आलेखहरू खिपेर कति अरूका दृष्टिबाट कति मोति बहादुर स्वयंका दृष्टिबाट उनको एउटा सग्लो कद भनौँ त्यो व्यक्तित्वको चिनारीले मूर्तता पाएको छ ।
जीवन सङ्घर्षको धपेडीमा अनेक मार्गका पथिक मोति इङ्नामको शिक्षा, शिक्षण पेशा त्यसपछिको जनस्वास्थ्य हाकिम हुँदै राजनीति र समाजसेवामा समर्पित व्यक्तित्व—बहु रङ्गले रङ्गिएको छ । दाजु, भाइ, दिदी, बहिनीबीच अभिभावकीय व्यक्तित्व निर्वाह गरेका—उनको परिवार उच्च शिक्षादीक्षाले सांस्कारिक छ । मदन पुरस्कारले सम्मानित उनका भाइ भगिराज इङ्नामले त लिम्बू जातिको इतिहासै लेखेका छन् । उच्च शिक्षा हासिल गर्न देश विदेश गएका मोति इङ्नामका छोराछोरी परदेशमा छन् । उनका छोरा शिसम इङ्नाम अमेरिकामा डाक्टर छन् । दुई छोरीहरू पूजा र प्रतिमा त्यस्तै दुवै ज्वाइँहरू उतिकै पठित, सांस्कारिक रहेछन् ।
मोति इङ्नामको उज्यालो व्यक्तित्व तथा सद्भावपूर्ण व्यक्तित्वबारे यस स्मृतिग्रन्थमा धेरै कुरा आइएका छन् । आरम्भिक खण्डमा मित्र, आफन्त, परिवारजन र बन्धुवर्गका स्मृति आलेख रहेका छन् । उनीहरूका दृष्टिमा मोति बहादुर कस्ता थिए त्यो अवगत हुन्छ ।
द्वितीय खण्डमा पनि स्मृति आलेख नै रहेका छन्—अङ्ग्रेजी माध्यबाट गरिएका स्मृति रचनाहरू । अङ्ग्रेजी नेपाली दुवै माध्यम गरी यस ग्रन्थमा उनन्चालीस जनाका लेख रचनाहरू समाविष्ट छन् । तृतीय खण्डबाट इङ्नामका डायरी पृष्ठहरू शुरू हुन्छन् । यसमा दुई पटक गरिएको अमेरिका र हङकङ यात्रा, भारत अनि नेपालभित्रका यात्रा रहेका छन् । साहित्य–इतरका यात्रीले लेखेका भ्रमण डायरी हुँदा यो विवरणात्मक छ । साहित्यिक हेतुले रचिएको डायरी होइन यो । त्यस्तै चतुर्थ खण्डमा उनका केही फुटकर सम्झनाहरू रहेका छन् । पञ्चम अर्थात् आखिरी खण्डमा पारिवारिक तस्वीरहरू समाविष्ट छन् ।
स्मृति रचनाको आमुखमै मोतिका भाइ भगिराज इङनामले धेरै थोक बताएका छन्—पारिवारिक पृष्ठभूमिदेखि मोति बहादुरको शैक्षिक तथा पेशगत जीवन, सामाजिक जीवन, लोकपरोपकारी जीवनको बारेमा । उनको धेरै थरीको जीवन उल्लेख गरेका छन् । सानैमा बाबु गुमाएका इङ्नामले लिएको अभिभावकीय दायित्व कति महान् छ । कति अनुकरणीय छ । उनका भाइ बहिनीहरू भन्छन्, ‘हामी जे छौँ त्यो दाजुकै प्रयासले भएका हौँ ।’ भगिराजले त्यही त भनेका छन् ।
‘मोति बहादुर इङनाम स्मृतिग्रन्थ’ले उनको सन्दर्भ मात्रै बोलेको छैन । त्यस बेलाको समय र समाज पनि बोलेको छ । प्रायः लेखका विषय उस्तै छन् । तिनै कुरा आवृत्ति भएका छन् । मोति बहादुरको जीवन–प्रसङ्गलाई सबैले आफ्नै स्मृति अनुरूप प्रस्तुत गरेका छन् ।
प्रगतिशील विचार धाराका इङ्नामले एक–समय सामन्ती शोषण र सत्ताको विरोधमा सक्रिय राजनीति गरेका थिए । सामन्तवादको विरोध जनाउन उमानाथ रिजाल र उनको संयुक्त सक्रियतामा झापाको गौरादहबाट ‘लालटिन’ पत्रिकाको प्रकाशन पनि आरम्भ गरेका थिए ।
स्मृति लेख मार्फत असल मित्रका रूपमा इङ्नामलाई धेरैले रुचाएका छन् । उनको गुणगान गरेका छन् । घरपरिवार तथा आफन्तका दृष्टिमा एक कुशल अभिभावक, शुभेच्छुक, असल निर्देशक अनि साथी सङ्गातीमा मिलनसार मैत्री भाव भएका एक मित्र, संघ–संस्थामा एक जिम्मेवार कर्मचारी, समाजमा भलाइ भाव राख्ने एक सेवकका रूपमा उनलाई लिइएको छ । राजनीतिमा सकारात्मक र आलोचनात्मक चेत भएका मोति बहादुरका यी सबै व्यक्तित्वलाई मिलाएर बुझ्दा उनी एक सचेत मानव हुन् पुष्टि हुन्छ ।
स्मृतिग्रन्थमा इङ्नाम मात्र होइन उनीसँग जोडिएर आएका अरूलाई पनि पाठकमा माझ पुग्ने एउटा मौका मिलेको छ । यहाँ अन्य लेख रचना भन्दा एउटा बेग्लै आलेख रहेको छ पूजा इङ्नाम राईको । मोतिकी ठूली छोरीको आलेख । उनले बिरामी बाबुसँग हस्पिटलमा बिताएका अन्तिम दिनहरू द्रवीभूत पार्ने खालका छन् । ‘बाबासित बिताएका अन्तिम दिनहरू’—यस आलेखले बाबु छोरीको दैनिकीदेखि वैश्विक महाव्याधिले मानिसको जीवन कसरी खोस्दै थियो ? कत्रो आर्तनाद सिर्जना गर्यो ? त्यो विपद् फेरि ब्युँझिएको छ आलेखमा । त्यो कारुणिक समयाङ्कन इतिहासमा कहिल्यै विलुप्न नहुने छ । एउटी छोरीले कोभिडसँग लडिरहेका बाबुको दैनिकी, जीवन र मरणको दोसाँधमा मौन याचना गरेको त्यो आर्द्रता उत्पन्न गर्ने अनुभूति कति भयभीत गर्ने छ, “बाबाको जीवन त्यो अक्सिजनको सानो सिलिण्डरमा अल्झेको थियो र त्यसको लागि जुनै पनि किमत चुकाउन हामी तयार थियौँ (पृ–१२२)।”
स्मृति खण्डमा मोति इङ्नाम अब जीवित छैनन्, कहीं छैनन् एउटा रिक्त अनुभूति- खण्ड ‘ग’मा प्रवेश गरेपछि त्यो भाव हराएर जान्छ । उनी यहीं भौतिक जगत्मा छन् हुन्छ उनको डायरी पढ्दा । अनि म बिर्सिएर उनलाई पाठक प्रतिक्रिया सुनाउने इच्छा राख्दो रहेछु । अनि भन्न मन लाग्छ उनी सशरीर हामी माझ छन् । वि.सं. २०६४ माग २४ बाट उनको दैनिकी लेखन शुरू भएको रहेछ । त्यस समयदेखि उनी यात्रामा छन् जुन समयदेखि डायरी आरम्भ भएको छ । अमेरिकी यात्रा उनको पहिलो विदेश यात्रा । एउटा कुरा के भने उनको दैनिकी लेखन निरन्तर छैन । यात्रा गर्दादेखि अरू समय उनले डायरी लेखेको देखिँदैन । त्यस किसिमले भन्नु पर्दा उनको डायरी भन्नु तिनै यात्राका क्षणहरू हुन् । यात्रामा उनले कस्तो वस्तुस्थिति देखे त्यो बताएका छन् तर कस्तो अनुभूति गरे त्यो बताएका छैनन् । त्यो डायरीमा उनी अर्थात् उनको अनुभूतिजन्य विचार कहीँ अन्तर्भूत छैन ।
विदेशको मेसिनरी दैनिकीप्रति इङनामका मनमा केही आश्चर्य उठेका हुनुपर्छ । तर उनले त्यो आश्चर्यलाई कहीँ उल्लेख गरेका छैनन् । आफैँ खुल्ने, आफैँ बन्द हुने ढोका, अटोमेटिक काउन्टर, अटोमेटिक ग्यारेजको प्रसङ्गमा केही थोरै अनौठो भाव आउन खोज्छ फेरि हराउँछ । प्रायः उनको दैनिकीमा त्यहाँको मौसम, प्रकृति वर्णन, चराचुरुङ्गी, बोटबिरुवा, हिउँ वर्षाका सन्दर्भ, भेटघाट र घुम्न गएका कुरा आउँछन् । नाति नातिनासँग रमाएका, पुस्तक पढेका, महाभारत तथा रामायण हेरेका प्रसङ्ग आवृत्ति भइरहन्छन् ।
देशको बारेमा चासो राख्ने उनी एक सचेत नागरिक हुन् । ल्याप्टपमा समाचार नहेरको दैनिकी एउटै छैन । तत्कालीन समयको अमेरिकामा—राष्ट्रपति चयनको प्रसङ्ग उनले धेरै ठाउँमा दाहोर्याएका छन् । बाराक ओबामाको प्रतिस्पर्धी हिलारी क्लिन्टन—यी दुईमा को विजयी हुन्छ ? उनले धेरै चासो दिएका छन् ।
प्रगतिशील विचारका इङ्नाम कम्युनिस्ट देशको शहर हेर्न रहर गर्छन्—ल्याप्टपमै मकाउ, जापान, साङघाइ शहर हेर्छन् । उनी एक नियमित पाठक पनि हुन् । नित्य उपन्यास पढेको उल्लेख गर्छन् । तर कुन उपन्यास पढे त्यो बताएका छैनन् । ‘पल्पसा क्याफे’, ‘दामिनी भीर’, ‘आई फ्लीस्ड’, माइ टर्न न्यान्सीको ‘रेगन’ उपन्यास र अर्को एक ठाउँमा डा. अञ्जना वस्ती भट्टराईको ‘जीवनका घुम्ती र देउराली’को नाम पठनको लामो अन्तरालमा एकपछि अर्को उल्लेख गरेका छन् । यस कुराबाट थाहा हुन्छ उनको पठन सुस्त गतिको छ ।
त्यसपछि उनको दोस्रो यात्रा छ हङकङको । जीवनको उत्तरार्धमा मोति दम्पती छोराछोरीको नियास्रो मेटाउनकै लागि विदेश जाने गरेका थिए । उनीहरूलाई अमेरिका जस्तै हङकङ पनि आफ्नै लाग्छ । किनकि त्यहाँ ठूली छोरी ज्वाइँ छन् । मङ्की हिलमा घुम्न जाने प्रसङ्ग आउँदा मलाई दाजु गुरुङको सामूहिक साहित्यिक भ्रमण गरिएको नियात्रा ‘आमा रक’ (विल्सन टे«ल)को स्मरण हुन्छ । हङकङमा नेपाली साहित्य बडो क्रियाशील छ । चेरी पार्क, स्टारफेरि, वानचाइ जस्ता ठाउँको वर्णनमा मलाई दाजु गुरुङका ‘टाँकीका फूल’ र ‘लाई–सी’ जस्ता कृतिको सम्झना हुन्छ । यी दुवै कृति त्यही परिवेशमा सिर्जिएका छन्—इङ्नामका डायरीमा उनीहरू घुमेका तिनै ठाउँहरू आउँछन् ।
अब फेरि अर्को यात्रा दैनिकी अमेरिकाबाटै आरम्भ हुन्छ—दोस्रो अमेरिका यात्रा । पहिलो पहिलो अमेरिकी यात्रा (२०६४) डायरी भन्दा दोस्रो पटक (२०६४) को डायरी केही बढी रोचक लाग्छ । दृश्य वर्णन अलिक परिष्कृत र जानकारीमूलक नयाँ कुरा केही उत्सुकता पैदा गर्ने खालका छन् ।
माइलक्रिक नदीमा इङनाम—छोरी, नाति, नातिनासँग फिशिङ गर्न गइरहन्छन् । उनलाई त्यहाँ रमाइलो लाग्छ । अर्को दिन ९३ वर्षकी एउटी वृद्धालाई उनकी छोरीले ह्विल चेयरमा घुमाएको देखेर उनी भन्छन्, “यसरी अमेरिकी समाजमा वृद्धवृद्धा भए पनि पार्क घुम्न बोटिङ गर्न आउने गर्दा रहेछन् (पृ–३४४)।”
इङ्नामको डायरीले परदेशको जीवन पद्धति, धपेडी जीवनशैलीबारे केही नभनेर पनि केही भनिरहेको लाग्छ । त्यहाँ उनका छोरा, छोरी ज्वाइँ सबैसबै धावामा छन् । दोस्रो हङकङ यात्रा (२०७५) मा एमटिआर स्वचालित रेलबाट टाइ ओ भिलेज घुम्न गएका इङनाम चाइनिजहरूको—कामप्रतिको लगनशीलता, तत्परतामा यस्तो धारणा बनाउँछन्, “चाइनिज नागरिकहरू काममा व्यस्त रहने र बाह्य मानिससँग त्यति घुलमिल हुन नचाहने स्वभावका हुँदा रहेछन् भन्ने कड्कल काट्यौँ (पृ–४०५)।”
स्मृतिग्रन्थमा हङकङको द्वितीय भ्रमण पश्चात् छिमेकी मुलुक भारतको यात्रा रहेको छ । भारतका विभिन्न ठाउँहरू दार्जीलिङ, असम, भेलोरसम्म पुगेको छ उनको गन्तव्य । कति काम विशेषले गरिएका यात्रा त कति यात्राकै लागि गरिएका यात्रा छन् । त्यसपछि अन्त्यमा नेपालको भ्रमण दैनिकी रहेको छ ।
स्मृतिग्रन्थको आखिरीमा केही फुटकर सम्झनाहरू समेटिएका छन् । ती विविध समयका सम्झनाहरू जुन इङ्नामले भुल्न नसकेका स्मृतिहरू केही जागिर खाँदाका, केही साथी सङ्गातीका, केही विशेष व्यक्तित्वसँगका भेटघाट छन् । केही जीवनकै उत्तरार्धका अनुभूतिहरू छन् जब कि त्यतिखेर उनको मृत्यु नजिकै आइसकेको रहेछ । तर आइसकेपछि मात्र अवगत हुन्छ ।
जीवनमा ठूलो चुनौती, त्यस्तै सङ्घर्ष गरेका, दुरूह अवस्था भोगेका मोति इङ्नामको उत्तरार्ध समय तृप्तिपूर्ण रहेको उनले बताएका छन् । त्यसो त असन्तुष्टिको राग त पूर्वार्धमा पनि कहीँ छैन नै । उनी गुनासो गर्ने स्वभावका मानिस होइनन् थाहा हुन्छ । जीवनको समय जति परिपक्व हुन्छ, जति व्यतीत हुन्छ उनका अनुभव टिप्पणी उतिकै सूत्रात्मक रहेका छन् । त्यो उनले भोगेको समयको सार हो—अरूलाई ठीक नहुन सक्छ । तथापि उनको लागि त्यही सत्य हो ।
अन्तिम पृष्ठहरूमा पुग्दा इङ्नाम कम्ती बोल्ने, तौलिएर बोल्ने मानिस हुन् लाग्छ । “धेरै रसिक वा जिस्किने बानीले आफ्नै नोक्सान हुन्छ, आफै हलुका भइन्छ” उनी भन्छन् ।
आफूले गरेका काम, कर्तव्यको आत्ममूल्याङ्कन गर्ने मोति इङ्नाम आफ्नो जातीय भाषा संस्कृतिप्रति उतिकै चासो राख्ने एक समाजसेवी हुन् । उनका रचनामा लाग्छ उनी निर्भीक र साहसिक पनि छन्:–
कोरिदिन्छु पानाहरू
भरिदिन्छु सफेद कागजहरू
मेटाइदिन्छु दुश्मनका किल्लाहरू
साहस लिन्छु परास्त गर्नलाई (पृ–५२२)।
मोति इङ्नामको परिवारबाट अत्यन्तै उदाहरणीय कर्म भएको छ । उनकी धर्म पत्नी शिला लावती तथा परिवाजनको प्रयासले सम्पन्न भएको उक्त काम सबैका लागि एउटा दृष्टान्त बनेको छ । इङ्नामको स्मृतिग्रन्थ कुनै राष्ट्रिय व्यक्तित्व विशेषको नभए पनि यसको आफ्नै महङ्खव छ । उपयोगिता छ । मोति परिवारका एक अनुकरणीय व्यक्तित्व हुन् । उनको जीवन अध्ययनबाट म यसरी प्रभावित भएँ, शायद उनलाई भुल्दिनँ होला । साहित्यिक नभए पनि पुस्तक प्रभावित गर्ने खालको छ । विशेषतः म उनको सहयोगी र उदार स्वभावबाट प्रभावित भएँ । त्यस्तै उनको स्मृतिग्रन्थले अक्षरको अमरता राम्रोसँग बुझाएको छ । उनले डायरी लेखेका हुन्थेनन् भने आज यो ग्रन्थ यसरी प्रकाशित हुने पनि थिएन । अब मोति यही ग्रन्थ मार्फत सुवासित हुनेछन् जति बेलासम्म यो पुस्तक रहिरहने छ ।
जीवनमा कति कुराहरू ज्ञान भन्दा पनि दृष्टान्तका लागि विशेष हुँदा रहेछन् । इङ्नामको स्मृतिग्रन्थ त्यस्तै खालको छ । यसले अक्षरको शक्ति सन्देश सम्प्रेषण गरेको छ । अरू पनि केही मौन सन्देश सम्प्रेषण गरेको छ ।
बाबु ! के तिमीले मेरा कुरा सुन्यौ ? कस्तो लाग्यो तिम्रो स्मृतिग्रन्थमाथि मेरो विश्लेषण ? साँच्चि नै आत्माको क्षय हुँदैन भने म विश्वस्त छु—तिमीले मेरो कुरा पनि निश्चय सुनेका छौ । अन्त्यमा तिम्रो इच्छा पूरा गर्ने त्यो परिवारलाई नमन छ । तिमीलाई पनि मेरो नमन छ । तिमी जहाँ छौ त्यहाँ निःसन्देह रहू । यहाँ सबैलाई ठीक छ । आराम कुशल छ ।
बाबु ! यो आलेख म तिमीलाई नै समर्पण गर्न चाहन्छु, मेरो भावपूर्ण श्रद्धाञ्जली स्वीकार्ने छौ भन्ने विश्वासका साथ यहीं रोकिन्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

