यतिखेर म आफूलाई, नेपालीभूमिमा छु जस्तै लागेको छैन । केही समययता म निरन्तर नेपाल बाहिरका नेपाली स्रष्टा र तिनका कृतिहरू अध्ययन गरिरहेकी छु । सिलिगुढीका मुक्ति उपाध्यायको पर्थ हुँदै सिड्नीमा म अष्ट्रेलिया पुगेकी थिएँ । दाजु गुरुङको लाई–सीमा हङकङको व्यस्त शहरमा हारएकी थिएँ, घरी घरी निस्सासिएँ पनि । विजाय हितानको ब्ल्यु प्लानेटमा नेपाल र बेलायतको संघारमा, पर्यावरवीय चेतले पस्दै निस्किँदै गरेँ । छत्रमान सुब्बाको केही रचनामा असम हुँदै अमेरिकी डायास्पोरिक जीवनमा, अन्योल र अस्थिरताले डगमगाएँ । अझ अगाडि भारती गौतमको विगत र बाडुलीमा अमेरिकाको स्थायी बासिन्दा भएर त्यहीँ रम्न थालेँ । भर्खरै उत्तमशान्ति पुरस्कारले सम्मानित भएको छ प्रस्तुत कृति । त्यसै गरी केदार संकेतको अफगानी रणमैदानमा बम बारुदको धूवाँले आँखा पिरा भए । कतिबेला जीवनको अन्त्य हुन्छ, थाहा थिएन । डराई डराई पढेँ ।

दार्जीलिङकी स्रष्टा तथा विदुषी मणिका मुखियाको साहित्यमा परिदर्शनमा फेरि पनि नेपालमा छु जस्तै लागेन । यस्तो किन हुँदो रहेछ भने, साहित्यको अध्ययन गुर्न भनेको त्यस कृतिभित्रको स्थान, समय, परिवेश र पात्रताको निकट पुग्नु रहेछ । अनि त्यसले निर्माण गरेको विचारमा सहमत या विमत हुनु रहेछ । त्योभन्दा बढी कलाको परख गर्नु रहेछ । कलामा डुब्नु रहेछ । हो म यसरी बाहिर, टाढा टाढाका नेपालली स्रष्टा र  साहित्यसँग डुब्दै आएकी छु । मौन संवादमा छु । एकालापमा छु । सहमतमा छु । असहमतिमा प्रश्न पनि पैदा गर्दैछु ।

कथा, समालोचना, संस्मरण लेखनमा सार्थकता प्राप्त मणिका मुखिया एक कुशल अनुवादक पनि हुन् ।  नेपाली र अङ्ग्रेजी उनी दुवै भाषा समस्तरमा चलाउँछिन् । त्यस्तै मोनोग्राफ लेखनमा समेत उनी सबल छिन् ।

विविध परिचयका बीच म अहिले उनको समालोचकीय व्यक्तित्वका सम्बन्धमा अध्ययन गर्दैछु– साहित्य परिदर्शनको सीमाभित्र रहेर । अग्र पुस्तादेखि नवपुस्ताका अनेक विधाका कृतिमाथि सामालोचना गरिएको यस ग्रन्थमा, उनको गहिरो विश्लेषण कलाले आकृष्ट भएर, विवेचनामाथि फेरि अर्को विवेचना गर्न म उद्यत भएँ । उनको पठन विविधता, रुचि र समयसँग अद्यावधिक अवधारणा नै समालोचकीय व्यक्तित्वको प्रमुख आधार बनेको छ ।

‘के छापामा आएका सबै कुरा साहित्य हुन् ?’ यही प्रश्नको उत्तरमा उनको साहित्यिक दृष्टिकोण प्रस्टिएको छ । कलापूर्ण, विचारपूर्ण अनि एउटा निश्चित कालखण्ड र परिवेशको प्रतिनिधित्व गर्ने सन्तुलित लेखन नै साहित्य हो, लालित्यपूर्ण भाषिक खेल हो । अनि त्यसैको बारेमा गरिने बहस  विवेचना हो । स्रष्टा र उसको कर्मलाई निर्देश गर्ने, मूल्याङ्कन गर्ने, कृतिभित्रको रिक्तता पर्गेल्ने समालोचक बेगरको वाङ्मय जगत् नित्य अधूरो रहन्छ । यस कुरालाई विशेष ध्यान दिँदै पूर्वकथनमा, वरिष्ट समालोचक डा. गोविन्दराज भट्टराईको ‘समालोचनामा ‘म’ को उपस्थिति कति सान्दर्भिक अनि कति असान्दर्भिक’ आलेखबाट केही अंश उद्धृत गरिएको छ दृष्टान्तको रूपमा –

सिर्जना र समालोचना दुवै मिलेर साहित्य बन्छ । सिर्जनालाई माझेर टल्काएर उच्च उपभोग्य वस्तु बनाउने साधन नै समालोचना हो । त्यसैले धोइपखाली  गर्छ, पुछपाछ गर्छ, सफा गर्छ र उपभोक्ता समक्ष प्रस्तुत गर्दछ । त्यस्तो कर्म गर्दा समालोचकले अरूलाई गुहारेर यस्तो भनिन्छ, यस्तो पाइन्छ, यस्तो गरिएको छ जस्ता कृत्रिम शैली रोज्नु आवश्यक छैन । आफ्नो निर्णय आफैँले सुनाउने आँट गनुपर्छ । त्यसैले वर्तमान समालोचनामा मको उपस्थिति अनिवार्य हुँदैछ । यो सन्देश नेपाली प्राज्ञ जगत्सम्म आएको छ ।

साहित्य परिदर्शनले आख्यान तथा गैरआख्यान विधाका कृतिलाई समेटेको छ । गीत, कविता, कथा उपन्यास, निबन्ध, नियात्रा । समालोचनामाथिको समालोचना पनि छ । अनुसन्धान तथा इतिहासका विषय पनि सामाविष्ट छन् । अनुकरणीय व्यक्तित्वको जीवनी, अन्तर्तार्वा र अरू थोक पनि छ ।

अनिता पन्थी

अग्रज पुस्ताका वरेण्य स्रष्टादेखि अनुज पुस्ताका साहित्यलाई समालोचक मुखियाले समान महत्त्व दिएकी छन् । यस सालोचना ग्रन्थमा कति कुरा व्यक्त नगरेरै व्यक्त भएका छन् । उनको बौद्धिक क्षमताको मापन गरेको छ यसले । यहाँ समाविष्ट पच्चीस वटा कृति विश्लेषणमा अधिक पुरुष स्रष्टा रहेका छन् । एघार जना महिला स्रष्टा मसाहित छन् । यसले के अभिव्यक्त गर्छ भने, साहित्य क्षेत्रमा महिलाको उपस्थिति कम्ती रहेको छ । उठ्न  अझै प्रश्स्त बाँकी छ ।

असम, सिलिगुढी, दार्जीलिङ  तरेर उडिया भाषाकी स्रष्टा डा. प्रतिभा राय अनि यता डा. गोविन्दराज भट्टराईसम्मका साहित्यमा एउटा विशाल कालखण्ड र परिवेश छ, अर्थात् साहित्य परिदर्शनमा विषय विविधता र लेखक बाँचेको परिवेश अनि समयको लामो अन्तराल छ ।

‘जीवन बोध नै साहित्य हो, त्यही बोधले लेख्न अह्राएको वाणीलाई नै साहित्य भनिन्छ । साहित्यले जीवनलाई हेर्ने नयाँ लेन्स पाठकलाई प्रदान गर्दछ’ भन्ने मान्यतामा समालोचक मणिका नवीन दृष्टिले यहाँ प्रस्तुत भएकी छिन् । परम्परित मान्यता र दृष्टिबाट फड्किएर समयको आह्वानलाई बुझ्ने चेष्टामा उनी एक नूतन समालोचक हुन् ।

समालोचना जस्तो शुष्क, नीरस लाग्ने कर्ममा पाठकीय प्रभाव र वैचारिक दृष्टिले मुखियाका रचना निजात्मक निबन्धको नजिक लाग्छन् ।  सामालोचकीय चेतमा पाठकीय अनुभूति मिलाउँदा एउटा यस्तो बेग्लै लेखन बन्दोरहेछ । यहाँ विश्लेषित प्रत्येक रचना आफैँमा महत्त्वपूर्ण छन् । युगपुरुष कृष्णसिँह मोक्तानको उदय–अस्तबाट शुरु भएर मणिकुमार प्रधानको लिलिथ उपन्यासको विश्लेषणमा गएर पुस्तकको अन्त्य भएको छ । यसबीचमा दोस्रो विश्वयुद्धले पारेको प्रभावदेखि वर्तमान अवस्थामा आइपुग्दाका, अनेक मोडहरू मूल्यवान छन् । जनजीवनमा आएको सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, शैक्षिकलगायत अन्य परिवर्तित रूपको साक्षी केवल साहित्य मात्रै रहेछ । साहित्य भनेको अनौपचारिक र तथ्यहीन एउटा इतिहास भएको बोध गरेँ, साहित्य परिदर्शनमा । आदर्श अनि यथार्थवादबाट शुरु भएको साहित्य विद्यमान अवस्थामा आइपुग्दा, अनेक धारणाले समवेत स्वरमा, सन्देह तथा प्रश्नहरू उठाएका छन् । पिछडिएका अनि किनारीकृत स्वर, नारी स्वर, विर्निमाणिक स्वर पनि  उस्तै टड्कारो सुनिएका छन् । उत्तरआधुनिकयुग पूर्व र पश्च दुवैको प्रभाव यसमा परेको छ । ज्यादा अगाडिकै युगका कुरा छन् । नारी हिंसा, अत्याचार, हेपिएका, दलिएका पात्र पात्रहरू छन् । अझ भनौँ, यसभित्रका कृति रचनाको गर्भ न उज्यालो न अँध्याराको अवस्थामा छन् । केही संघार तेरेर बाहिर निस्किएका छन् । नवयुगसँग संवाद गर्दैछन् ।

समाज मनोविज्ञान प्रमुख कुरा छ । साहित्य परिदर्शनभित्रका प्रायः स्रष्टाहरू अलिक बढी आध्यात्मिक लाग्छन् । त्यही कारण मानवता अझै जीवित रहेको छ । उदय अस्त उपन्यासका कृष्ण सिंह भन्छन्, “सृष्टिका सारा कुराहरूको उदय हुन्छ । तर टुङ्गोमा पुगेपछि सारा कुराहरूको अन्त्य पनि छ । तथापि जीवन त्यतिमै समाप्त हुँदैन ।”

दोस्रो विश्वयुद्धले ओसारेको क्रूरता दार्जीलिङले केही भोग्यो । त्यसले अक्षुण्ण समाजको धर्म संस्कृतिमा विखण्डन, जीविकामा परिवर्तन ल्यायो । उत्थानपश्चात्को पतन अनि फेरि बौरिँदै गएको नयाँ समाज र सभ्यताका कुरा इन्द्रबहादुर राईका कृतिमा धेरै छन् । उनका पात्रले भोगका कति क्षणहरू अहिले ऐतिहासिक  भएका छन् । नवोदित स्रष्टामा भ्रान्ति र शुष्कताको प्रभाव बढ्दो छ । उता अघिल्लो पुस्ताका लेखकले दुई युगको प्रतिनिधित्व गरेका छन् ।

भारतीय नेपालीले आफ्नो भाषा संस्कृतिको लागि गरेको संघर्ष ठूलो छ । डा. नामंदुगको हिस्टी अफ मडर्न इण्डियन नेपाली लिट्रेचर एक विशुद्ध भारतीय नेपाली  साहित्यको इतिहास हो । भाषा मान्यताको लागि उनीहरूले गरेको विद्रोह र लडाइँमा डायास्पोरिक मनोविज्ञान छ । आफ्नो भाषा प्रभावशाली नहुँदा आडैको मानिसले पनि नचिनेको, आफ्नो साहित्य ओझेलमा परेको पीडा उस्तै छ । भाषाकै कारण आफ्नो कला साहित्य छेलिनुको दर्द कति कठोर हुन्छ ? त्यो कुरा वहाँहरूलाई नै सोध्नु पर्छ । भाषिक साहित्यिक परिचय स्थापनाको लागि गरिएको योगदान स्तुत्य छ । बालक भाषा हुर्काएर यहाँसम्म आइपुग्नु र त्यसको इतिहास लेखिनु सूक्ष्म कुरा होइन ।

भारत स्वतन्त्र हुनु पूर्व र पश्चको सन्धिकामा सिर्जिएका लोक साहित्य (लडाइँका सवाइ) देखि लिखित साहित्यको शुरुवात भएको छ । भाषा, साहित्य, संस्कृतिको अध्ययन गर्नु भनेको एककिसिमले मानव इतिहासको अध्ययन गर्नु हो । त्यही समयको पदचापमा निर्मित मानवीय अवधारणा नै विशाल अर्थमा साहित्य हो ।

साहित्य परिर्दशनमा समाविष्ट लेखकहरू प्रायः ले एकभन्दा बढी विधामा कलम चलाएका छन् । निपुण र सफल सर्जकका कृतिहरू उल्लेखनीय छन् । मुखियाको समालोचना गर्ने कुशलतामा ती राम्ररी अर्थिएका छन् ।  संरचनावादी सिद्धान्तबाट उन्मुक्त भएर कृतिको मर्मलाई विशेष ध्यान दिइएको छ । कृतिमाथि न्यायपूर्ण दृष्टि राख्ने उनको निर्भीक चेतनाबाट म केही सिक्दैछु । थोरै शब्दमा गहिराइ छुने र समग्रतालाई व्यक्त गर्ने कर्म आफैँमा कठिन छ, मसृण छ । तर उनले पार लगाएकी छन् । समालोचनामा स्वयं कृति नै पढेको आभास दिन सकेकी छन् ।

नेपाली वाङ्मयका सम्पदा, इन्द्रबहादुर राईको साहित्यिक यात्रा यथार्थवादबाट आरम्भ भएर आयामेली (प्रयोगवादी) हुँदै लीलावादसम्मको संक्षिप्त चर्चामा, मैले बुझ्न बाँकी रहेका इन्द्रबहादुरका लेखन विशेषतासँग परिचित हुन सकेँ । त्यतिखेर राईका कथामा मैले घटना, पात्र, चरित्र मात्र पढेकी रहेछु । मलाई उनका कथाले त्यति छोएका थिएनन्, जति छुनु पर्ने थियो । जयमाया आफू मात्र लिखापानी आइपुगी कथा, यस निमेष आएर थाहा पाएँ, कति कारुणिक रहेछ । विश्वयुद्धको प्रभावले विखण्डित तथा उच्छेदित पात्रको अस्थिर मनस्थिति र भयभीत जगत् भयङकर कठोर छ । यस घडी आएर बल्ल जयमायाप्रति म संवेदित भएँ । विराट व्यक्तित्व, राईको लेखन वैशिष्ट्यलाई एउटै आलेखमा उल्लेख गर्न सक्नु,  निचोडमा पुग्नु, संश्लेषण कला र दक्षताको दृष्टान्त हो ।

विश्वयुद्धले भयाक्रान्त राईका पात्रले उसै बेलादेखि डायास्पोरिक जीवन भोग्दै आएका रहेछन् । त्यसैको निरन्तरता भनुँ जस्तो रहेछ– वर्तमानको, डायास्पोरिक मनोविज्ञान र साहित्य ।

मुखियाको यस समालोचना ग्रन्थमा साहित्यका सम्पूर्ण विधाहरू समेटिएका छन् । अनेक सुवास मिसिएको छ ।  इतिहास र खोजमूलक सामग्रीलगायत लोकसाहित्यको अध्ययन त्यस्तै महत्त्वपूर्ण रहेको छ । धनहाङ सुब्बाको लिम्बूवानका लोककथाः एक पठनमा जातीय पहिचानको खोजीले अहिलेको समयलाई इंगित गरेको छ । यतिखेर सिद्धान्तकै रूपमा आएको पर्यावरणीय साहित्य उतिबेलाको लोकसाहित्यमा, मानव सभ्यतासँगै शुरु भएको कुरा बडो स्मरणीय छ । जुन कुराले मलाई सोच्न बाध्य बनायो, हाम्रा पुर्खाहरूको प्रकृति प्रेममा, सृष्टिको लय कति सन्तुलित थियो । प्रकृतिप्रति सचेत हुन, प्रकृतिलाई प्रेम गर्न आज हामीलाई विश्वविद्यालयमा पढाइनु पर्छ । उता हाम्रा पुर्खाहरू नपढेरै कैंयन् गुणा विवेकशील भएको देख्दा मलाई आश्चय लाग्छ ।

मानव र प्रकृतिबीचको निकट सम्बन्ध देखाउने, लोकसाहित्य अहिलेको अवस्थामा अरू बढी सान्दर्भिक र  वैज्ञानिक  हुने छ ।

कति विधाहरू यहाँ दोहोरिएका छन् जस्तो कथा, काव्य, उपन्यास, समालोचना । यद्यपि नियात्रा साहित्य भने एउटै रहेको छ– डा. गोविन्दराज भट्टराईको मेरो पहिलो बेलायत यात्रा । उनको दृष्टिमा देखिएको बेलायत सुन्दर छ, समृद्ध छ, शालीन छ । अनौठो, स्मित हास्य चेत र दम्भरहित साहित्यिक यात्रा वैचारिक छ । अनि त्यस्तै यहाँ वैचारिक विश्लेषण गरिएको छ । हाम्रो परम्परित साहित्य चिन्तनमा युगबोधको आह्वान गर्ने भट्टराई उत्तरआधुनिक साहित्य चिन्तनका प्रणेता हुन् । उनी भन्छन्, – कुनै चिन्तन र दर्शन पनि एउटा आविष्कार जस्तै निश्चित कालखण्डका लागि मात्र हुन्छन् । अनि त्यसको आयु र उपयोगिता समाप्त हुन्छ ।

यात्रा वर्णनलाई समेत नियात्रा साहित्यको नाम दिने प्रचलन बढेको बेला, यस्तो अन्योललाई अन्त्य गर्न, “एक रस वर्णनले यात्रा बन्छ तर साहित्य बनाउँदैन । त्यसमा साहित्यिक युक्ति र कलाको सघन प्रयोग आवश्यक छ (पृ–६३)” उनको यो भनाइ उदाहरणीय बनेको छ ।

नारी जातिको हक र हितका निम्ति साहित्यमा समर्पित इन्द्रमणि दर्नाल एक वरिष्ट नाकटकार हुन् । नारीवादी नाट्य लेखनको परिप्रेक्ष्यमा नाटक सङ्ग्रह उर्मिलामा मुखियाले बताए अनुसार, नारीका बारेमा नाटक लेख्न, जीवनै समर्पण गर्ने उनी एकमात्र नारीवादी नाटककार हुन् । प्राचीन लोकप्रिय नाट्य विधाप्रति अहिलेका स्रष्टा निकै उदासीन छन् । यस बखत नाटकको चर्चा परिचर्चा नै नौलो हुन लागेको छ । यस्तो अवस्थामा नाटककार र उनको कृतिमा बोल्नु नै ठूलो कुरा हो ।

साहित्य परिदर्शनमा, भारतीय नेपाली स्रष्टाको रुचि केमा छ ? कता छ ? कुन विधा बढी लोकप्रिय छ ? कस्तो साहित्य रुचाइँदै छ ? कस्तो रचिँदै छ ? कला साहित्यप्रतिको अवधारणा कस्तो छ ? युवापुस्ता कता केन्द्रित छन् ? जस्ता महत्त्वपूर्ण जानकारी लिन सकिन्छ । प्रायः कविता काव्य लेखनमा स्रष्टाहरू आकृष्ट छन् । तिनै कविका कविता र काव्यका कुरा यहाँ पुनारावृत्त भएका छन् । डा. नामदुंगदेखि विमल राई, सञ्जय बान्तवा, पुरण गिरीका कविताले जातीय पहिचान र अस्मिताका कुरा गरेका छन् । मर्यादाका स्वर सुसेलेका छन् । विद्रोहको आवाज उठाएका छन् ।

आफू एक  नारी भएर होला, नारी स्रष्टाको नाम सुन्दा मात्रै पनि ठुलो तृप्ति मिल्छ । हाम्रै परिवेशलाई नियाल्दा पनि नारी साहित्यकार एकदम कम्ती छन् । अझ सामालोचना क्षेत्रमा त नारी उपस्थिति नै खड्किएको अवस्था छ,  अर्थात् नगन्य छ । मुखिया यही कुरा बताउँछिन् । यस स्थितिमा समालोचक डा. कविता लामाको सक्रियता निकै महत्त्वपूर्ण भएको कुरा कविता डिस्कोर्सः एक पठनमा अवगत हुन्छ ।

हायास्पोरा, सबाल्टर्न, उत्तरउपनिवेशवाद, नारीवाद, पर्यावरणीय नारीवाद जस्ता अवधारणा अहिले एकदमै चल्तीका विषय भएका छन् । अघिका दिनमा दबिएका, किनारमा परेका, छोपिएकाहरू यतिखेर अग्रपङ्क्तिमा आएका छन् । उत्तरआधुनिकवादले दलिएका, पिछडिएकालाई न्याय दिएर पहिचानको निम्ति विद्रोही बनाएको छ । केही मात्रामा यस्ता कुरा यहाँ आएका छन् ।

त्यस्तै अर्को कुरा छ, उपनिवेशबाट भारत मुक्त भएको निकै भइसक्यो । तथापि उपनिवेशिक मनोविज्ञान अभै मेटिन सकेको छैन ।

हिजो आज जीवनी लेखन एउटा विधाकै रूपमा विकसित भएको छ । डा. वीणा हाङ्गखिमकृत शारदीय मोनोग्राफमा शरद क्षेत्रीको व्यक्तित्वबारे केही जान्न पाइन्छ । एउटा स्रष्टाको जीवनबारे लेख्नु बोल्नु पनि साहित्यकै कर्म हो । जीवनीमा व्यक्तित्व र कृतित्व अलग गर्न नसकिने कुरा रहेछ । एउटा उचाइ प्राप्त स्रष्टाले अर्को उचाइको विषयमा लेख्नु अत्यन्तै महत्त्वपूर्ण र दुर्लभ कुरा हो ।

नव चेतना र प्रविधिको रूपमा आएको यो डिजिटल युग हो । विश्वसामु प्रतिस्पर्धा गर्न अब हामी पनि त्यतातिर लाग्नु पर्छ । प्रथम दृष्टिमाः पब्लिकनामा अजुर्न प्रधान आलेखमा यही कुरा आएको छ । आफ्नो साहित्यिक उपस्थिति विश्वमाझ देखाउन सक्ने कुरामा, ठूलो अपेक्षा राखेका छन्, प्रतीक्षा गरेका छन्, त्यताका स्रष्टाले ।

अहिलेको समय निकै जटिल छ । अनेक युगले परिभाषित छ । अनेक अर्थमा खण्डित छ । डिजिटल युग भनेजस्तै यो विनिर्माणिक युग पनि हो । द्रौपदीमा परिलक्षित विन्द्या सुब्बाको अनुवाद कलामा त्यही विनिर्माण युगको कुरा छ । उडिया भाषाकी स्रष्टा डा. प्रतिभा रायको याज्ञसेनीलाई अनुवाद गरी, विन्द्या सुब्बाले द्रौपदी नाम दिएकी छन् । उनको कुशल अनुवाद कला निकै सुन्दर छ । मैले दोहोर्याएर तेहेर्याएर समेत पढेकी थिएँ, द्रौपदीलाई ।  व्यासकालीन पञ्च पाण्डवकी श्रीमतीको  उपेक्षित जीवनलाई मर्यादित बनाउनकै  हेतु उनको व्यक्तित्वलाई विनिर्माण गरिएको छ । व्यासको मनोखुशीमा द्रौपदीलाई पुरुष भोग्य, एउटा वस्तु बनाइएको थियो ।  उनलाई अनेक कष्ट भोगाउन लगाइयो, अवहेलना  फेरि कति सहनु पर्यो नि ! यस्तो कठिनाइ र उपेक्षामा बाँचेकी चरित्रलाई खण्डित गरी अर्कै बनाइएको छ । उनको गुमेको प्रतिष्ठा पुनः कायम गर्न द्रौपदीले आफ्नोबारे आफैँ बोलेकी छन्, उपन्यासमा ।

कालो झण्डा र मानवताप्रेमी निर्भीक कवि विमल राईमा पुगेपछि म अरू बढी प्रष्ट भएँ– कवि कलाकारको स्वर शस्त्रास्त्रभन्दा पनि कठोर हुन्छ भन्नेमा । अनि त्यो गान्धीको सत्याग्रह आन्दोलन जस्तै शान्त, शालीन र सौम्य हुन्छ । विद्रोहको प्रतीक कालो झण्डा उनीहरू कवितामै उठाउछन् ।

यसबीचमा एउटा खड्किएको कुरा के भने, जटिल र दुर्वोध्य शब्द प्रयोगमा, उत्कृष्ट साहित्य बन्छ भन्ने आजको जनविश्वास मलाई ठीक लागेन । साहित्य उत्कृष्ट शब्दले होइन । लालित्यपूर्ण प्रस्तुति, प्रधान कुरा हो । शब्दको आभूषण मात्र साहित्य होइन । हार्दिकता मूल कुरा हो ।

विश्लेष्य क्षमता गहिरो भएकी मणिकाको समालोचनाले म एकदम प्रभावित भएँ । उनका अरू साहित्यिक कृति के कस्ता छन् मैले पढेकी छैन । यद्यपि यही एउटा कृति मलाई पर्याप्त भयो, उनको साहित्यिक व्यक्तित्व बुझ्नलाई ।

विवेचनामाथिको विवेचना गर्नु कठिन कार्य रहेछ । यतिखेर म त्यही कठिनाइ  अनुभव गर्दैछु । विहङ्गम विवेचनामाथि एक विहङ्गम दृष्टिजस्तो आलेख तयार गर्दा शायद माणिकालाई पनि यस्तै भएको हुनुपर्छ । अध्ययनको गहनता र विस्तृतिमा कति अनुसन्धानमूलक समीक्षा केही शुष्क र कठिन लाग्ने छन् ।

अधिक स्मरण र प्रसङ्गमा आइरहने डा. नामदुंगबारे म केही जान्दिनँ । यद्यपि उनी एक बौद्धिक साहित्यकार हुन् भन्ने चाहिँ यसै पुस्तक मार्फत विदित हुन्छ ।

साहित्य परिदर्शनमा मैले ज्ञानभन्दा पनि अधिक भारतीय नेपालीको मनोविज्ञान बुझ्ने अवसर पाएँ । यसबाट सोचेभन्दा ज्यादा लाभ लिएँ । नेपाल बाहिर बसेका नेपालीलाई जति आफ्नो भाषा संस्कृतिको महत्त्व बोध हुन्छ, त्यति यहाँ बस्ने हामीलाई हुँदैन भन्ने पनि थाहा पाएँ । डा. नामदुंगले नवीन्द्रप्रसाद बान्तवासित लिएको एक अन्तर्वार्तामा सोधिएको छ, “यस देशमा हाम्रो परिचयको आधार भनेको के होला ?”

उत्तरमा उनी भन्छन्,“भारतमा हाम्रो परिचयको आधार हाम्रो भाषा संस्कृति नै हो ।” यसरी बाहिर बसेका नेपालीको लागि भाषा साहित्यको महत्त्व विशाल छ । मुक्त संवादमा मुन्नु गौतमको उन्मुक्त उडानभित्र, मुन्नु गौतमले झमक घिमिरेसँगको भेटमा एक अनुरोध गर्छिन्, “प्रेरणाको दुई शब्द लेखिदिनुहोस् न मेरो डायरीमा, …”

त्यतिखेर झमकको उत्तर मलाई एक मनीषीको जस्तो  लाग्छ, “प्रेरणाका शब्द लेख्न आउँदैन दिज्जू । मलाई त जीवन बाँच्न मात्र आउँछ ।” उनको यस्तो दार्शनिक अभिव्यक्तिले म गम्भीर भएँ । उनको भनाइमा ऋषि महर्षिका अमृत वाणी सुन्न सकेँ, “जीवनसँग थोरै पनि गुनासो नगर । दुखेसो नपोख । कर्कलाको पातको पानी जस्तो कतै नटासिइँ–राग अनुराग विहीन जीवनलाई एउटा साक्षीको रूपमा हेर । हरेक निमेष आग्रह अनुग्रह केही नराखी जस्तो परिस्थिति आउँछ बस् भोग मात्र । अनि थाहा पाउने छौ यो जीवन कति सुन्दर रहेछ।”

झमकले शायद आफूलाई यसरी नै लिएकी छन्, र त गुनासो छैन आफ्नो अवस्थाप्रति ।

लिटरेरी जर्नलिमजम र सङ्कल्पका भीडभित्रका अनुहारहरूमा, एक नारी पत्रकार सविता सङ्कल्पले भीडमा छोपिएका, नदेखिएका दिग्गज व्यक्तित्वलाई चिनाउने काम गरेकी छन् । पुरण गिरीले आफ्नो गीतिकाव्यमा चन्द्र र सूर्यलाई पात्र बनाएका छन् । डा. महेश दाहालका युवा हृदयको अचल कुहिरामा त्यहीँको समाज प्रतिविम्वित छ । नारी विमर्शतिर अग्रसर तीन उपन्यासमा विगतको समाज र चरित्र मञ्चित छ । अब नारी हिंसाका त्यस्ता साहित्य रचिँदैनन्,  । त्यस्तै मणिकुमार प्रधानले बाइबलमा प्रस्तुत मानव उत्पत्तिको कथासित हिब्रु मिथक सम्मिश्रण गरी काल्पनिक  लिलिथ उपन्यास लेखेका छन् ।

पुस्तक पढिसक्दा मलाई अनुभूत भयो, यसमा सङ्गृहीत पच्चीस जना स्रष्टा र तिनका कृतिमा मैले आंशिक रूपमा भए पनि भारतीय नेपालीको मनोभावना बुझ्न सकेँ, निकट भएको महसूस गरेँ ।

समालोचना पुस्तक पढ्दाको फाइदा कति ठूलो हुँदो रहेछ, त्यो बोध गर्दैछु, यतिखेर । पाँच वटा कुनै विधाका कृति पढ्नु बराबरको लाभ एउटै समालोचना ग्रन्थबाट प्राप्त गर्न सकिन्छ । अरू केही नभए पनि कम्तीमा स्रष्टा र तिनका सिर्जनाबारे उद्बोध हुन्छ । उनीहरूको समाज र दृश्य देख्न सकिन्छ । उनीहरू बाँचेको युग अध्ययनमा इतिहासकै अध्ययन गरे सरह ज्ञान मिल्छ ।

हेर्नु न एउटै ग्रन्थमा कति धेरै सर्जकले एकचोटि चिनिन पाएका छन् । ओझेल परेका स्रष्टा र कृति त अझ पुनःजीवित  नै हुन पुग्छन् । समालोचना कृतिको फाइदा यस्तै अरू धेरै छ ।

साहित्य परिदर्शन, यो भारतीय नेपाली साहित्यको एक इतिहास हो । त्यहाँको मनोविज्ञान र समाजविज्ञानको एउटा छाया पनि हो । भोलि यो अनुसन्धानको लागि एउटा उल्लेख्य सामग्री हुन जान्छ ।