महानन्द ढकालको पहिलो उपन्यास हो बुह्रान । यस अघि साहित्यकार ढकालका करिब पाँचवटा कृति प्रकाशित भैसकेका छन् भने उपन्यासको क्षेत्रमा यो उहाँको पहिलो प्रयास हो । बाँके र बर्दिया र कैलालीका केही क्षेत्रलाई थारूहरूले भन्ने गरेको शब्द हो बुह्रान जसलाई दंगाली थारुले बुह्रान र बुह्रानका थारूले बुढान भन्ने गर्छन् । ३२६ पेजमा लेखिएको यो उपन्यासका पानादेखि अग्र पृष्ठ पनि निकै आकर्षक छ ।
थारूहरूका कमजोर आर्थिक अवस्था, जमिनदारहरूबाट हुने गरेका शोषणले आजित भएर आफ्नो थातथलो छोड्नु पर्ने बाध्यता नै यो उपन्यासको मुख्य पाटो हो । उपन्यास माइला थारुको कथा वरिपरि घुमेको छ । उपन्यासले थारूसमुदायको रहनसहन, संस्कृति र चालचलनलाई जस्ताको तस्तै प्रस्तुत गरेको छ । कतिपय स्थानमा थारु भाषाको प्रयोगले र स्थान एवं घटना वर्णनले गर्दा यो उपन्यासले आञ्चलिकतालाई निकै राम्ररी समेटेको छ । यस अर्थमा यो उपन्यासलाई आञ्चलिक उपन्यास पनि भन्न सकिन्छ ।
थारूहरूले जंगल फडानी गरेर खेती योग्य बनाएको जमिनलाई पहाडी जमिनदारहरूले हडपेको, जमिनदारले उनीहरूबाट निकै काम लिने गरेको, उनीहरूले मेहनत गरे पनि निकै कम मात्रामा उत्पादन प्राप्त गर्ने र बाँकी भएभरका जमिनदारहरूले नै उपभोग गर्ने जस्ता कुरा यो उपन्यासका उल्लेख गरिएको छ । कमैयाका पत्नीहरूले मालिकका घरमा बुक्रहीको रूपमा कार्य गर्नु पर्ने, ससाना छोराछोरीहरूले जमिनदारको घरमा घरेलु कामदारका रूपमा कार्य गर्नुपर्ने जस्ता बाध्यतालाई पनि राम्ररी वर्णन गरिएको छ । जमिनदारले आफ्ना कमैयाहरूलाई अर्थात् कृषि मजदुरहरूलाई गर्ने गरेको शोषणलाई बयान गरेका छन् उपन्यासकारले । समग्रमा भन्नुपर्दा प्रगतिशील साहित्यको वरिपरि भएको भान हुन्छ ।
आर्थिक दुरावस्थाका कारण बुह्रानमा गएपछि सबै समस्याको निराकरण हुने विश्वासका साथ उनीहरू बुह्रान झरे तर जहाँ गए पनि कर्मसँगै भन्ने नेपाली उखान चरितार्थ हुन पुग्छ । बुह्रानमा उनीहरूका बस्ती एवं घरको वर्णन गर्दा छानामा घुसारेका वस्तु, मचिया, मकैका छिल्का का बेडरी, खटिया केही पनि छुटेका छैनन्, त्यसैगरी गोठ, बाटाका अवस्था, छाप्रा सबै हुबहु उस्तै सजीव तरिकाले वर्णित छन् । ढकालको उपन्यासलाई डच आर्टको संज्ञा दिन सकिन्छ । हलैंडमा बनाइने एक प्रकारको चित्रकलामा निकै मसिना कुराहरू पनि चित्रित गरिएको हुन्छ जसलाई डच आर्ट भनिन्छ ।
त्यसै गरी उहाँको यो उपन्यासमा साना साना कुराहरू समेत समेटिएका छन् । थारूहरूको बस्तीदेखि रहन सहन यति सजीव छ कि दिमागमा चलचित्र हेरे झैँ लाग्छ ।
बुह्रान पढिरहँदा अंग्रेजी साहित्यका साहित्यकार थमस हार्डीको साहित्यको झल्को आउँछ । हार्डीले आफ्नो अधिकांश साहित्य सिर्जना एउटा स्थान विशेषको वरिपरि रहेर लेखेका छन् जसलाई उनी विसेक्स भन्छन् । साथै उनले आफ्ना पात्रहरूको पदचापलाई, रुखबाट पात खसेको आवाज समेत उल्लेख गर्ने गरेका छन् । त्यसै गरी ढकालले पनि थारू समुदायको निकै मिहिन कुरा प्रष्ट्याउने प्रयास गरेका छन् ।
समग्रमा उपन्यास सुन्दर छ । उपन्यास पढ्दै गर्दा थारु सबै सुकुम्वासी, कमैया वा गरिब र पहाडिया सबै जमिनदार वा धनी हुन् कि जस्तो लाग्छ । तर त्यस्तो छैन र हुँदैन पनि । जमिनदार थारू पनि छन् र गरिब पहाडियाहरू पनि छन् तराइमा ।
दाङदेखि कैलालीसम्म बसोबास गर्ने कयौं थारूहरू जमिनदार छन् । कतिपय थारूहरू सैयौं बिघा जमिनका मालिकका रूपमा अझै पनि भेटिन्छन् । कामदार राख्ने थारू जमिनदारहरूले कमैया प्रथाको अन्त्य नहुँदासम्म दर्जनौं कमैया राखेर कृषि कार्य गर्ने गरेको पाइन्थ्यो । पहाडियाहरूको घरमा बसेका थारु मात्रै होइन थारु जमिनदारका घरमा बसेका कमैयाको पनि अवस्था फरक थिएन ।
गरिब थारूहरु धनी तथा जमिनदार थारुहरूबाट पनि शोषित थिए । यो पाटो पनि उपन्यासमा जोडदार रूपमा आएको भए राम्रै हुन्थ्यो । थोरै आयो । साङ्केतिक रूपमा रुद्रलाल पात्र मार्फत् आएको छ तर कम आयो । वास्तविकता के हो भने ठुलो माछाले साना माछालाई शोषण भएको कुरा सत्य हो । हिजोका दिनमा देखादेख हुन्थ्यो, सबैले प्रस्ट थाहा पाउने गरी हुन्थ्यो तर आज घुमाउरो तरिकाबाट हुने गरेको छ । समाजमा शोषणका अवशेषहरू बाँकी नै छन् ।
दाङ कुनै बेलाको थारू राज्य हो । थारूहरु नै राजा थिए । सबै थारु गरिब छैनन् न त सबै पहाडी एवं हिमाली सम्पन्न छन् । अनेक थारु जमिनदारहरू थिए र छन् । उनीहरूका आफ्नै भाषा, संस्कृति र भेषभुषा छन् जुन अत्यन्त विशिष्ट छन् । थारु समुदाय र पहाडी समुदायका बीच टकरावको अवस्था थिएन । उनीहरू सधैं एकअर्काका परिपूरक भएर विश्वासका भरमा जीवन बिताएको मलाई स्मरण छ । विभिन्न राजनीतिक दलहरूले आफ्नो स्वार्थवश उनीहरूमा आफ्नो दुराग्रह फैलाउने प्रयास भने निकै भएको छ ।
यो उपन्यासले थारू र पहाडिया समुदाय बीचको सहकार्य, सहसम्बन्ध र सहयोगलाई जीवन्त राख्नु पर्ने कुरालाई मात्रै जोड नदिई हिमाल, पहाड र तराइलाई जोड्ने प्रयास गरेको छ । जातजाति बिचको सम्बन्धमा आत्मीयता ल्याउने प्रयास गरेको छ । जातीयका आधारमा विभाजित समुदायलाई एउटै सूत्रमा उन्ने प्रयास गरेको छ ।
अन्त्यमा थारू संस्कार संस्कृति तथा परम्परालाई महत्त्व दिएर लेखिएको यो उपन्यास पठनीय र सङ्ग्रहणीय रहेको मेरो निचोड छ । इमानदार, मेहनती एवं अनुशासित थारुहरूप्रति मेरो पनि उच्च सम्मान छ ।
बुह्रानको सुन्दरता एवं लोकप्रियता बढ्दै जाओस् अस्तु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।