नेपालीमा साह्रै चलेको उखान छ – एक्लो वृहस्पति झुटो । तर जब मैले ‘श्री १०८ स्वामी सोमेश्वरानन्दको जीवन चरित्र’ नामक पुस्तक पढें, मलाई लाग्यो स्वामीजी यो उखानलाई चुनौती दिइरहेका छन् । एक्लो व्यक्तिले सम्पूर्ण इलाम जिल्लाको सामाजिक, शैक्षिक, धार्मिक, आध्यात्मिक विभिन्न आयाममा व्यापक प्रभाव पार्न सक्छ भने कसरी एक्लो वृहस्पति झुटो हुने रहेछ र ? मेरो मनमा बारम्बार यही प्रश्नले झटारो हानिरह्यो ।
एक उत्साही इलामेली लेखक इच्छाराम कट्टेलले करिब डेढ दुई सय वर्ष पुरानो इतिहासको गहन खोज र अनुसन्धान गरी उक्त कृति तयार पारेका हुन् । हुन त नेपालको पुण्य भूमिमा स्वामी सोमेश्वरानन्दजस्ता धेरै साधु, सन्त र महात्माहरूले आफ्नो प्रभाव छोडेका छन्; तैपनि इलामलाई सभ्यताको बाटोमा डोर्याउन स्वामी सोमेश्वरानन्दको योगदान धेरै महत्त्वपूर्ण रहेको देखिन्छ । भारत भूमिमा जन्म लिए पनि यी स्वामीले नेपालको पूर्वी पहाडी भूभाग इलामलाई आफ्नो कर्मक्षेत्र बनाए ।
साधुसन्तको स्वभाव भनेको एकै ठाउँमा जरो गाडेर नबस्ने हुन्छ । उनीहरू यायावरी हुन्छन् । यही स्वभाव स्वामी सोमेश्वरानन्दमा पनि देखिन्छ । उनी भारतका र नेपालका विभिन्न तीर्थस्थलहरूको दर्शन गर्ने क्रममा नै इलाम छिरेका रहेछन् । त्यहाँ बस्ने क्रममा उनले त्यो ठाउँका जनता शिक्षाहीन र ज्ञानगुनको उज्यालोबाट वञ्चित रहेछन् भन्ने कुराको अनुभूति गरे । त्यसैले उनी इलामको चौतर्फी विकासका लागि दत्तचित्त भएर लागे ।
उनले ठाउँ ठाउँमा गएर विभिन्न विद्यालय खोले र त्यहाँ अध्यापन गरे । धर्मशाला बनाए, मन्दिर बनाए, गौशाला बनाए । समाज विकासका लागि चाहिने सम्पूर्ण पूर्वाधार उनले त्यहाँ खडा गरिदिए । उनले त्यो समाजका मानिसहरूलाई स्वावलम्बी जीवन कस्तो हुनुपर्छ भन्ने कुराको उदाहरण प्रस्तुत गरेर देखाए । उनको बारेमा पढ्दै जाँदा मानिसले साँचो मनले चाह्यो भने जे पनि गर्न सक्ने रहेछ भन्ने चिन्तन पाठकको मनमा आइरहन्छ । स्वामी सोमेश्वरानन्द पैसाको मुठो लिएर त इलामको विकास गर्न निस्किएका होइनन् । तर उनको विशुद्ध मानव कल्याणको भावले गर्दा हुनेखाने स्थानीय व्यक्तिहरूबाटै चाहिने जति जमिन र अर्थ जुट्यो, अनि स्वामीजीले आफूले सोचेजति सबै कर्म गर्न पाए ।
उनले धेरै ठाउँमा विद्यालय खोलेर शिक्षाको ज्योति बाले पनि मुख्य रूपमा करफोक, फिक्कल र पशुपतिनगर क्षेत्रमा उल्लेखनीय कार्य गरेको पाइन्छ । करफोक स्कूलमा (हाल श्री करफोक विद्या मन्दिर माध्यमिक विद्यालय) त त्यति बेलाका प्राय : चर्चित साहित्यकारहरू जस्तै भूपी शेरचन, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, इन्द्रबहादुर राई, धरणीधर कोइराला, धर्मराज थापा, ईश्वर बराल, शंकर लामिछाने आदि पुगेर कवि सम्मेलन समेत गरेका रहेछन् । यसले नै यो विद्यालयको प्रसिद्धिलाई पुष्टि गर्छ ।
यति मात्र कहाँ हो र ? कवि लेखनाथ पौड्यालले त त्यहाँ जमिन खनेर विद्यालय भवनको शिलान्यास नै गरेका थिए । त्यसैगरी एउटा कालखण्डमा (मिति उल्लेख गरिएको छैन) साहित्यकार इन्द्रबहादुर राईलाई दार्जिलिङदेखि झिकाएर प्रधान अध्यापकको नियुक्ति दिइएको तथ्यसमेत यो पुस्तकमा उल्लेख गरिएको छ । यस्ता कुराहरूले करफोक विद्या मन्दिरलाई गौरवको प्रतीकका रूपमा लिन सकिन्छ । करफोक विद्या मन्दिर माध्यमिक विद्यालयको जस्तै श्री फिक्कल माध्यमिक विद्यालयको पनि ऐतिहासिक महत्त्व रहेछ । प्रसिद्ध साहित्यकार डा.तारानाथ शर्माले यो विद्यालयमा अध्ययन गरेकाले पनि यसको महत्त्व अझ चुलिएको छ ।
आफ्नो जीवनको उत्तरार्धतिर स्वामी सोमेश्वरानन्द इलामको पशुपतिनगर पुगे र त्यो स्थानको उत्थानका लागि समर्पित भए । उनले सोही स्थानमा देहत्याग समेत गरेकाले पनि पशुपतिनगर विशेष चर्चित छ । अरू ठाउँमा जस्तै स्वामीजीले यहाँ पनि आश्रम, मन्दिर, कुवा, गौशाला, विद्यालयजस्ता संस्थाको स्थापना गरे ।
यसरी आजभन्दा सय-डेढ सय वर्ष अगाडि नै नेपालको एक दुर्गम जिल्ला इलाममा पुगी शिक्षाको राँको बाल्ने स्वामी सोमेश्वरानन्दलाई स्थानीयबासीले श्रद्धापूर्वक सम्झिने गरेको तथ्य पुस्तकमा अनुसन्धाता कट्टेलले उल्लेख गरेका छन् । त्यति बेला उनको ख्याति नेपालमा मात्र नभएर भारतसम्म फैलिएको थियो । उनको सत्सङ्गका लागि मिरिक, दार्जिलिङ, सिलिगुढी, सिक्किम आदिजस्ता ठाउँबाट मानिसहरु बारम्बार इलाम आउने गर्थे । अर्को हामीले स्मरण गर्नुपर्ने कुरा के छ भने त्यति बेला नेपालमा राणा शासनको जगजगी थियो । राणाहरूले सर्वसाधारण जनतालाई राजधानीमा नै पढ्न लेख्नबाट वञ्चित गरिरहेको परिप्रेक्ष्यमा इलामेली जनताले पढ्न पाउनु उनीहरूका लागि कत्रो सौभाग्यको कुरा थियो ।
वर्तमान समयमा हामी जातिवादको लडाइँ लडिरहेका छौं । आफ्नो जातबाट पहिचान खोजिरहेका छौं । स्वामीजीको जीवन कथा पढ्दा यस्ता कुरा गर्नु हाम्रो अज्ञानता जस्तो लाग्यो मलाई । उनले माथिल्लो जातका र तल्लो जातका भनेर मानव जातिलाई कहिल्यै विभेद गरेनन् । जो व्यक्ति पनि उनको शिष्य हुन पाउँथ्यो र जो पनि उनले खोलेका विद्यालयमा पढ्न पाउँथ्यो ।
लेखक इच्छाराम कट्टेल लेख्छन्, ‘उहाँले स्थापना गराउनु भएको पाठशालाहरूमा कुनै अमुक जातिले मात्र अध्ययन गर्न पाउने भन्ने थिएन …अध्ययनका लागि सम्पूर्ण जातजाति, तह तप्काका लागि खुला थियो । उदाहरणका रूपमा अन्नादेवी राई, काले दमाई, रणवीर गुरुङ , श्रीदल राई, नरभूपाल राई आदिलाई लिन सकिन्छ’, (पृ.११२) ।
माथि उल्लेख गरे जसरी नै यो पुस्तक लेखकले स्वामीजीका बारेमा लेखिएका र भनिएका अनि उपलब्ध भएसम्मका सामग्रीको प्रयोग गरी लेखेका हुन् । अर्थात् यो पूर्ण रूपमा तथ्यमा आधारित छ । यति हुँदा हुँदै , विशेष गरी स्वामीजीले बोलेका कुराहरूको यहाँ श्रोत खुलेको छैन । यसले गर्दा कतै ती भनाई लेखककै कल्पनाका उपज त होइनन् जस्तो लाग्न सक्छ पाठकलाई ।
यसको उदाहरण :
लेखक लेख्छन् , ‘स्वामीजीले आमन्त्रित सम्पूर्ण व्यक्तिहरूसँग परामर्श लिँदै शिक्षाको औचित्य र महत्वबारे प्रकाश पार्दै भन्नुभयो ।’ अनि उनी स्वामीको भनाइलाई उद्धरण चिन्हभित्रै राख्छन्, ‘मानव जगतमा सर्वश्रेष्ठ पुण्यात्मक कार्य भनेको नै ज्ञान आर्जन गर्नु हो, समाजमा रहेको अन्धकार हटाउन ज्ञानरूपी उज्यालो छर्नु पर्दछ , तसर्थ यस स्थानमा पनि ज्ञान आर्जनका लागि पाठशाला खोल्नुपर्छ । पाठशाला खोलेर यस क्षेत्रमा ज्ञानको प्रकाश छर्नुपर्छ । पाठशाला खोल्न र सञ्चालन गर्नका लागि तन, मन र धनको आवश्यकता पर्छ । आफू अनि परिवार मात्र पालिने, संरक्षित रहने भन्ने जस्ता सङ्कीर्ण भावनाहरू यदि हाम्रा मनमा रहेको भए, अब त्यस प्रकारका भावनाहरू त्याग्नु पर्छ । यस प्रकारको सोच विचारले समाज र राष्ट्र बन्न सक्दैन । समाज र राष्ट्र नबनेको देश हरेक कुराबाट दुःखी हुन्छ, तसर्थ समाज र राष्ट्रको उत्थानको लागि प्रत्येक नागरिक सचेत भएर शिक्षा आर्जन गर्नुपर्दछ,’ (पृ.२८) । यो भनाइका हरेक वाक्य महत्त्वपूर्ण छन् । सबै कुरा स्वामीजीले नै बोले जस्तो पनि लाग्छ । तर उनले कहाँ भने, कसलाई भने भन्ने आधिकारिक श्रोत लेखक इच्छाराम कट्टेलले दिएका छैनन् ।
एक सय पैंतीस पृष्ठको ‘श्री १०८ स्वामी सोमेश्वरानन्द जीवन चरित्र’ पुस्तकमा अलि अलि भाषिक त्रुटि पनि भेटिन्छ । यी त्रुटि नभैदिएका भए यो कृति सुनमा सुगन्ध भए जस्तो हुनेथियो । जे होस्, ऐतिहासिक दृष्टिले यो एक ज्यादै महत्वपुर्ण पुस्तक हो । पुस्तकको अन्त्यमा लेखकले आफूले प्रयोग गरेका सबै सामग्रीको सन्दर्भ सूची उपलब्ध गराएका छन् । यसले पुस्तकको विश्वसनीयतालाई बढाएको छ । सीमित ठाउँ र सीमित व्यक्तिहरू माझ मात्र परिचित स्वामी सोमेश्वरानन्दको जीवनीलाई एउटा कृतिको रूपमा सर्वसाधारण पाठकका हात हातमा पुर्याउने इच्छाराम कट्टेल धन्यवादका पात्र भएका छन् ।
लेखकका अरू पनि यस्तै प्रेरणादायी कृतिहरू प्रकाशित हुन सकुन् – मेरो हार्दिक शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










