नेपाली साहित्यमा आख्यानले सर्वोत्कृष्ट रूपमा बजार कब्जा गरेको देखिन्छ पछिल्लो समयमा । जीवनका रङहरू भर्दै, सुखान्त र दुखान्तका अविस्मरणीय पलहरू सँगाल्दै, शाश्वत मानवीय मर्मलाई हृदयङ्गम गर्दै जीवनको पूर्ण पाठलाई समावेश गराउन सकिने विधा आख्यान हो । जीवनका सर्वपक्षीय, सर्वगाम्य विषय उत्खनन गराउन सकिने भएको कारण उपन्यास आख्यानको बृहत् रूप हो भन्न सकिन्छ । आख्यानका माध्यमबाट स्रष्टाले जीवनका सर्वाङ्गीण पक्षहरूलाई बिम्बात्मक, कलात्मक रूपमा पाठकसमक्ष प्रस्तुत गर्दछ । यसरी पाठक, श्रोताको मन पगाल्न सक्नु नै सफल लेखकीय गुण साबित भएको मान्न सकिन्छ ।
नेपाली साहित्य उद्यानमा निकै सुगन्धित वासना छर्किंदै बुह्रान उपन्यासले जन्म लिएको छ । उपन्यासकार महानन्द ढकालकृत बुह्रानले पछिल्लो समय नेपाली साहित्य बजारलाई निकै तताइरहेको छ । हरेक पाठक, समीक्षकलाई हुटहुटी पैदा गराइदिएको छ । एउटा गैर थारु समुदायको लेखक, स्रष्टाले थारु समुदायको सामाजिक, सांस्कृतिक,चालचलन, रहनसहन आदिको गहन शल्यक्रिया गर्नु चानचुने विषय होइन । यो अदम्य साहस गर्न सक्नु स्रष्टाको ऐतिहासिक कार्य मान्न सकिन्छ ।
कृषि कर्मको लागि उर्वरशील भूमि हो बुह्रान । कर्णाली र बबईको सिञ्चित भूमि हो । जहाँ, सुनजस्तै पहेँलिएर जमिन छुन लागेका धानका बालाले कर्मशील कृषिहरूलाई आकर्षणको केन्द्र बनायो । कैयौँका लावालस्करपूर्ण सपनाहरू पूरा गरिदिन बुह्रानले पनि काँध थापिदियो । आफ्ना सपना सजाउँदै बुह्रान झर्नेहरूको ताँती लागेको बिम्ब उपन्यासमा देखिन्छ । कैयौँले मस्त निन्द्रामा सपना देखे, कैयौँले दिवा स्वप्न देखे । आखिर सपना त देखे सबैले । देखेका सपना पूरा हुन र पूरा गर्न जीवन सङ्घर्षको गोरेटो क्षितिज पारी अनन्तमय हुँदै गएको मार्मिक प्रस्तुति उपन्यासमा उतारिएको छ ।
उपन्यासमा कथा, उपकथा सङ्कलनको मुख्य जिम्मेवारी सुदूर पूर्वकी निङ्मालाई दिइएको छ । सानैदेखि बहुप्रतिभा सम्पन्न निङ्मा जागिरको सिलसिलामा बर्दिया पुगेकी छन् । आफ्ना कार्यालयका कर्मचारीहरूमा सहृदयी भाव जागृत बनाउन सक्नु, आपसी सद्भाव कायम बनाउनु, कर्मचारीमा अभिभावकीय नेतृत्व ग्रहण गर्न सक्नु निङ्माको बौद्धिकता अब्बल मान्न सकिन्छ । कार्यालय सहयोगी पहाडी थारुको सहयोगमा उपन्यासका नायक माइला थारु र उपन्यासलाई ओजपूर्ण रूपले पूर्णता दिएकी बौद्धिक पात्र पार्वतीसम्म भेटघाटको वातावरण सिर्जना गराएर निङ्मालाई उद्देश्य केन्द्रित बनाउन सहयोग गर्ने पहाडी थारुको भूमिका पनि महत्त्वपूर्ण छ । निङ्माजस्तो कर्तव्यपरायण, कर्मशील, सहनशील, प्रयत्नशील, अध्ययनशील, लगनशील पात्रलाई मुख पात्र बनाई कथानकलाई गतिशीलता प्रदान गर्नमा उपन्यासकार सफल देखिन्छन् ।
उपन्यासलाई पूर्णता दिन थुप्रै पात्र, पर्यावरण, दृष्टिविन्दु, भाषाशैली, बिम्ब र प्रतीक, गति, लय, कथानक आदि तत्त्वगत सम्मिश्रण उपयुक्त रूपमा समावेश गरिएको छ । मुख्यतया पार्वती, माइला थारु र सोमलालको भूमिकालाई मात्र दृष्टिगोचर गर्ने हो भने पनि पाठक वर्गमा भाव विह्वलताको माहौल सिर्जना भइदिन्छ । यी पात्रहरूले जीवनका हरेक मोडमा कठिन परिस्थितिसँग सामना गर्नुपरेको छ । समस्यै समस्यासँग पौँठेजोरी खेल्नु परेको छ । जीवनका हर समस्यासँग मुकाबिला गर्न सिङ्गो पहाडले थिचेझैँ पीडाबोध भएको छ ।
उपन्यासमा पार्वतीको कथा निकै हृदयस्पर्शी रूपमा समावेश गरिएको छ । उनी उमेरले बालापन, व्यवहारले प्रौढ बन्नु परेको छ । बाल्यावस्थामै तिलकरामसँग वैवाहिक बन्धनमा बाँधिएर जिन्दगीका पानाहरू पल्टाउँदै गरेकी पार्वती एक महान् नारी हुन् । उनलाई तत्कालीन समयमा गरिने बाल विवाह, अनमेल विवाह, स्वीकृतिबिना गरिने निर्णय आदिको प्रतिनिधि पात्रका रूपमा लिन सकिन्छ ।
पार्वती, तिलकराम, उनको परिवार, छिमेकी अनि स्याङ्जाली परिवेशको रीतिरिवाज, चालचलन, भाषाशैली, धर्म, संस्कृति आदिको सम्मिश्रणले उपन्यास थप जीवन्तताको कसीमा पुगेको छ । त्यो अबोध उमेरमै पार्वतीले सौता बेहोर्नु परेको, सौतेनी दिदीको मृत्युदेखि जवान छोराछोरी र श्रीमान्को अप्रिय मृत्यु वरणसम्मको घटनाक्रम केलाउँदा जस्तोसुकै कठोर मानवीय मनहरू निमेकमै पग्लिन्छन् । स्याङ्जादेखि बुह्रान अनि नेपालगन्जसम्मको परिवेशमा पार्वतीलाई देख्न सकिन्छ । उनका सत्कर्म अनि कौशलपूर्ण व्यवहारले उपन्यासले पूर्णता पाएको महसुस हुन्छ । उनको कथाले पाठक, श्रोताको मन भाव विह्वल बनाइदिएको छ । उपन्यासकारको शिल्प यहाँनिर निकै बलवान् देख्न सकिन्छ ।
नेपाल धन, दौलतले सम्पन्न हुन नसके पनि धार्मिक, सांस्कृतिक रूपले कुबेर राष्ट्र हो । यस पवित्र माटोमा बसोबास गर्ने सबै समुदायमा आआफ्नै प्रकृतिका धर्मकर्म, रीतिरिवाज, चालचलन, वेशभूषाले सुसज्जित छन् । थारु नेपालको आदिवासी समुदाय हो । उनीहरूको संस्कार र संस्कृति आफ्नै प्रकृतिको छ । जल, जमिन र जङ्गलको मालिक सम्झिने थारु समुदायका गरिब, विपन्न, कमैया वर्गको सबै शून्य हुँदा उनीहरूमा मनभरि बेचैनीको जीवित चित्र उपन्यासभित्र स्पष्ट रूपमा खिचिएको छ ।
जमिनदारी प्रथाले नगाँजेको सायद कहाँ नै बाँकी होला र ? जमिनदार सधैँ शोषक हुँदै जाने र नोकर सधैँ शोषित हुँदै जानु त यो जमिनदारी प्रथाको विशेषता नै हो । सुन्दर सपनाहरूको कुम्लो बोक्दै बुह्रान झरिसकेपछि पनि माइला र उनको परिवारले भोगेका पीडाले मनभित्रको भक्कानु रोक्न सकिँदैन ।
स्याङ्जाको अर्जुन चौपारीबाट पार्वतीको परिवार र दाङ चित्रकुटीबाट माइला थारुको परिवार भविष्यका सुन्दर सपनाहरू सजाउने आशामा बुह्रान झरेका हुन् । बुह्रान झर्नु उनीहरूको रहर नभई बाध्यता थियो । आआफ्नो थातथलोको समाज, अर्मपर्म, सुगन्धमय परिवेशको मायालाई मनभरि सजाउँदै बुह्रानको माटोसँग बडो सङ्घर्षका साथ रमाउने चेष्टा गर्दै थिए । अर्जुन चौपारीबाट बुह्रान झर्दा र बुह्रान झरिसकेपश्चात् पार्वतीका एकपछि अर्को घटनाको श्रृङ्खलाबद्ध कथामा घोत्लिने हो भने अश्रुधारा नदीमा परिणत हुँदै पाठकीय हृदय छियाछिया बनाउँछ । पाठक हृदय यसरी पगाल्न सक्नु नै उपन्यासकारलाई सफलताको कसीमा उभ्याउन सकिन्छ ।
पृथक् भूगोल, परिवेश, धर्मकर्म, संस्कार, संस्कृति, वेशभूषा, पहिचान आदि सबै पृथक् छन् पार्वती र माइलाको परिवारबिच तर उनीहरू बिचको सुमधुर आत्मीयता निकै गहिरो छ । मानौँ, उनीहरू एउटै परिवारभित्रका सदस्य हुन् । माइलाको परिवारलाई पार्वतीले अभिभावकीय भूमिका निर्वाह गरेकी छन् भने माइलाको परिवारले सुरक्षा कवच अनि भरोसापूर्ण काम । माइला थारुकै सत्कर्मका कारण पार्वतीले आफ्ना छोराहरूको शिक्षा, दीक्षा अनि अब्बल नागरिक बनाउन सक्षम भएकी हुन् ।
माइलाको जीवनमा सुखले कहिल्यै बास गरेन । उनको परिवारले सङ्घर्षै सङ्घर्षको जीवन व्यथित गरे तर बदलामा पाए नैराश्य मात्रै । नत उनले छोराछोरीलाई पढाइ, लेखाइ बनाउन सके नत कुनै शिल्पीकार नै । बनाए त केवल आफू र आफ्ना पुर्खाजस्तै कमैया र कम्लरी । बरघर जमिनदार रुद्रलालको घरमा कमैया बस्यो जेठो छोरो सोमलाल । भर्खरै वैवाहिक बन्धनमा बाँधिएकी उसकी दुलहीलाई पनि बुक्रही बसालेर जमिनदारले श्रम शोषण गरेको यथार्थता उपन्यासमा देख्न सकिन्छ । दिनभर कामले लखतरान भएकी सोमलालकी श्रीमतीलाई सर्पले डस्दा पनि अस्पताल उपचारको सट्टा गुरुबाद्वारा झारफुक गराउनु, अकालमा ज्यान गुमाउनुजस्ता दर्दनाक घटनाले नेपाल अझैँ पनि अन्धविश्वासको परिधिभित्र गुम्सिएको छ भन्ने प्रतिनिधिमूलक छनक दिन्छ । भर्खरै श्रीमती गुमाएको सोमलाल भाव विह्वल भई शोकमा डुबिरहँदा कमैया बस्न जान नमान्नु, छोराको सट्टा आफै कमैया बस्न जानु माइलालाई परिपक्व वचन, इमानदारी पुजारीको रूपमा हेर्न सकिन्छ ।
पार्वतीको सिफारिसमा सर्वराज जस्ता जमिनदारको घरमा सोमलाल कमैया भए पनि पारिवारिक माया,ममता, स्नेह पाउनु सौभाग्यको कुरा थियो । सबै जमिनदार एकै हुँदैनन् । जमिनदारको पनि कोमल मन, हृदय हुन्छ भन्ने प्रमाण सर्वराजबाट प्राप्त गर्न सकिन्थ्यो तर सर्वराजकी छोरी ममताले सोमलाललाई एकोहोरो प्रेमालापका कारण वैवाहिक बन्धनमा बाँधिई तब सर्वराजको जमिनदारीपन देखिएकोले उनीप्रति पनि खल चरित्र प्रदर्शन भएको देख्न सकिन्छ । सच्चा माया, प्रेमका अगाडि कुनै धनदौलत, मान, प्रतिष्ठाले पौँठेजोरी खेल्न नसक्ने रमिताको कार्य व्यापारबाट बोध गर्न सकिन्छ ।
समय सधैँ एकैनास रहन सक्दैन । नेपालमा धेरै आन्दोलन सक्रिय भएका छन् । नेपाली जनतामा परिवर्तनका लागि पटक पटक विभिन्न आन्दोलनहरू बीजारोपण भएका थिए । जसमध्ये सुकुम्वासीको लागि एउटा महत्त्वपूर्ण र निर्णायक कन्द्रा आन्दोलन हो । यस आन्दोलनले माइला थारु, सोमलाल लगायतका सोझा, इमानदार थारुहरूले आफ्नो हकहित र पहिचानका लागि आवाज बुलन्द गर्न सक्ने भए । रेशम चौधरी, जगप्रसाद जस्ता थारु नेतृत्वबाट प्रभावित भएका छन् उनीहरू । यस आन्दोलनले मुख्यतया गरिब, विपन्न, सोझा थारु समुदायलाई आफ्नो अधिकार, पहिचानको मुद्दा लड्न सिकायो । सोझा , सिधा जनताहरूलाई जुनसुकै पार्टीले पनि आफ्नो भोटकेन्द्र मात्रै बनाएको यथार्थतालाई उपन्यासमा बिम्बात्मक प्रस्तुति दिइएको छ ।
कन्द्रा आन्दोलन, थरुहट आन्दोलनले तमाम थारु समुदायका हक,अधिकार, पहिचान स्थापित गराउने नेतृत्व पङ्क्तिको आश्वासनमा थिए सोझा, इमानदार थारुहरू । पुर्खौंदेखि मालिकको दासी भएर जीवन जिउनु परेको पीडालाई सम्झिँदै पछिल्लो पुस्ताको लागि भए पनि आफूलाई तिलाञ्जली दिने साहस बटुलेका थिए ती अबोध, इमानदार जनताले । आफ्नो जिउ ज्यान गोला, बारुदको धुवाँमा उडाउन अघि बढे सोमलालजस्ता साहसिक युवाहरू । कतिले ज्यान गुमाए । कतिले शरीरमा फलामे छर्रा, गोलीहरू बोक्दै अपाङ्ग शरीरमा तड्पिरहनु परेको छ । टाठा बाठाहरू र नेताहरूले मात्रै उच्च लाभ लिएको तर सर्वसाधारणको जीवनस्तर ज्युँका त्युँ रहने अनि सर्वहारा वर्गले उत्थान पाउन नसकेको यथार्थतालाई उपन्यासमा बडो मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
पार्वतीले जीवनमा धेरै दुखकष्ट भोगिन् । उनी उत्तरार्ध चरणमा निकै खुसी अनि हर्षोल्लासमय वातावरणमा छिन् । कारण, सन्ततिको खुसी । पार्वतीका छोराहरू सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष एवं राजनीतिज्ञ, पत्रकार, शिक्षक, प्रहरी अधिकृत, प्रतिष्ठित व्यापारी आदि । सबैले देशको शिर उँचो बनाइदिएका छन् । यो भन्दा ठुलो खुसी अभिभावकको लागि अरू के नै हुन सक्छ र ? फरक यही भयो, एउटै परिवारसरह भएर पनि पार्वतीको परिवार देशका सक्षम, अब्बल नागरिकका रूपमा उदाए तर माइलाको परिवार उही पुरानै दुःख, कष्टपूर्ण जीवन निर्वाह गर्न व्यथित भयो ।
समग्रमा अस्तित्वको खोजी गर्दै बुह्रानमा उडान भरेका छन् उपन्यासकारले । गरिब, निमुखाहरूको जीवनसँग खेलबाड गर्दै आफ्नो राजनीतिक रजाइँ गर्ने, सोझा, इमानदार जनमानसलाई राजनीतिको भर्याङ बनाउने, सत्ता पक्ष र विद्रोही पक्षको कारण सर्वसाधारण नागरिकमा सास्ती, हैरानी एवं मारमा पार्ने, बलियोले निर्धालाई सधैँ हेपिरहनेजस्ता यथार्थपरक विषयवस्तुहरू बुह्रानभित्र बिम्बात्मक रूपमा झल्काइएको छ ।
उपन्यासमा सुदूर पूर्वकी निङ्मा, पहाडकी पार्वती र तराइका माइला थारुलाई अन्तरघुलित गराइएको छ । ‘हिमाल, पहाड, तराई कोही छैन पराइ’ भन्ने सद्भाव एवं पारिवारिक नारा सिद्ध भएको छ । ससाना विषयवस्तुलाई टपक्क टिपेर पात्रानुकुल संवादात्मक शैलीमा बिम्ब, प्रतीकको प्रचुर प्रयोग गर्दै उपन्यासलाई उत्कृष्ट रसपान गराइएको छ । उपन्यास सुरुदेखि अन्त्यसम्म सललल बगेको छ । धेरै ठाउँमा यसले पाठकीय मनलाई घाइते बनाउँछ, रुवाउँछ अनि मनभित्र छटपटी, हुटहुटी, उकुसमुकुस र ज्वारभाटा निकाल्दछ । बुह्रान उपन्यासभित्र उडान गर्दा लाग्छ, काल्पनिकता, सैद्धान्तिकभन्दा यथार्थपरक, वास्तविक धरातलमा उभिएर उपन्यासकारले विषयवस्तु पस्किरहेका छन् ।
बुह्रानलाई स्रष्टाले सपना, सङ्घर्ष र स्वाभिमान गरी तीन भागमा विभक्त गरेका छन् । बुह्रानभित्रका सबै पात्र/चरित्रका थुप्रै सपनाहरू छन् । जीवनका ती सपनाहरू साकार पार्न कठोर सङ्घर्ष गरेका छन् तर सबै पात्रले आफ्नो स्वाभिमान प्राप्त गर्न सकिरहेका छैनन् । बुह्रानको मुख्य नायक माइला र उनका परिवारलगायत अन्य गरिब, निमुखा वर्गले सपना पूरा गर्न जतिसुकै सङ्घर्ष गरे पनि स्वाभिमानको महसुस गर्न सकेनन् । स्वाभिमानको युद्ध गर्दागर्दै गलिसकेका छन् उनीहरू ।
भाषिक रूपमा अर्थ तात्त्विक विचलन नआए तापनि कहिँकतै वर्णविन्यासगत त्रुटिहरू देखिन्छन् । यसलाई सामान्य रूपमा लिन सकिन्छ । पात्रानुकुल भाषाशैलीको प्रयोग भएको छ । जमिनदारको ज्याजती सहन नसक्दा रिस प्रकट गर्ने क्रममा माइला तारुद्वारा थारु भाषाको एकाध ठाउँमा मन गढन्ते रूपमा गालीजन्य अश्लील शब्दको प्रयोग भएको छ । यसले कहीँ न कहीँ सामूहिक अध्ययन गर्दा लज्जाबोध गराउन सक्छ ।
नेपाली साहित्य उद्यानका एक परिपक्व साहित्य सर्जक महानन्द ढकालद्वारा लेखिएको उपन्यास बुह्रानलाई आयुष्मा ढकालको रेखाचित्र र देवेन्द्र थुम्केलीको आवरण कलाले सुसज्जित छ । साङ्ग्रिला पुस्तक प्रा.लि. काठमाडौँले २०७९ असारमा प्रकाशन गरी बजारमा ल्याएको छ । ३२४ पृष्ठको उपन्यास बुह्रान थारु समुदायको एक अब्बल ऐतिहासिक अस्त्र बन्न सक्छ । औपन्यासिक उडानको यात्रामा सहज रूपमा अवतरण गरेका छन् उपन्यासकारले । साथै पाठक वर्गलाई पनि सरल, सहज रूपमा बुह्रानको उडानमा सहभागी बनाएका छन् । साहित्यका बहु विधामा कलम चलाउने स्रष्टा महानन्द ढकालको साहित्य यात्रा अझ फराकिलो बन्दै जाओस् । अझैँ उत्कृष्ट कृतिहरूले जन्म लिँदै जाउन् लाखौँ लाख शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।