हरेक भोलिहरू आज भएरै आउने रहेछन् । त्यो भोलि वर्तमान नहुँदासम्म थाहा छैन कुन रूपले आउने हो ? फेरि सम्झेर म आश्चर्यमा पर्छु, हेर्नुस त कुनै निमेष पनि हामी वर्तमान विहीन छैनौँ । हामीले बुझ्दै आएको भोलि नआउँदै पनि हामीले समय भोगिरहेका हुन्छौँ । तब त लाग्छ भोलि भन्ने बुझाइ नै एउटा भ्रम रहेछ । समय भन्नु त त्यही एक निमेष रहेछ । जीवन पनि त्यही एक निमेष नै रहेछ । एक्कै चोटि दुई निमेष बाँच्न हामी सक्दा रहेनछौँ । त्यसो त कोही पनि सक्ने छैन । त्यही तत्क्षण भोग्दा भोग्दै हामी समाप्तिमा जाने रहेछौँ । अनि त्यसैलाई एउटा जीवन भनिँदो रहेछ । मृत्यु त्यही एक निमेषमा आउने रहेछ । जीवन त्यही निमेषमा पूर्ण हुने रहेछ । त्यहीँ अन्त्य पनि ।

लाग्थ्यो यो जीवन कति लामो छ । अहिले सोच्छु आखिर जीवन त केही लामो पनि रहेनछ । बस् त्यही क्षण मात्र रहेछ । यो कुरा जान्दा म धेरै हलुङ्गो भएको छु । म सम्पूर्ण जीवनको चिन्ता लिएर बस्थेँ । ममा त्यस्तो चिन्ता अब छैन । बस् अचेल म एक निमेषको चिन्तामा छु । एक निमेषको बारेमा सोच्ने गर्छु । त्यस पल अस्तित्वपूर्ण तरिकाले बाँच्न सकियो भने पूरा जीवनै अर्थपूर्ण हुने रहेछ यस निष्कर्षमा मलाई गौतम बुद्धको उही वाणी सम्झना आउँछ—होसपूर्ण, चेतपूर्ण तरिकाले बाँच अनि मात्र तिम्रो जीवन चेतनामय हुने छ ।

साहित्यकार बखतबहादुर थापाको ‘देशान’ उपन्यास पढ्दा मेरो मनमा अचानक यस्तो विचार आएको थियो । हिजो जगत्ले भोगेको महामारी, कोभिड—१९ ले सिर्जिएको भय, आतङ्क, त्रास, अन्योल, अनिश्चितता, मृत्यु र अस्तव्यस्त जीवन, जगत्लाई लिएर थापाले आख्यान बनाएका छन् । कोभिडले कति मानिसको जीवन हर्यो ? कति संघारमा पुगेर पुनः जीवित भए । पत्यारै नलाग्ने गरी कति ज्युँदा–जाग्दा, भर्भराउँदा जीवनहरू गए, तिनको लागि कोरोना एउटा निमित्त बनेर आयो । तिनको सम्झनामा मलाई यस्तो लाग्यो त्यो एक पल कोभिडलाई झुक्याएर तिनीहरू बाँच्न सकेको भए उनीहरू अहिले जीवितै हुने थिए । जसरी हामी छौँ । त्यो पल बाँच्न सकेकै कारण अहिले हामी जीवित छौँ । म विश्वस्त छु हरेक भोगाइको अनुभूति गर्नु नै जीवित हुनु रहेछ । जीवन त केबल भोगाइ रहेछ । भोगाइ त आखिर त्यही एक पलको रहेछ ।

आख्यानकार थापालाई ‘देशान’ उपन्यास रच्दा शायद यस्तै अनुभूति भएको हुनु पर्छ जस्तो अहिले मलाई भएको छ । लेखक थापा त्यस बखत कोभिडको चक्रवातमा पर्दा हुन् त ‘देशान’ रचिने थिएन । त्यस्तै म त्यो चक्रवातमा परेको हुँदो हुँ अहिले कोभिडको त्रास सम्झिएर फेरि मृत्युको छाया देख्दै हुने थिइनँ । मृत्यु नै भोगिसकेको हुने थिएँ । जीवन, मृत्यु, महामारी र त्यो एक पल समयको बारेमा कुरा गर्दा यतिखेर म अद्भुतको अनुभव, जटिल अनुभव, अनौठो अनुभव गर्दैछु । लामो उच्छ्वाससँगै अनायासै मौन आवाज प्रस्फुटित हुन्छ, ‘धन्न बाँचिएछ’ ।

देशान

देशान

‘देशान’सँगै सम्झिन खोज्छु लेखक थापालाई मैले पढ्न थालेको कति भयो भनेर। ठ्याक्कै समय निस्किएन । तर मैले उनलाई पढेको धेरै अघिदेखि हो । आख्यानकारको रूपमा मैले उनलाई जान्दै आएँ । विशेषतः साइवर तथा विज्ञान प्रविधिका विषयलाई साहित्यिक अभिव्यक्ति दिने स्रष्टा । यस अघि नै उनका ‘परदेश’ (२०५८), ‘कुहिरो र काग’ (२०६१), ‘कालचक्र’ (२०६४), ‘जङ्गे (२०७१), ‘जङ्गेको डायरी’ (२०७४) जस्ता उपन्यास र ‘आघात’ (२०६२),‘कम्प्युटर आतङ्क’ (२०६९), ‘शीर्षकसँगै सरिता’ (२०७५) कथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

त्यस्ता साहित्यिक कर्मले सम्मान तथा उपलब्धिसँगै थापाको उत्साही मनलाई अझ क्रियाशील बनाउँदै लगोस् । दीप–गोविन्द स्मृति सम्मान, पुष्पराग वर्ष सम्मान, प्रादेशिक प्रतिभा पुरस्कार लगायतका सम्मानले उनको साहित्यिक व्यक्तित्वको कदर गरेको देखिन्छ । उनको ‘गोर्खे’ नामक विज्ञान कथा नेपाली पाठ्यक्रममा—बाह्र कक्षाका विद्यार्थीले पढ्दै आएका छन् ।

‘देशान’—नेपाली जनजीवनले भोगेको यथार्थ मात्र नभई जगत्ले भोगेको आतेस लाग्दो अनुभव हो । मर्ने मरेर गए, बाँचेकाले तिनको मृत्युको अनुभव गरेको कथा हो । कथा पनि के भनौँ यो वास्तविकता हो । फेरि वास्तविकता भित्रको काल्पनिकता पनि हो । यस आख्यानको लक्ष्य त्यस समयको वस्तुस्थितिलाई देखाउनु हो । तर त्यति मात्र होइन । यसले मानव अहंको क्षीणतालाई पनि इङ्गित गरेको छ । उसको अहङ्कार विघटित भएको छ । आफ्नो अभिमानलाई सचेत गराउँदै प्रकृतिको अस्तित्वलाई स्विकार्नुमा नै मानव कल्याण हुने कुरा बताएको छ । पर्यावरणीय चेतले लेखिएको कृति त यो होइन नै । तथापि यसको आन्तरिकतामा गहिरो गरी पर्यावरणको लय गुञ्जिएको छ अर्थात् प्रकृति प्रेममा मानव हित हुने कुरा छ । प्रकृति कति बलशाली छ । त्यसको विपरीत चल्नु मानव अस्तित्व नै संकटमा पर्नु हो ।त्यस्तै मानवीय तुच्छताको  विषय पनि छ । मृत्युले खेदेको बेला, मृत्युले विजय उत्सव मनाएको बेला, मृत्युले अनुष्ठान गरेको बेला—एउटा अवसरको रूपमा लिने—अरूको दर्द करुण, कठिनता, विषाद, अवसादलाई बेचेर लाभ लिने निकृष्ट वर्गलाई अङ्कित गर्नु पनि यसको प्रबल थिम रहेको छ ।

सरल रेखामा गतिशील आख्यान बीच बीचमा अनुमान लगाउन नसकिने गरी कथानक मोडिन्छ, उप कथा बुनिन्छ । हो त्यतिखेर कल्पना, सपनाका माध्यम भएर ती कुरा देखाइन्छ । माइक यथार्थको सहायतामा ती कुरा प्रस्टिन्छन् । वास्तविकतामा त्यसो नहुन सक्छ । तर कथाले दिने थिम भने कथा नभई यथार्थ नै हुन्छ । जब कल्पना टुट्छ, सपना ब्युँझिन्छ—त्यसले दिन खोजेको सन्देश छोडेर पुनः मूल कथा आफ्नै बाटो लिन्छ ।

‘देशान’ आजको लागि रचिएको कृति होइन । त्यो विकलता भोगेर आएका हामीलाई फेरि त्यही विकलतामा फर्किन मन कहालिन्छ । तर भोलिको लागि, कोभिड भोगेको पुस्ता सकिएपछि भने यसले विशेष महत्व राख्ने छ । एउटा इतिहासको  प्रतिकृति हुने छ । साहित्यिक प्रस्तुति दिइएको एउटा इतिहास जतिकै हुने छ । आख्यानको आरम्भ मैले यहाँ भनिरहनु पर्दैन । त्यो हामीले भोगेकै कुरा हो । त्यसैको दुरुस्त चित्र छ । त्यस्तै मध्य र अन्त्य पनि हाम्रै भोगाइ हुन् । यति भएर पनि आखिरीको टुङ्ग्याइ भने बडो अनौठो छ । त्यहाँ घटना भन्दा पनि घटनाले दिने नेपाली मनोविज्ञानको चित्रण छ । काल्पनिकता ज्यादा छ किन्तु त्यसभित्रको मानव स्वभाव जीवन्त छ ।

लेखक केही सन्देहशील छिन् । कोभिड—१९ मान्छेको अहं विरुद्ध फैलिएको सङ्क्रमण त होइन ? उनी सोच्न बाध्य छन् । यथार्थ त भयभीत गर्ने छँदैछ । अझ भयभीत गर्ने तत्त्व छ मिडिया । उसले अतिरञ्जित गरिदिएको छ । यसो गर्दा उसलाई पनि केही लाभ नै छ । कति छिट्टै त्यो आतङ्कित समय भुलिसकेछौँ हामीले । त्यस्तो पनि थियो र भनूँ लाग्छ अहिले । मृत्युको अस्तित्व भुलिसकेछौँ । मृत्यु अवश्यम्भावी छ भन्ने पनि भुलेछौँ । त्यही भुलेर त हामीले होसपूर्ण तरिकाले बाँच्न बिर्सिरहेका छौँ । क्षुद्र लाभमा तुच्छता स्विकार्न तयार छौँ ।

त्यतिखेर लाग्थ्यो, कोभिड मुक्त समय अब कहिल्यै नआउला । पूर्व स्थितिमा हामी फर्किन सकौँला नसकौँलाको अवस्था थियो । कति निरीह भावमा परिस्थिति भोग्दै थियौँ । अनाथ मनस्थितिका हामीले थाहै नपाइ आफूले चाहेको निर्विघ्न समय अहिले भोगेका छौँ तर फेरि यसको महत्त्व बोध हामीले किञ्चित गरेका रहेन छौँ ।

‘देशान’मा मनै कोक्याउने गरी मन बिथोलिन्छ । नेपालीहरू कति विडम्बनामा बाँच्दै आएका छन् । महामारीको त्यो विक्षिप्त अवस्थालाई समेत अवसरको दृष्टिले हेर्ने, सक्दो लाभ लिने एउटा वर्ग छ । स्वयं सरकारमा बसेका जनप्रतिनिधिहरू त्यसो गर्दैछन् । आम नागरिक समाजले आफू यो देशको नागरिक हुँ भन्ने आभाससम्म गर्न सकेको हुँदैन । नागरिक अनागरिक भएर विवश परिस्थितिसँग घुँडा टेक्न लाग्छन् । मृत्युको शरण अन्तिम छनोट भएको स्विकार्छन्  । उपचार नपाएरै धेरैको चोला उठ्छ । कतिको उपचार पाएर पनि उठ्छ । केहीले आफ्नो चोला बचाउन सके भनौँ कि या उनीहरूको गन्तव्य अझै सकिएको थिएन र बाँचे ।

यस्तो बित्यास लाग्दो घडीमा अमेरिकादेखि करिना र जङ्गे थापा नेपाल आउँछन् । हल्ला फैलिरहेको छ चाइनामा कोभिड सङ्क्रमणको व्याप्ति अनियन्त्रित हुन लागेको । यस भाइरसलाई लिएर धेरै विवादहरू भए मानव निर्मित हो या प्राकृतिक भनेर । अमेरिका पढ्न गएकी करिना आफूलाई आधुनिक मानव हुँ भन्न रुचाउँछे । ज्यादै आधुनिक हुन खोज्छे । पश्चिमा जीवनशैली उसलाई बडो सभ्य लाग्छ । समताको कुरा गर्ने ऊ विद्रोही स्वभावकी छे । विचारमा बाँच्छे । औपचारिकता उसलाई मन पर्दैन । व्यवहारिक हुनु पर्छ,  व्यवहारसिद्ध कुरा मात्र गर्नु पर्छ ऊ भन्छे ।

आउँदो पुस्ता हामीले भोगेको वास्तविकता कति त नपत्याउन पनि सक्छ । कोभिडले मानिस माथि जस्तो प्रलयको रूप लियो त्यसको प्रभावले प्रकृतिलाई केही असर नगरेको बरु मानिस त्यसरी बन्धित हुँदा, बीभत्स अवस्थिति भोग्दा प्रकृति भने शान्त, निर्मल भएको छ । यसले के देखाउँछ भने प्रकृति नै मानव विरुद्ध उत्रिएको हुनु पर्छ । यता कोरोना सङ्क्रमितलाई अपराधी जतिकै ठहर्याइएको छ । गाउँ समाजबाट बहिष्कृत गरिन्छ ।

अमेरिकाबाट आएको केही समयमा करिना र जङ्गेलाई कोरोना पोजेटिभ देखिन्छ । तब त उनीहरू अपराधी जतिकै भएका छन् । अनेक आरोप लाग्छन् । उनीहरूले नै देशमा कोरोना भित्र्याएको भनी दोष दिइन्छ । उपन्यास स्वास्थ्य संस्थाको चरम बेपर्बाह भनौँ लापरबाहीप्रति पनि उतिकै सचेत छ । यस्तो दुरावस्थामा नागरिकको जीवनलाई बेवास्ता गरी आफ्नो हितमा फाइदाको नीति लिएको यो सत्य दृश्य हो । तथापि यसरी एकतर्फी दृष्टिले हेरिनु पनि राम्रो होइन । त्यस स्थितिमा डाक्टर तथा स्वास्थ्यकर्मी भगवान्देखि माथि थिए । बिरामीले उनीहरूको शरण पर्नुदेखि अर्को चयन थिएन । आफूलाई बाजीमा राखेर खटेका उनीहरूप्रति या त अस्पतालप्रति केही सकारात्मक विचार उपन्यासले देखाएको भए अझ दृश्य पूर्ण हुने थियो । कुनै पनि परिस्थितिको सकारात्मक, नकारात्मक दुवै पक्ष देखाउँदा स्रष्टालाई पूर्वाग्रही आक्षेप लगाउने ठाउँ रहँदैन । एकतर्फी विचारबाट स्रष्टा उन्मुक्त हुनेछ त्यतिखेर ।

त्यस समय कोभिड लागेर मरिन्छ भन्ने भयले—पहिल्यै आत्महत्या गरेर कति आफैँले मृत्यु रोजे । आफ्नै घरको बिरामीलाई पनि बहिष्कार गर्नु पर्ने कति निष्ठुर थियो समय । बिरामीको सम्मुखीन हुनु भनेको युद्ध लड्नको लागि हिम्मत सम्हाल्नु जतिकै कठोर थियो । खेलाँची गर्दागर्दै मानिसहरू भकाभक सिकिस्त भएका छन् । खेलाँची गर्दागर्दै मृत्यु आइपुग्छ ।

 

करिना हस्पिटलमा छे । अङ्कल, नवीना जस्ता पात्रलाई ऊ त्यहीँ भेट्छे । जङ्गे पनि अस्पतालमै छ भनिन्छ तर उसको दृश्य छैन । नेपथ्यमा राखिएको छ उसलाई । सङ्क्रमित हुनु ठूलो चुनौती त छँदैछ । तर म सङ्क्रमित होइन भनेर ढाँट्नु, अरूले चाल पाउँछन् कि भन्ने त्रास र सन्देह झन् कति डरलाग्दो छ । चर्चो चल्छ छिमेकी घरहरूमा । कोरोना लागेको घरमा निषेधित एरिया भनेर सूचना टाँस गरिएको कुरा अहिले सम्झँदा केटाकेटी खेल जस्तो लाग्छ । कस्तो पनि समय थियो त्यो ।

जसलाई विपत् पर्यो, पर्यो । संवेदना भए पनि संवेदनाहीन बनायो कोभिडले । त्यसो त संवेदना कहाँ जीवित थियो र ? कहीँ थिएन । भय, त्रास, सन्देह अनि मृत्युले सबै कुरा निमिट्यान्न पारिदियो । उता गैरजिम्मेवारपूर्ण गतिविधिमा मृत्युले यही हो अवसर भने झैँ बिस्कुन हाल्छ । अस्पतालमा लगिएका बिरामीलाई केही छिनमा मृत्यु घोषणा गरिन्छ । कालको मुखमा लग्नु जस्तै हुन्छ । तब त पश्चात्ताप मात्रै बाँकी रहन्छ । कत्रो विडम्बना ! आफ्नो मान्छे नफर्किने बाटो गइसक्यो । उद्धार त हुन सकेन नै । मृतकलाई उठाउने शव वाहन पाउनुमा कत्रो उद्धार भएको महसुस गरेका छन् ‘देशान’का पात्रहरूले । त्यो पनि पच्चीस हजार तिरेर । उता चिता किन्ने रकम छैन । यस्तो अकल्पनीय दुःखमा एउटा वर्ग ढुकेर बसेको छ त्यसलाई अवसरको रूपमा बदल्न ।  धिक्कार छ नेपाली मानसिकता र राज्य व्यवस्था तथा प्रशासनिक कार्य प्रणालीप्रति । यस्ता पात्र देख्दा बडो उदेक लाग्छ ।

यस्तै विडम्बना र धिक्कारपूर्ण स्थितिलाई पूर्णता दिन कति विश्वासिला कति अविश्वासिला कथन आउँछन् । लेखकको कल्पनामा तिनले मूर्तता पाउँछन् । कल्पनाभित्रको वास्तविकताले साँच्चै यथार्थ मनस्थितिको उद्गार स्पष्ट पार्छ । एउटा बाबुलाई हस्पिटल लगेको दिनमै मृत्यु घोषणा गरिन्छ । प्लास्टिकले बोरिएको उसको शव बुझ्दा छोराहरूलाई लागेको थियो यो कुनै बालकको शव हुनुपर्छ । सानो कदको दुब्लो थियो त्यो शव । अनेक कठिनाइमा खर्च बटुलेर छोराहरूले दाह संस्कार गर्छन् । काजकिरिया शुरु हुन्छ त्यसै बेला मरिसके भनेका बाबु घर फर्किएर आउँछन् । यस घटनाले के बताउँछ भने नेपालको परिपाटीमा नहुने कुरा पनि सम्भव भइरहेको हुन्छ । अनि सहजै हुनु पर्ने कुरा पनि असम्भव भएको बताउँछ । राम्रो व्यवस्था नभएको देशमा यस्तै विडम्बना हुने गर्छ जस्तो नेपालीले भोग्दै आएका छन् ।

‘देशान’को कथानक काठमाडौँको परिवेशमा रचिएको छ । नेपथ्यमा अरू ठाउँहरू पनि आइरहन्छन् । पात्रको स्मृतिमा ती आउँछन् । कथानकको मध्य भाग एउटा हस्पिटल त्यो टेकु नै हुनु पर्छ । स्पष्ट खुलाइएको छैन । जेहोस् त्यही अस्पतालपरिसरमा पात्र मञ्चित हुन्छन् । कथानक अघि बढ्छ । शैय्यामा मृत्यु कुरेका, कति सम्भावित मृत्यु र जीवन दुवै कुरेका पात्र पात्राबीचको संवादले घटनालाई गति दिन्छ । हस्पिटलमा तिनको दैनिकी सहज स्वाभाविक लाग्दा लाग्दै, हाँस्दा हाँस्दै मृत्युले घाँटी थिचेको छ अन्त्यमा । आख्यान बेला बेलै वैचारिक हुन्छ  । पात्र सामान्य मनस्थितिबाट उठेर बौद्धिक वैचारिक मुडमा आउँछन् सेलाउँछन् । एउटा शिक्षित सम्पन्न परिवारकी करिना अरू भन्दा बढी नै वैचारिक हुन्छे ।

अस्पतालमा शव राख्ने ठाउँ छैन सबै भरिएको कुरा पात्र बोल्छन् । जता पनि अवस्था विक्षिप्तको छ । विचलित छ । जीवन अनिश्चित छ । अस्तव्यस्त छ । शोक छ करुणा छ । त्यस अवस्थामा अन्य कुरा नगण्य लाग्छन् । भोक प्यास सबै नगण्य । बाँच्नु नै जीवनको उद्देश्य हुन्छ । आफ्नो इलाकादेखि बाहिरबाट आएको मान्छे भेटियो भने पुलिसलाई खबर गर्ने, पक्डिने, क्वारेन्टाइनमा राख्ने एउटा अभ्यस्त संस्कार बनिएको छ । कति क्वारेन्टाइनमा बस्नु पर्छ भनेर लुकेका छन्, छिपेका छन् । खोक्नु पनि एउटा अपराध गर्नु जतिकै हुन्छ । खोक्यो भने पनि बहिष्कृत हुने भय छ ।

प्रमुख पात्र करिना देशको असङ्गत, विकृत अवस्था देखेर भरङ्ग हुन्छे अनि भन्छे—अब म देशको लागि राजनीतिमा लाग्छु । देश बनाउँछु । प्रधानमन्त्री बन्छु अझ अहिलेको अवस्थालाई सम्हाल्न शिक्षामन्त्री बन्छु भन्छे । शिक्षाको महत्त्व त्यस्तै सर्व साधारणमा गुणस्तरीय  शिक्षाको पहुँच पुगोस् ऊ यही चाहन्छे । उता गैरजिम्मेवारपूर्ण सरकार भ्रष्टतामा रमेको छ । विदेशमा रहेका आफ्ना नागरिक झिकाउन ऊ आनाकानी गर्छ या त असमर्थ हुन्छ । उसको समर्थता भ्रष्टताले विलीन बनाएको छ ।

देश आफैँमा बन्धित छ । नागरिक बन्धित छन् । बन्धित चेत झन् भयावह छ । जगत् बन्धित छ । विश्व काँतर भएको छ । कति मानिसहरू गन्तव्य नभेटेर बिलखबन्द छन् । घर फर्किनेको लर्को बाटामा छरपस्ट छ । यस दुरूह अवस्थामा धनी, गरिब, शिक्षित, अशिक्षित बीचको अन्तर स्पष्ट देखिन्छ ।  तर कोभिडले त्यस अन्तरलाई केही वास्ता गर्दैन । ऊ एक समान रूपमा प्रस्तुत हुन्छ । भेद गर्न जान्दैन । भेद राख्दैन ।

आख्यानको बीचतिर पुग्दा लेखकले एउटा बेजोडको कल्पना गरेका छन् । एउटा वैज्ञानिक टिम बनाएर तिनीहरूलाई खोज अनुसन्धानमा लगाएका छन् । त्यस टिमले कोभिड कसरी उत्पत्ति भयो त्यो खोज्नु छ । कोभिडलाई दुष्टात्माको सङ्केत गरिएको छ । वैज्ञानिकहरू यस्तो यन्त्रको आविष्कार गर्न लागेका छन् । जुन यन्त्रले कोभिडसँग संवाद गर्न सकोस् । त्यसपछि थाहा हुनेछ बेला बेला यस्ता खतरनाक भाइरस किन जन्मिन्छन् र मानिसलाई दुःख दिन्छन् भन्ने कुरा । त्यसो गर्न सके सम्पूर्ण जगत्कै उद्धार हुने कुरामा करिना विश्वस्त छे । वैज्ञानिक टिमको प्रमुख भएकी उसको योजना महान् छ ।

त्यस वैज्ञानिक टोलीले निष्कर्ष निकाल्यो कोभिड—१९ मानवकै गतिविधिको प्रतिफल हो । मानिस धर्तीमा आफ्नो अस्तित्व मात्र देख्छ अरू केही देख्दैन । मानिसको अतिवादले नै यो सब भइरहेको र प्रकृतिको सत्तालाई नस्विकार्दा भोग्नु परेको छ यो महासङ्कट । प्रकृति जब अस्तित्व सङ्कटमा पर्छिन् अनि विनाश हुने पालो मान्छेको आउँछ ।

‘देशान’ले यसरी महामारीको वस्तुस्थिति मात्र देखाउन खोजेको छैन । मानव मनको प्रस्तुति दिनु अर्को प्रधान लक्ष्य रहेको छ । अझ नेपालीको निकृष्ट मनस्थिति चित्रण गर्नु अर्को ध्येय छ ।

प्रकृति, भाइरस, चराचुरुङ्गी, कवि र वैज्ञानिकहरूको संवाद गराएका आख्यानकार थापाको कल्पना मलाई यहाँ गजब लाग्छ । कल्पनाबाट बाहिरिँदाको यथार्थमा उता करिना आजभोलि गर्दागर्दै शिथिल भएकी छ । आईसीयू वार्डमा उसलाई सारिएको छ । मध्यम निम्न वर्गका अङ्कल पात्र हस्पिटलमै भेटिन्छन् । एक दुई दिन अघि नै उनलाई आईसीयूमा पुर्याइएको थियो । बिरामीको साथमा घर, परिवार, आफन्त कोही छैन । ऊ एक्लै कोभिडसँग लड्छ । लड्दा लड्दै हारेर मर्छ । ती अङ्कल पनि मर्छन् बडो दर्दनाक स्थितिमा उनको अन्त्य हुन्छ । उनको अनुपस्थितिमा रिक्तता बोध गर्छे करिना । अनि भयभीत हुन्छे मरणको पालो अब आफ्नै हो भनेर । धर्ती नै एउटा विशाल चिहानघारीमा रूपायित हुँदैछ ।

मृत्युको दैलोमा पुगी मृत्युलाई हराएर करिना पुनः साबिकको स्थितिमा फर्किन्छे । तर दुःखको कुरा उसले खुशी सुनाउने मान्छे पाउँदिन । त्यसै निमेष जीवनको उत्सव सेलाउँछ । केही दिनदेखि घरबाट फोन आउन छोडेको छ । बाबु आमालाई फोनकल गर्छे सम्पर्क हुन सकेन भन्छ । उसको प्रेमी करनको न फोन खबर आउँछ न फोन लाग्छ । ऊ निराश हुन्छे । मृत्युले भन्दा अज्ञात भयले बढी बिथोल्न थाल्छ । उसको स्वास्थ्य स्थिति बारे चासो दिने कोही हुँदैन ।

मृत्युलाई लघारेर ऊ घर फर्किन्छे । मनमा अनेक सन्देह छ । गेटमा पुग्दा विशाल पहाडबाट खसेको अनुभव गर्छे । ठूलो ताला झुण्डिएको छ गेटमा । हस्पिटलमा उसले फोन खबर किन पाइन ? त्यतिखेर नै पाठकले अनुमान लगाउँछ निश्चय उसका बाबु आमा सङ्क्रमित छन्, हस्पिटलमा छन् । सिकिस्त हुनुपर्छ साधारण स्थितिमा हुँदा हुन् त छोरीसँग सम्पर्कमा रहने थिए ।

त्यसपछि ऊ करनको घर पुग्छे उसको प्रेमीको घर पनि एकतमासले टोलाएको छ । करन भेटिँदैन । उसकी आमा मात्रै छिन् तर पहिलेकी जस्ती होइन । रुग्ण, मानसिक विचलनले सद्दे नभए जस्ती । ती महिलाले करिनालाई सबै यथार्थ बताउँछिन् । बाबु आमा, प्रेमी करनसँग करिनाको अब कहिल्यै भेट हुने  छैन । आख्यानमा यो सब कुरा वास्तविक नै लाग्छ । किनकि यो सत्य जगत्कै सत्य थियो । तर ‘देशान’मा त्यस घटनाबाट जति संवेदना पैदा हुनु पर्ने हो त्यति हुन सकेको छैन ।

कथा यतिमै अन्त्य हुँदैन । आखिरीको कथन बडो रहस्यमय बनाइएको छ । त्यसमा घटनाको वास्तविकता भन्दा पनि मानव चरित्रलाई चित्राङ्कन गरिएको—मनोविज्ञान एकदमै अकाट्य लाग्छ । करिना र करनकी आमा पशुपति गएर काजकिरियाको विधानमा लाग्छन् । त्यसपछि कथा टुङ्गियो भन्ने लागेको थियो । तर होइन रहेछ । करिनालाई भेट्न मन्त्री अनि उसको सल्लाहकारसँगै यमराज भन्ने पात्र पशुपति पुगेका छन् । शोकसँगै दुःख व्यक्त गर्छन् । उनीहरू करिनालाई भेट्न किन यसरी आएका हुन् ? उत्सुकता हुन्छ । त्यो उत्सुकता पछि खुल्छ ।

करिनाको घर लुटिएको छ । ती अघिका पात्र तिनै लुटेराको मिलेमतोमा करिनाको मनस्थिति बुझ्न पशुपति गएका हुनुपर्छ । महामारीको आड लिएर लुटपाट गर्ने अर्को पक्ष सक्रिय भएको उपन्यासले देखाएको छ । अन्त्यमा खुल्छ अघिको यमराज भनिएको पात्र कुनै समय करिनाकै घरको हिसाब किताब राख्ने एक कामदार रहेछ ।

भरे करिनाको आफ्नो भन्नु कोही हुँदैन । केही रहँदैन । लुटेराहरूले अनेक प्रपञ्च रचेर घर लिलाम गरिदिन्छन् सस्तो मूल्यमा । उसलाई अमेरिकादेखि आएर छरछिमेकमा कोभिड सङ्क्रमण फैलाएको—भाँती भाँतीको अभियोग लाग्छ । अचेल उसको नाम फेरिएको छ सबैले कोरोना भनेर चिन्ने गर्छन् । अन्त्यमा मृत्युको सङ्घार पुगेर फिर्ती भएकी करिना कोभिडलाई परास्त गरेर बाँच्नु नै अभिशाप भएको महसुस गर्छे ।

प्रकारान्तरमा भन्नु पर्दा नेपालको स्थितिमा बाँच्नु नै एउटा अभिशाप  हुन लागेको बिम्बात्मक थिम कथाले बोलेको छ । सरल भाषा शैलीको ‘देशान’मा यथार्थ भित्रको कल्पना र कल्पना भित्रको यथार्थ एकाकार भएको छ । थिम सबल छ । लेखकीय ढाँचामा सपना र कल्पनाले कथनलाई विश्वासिलो बनाउन मद्दत गरेका छन् ।

एक पठित, सकारात्मक चेत भएकी करिनाको त्यो दुरावस्थामा भूपि शेरचनको कविता म अनायासै गुनगुनाउन पुग्छु कथाको अन्त्यसँगै—

मैले पिएकोमा रिसाएका साथीहरू

पिएर त हेर पिउन झन् गाह्रो छ

मरेर शहीद हुनेहरू

जिएर र त हेर जिउन झन् गाह्रो छ ।