साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘लाई–सी’मा डायास्पोरा, साइबर संस्कृति र यौनमनोविज्ञानको त्रिकोणात्मक सम्बन्ध

ठूला ठूला सहरका मानिस सुरा र सुन्दरीको खुल्लमखुल्ला व्यापार गर्न  उत्साहित र निर्लज्ज हुन्छन् रे ! दाजु गुरुङका कथामा पनि यही कुरा छ । हङकङ निस्फिक्री छ यौनका विषयमा, त्यसमा नेपाली पनि मिसिएका छन्  । सस्ता नेपाली कामदार खपत गर्ने अवैधानिक भाले रेष्टुरेन्टप्रति युवायुवतीको आकर्षण व्याप्त छ । नेपालीकै सेरोफेरोमा सञ्चालित त्यस्ता रेष्टुरेन्टमा, टाढादेखि यौन बेच्न र यौन किन्न जाने, घर परिवार बिर्सिएर बेपत्ता हुने त्यो मायावी जगत् अत्यन्तै विचित्रको छ ।

Chovar Blues Mobile Size

दाजु गुरुङ भनेपछि म टाँकीका फूलहरू सम्झिने गर्छु, जुन कथासङ्ग्रहमार्फत् मैले उनलाई चिनेकी थिएँ । उच्च कलात्मक चेतनाले प्लावित उनका अठारवटा कथाहरूको सँगालो  लाईसी त्यही प्रभावले आकृष्ट भएर पढेँ ।

दुई दशकदेखि उनी हङकङमा बस्दै आएका छन् । व्यस्त जीवन पद्धति, निमेष निमेषको हरहिसाब राख्नुपर्ने समयको तीव्रतासँगै त्यस दिन उनको अभिव्यक्तिले म विस्मित भएँ, “दिनभर काममा व्यस्त हुनुपर्छ । बेलुका फर्किँदा थकानले गलिएको हुन्छ । मेरा यी दुवै कृति (टाँकीका फूललाईसी) फुर्सदमा रचिएका होइनन् । सुविस्ताले घरमा बसेर आजका दिनसम्म मैले केही सिर्जना गरेको छैन । काममा जाँदा डायरी र कलमसँगै लैजाने गर्छु । एक घण्टाको ब्रेक टाइममा साथीहरूले विश्राम लिएका हुन्छन्– तृष्णा मेटाउने, रमाइलो गर्ने यस्तै उस्तै । त्यही समयमा मचाहिँ साहित्यिक प्यास शमन गर्न सिर्जनामा रमाउँछु । पदपथमा होस् या ट्रेनमा अनि कर्ममा भुल्दा कथाका प्लटहरू म सिर्जिरहेको हुन्छु, मन मस्तिष्कमा ।”

वाउ ! उनका संवादले म नतमस्तक भएँ । त्यसै क्षण यो कुरा साहित्य सर्जक तथा प्रिय पाठक सम्पूर्णलाई  सुनाउनु पर्छ भन्ने लाग्यो । निश्चय साहित्यका अनुरागीलाई यो एक प्रेरक भनाइ हुन सक्छ । तर यो अठोट उनलाई सुनाइनँ । बरू जिज्ञासित भई सोधेँ, “त्यस्तोमा लेख्न के सम्भव छ ? बाधा हुँदैन ?”

“मनोवाञ्छा ठूलो कुरा रहेछ । त्यसैले सम्भव भयो । लेख्दा अब त भीड रुचाउने भएछु । त्यस्तैमा सिर्जना गर्दा आनन्द लाग्छ ।”

त्यस निमेष मैले आफैँलाई धिक्कारेँ । पर्याप्त समय भएर पनि मैले केही गर्न सकेको छैन भन्ने हीनभाव पैदा भयो । जटिलतालाई स्वीकार्दै यसरी वाङ्मय सेवामा लाग्ने ज्ञात-अज्ञात सम्पूर्णमा मेरो नमस्कार छ । पराई भूमिमा अनेक हन्डर खाँदै पहिचान प्राप्तिको निम्ति अनि जीविकाको लागि सङ्घर्षरत् अनेक स्रष्टाप्रति मेरो शिर अनायासै झुक्यो, जो नेपाली वाङ्मयका अमूल्य सम्पदा हुन् । उनीहरूकै सिर्जनाले डायास्पोरिक साहित्यको एउटा नौलो तर सामयिक आयाम थपिएको छ ।

sagarmani mobile size
अनिता पन्थी

चीनको स्थानीय भाषा लाई–सीको नेपाली रूपान्तरण– उपहारमार्फत् गुरुङले हङकङै उठाएर नेपाली वाङ्मयलाई  सुम्पिएको आभास हुन्छ । डायास्पोरिक साहित्यको गतिलो  सौगात । उनको भाषामा केही थपेर भन्नुपर्दा– अलिकति रहरमा अलिकति कहरमा भूगोलका विभिन्न सीमारेखाहरूमा, छातीभरि देशको नक्सा बोकेर सपना खोज्नेहरूको कथा हो यो, सर्जक गुरुङले जुन कृति उनीहरूकै लागि समर्पण गरेका छन् । स्वयम् उनी एक डायास्पोरिक जीवन व्यतीत गर्दै आएका छन् । पाइला पाइलामा भेटिएका छुटिएका तिनै पात्रका अस्थिर कर्म, अस्थिर चरित्र, अस्थिर मनस्थिति, अस्थिर बसोबास, अस्थिर सम्बन्धका कुरा उनले गरेका छन् । तिनैको जीवन बचाइलाई यहाँ चित्रण गरिएको छ । देश छोडेर कहीँ नगएका हामीलाई यस्ता सङ्कटपूर्ण विषय नौला लाग्छन् ।

संस्मरणात्मक निबन्ध र झिनो कथानकको मिश्रित रूप नै उनका कथाका प्रमुख विशेषता हुन् । छोटा वाक्य, अनुप्रास मिलेका, विचलनयुक्त भाषिक गठनमा कवितामय लाग्ने प्रस्तुति, पात्र पात्राहरू कवितामा संवाद गरेको आभास हुन्छ । हङकङमा बस्दै आएका साउथ एसियन तथा अन्य मुलुकका नागरिकका सूक्ष्म मनोविज्ञानमा कथा नवीन ढाँचाका छन् । अझ बढी हाम्रा दाजुभाइ दिदी बहिनीका दैनन्दिनका क्रियाकलापहरू उल्लेख्य छन् । तिनका सम्बन्धहरू खण्डित छन्, चरित्र विचलित छ । स्थिरत्व किञ्चित छैन । उग्र मनस्थितिले परिचालित छन् । स्वतन्त्रताको उच्च उपभोगमा क्षणिक सम्बन्धहरू जोड्दै फुकाल्दै एकपछि अर्को रोज्दैछन् ।

त्यस्तै नवीन जीवनको खोजीमा नयाँ गोरेटाहरू पहिलिन्छन्, हराउँछन् । चुनौतिहरू उस्तै दुरूह छन् । जन्मभूमि र कर्मभूमि, उनीहरू कतैका पनि हुन सक्दैनन् । सङ्घारमा घस्रिएर अघि बढ्न खोज्छन् । यद्यपि कहीँ पुग्दैनन् । उच्च मनस्तापले अतीत स्मृतिहरू धमिलिँदै जान थाल्छन् । मान्दै आएका परम्परा, धर्म, संस्कृति चाडपर्व बिरानिँदै जान्छन् । यता नवभूमिको संस्कृतिसँग भिज्न फेरि सकेका पनि हुँदैनन् । विस्मृतिको डिलमा म पात्र र उसको परिवार चाहेर पनि घरदेश फर्किन सकेको छैन । दसैँ नमनाएको धेरै भयो । काम नै जीवन हो । जिउनु भनेकै काम हो । यही सिद्धान्तले यन्त्रवत् चलेका छन् । कर्म उच निच जस्तोसुकै होस्, बस् गर्नु नै छ ।

नाम तथा सर्वनाम कम्ती प्रयोग गरिएको, गुरुङको मितव्ययी भाषा सुखकर छ । यद्यपि पात्रहरूको कष्टकर बचाइ दुःखलाग्दो छ । कथानकभन्दा पनि प्रस्तुति कलाको अध्ययनमा मैले बढी समय लगाएछु ।

विश्वमा फैलिँदै गएको साइबर संस्कृति र त्यसले पारेको प्रभाव कृतिमा ज्यादा छ । भ्रान्ति तर यथार्थ भन्नु जस्तो एउटा जगत् (साइबर) मा निकट भएका, दिग्भ्रमित पात्रपात्राहरू अशान्त छन् । क्षणको मिलन क्षणको विछोड छ । साइबर संस्कृतिले मानिसको विश्वसनीयता गुमाउँदै लगेको छ । चिसो हावामा त्यही अवस्था सिर्जिएको छ । जहान छोराछोरीले सम्पन्न एक पुरुष पात्र फेसबुकमा भेट भएकी युवतीसँग आशक्त हुँदै जान्छ । उसैको भरोसामा इजरायलदेखि युवतीले हङकङ आउने निर्णय गरेसँगै, ओझेल पर्छ छोराछोरीको बाबु । एउटा प्रतिनिधि घटना हो, यो । अहिले प्रायः सम्बन्धहरू यस्तै छन् । पानीका फोका जस्तै, उतिनखेरै प्याट्ट फुटिहाल्छन् ।

अधिकांश कथामा म पात्र र नारी चरित्रले विगतमा फर्किएर गरेका संवाद छन्– घात प्रतिघातका । लोग्ने स्वास्नीबीचको अस्थिर साइनो, स्वार्थ प्राप्तिका निम्ति गरिएका प्रेम अभिनयहरू बडो घातक छन् । निर्गन्ध रहर  र कान्छीमा यही चोटका कुरा छन् । पुरुष प्रताडित नारीहरू अस्तित्वको खोजीमा कुदेका छन् ।

बार, रेष्टुरेन्ट, मद र यौनको रङ्गमञ्चमा पात्रहरू जटिल मनोकाङ्क्षाले तानिएका छन् । मदिरा किनिएको छ, बेचिएको छ । त्यस्तै अझ साधारण तवरले यौनको खरिदबिक्री भएको छ । एक युवती लोग्नेले दिएको घातक प्रहार भुल्न भिनाजुको साथमा मादक रात छिचोल्न चाहन्छे । मदहोसमा कठिन दर्द भुल्न खोज्छे अनि पलायनमा रमाउँछे ।

त्यहीँका स्थानीय तथा अन्यत्रबाट आएका सुन्दरीसँग प्रेम शोषण गरेर, आर्थिक लाभ लिएर भूमिगत हुने नेपाली युवाहरू त्यतिकै छन् । त्यो बदमासीमा अनायास म क्रुद्ध हुन्छु । बिचरा ! कान्छी !! हाम्रै दाजुभाइसँग प्रेम गरेको कारण आफूलाई कान्छी भन्न मन पराउँछे । किन्तु उसले धोका दिइसकेको छ ।

भूमण्डलीकरणले विखण्डित परिवार भाग्यको खोजीमा छिन्नभिन्न भएका छन् । पराजयमा क्याप्टेन वीरबहादुरका  बूढाबूढी एक्लै हुनुपर्दा उदेकिएका छन् । आफू र स्वयम् समय नै पराजित भएको महसुस गर्छन् ।

यतिखेर विश्व नै एउटा अस्थायी शिविरमा रूपान्तरित भएको छ । मानिसको बास उखेलिएको छ, स्थिरत्व कत्ति छैन । राष्ट्रिय, क्षेत्रीय, भाषिक, धार्मिक सीमारेखाहरू भत्किएका छन् । अब जातले, धर्मले, भूगोलले अरू परम्पराले मानिसलाई बाँध्न नसक्ने भएको छ । पुरानो परिचय विलोप भएको छ,  नयाँ परिचय कायम हुन कसेको छैन । यस्तो अवस्थितिमा ठूलो आकाङ्क्षा  र उति नै विवशतामा पात्रहरू सुनिश्चित भविष्यको खोजी गर्दै भौँतारिएका छन् । बडो विचित्र लाग्छ त्यो मनोविज्ञान र स्वयम् समयको आँधी  पनि । देश छोड्ने क्रम बढ्दो छ । त्यसो त यो हाम्रो मात्रै नियति होइन । समृद्धिले तृप्त भएका मुलुकका नागरिकको अवस्था पनि अहिले यस्तै छ, अस्थिर ।

शिक्षित अशिक्षितहरू कति आफैँ नयाँ मुलुकमा हाम्फालेका छन्, कतिलाई दलालीले पुर्याएका छन् । नौलो परिपाटीमा अनेक व्यवधानले समायोजित हुन नसकेकाहरू अस्तव्यस्त भई शरणार्थीमा दर्ता भएका छन्, कति स्वेच्छाले शरणार्थी भएका छन् । उता यस्तो शरणार्थी समूहलाई मद्दत गरेर क्रिश्चियन धर्म सम्प्रदायले धार्मिक व्यापार गरेको छ ।

देश बेगरका, परिचय हराएका, अरक्षित र हीनताबोधले गलेका मानिसको दर्द रिफ्युजीमा बडो कारुणिक लाग्छ । भाषाकै कारण अवसर वञ्चित हुनुपर्दाको पीडा फेरि अर्को छ । अपमानित र दोस्रो दर्जाकी नागरिक सुषमा हङकङमा सहजता खोज्दाखोज्दै हारेर पुनः नेपाल फर्किएकी छ– रिफ्युजीकै ट्याग भिरेर ।

मिश्रित भाषा संस्कृति र जीवनका अनेक सिलसिलामा डायास्पोरिक मनोविज्ञानको चित्रण गर्न लेखक गुरुङ सफल देखिन्छन् । लोग्नेबाट परित्यक्ता रोजा त्यहाँ भन्छिन्, “बिरानो ठाउँमा आफ्ना छन् । तर छैनन् पनि । आफ्नो लागि आफैँ सबैथोक बन्नुपर्दो रहेछ परदेशमा ।”

ठूला ठूला सहरका मानिस सुरा र सुन्दरीको खुल्लमखुल्ला व्यापार गर्न  उत्साहित र निर्लज्ज हुन्छन् रे ! दाजु गुरुङका कथामा पनि यही कुरा छ । हङकङ निस्फिक्री छ यौनका विषयमा, त्यसमा नेपाली पनि मिसिएका छन्  । सस्ता नेपाली कामदार खपत गर्ने अवैधानिक भाले रेष्टुरेन्टप्रति युवायुवतीको आकर्षण व्याप्त छ । नेपालीकै सेरोफेरोमा सञ्चालित त्यस्ता रेष्टुरेन्टमा, टाढादेखि यौन बेच्न र यौन किन्न जाने, घर परिवार बिर्सिएर बेपत्ता हुने त्यो मायावी जगत् अत्यन्तै विचित्रको छ ।

डायास्पोरिक र साइबर संस्कृतिका दृष्टिले गुरुङका कथालाई जति अध्ययन गर्न सकिन्छ त्यति नै अझ बढी यौनमनोविज्ञानका दृष्टिले हेर्न सकिन्छ । अतृप्त चाहना र वासनाले विचलित नरनारीका कथा हुन् यी । विकृत मनोदशाले पात्रहरू अशान्त छन् । यौन र मदिराको सहायताले स्वअस्तित्व बचाउन चेष्टारत् छन्  ।

गैरकानूनी रूपमा बस्दैआएका नेपालीले काम गर्ने भोले रेष्टुरेन्टको प्रधान विशेषता भनेकै भोगविलासको खरिदबिक्री हो, “… सुटुक्क बसेर खान पल्केकाहरू तानिन्छन् साना भान्साघरमा । समय तातिँदै गएपछि नाचघर । अनि नाचघर तात्तिएपछि भाले रेष्टुरेन्ट । खाएपछि नेपालीलाई भाले डान्स नगरी हुँदै हुँदैन, तात्तिएर सेलाउनका लागि । अनि भाले डान्सको उत्सर्गमा पुलिस इन्ट्री । तब सुरु हुन्छ खाने नाच्ने नचाउनेको भागाभाग । तर पनि खै कसरी कसरी चलिरहेकै छन् दुलादुलामा भाले रेष्टुरेन्टहरू (पृ–१०१)।”

काम, वासना र अनन्त उत्कण्ठाले निर्देशित पात्रको मनोलोक बडो सार्थक ढङ्गले चित्रण गरिएको छ । रातो भाले त्यही अतृप्त क्षुधाको दृष्टान्त हो, जहाँ नयाँ नयाँ पात्र भेटिन्छन्, छुटिन्छन्, फेरिन्छन् । अर्को भाषामा भन्नुपर्दा असन्तुष्ट तृष्णाको बाढ हो त्यो रातो भाले ।

नेपालमा घटित सशस्त्र द्वन्द्वको भय, त्रास, आतङ्क र बीभत्स मृत्युको वर्णन गरिएको कामेरड बाहेक अरू सम्पूर्ण कथा हङकङक भूमिमा रचिएका छन् । मिलिसियाको सेना महेश पछिल्लो समय क्रान्तिको दुष्प्रभावले खिन्न भएको छ । आफूलाई कामरेड भन्न ऊ किञ्चित मन पराउँदैन । महेशसँगको संवादमा लेखकले हङकङमा स्थगन भएको सुपुर्दगी कानुनविरुद्धको लामो आन्दोलनलाई स्मरण गरेका छन् ।

बेखुसी कथामा उच्च प्रविधिका साथ इटालियन, चाइनिज, नेपाली, फिलिपिनी, ब्रिटिस, पाकिस्तानी, थाई, नाइजेरियालगायत मुलुकका कामदार टनल निर्माणमा सँगै जुटेका छन्, लाग्यो विश्व कति साँघुरो भएछ । संसारको कुनै पनि ठाउँ पुग्नुभनेको घरको आँगनजतिकै भएको छ । सामुद्रिक सुरुङ विस्तारमा अचानक आग्लागी हुँदा लेखक र उनका साथी साइमनले पुनर्जीवन प्राप्त गरेका छन् । त्यही खुसीयालीमा उत्सव मनाउन नाइट क्लब धाउँछन् । आँखैअगाडि साथीहरू आगोमा दन्दनाएका दृश्य भयङ्कर डरलाग्दा छन् ।

लाई–सी पढेपछि हङकङप्रतिको मेरो झिलीमिली र सौन्दर्य केही खस्कियो । ठाउँठाउँमा वर्णित रङ्ग उडेका, फुस्रा, पुराना बिल्डिङहरू, भीडभाड अनि मुसाको दुलो र गौँथलीका गुँडजस्ता बिम्ब प्रयोगले हङकङको आर्कषणमा ह्रास आएको छ । मेरो कल्पनाको हङकङ अर्कै थियो ।

नेपाली तथा साउथ एसियनलाई त्यहाँका स्थानीयले हेर्ने दृष्टिकोण मलाई राम्रो लागेन । हीन भावले हेर्दा रहेछन् । असभ्य तथा पिछडिएका नेपाली मूलका नागरिक भनेर उपेक्षा गर्दा, यो मन दुखी भयो । त्यसो त हङकङमा बस्ने हाम्रा मान्छेले त्यस्तै प्रभाव पारेका होलान् । अलिक सभ्य र अनुशासित भइदिए हुन्थ्यो नि, जस्तो लाग्यो ।

शीर्षक र उपशीर्षकमा विभाजित सेतो खाममा राष्ट्रियता हराएका अनागरिक, परिचयविहीन आमा छोरीको दैनिकी, द्रवीभूत बनाउने खालको छ । हृदयस्पर्शी छ । हाम्रा मस्तिष्कले सोचेभन्दा फरक किसिमका कथा बेथाहरू लाई–सीमा पढ्न सकिन्छ । हाम्रो सोचाइ तथा परिपाटीमा अझै पनि यौनकर्मी भन्नाले महिलालाई लिइन्छ । त्यसको विपरीत कानूनले नचिनेको मान्छेमा पुरुष यौनकर्मीको दुर्बोध्य अनुभवहरू नौला छन्, “काम नै यस्तो, पिइदिनु पर्छ अरूको खुसीका लागि । खुसी बनाउन पिउँदा पिउँदै थाहै नपाई पिउने भइसकेछु । … बैँस बेचिरहेछु समयको दरभाउमा । त्यही बेचिने काम सकेर … (पृ–२०६)।”

प्रायः कथामा रङ्ग, रङ्गहीन, रहर, कहर, गन्ध, निर्गन्ध, जोस, बेहोस्, अतृप्ति, बैँस, समय र जिन्दगीलगायतका यस्ता केही शब्दहरू आवृत्ति भइरहन्छन् । यिनै शब्दले अर्थ्याएका छन् जटिल भोगाइ र चुनौतिपूर्ण बचाइ अनि दैनिकीहरू । लाचार र असहाय परिस्थितिले जीवन परिभाषित छ, “एउटा यात्रा हो, एउटा जात्रा हो जिन्दगी । जे भेटिन्छ जे गरिन्छ ती सबै सपना हुन् जिन्दगीका । … कति कठिन रहेछ अभिनय गर्न (पृ–२०६)।”

साइबर संस्कृतिमा मौलाएको अप्राकृतिक मनोवाञ्छाको अर्को उदाहरण हो हिमाली गुराँस डटकम । यस कथाकी पात्र हनी विवशताकै कारण अपरिमेय स्वतन्त्रताको उपभोग गर्न पुग्छे । अझ भनौँ कठिन अवस्थितिले उसलाई स्वतन्त्रताको दुरुपयोग गर्न बाध्य गराउँछ । सस्त्याउँछे आफ्नो अमूल्य बचाइलाई । त्यसैको लाभ लिन्छ एउटा अधबैँसे पुरुष । अतृप्त कामवासना फेरि कति अभीशप्त छ नि ! “यहाँ युवा पुस्ताभन्दा बूढाहरू बढी मात्तिएका छन्, … लौरो टेक्न लागेकाहरू गर्लफ्रेण्ड लिएर हिँड्छन् गाँठे (पृ–२२२)।”

पुस्तक पढिसक्दा भारी मनले म कृतकृत्य भएँ । पृथक् शैली र त्यस्तै पृथक् डायास्पोरिक भोगाइहरू आमपाठकलाई नवीन लाग्ने खालका छन् । निपुण शिल्पीमा कथावस्तु अरू बढी रुचिकर छन् । कुरुप अनि त्यस्तै निरीह सत्यले विद्यमान अवस्थालाई बुझाएको छ । वैश्वीकरणको आँधीमा उड्दो वर्तमानलाई बुझ्न लाईसीले केही सहयोग गर्ने छ । धर्म, संस्कृति, भाषा, परम्परा, राष्ट्रियताका सीमारेखाहरू भत्किएर अहिले विश्व नै एउटा ग्राम भएको छ । डायास्पोराकै प्रभावले यो सब भइरहेको छ । अबको विश्वलाई एउटा शिविरको रूपमा हेर्न सकिन्छ । स्थिरित्व कहीँ छैन । परिचयको सङ्कट बढ्दो छ । असहाय र असुरक्षाको बीचमा अस्तित्वको खोजिगर्दै कैयन् जीवनहरू समाप्त भएका छन् । प्राचीनता टुट्दै गएको छ । यतिखेरका मानिसले जन्मभूमिको रीतिरिवाजलाई वशमा राख्न पनि सकेका छैनन्, त्यस्तै कर्मभूमिको चलनचल्तीलाई आफ्नो बनाउन पनि  सकिरहेका छैनन् । अलिकति यताको अलिकति उताको मिश्रित संस्कृतिमा ऊ बेग्लै देखिन्छ । ठिमाहा भनौँ न अझ । यसरी निर्मित तेस्रो संस्कृतिले स्थानीयतालाई अतिक्रमण गर्दैछ । हेर्नु न कस्तो विरोधाभास समय छ भने, एकतर्फ अनुकरण र एकरूपता व्याप्त छ । फेरि त्यसैमा बहुलता कस्तो विचित्र लाग्ने कुरा ।

लाई–सीभित्रको जटिलता प्रतिदिन बढ्दैछ । यो विचारणीय कुरा छ । डायास्पोरा एउटा यस्तो अधुनातन जीवन पद्धति रहेछ जति बोध गर्दै यो उति दुरुह लाग्ने । फेरि त्यति नै स्वाभाविक पनि । कदाचित् निर्मुल नहुने एउटा बिमार (डायास्पोरा) लागेको छ वर्तमान समयलाई । सृष्टि रहुन्जेल अब यो रहिरहने छ । द्वापर युगका कृष्णको विश्वरूप यही हो जस्तो लाग्छ । भरोसा नभएको, जीवन र मृत्युको अस्थिरता अनि क्षणिक सत्यताबारे उनले दिएको अभिव्यक्तिमा यतिखेर अरू कठिनाइहरू थपिएका छन् ।

अस्थिरता, मिश्रितता, क्षणिकता, दुरूहता, एकरूपता, बहुलता, परिचयहीनताको पर्याय नै डायास्पोरा हो, मैले यसरी बोध गरेँ । यस विषयमा म जति घोत्लिँदै गएँ त्यति नै विचलित भएँ । गृहदेशमै बसोबास रही  आएका, परिचय नहराएका मानिस पनि एककिसिमले डायास्पोरिक जीवन भोग्दै छन्, यतिखेर । प्राचीनतालाई त्याग्न पनि ऊ सक्दैन र पछ्याइरहन पनि असमर्थ छ । विश्वासै गर्न नसकिने तवरले उसको भोगाइमा विचलन आएको छ, परम्पराहरू विखण्डित भएका छन्, साइबर संस्कृतिले भ्रान्ति र स्मृतिको बीचमा नयाँ गोरेटो निर्माण गरेको छ । हाम्रो बचाइ अविश्वासिलो हुन थालेको छ ।

ग्लोबलताले पारेको प्रभाव, अनिश्चित बसोबास, विचलित मनस्थिति, दुर्बोध्य भोगाइ, हीन मनोग्रन्थीले उत्पन्न गरेको मनोजगत्, असीम उन्मुक्ति र अन्त्यमा कामवासना अनि मदको उत्कर्षमा पात्र पात्राहरू चरितार्थ भएका छन् । तिनै कुराले परिवेश र समयलाई अर्थ्याएका छन् । यहाँ पुरुष प्रताडित नारीपात्रको केन्द्रियतामा रचिएका कथा बढी छन् । नारीप्रति लेखक संवेदनशील देखिन्छन् ।

दुःख, कष्ट र हैरानीले अशान्त भएका चरित्रहरू आफूलाई भुल्ने चेष्टामा मदको सहारा  लिएका छन् । वाइन र ह्विस्कीसँगै यौवन पिएका छन् । उदात्त हृदयले खुसी खोज्दै जीवनदेखि अरू भड्किएका छन् । चुनौतिसँग भिड्दाभिड्दै कति हारेका छन्, कति भागेका छन्, लुकेका छन् । नैतिक दायराबाट उन्मुक्त भएका छन् ।

त्यस्तै स्थानीय भाषा प्रयोगले हङकङको सुवास नेपालमा भित्रिएको छ जस्तो कि– सिन्–सान, लेङ–लोई, म्काई, चौ–सान, फे–चाई, लाप्साप् ।

यीबाहेक अरू दृष्टिकोणले पनि लाईसीलाई हेर्न सकिन्छ । विसङ्गत परिस्थिति व्याप्त हुँदा विसङ्गतवादी दृष्टिले, पुरुष परित्यक्ता नारीहरूको सङ्घर्षमा नारीवादी दृष्टिले, अस्तित्वको लडाइँमा अस्तित्ववादी ढङ्गले बोध गर्न सकिन्छ । समाजको यथार्थता उल्लेख्य हुँदा यथार्थवादी त यसै पनि भयो । यी सबैको मिश्रित रूप नै उत्तरआधुनिक युग हो । त्यसैका हाँगाबिँगा हुन् साइबर र डायास्पोरा संस्कृति ।

आगामी दिनमा यस्तै समयका डोबहरू सँगाल्दै जाऊन् स्रष्टा गुरुङलाई अग्रिम शुभकामाना सहित रोकिन चाहन्छु ।

लेखक परिचय
अप
अनिता पन्थी
प्रतिक्रिया
Loading...