श्याम प्रधान साहित्यिक क्षेत्रमा परिचित नाम हो । नेपाली साहित्यमा हिन्दीबाट अनुवाद गरिएका निकै कृति आइसकेका छन् । त्यस्तै एक महत्त्वपूर्ण कृति अनुवाद भएको छ डा. राजेन्द्रप्रसादको आत्मकथा । संसारमा कमै मात्रामा त्यस्ता व्यक्तित्वका आत्मकथा लेखिन्छ जसको जीवनको प्रेरणाबाट संसारले धेरै कुराको अनुभूति गर्न पाऊँ त्यस्तै एक विशिष्ट व्यक्तित्व हुन् भारतका राष्ट्रपति डा.राजेन्द्रप्रसाद ।

नेपाली भाषा साहित्यमा प्रकाशित आत्मकथा कित्तामा अर्को एउटा पुस्तक आइपुगेको छ जसले सङ्घर्षका कुरालाई  सरल रूपमा प्रस्तुत गरेको छ ।‘आत्मकथा डा. राजेन्द्रप्रसाद’ हुन त आत्मवृत्तान्त जीवनको पुस्तकजस्तै अनुभव र अनुभूतिको निचोड अथवा सार हो ।

आत्मकथा डा. राजेन्द्रप्रसाद

आत्मकथा डा. राजेन्द्रप्रसाद

जन्मपछिको निरन्तरता, जीवनको भूगोल कहाँबाट सुरु भएर कसरी अन्त्य हुन्छ अन्दाज गर्न मुस्किल छ । त्यस्तै भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसादको जीवनी  त्यस्तै  घटना हो जसले सङ्घर्षका कुरालाई सरल र सहज रूपमा अभिव्यक्त भएका छन् ।
नेपाली साहित्यमा जीवनी र आत्मवृत्तान्तको लेखन परम्परा त्यति पुरानो होइन । आत्मकथा, मेरो कथा जस्ता शीर्षकमा आत्मजीवनी लेखिएका छन् ।

नेपाली साहित्यमा आत्मवृत्तान्तका नामले प्रकाशित भएको कृति त बिपी कोइरालाको आत्मवृत्तान्त र मेरो कथा नै हुन् । त्यसपछि विश्वेश्वरप्रसाद कोइरालाकै जेलजर्नल, हृदयचन्द्र सिंह प्रधानको  आत्मजीवनी, कुमारबहादुर जोशीको दोस्रो नवजीवन, जगदीश घिमिरेको अन्तर्मनको यात्रा जस्ता निकै कृति नेपाली साहित्यमा आइसकेका छन् र त्यसैमा अर्को अनुवाद भएको कृति थपिएको ‘डा. राजेन्द्रप्रसादको आत्मकथा’ ।

डा.राजेन्द्रप्रसादको बाल्यकाल देखिका इतिवृत्त समेटिएको यो कृति आफैमा ऐतिहासिक रहेको छ । त्यसमाथि डा. राजेन्द्रप्रसादको आत्मकथा अनुभवी सिद्धहस्त अनुवादकले गर्नुभएको अनुवादमा केही शक्ति अवश्य हुनुपर्छ । यो कर्म गर्न पाउनु हाम्रा भाषा साहित्यको  क्षेत्रका लागि अनुपम उपलब्धि हो ।

अनुवादक श्यामप्रसाद अचानक दुर्घटनामा परेर हिँडडुल गर्न नसक्ने अवस्थामा रहँदा यस्तो सुकर्म गर्न चाहनु र शारीरिक अस्वस्थताका बाबजुद पनि आफ्नो कर्मलाई नछोडी पूरा गर्नुले कर्मप्रति उहाँको निष्ठालाई मान्नुपर्छ । नेपाली साहित्यमा लामै समयदेखि क्रियाशील श्याम प्रधानका ‘प्रेमचन्दका उत्कृष्ट कथा’,  ‘देवदासका कथा’ र शरदचन्द्रको गगनको अनूदित हिनामिना आदि कृति प्रकाशित छन् ।

त्यसपछिको यो आत्मवृत्तान्त कृति सामाजिक जनजीवनमा आधारित अति सरल भाषामा अनूदित भएको छ । यसमा डा. राजेन्द्रप्रसादको खानदान विषय तथा अध्ययन र कतिपय रमाइला, रहर लाग्ने परिस्थितिको वर्णन छ । आत्मवृत्तान्तमा आजभोलि हामीले देखेका घटना र सामाजिक सद्भावलाई यथाशक्य कसैप्रति भेदभाव नहोस् भन्ने भावना राखी लेखिएको छ । प्रस्तुत कृति भारतीय स्वतन्त्रता सङ्ग्रामको आधिकारिक दस्ताबेज पनि हो ।

डा. राजेन्द्रप्रसादले भारतीय स्वतन्त्रता सङ्ग्रामका लागि गरेका योगदान, उनका समकक्षीहरूको बलिदान र स्वतन्त्र भारतको दृश्य यस कृतिको पठनबाट बोध गर्न सकिन्छ । यसमा पुरानो भारतीय समाजलाई हेर्ने एउटा दिव्य दृष्टिकोण पनि छ । यसमा स्वतन्त्रताका अनेक घटना जोडिएका छन् । असल मान्छेको जीवनी तथा आत्मकथा स्वतन्त्र पाठकका लागि समेत निकै उपयोगी रहेको छ ।

प्रस्तुत पुस्तक नेपाली भाषामा रूपान्तरण गर्दा भाषाका कारणले जस्ताको तस्तै नभएको हुन सक्छ ।  सकेसम्म भन्न खोजिएको कुरालाई प्रस्ट पार्ने कोसिस गरिएको छ, केही कतै छुटे त्यो भुल भएको मान्न सकिन्छ । रपनि कुनै प्रायोजित अर्थात् हिज्जे बिगार्ने अभिप्रायले कुनै कर्म गरिएको देखिन्न । प्रस्तुत कृति पढेर नेपाली जनमानसमा भारतीय समाज विगतमा कस्तो थियो बुझ्न सजिलो होस् भनेर नै यसको नेपाली भाषामा रूपान्तरण गरिएको हो भन्ने अनुवादकको विचार रहेको देखिन्छ  ।  यस कृतिमा डा.राजेन्द्रप्रसादको जीवनका समग्रतालाई केलाउन विभिन्न  शीर्षक समेटिएका छन् । ती यसप्रकार पाइन्छन् :

मेरा पूर्वज, मौलवी, गाउँले जीवन, हथुवा स्कुल भर्ना, परीक्षाप्रति अश्रद्धा, विदेश यात्राको निष्फल प्रयत्न, माननीय गोखलेसँगको भेट, कलकत्ता कंग्रेसदेखि दिल्लीसम्म, सत्याग्रहको तयारी, चौरा चौरी सत्याग्रह स्थगित, गान्धीको गिरफ्तारी, भद्र अवज्ञा समितिको नियुक्ति, महात्मा गान्धीको विहार यात्रा, गान्धीको डाँडी यात्रा, मेरो गिरफ्तारी छपरा जिल्लामा, मेरो दोस्रो गिरफ्तारी, लखनउ कंग्रेस र हिन्दी साहित्य सम्मेलन, प्रान्तीय विधानसभाको चुनाव, मन्त्रिमण्डलको राजीनामा र हरिपुरा कंग्रेस, कंग्रेस र युरोपको दोस्रो महायुद्ध, सन् १९४२ का क्रान्तिका कुरा, मेरो रिहाइ, अस्थायी केन्द्रीय सरकार कायम हुनुभन्दा अघि, अस्थायी सरकारभन्दा अघि जस्ता शीर्षकभित्र विविध कुरा समेटिएका छन् ।

उनको कृतिको अभिप्रायका बारेमा बल्लभ भाइ पट्टेलले प्राक्कथनमा यस्तो लेखेका छन् जसलाई नेपालीमा यसरी रूपान्तरण गरिएको छ : ‘श्री राजेन्द्र बाबुको आत्मकथाको प्राक्कथनको आवश्यकता किन र ? त्यसमाथि मजस्तो मानिस जसले कहिले कविताको विद्वान् साहित्यकार भएको कहिले दाबी नगरेको, व्यक्तिले प्राक्कथन के लेख्नु ? सन् १९१८ को खेडा– सत्याग्रहको झगडामा हाम्रो भेट भएको थियो । त्यति बेलादेखि राजेन्द्र बाबुप्रति मेरो मनमा जुन आकर्षण उत्पन्न भयो र हामी दुवैका बिचमा जुन प्रेमको गाँठो बाँधियो त्यसले मलाई यो कार्य गर्न दबाब पारी सम्पन्न गर्न विवश गरिराखेको छ । श्री राजेन्द्र बाबुलाई देख्नासाथ नै उहाँको सरलता र नम्रताको जुन छाप हाम्रो मन–मस्तिष्कमा पर्दछ, त्यसैको प्रतिविम्ब नै यस आत्मकथाको पानापानामा भेटिन्छ । लगभग पछिल्लो पच्चीस वर्षदेखि हाम्रो देश कुन स्थितिबाट कुन स्थितिमा पुग्यो, त्यसको जीवन्त र एउटा पवित्र देशभक्तिको रड हृदयभित्र अङ्कित भएको इतिहासका पाठकले यस आत्मकथामा भेट्नु हुनेछ । यसरी डा. राजेन्द्रप्रसादका बारेमा आफूले अनुभूत गरेका कुरालाई प्रस्ट पारेको पाउन सकिन्छ ।”

डा. राजेन्द्रप्रसादको आत्मकथामा उनको बाल्यकालका समयका परिवेश, बिहारको सामाजिक रीतिरिवाज र सङ्कुचित चलनबाट उत्पन्न हुने हानि, त्यसबेलाको गाउँले जीवनको धार्मिक व्रतजस्ता उत्सव र पर्वको, त्यस समयमा बच्चाको जीवन र त्यति बेलाको शिक्षाको अवस्थाका बारेमा जस्ताको तस्तै सचित्रण दृश्यविम्ब जस्ता कुरा पाउन सकिन्छ भन्ने धारणा पनि उनको रहेको छ । यस दृश्यचित्रभित्र सरलता र खानदानका साथै रमाइलो र दिक्क पार्ने परिस्थितिको मिश्रण पनि छ । साथै आज भोलि हिन्दू र मुसलमानका बिचमा भेदभावको जुन खाडल वृद्धि हुँदै गएको देखिन्छ ।

सन् १९०५ मा भारत छाेडोको जमानादेखि नै राजेन्द्र बाबुमाथि देशभक्तिको रङ पोतिन थालेको थियो । त्यति बेलादेखि नै उहाँ आफ्नो जीवनमा यतातिर क्रमशः अगाडि बढ्दै जानुभयो । सन् १९१७ मा चम्पारनको झगडाका बेला उहाँले गान्धीका पाइला पच्छ्याउँदै सरलता (जोगीपन) लाई आत्मसात् गर्नुभयो( यसै कृतिबाट) भन्ने कथन वल्लभ भाइ पट्टेलले अभिव्यक्त गरेका छन् ।

जे होस् विश्वका चर्चित व्यक्तिका आत्मकथामध्येको यस कृतिले नेपाली भाषा साहित्य तथा अनुवादनको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको छ । हिन्दी भाषामा कृति पढेर त्यसको रसस्वादन गर्न नसक्नेहरूका लागि सरल भाषामा रूपान्तरण भएकाले अनुवादक श्याम प्रधानलाई धन्यवाद ।

ओरिएन्टल प्रकाशनले प्रकाशन गरेको भूमिकासहित २८० पृष्ठको पुस्तकको मूल्य रु ६५० रहेको छ । साथै डा. राजेन्द्रप्रसादको ‘आत्मकथा’का माध्यमबाट भाषा, साहित्यसेवीले नयाँ स्वाद प्राप्त गर्न सकुन् भन्ने शुभेच्छा राख्दछु । साहित्यको रसपानद्वारा सबैको कल्याण हुनेछ भन्दै कृति पठनीय र सङ्ग्रहनीय रहेको देखिन्छ  ।