‘तथागत’ उपन्यासकार सिर्जन अविरलद्वारा रचना गरिएको उपन्यास हो । उनी भरतपुर महानगरपालिका वडा नं ५ का स्थायी बासिन्दा हुन् । प्राध्यापन तथा पत्रकारिता पेसा अँगाल्ने उनले कविताका माध्यमबाट साहित्ययात्रा अगाडि बढाएका हुन् । विगत तीन दशकदेखि नेपाली साहित्यमा कलम चलाएका लेखकले आजसम्म २ ओटा कवितासंग्रह, १ वटा जीवनीसंग्रह र २ ओटा उपन्यास प्रकाशन गरिसकेका छन् ।
‘तथागत’ उनको उपन्यास यात्राको दोस्रो खुड्किलो हो । द्वन्द्वकालमा द्वन्द्वमा सहभागी हुनेहरूको विचार, दृष्टिकोण, समर्पण र उनीहरूको मानसिकतालाई प्रस्तुत गरिएको ‘मोक्ष’ उपन्यास पछि उनले यो उपन्यास लेखेका हुन् । साङ्ग्रिला मिडिया ग्रुप प्रा.ली. काठमाडौंबाट प्रकाशित यो उपन्यासको मूल्य रु ४४५ रहेको छ ।
वि.सं. २०८० जेठ महिनामा प्रकाशित यो उपन्यासको आवरण टाइम्स क्रिएसनले तयार पारेको हो । १७ ओटा विविध उपशीर्षकमा समेटिएको यो उपन्यास १९२ पृष्ठमा संरचित छ । यस उपन्यासमा बौद्ध दर्शनको गरिमालाई प्रस्तुत गरिएको छ । यसका साथै गुम्बामा हुने लैङ्गिक विभेद र विकृतिलाई पनि औँल्याइएको छ । यस उपन्यासमा बुद्धका वाणीहरूको उच्च सम्मान गरिएको छ । साथसाथै कोही कसैलाई वाध्यात्मक किसिमबाट आनी, भिक्षु बनाउनु हुँदैन भन्ने विचार पनि व्यक्त गरिएको छ ।
‘तथागत’ बौद्ध गुम्बामा बस्ने एक आनी (दीपशिखा) को कथा हो । ऊ ३-४ वर्षको हुँदा उसलाई फुपूकहाँ छोडेर उसका बाबु आमा माओवादी युद्धमा सामेल भएका थिए । पछि उसका आमा बाबु दुवै जना भिडन्तमा मारिएको खबर आयो । यसपछि फुपूको आश्रयमा बस्दै आएकी दीपशिखाले फुपाजूले सधैं रक्सी खाएर आई फुपूलाई कुट्ने गरेको देख्छे । उनीहरूको जग्गा जमीन पनि थोरै थियो । कामैकामको चपेटामा परेकी उसकी फुपूले सन्तोषको सास फेर्न सकेकी थिइन । एकातिर आर्थिक अभाव, अर्कातिर लोग्नेको ज्यादती दीपशिखाले कहिल्यै फुपूको मुहारमा खुशीको झुल्को देख्न पाएकी थिइन । त्यसैले उसलाई बिहे नामक संस्थाप्रति नै वितृष्णा जागेको थियो ।
यसैले उसले ११ वर्षको उमेरमा नै कहिल्यै विवाह नगर्ने, गुम्बामा आनी बनेर बस्ने निर्णय गर्छे र गुम्बामा प्रवेश गर्छे । गुम्बामा उसलाई आनी रिन्छेनको सामीप्य प्राप्त हुन्छ । उसले मन लगाएर गुम्बाका काम गर्छे । ऊ बौद्ध दर्शनसम्बन्धी ग्रन्थहरूको अध्ययन गर्छे । उसलाई यस क्षेत्रमा रुचि बढ्छ । ऊ आनीसँग विभिन्न जिज्ञासा राख्दै जान्छे, आफ्नो अध्ययनलाई पनि बढाउँदै लान्छे । गुम्बामा गुरुबाट नियमित रूपमा देशना चल्ने गरेको हुन्छ । यस्तो वातावरणले दीपशिखाका जिज्ञासा शान्त हुने गर्छन् ।
गुरु रिम्पोछे र आनी रिन्छेनका सदुपदेश तथा आफ्नो स्वाध्ययनका कारण दीपशिखा निकै ज्ञानी हुन पुग्छे । उमेरगत परिवर्तनका कारण हुने इच्छा चाहनाका बाढी उसको जीवनमा नआएका होइनन् तर दीपशिखाले आत्मसंयम, ज्ञान, ध्यान र साधनाका माध्यमबाट तिनलाई परास्त गर्न सक्षम भएकी छ । उसले त्यस गुम्बामा आफूलाई एक विश्वसनीय, प्रौढ, बौद्धिक व्यक्तिका रूपमा स्थापित गर्न सक्छे । बिस्तारै दीपशिखा आनी रिन्छेनको स्थान ओगट्न पुग्छे ।
यस उपन्यासमा गुरु कर्म रिम्पोछे, आनी रिन्छेन र आनी दीपशिखा त्यस गुम्बाका धरोहर हुन् । गुम्बामा अनुशासन कायम राख्न र बौद्ध दर्शनको आदर्श बचाइराख्न उनीहरूको महत्त्वपूर्ण देन छ । त्यस्तै आनी शिला, सारिका र अन्य नयाँ आनी र भिक्षुहरूको संवाद र क्रियाकलापबाट लेखकले गुम्बाका नियमहरू पनि समयानुकूल परिमार्जन हुनुपर्ने कुरा व्यक्त गर्छन् ।
गुम्बामा व्यावहारिक रूपमा हेर्दा महिलाहरूमा विभेद रहेछ भन्ने जानकारी यस उपन्यासले दिएको छ । त्यहाँ षुरुषहरू भिक्षु हुन्छन् तर महिलाहरूलाई भिक्षुणी हुने अधिकार छैन । भिक्षुहरू दश वर्षपछि स्थवीर र बीस वर्षपछि महास्थवीर हुन्छन् । गुम्बामा जति नै वर्ष बसे पनि महिलाहरू आनीभन्दा माथिल्लो स्थानमा बढुवा हुन सक्दैनन् । जति ज्ञान आर्जन गरे पनि आनीहरूले गुरुको स्थान लिन सक्दैनन् । आनीहरूको कर्तव्य गुरुको सेवा गर्ने, कमजोर आनी र भिक्षुहरूको सेवा गर्ने, गुम्बाको सरसफाइ गर्ने, पूजा गर्ने हुने रहेछ । त्यस्तै लामा समुदायमा छोरी आनीले आजीवन विवाह गर्न पाउँदैनन् । छोरा मान्छे टोप्या बने पनि इच्छा अनुसार विवाह गर्न पाउँछन् । त्यस्तै बौद्ध धर्मको नियममा भिक्षुले २२७ शील पालना गर्नुपर्छ तर भिक्षुणीलाई ३११ शील पालना गर्नुपर्ने रहेछ । लेखकले यो सम्प्रदायमा देखिएका विभेदलाई खोतल्ने प्रयास गरेका छन् ।
यस्तो विभेदप्रतिको असन्तुष्टि लेखक आनी रिन्छेनका माध्यमबाट यसरी व्यक्त गर्छन्, “त्यो समयमा बनाएको नियम यो समयलाई नमिल्दोरहेछ” । (पृः८९)
“चित्त नबुझ्ने कुरा त कति कति ! बुद्ध धर्मले महिलालाई पुरुषभन्दा माथि त कहिल्यै सोच्न सकेन । यतिसम्म कि समान हुन् भन्ने कुरा पनि स्वीकारेन ।” (पृः२५)
कुनै गुम्बामा बौद्ध धर्मका नाममा ठगी गर्ने परम्परा पनि देखियो । चुन्मो, छोइमो, रूपा, डोल्मा लगायतका केही आनीहरू अर्को गुम्बाबाट त्यस गुम्बामा शरण लिन आउँछन् र पुरानो गुम्बाको आडम्बरी अवतारी लामाको षडयन्त्रको पर्दाफास गर्छन् । आफूलाई बुद्धको अवतारका रूपमा व्याख्या गर्ने उसले आनीहरूलाई शिक्षादीक्षाको व्यवस्था नगरेको, यौनशोषण गरेको, श्रमशोषण गरेको खुलासा हुन्छ । धर्मका नाममा पैसा जम्मा गर्ने प्रवृत्ति पनि उसमा देखिन्छ । यसरी भनाइ एकातिर र गराइ अर्कातिर भएका मानिसहरूको आवरण उतार्ने काम उपन्यासकारले गरेका छन् ।
बौद्ध सम्प्रदायमा देखिने विरोधाभासयुक्त कुरामा उपन्यासले प्रश्न उठाएको छ । बौद्ध दर्शन आचरणसँग सम्बन्धित छ । बुद्धका वाणीहरूलाई व्यवहारमा लागू गर्न सकिन्छ । बुद्धको दर्शन नास्तिकतावादी दर्शन हो । उनले संसारमा कुनै ईश्वर भएको कुरा बताएका छैनन् र आफूलाई पनि ईश्वर नमान्न आग्रह गरेका छन् । तर आज उनका अनुयायीहरूले उनलाई ईश्वर मानेर उनको पूजा अर्चना गर्ने गरेका छन् । उनका अनुयायी आफूलाई बुद्ध धर्म मान्ने व्यक्ति ठान्छन् ।
बुद्ध स्वयंले आफ्नो मूर्ति नबनाउन आग्रह गरेका थिए तर आज संसारमा सबभन्दा धेरै उनकै मूर्ति बनेका छन् । संसारमा सबैभन्दा महँगो र सबैभन्दा अग्लो मूर्ति पनि बुद्धकै बनेको छ । कयौँ धर्मगुरुहरू आफूलाई बुद्धको अवतारका रूपमा मान्छन् । यो पनि बौद्ध दर्शनका आधारमा प्रमाणित नहुने कुरा हो । समाजलाई सांसारिक मोहमा नफस्न आग्रह गर्ने स्वयम् धर्मगुरुहरू नै धनको पछि लागेका, चिनिया मूलका धर्मगुरुहरूले हजारौँ रोपनी जमीन कब्जामा लिएको कुरा बुद्धका मान्यताभन्दा विपरीत छन् । कतैकतै गुम्बामा राजनीतिक घुसपैठ हुने गरेको पनि देखिन्छ । बौद्ध सम्प्रदायभित्र मौलाएका यस्ता विभिन्न विरोधाभासयुक्त कुराहरूलाई उधिनेर बाहिर ल्याउने काम पनि उपन्यासले गरेको छ ।
यस उपन्यासमा आध्यात्मिकता र भौतिकताको मिश्रण पाइन्छ । बुद्धका दर्शनका व्याख्याता गुरु रिम्पोछे, आनी रिन्छेन र दीपशिखा आध्यात्मिक ज्ञानका त्रिमूर्ति नै हुन् । ज्ञान, ध्यान र साधनाले खारिएका उनीहरू उपन्यासका आदर्श पात्र हुन् । गुरुले देशना सुनाउने क्रममा, आनी रिन्छेनले अरू आनीहरूलाई अर्ती उपदेश दिने क्रममा बुद्धका वाणीहरू प्रस्तुत गरेका छन् । उपन्यासमा यी पात्रहरूको महत्त्वपूर्ण भूमिका रहेको छ । आनी, शिला, सारिका र अरू नयाँ भिक्षु र आनीहरू गुम्बामा बसेको भए पनि सांसारिक भौतिक बस्तुको मोहबाट मुक्त हुन सक्दैनन् । महँगा मोबाइल ल्यापटप बोक्नु, फिल्म हेर्नु, आनी र भिक्षुहरू आपसमा आकर्षित भएको देखिनु, गफ गर्नु, हाँस्नु यसका प्रमाण हुन् ।
ज्ञान, ध्यान र साधनाबाट आफ्नो जीवनलाई सांसारिकताबाट विमुख गराउँदै आदर्श आध्यात्मिक जीवन बिताइरहेकी आनी रिन्छेन जीवनको अन्तिम अवस्थामा आएर आफ्नो जीवनप्रति सन्तुष्ट हुन सक्दिनन् । उनलाई आफ्नै रगत (सन्तान) भएको भए बुढ्यौली सुखपूर्ण हुन्थ्यो भन्ने लाग्छ । लामो समयदेखि दीपशिखालाई कसैको आकर्षकमा नफस्न झकझक्याइरहने उनले यो अवस्थामा आएर दीपशिखालाई विवाह गर्ने सल्लाह दिनु आश्चर्यपूर्ण देखिन्छ । उनी आध्यात्मिकताबाट पलायन हुन्छिन् ।
मनोविज्ञानका दृष्टिले उनको चरित्रलाई हेर्दा उनले जीवनभर दबाएर राखेको इच्छा जुन अवचेतन मनमा गढेर रहेको थियो त्यो जीवनको अन्तिममा प्रकट भएको छ । उनी प्रकृतिलाई जित्न गाह्रो हुने मनको रोगलाई ज्ञानले मात्र पनि दबाउन सजिलो छैन भन्ने गर्थिन् । (पृः ८९) मान्छे भएर जन्मेपछि लोभ मोह, तृष्णा, आकर्षक आदि कुराहरू स्वाभाविक हुन्छन् । त्यस्ता प्राकृतिक कुराहरूलाई जबरजस्ती दबाउन हुँदैन भन्ने विचार लेखकले आनी रिन्छेनको चरित्रबाट देखाएका छन् । लेखकका भौतिकवादी चिन्तन आनी शिलाका माध्यमबाट पनि व्यक्त भएका छन् ।
आनी शिला भन्छे, “उमेरमा नभोगेको रहर बुढेसकालमा अझ तीव्र भएर जान्छ । वासनाको नदी जबर्जस्ती रोक्दा क्षति हुन्छ मनको बाँध भत्काउँछ र बाँकी जीवन डुबाउँछ । इच्छा हुनेहरूले गृहस्थ जीवन शुरू गर । डर करकापमा जीवन रित्याउनु आत्महत्यासरह हो ।”
सांसारिक जीवनको अनुभव भएर अथवा सांसारिक जीवनबाट थाकेपछि मात्र वा संसार यस्तै हो भन्ने भएपछि स्वतःस्फूर्त रूपमा वैराग्य धारण गर्नु राम्रो हुन्छ तर बच्चैमा जबरजस्ती इच्छा आकाङ्क्षालाई दबाएर यस्तो बाटो रोज्नु हुँदैन भन्ने विचार लेखकले व्यक्त गरेका छन् । यसरी आध्यात्मिकताको सम्मान गर्दै सँगसँगै भौतिकवादी विचारलाई पनि प्रश्रय दिएकाले यस उपन्यासमा आध्यात्मिकता र भौतिकताको मिश्रण छ भन्न सकिन्छ ।
प्रथम पुरुष दृष्टिबिन्दु प्रयोग गरिएको यस उपन्यासको परिवेश काठमाडौं नजिकको एउटा गुम्बाको सेरोफेरोमा घुमेको छ । फुपूको घर, एअरपोर्ट, अमेरिका, अर्को गुम्बा आदि परिवेश सङ्केतका रूपमा आएका छन् । दीपशिखामा भौतिकताप्रतिको आकर्षण र त्यसलाई जित्न प्रयास गरिएको अवस्थामा आन्तरिक (मानसिक) परिवेशको उपस्थिति छ ।
उपन्यासको कथानक छोटो छ । उपन्यासमा अपेक्षा गरिनेजस्तो आरम्भ विकास उत्कर्षका कुराहरू कथानकमा देखिंदैन । उपन्यासको आरम्भमा गुम्बामा प्रवेश गरेकी दीपशिखाले पूर्वस्मृतिका रूपमा बाल्यकालको छोटो कथा भन्छे यत्तिकैमा सकिन्छ । अन्य आनीका कथा पनि समेटिएको छैन । यसकारणले पात्रहरूको चरित्र पनि राम्ररी चित्रित हुन सकेका छैनन् ।
उपन्यासमा बुद्धका वाणीहरू पटक पटक दोहोरिएर आएका छन् । दीपशिखाले दुई पटक आफ्नो बाल्यकालीन कथा भन्छे । यो उपन्यासको कमजोरी पक्ष हो ।
यस उपन्यासलाई पुरानो पुस्ता र नयाँ पुस्ता बीचको द्वन्द्वको झल्को पाइन्छ । आनी रिन्छेन गुम्बामा नियम, अनुशासन कायम हुनुपर्छ भन्ने मान्यता राख्छिन् भने आनी शिला, सारिका समय अनुसार नियम खुकुलो हुनुपर्छ भन्ने मान्यता राख्छन् । यी दुई समूहबीच अघोषित द्वन्द्व देखिन्छ ।
संसारमा शान्तिको सन्देश फैलाउने गौतम बुद्ध नेपालमा जन्मिएका हुन् । उनी यस देशका गौरव हुन् । उनले प्रतिपादन गरेको दर्शन विश्वमा प्रसिद्ध छ । यस्तो गरिमामय दर्शनलाई उपन्यासका माध्यमबाट पाठकका सामु ल्याउनु उपन्यासको अभीष्ट हो । यो दर्शन अहिंसाको दर्शन हो, क्षमाको दर्शन हो । यो आचरण व्यवहारसँग सम्बन्धित छ । यसले शरीरलाई वासनामा बहकिन नदिन, शरीरको ऊर्जालाई जगाइराख्न प्रेरित गर्छ ।
अप्पः दीपो भवः (आफै प्रकाशित होऊ) यो दर्शनको मूल मन्त्र हो । सत्य बोल्न, सबैप्रति समान व्यवहार गर्न प्रेरित गर्ने यो दर्शनले लोभ, मोह, घृणा, ईर्ष्या, रीस, रागजस्ता कुराबाट टाढा रहे जीवनमा वास्तविक सुख पाइन्छ भन्ने धारणा राख्छ । यसले बाहिरी सौन्दर्य (शारीरिक सौन्दर्य) भन्दा भित्री सौन्दर्य (ज्ञान) लाई महत्त्व दिन्छ । यसले ज्ञान, ध्यान र साधनामा जोड दिन्छ । भिक्षु भिक्षुणी बनेर नहिंडे पनि गृहस्थ जीवनमा रहेर पनि यस दर्शनका मूल मान्यताको अनुशीलन गरेर मानिसले आफ्नो जीवन धन्य बनाउन सक्छ ।
अशान्ति, छटपटी र बेचैनीले गाँजेको आजको विश्वमा बौद्ध दर्शनको महत्त्व अझ बढेर गएको छ । बिग्रँदै गइरहेको वातावरणको रक्षाका निम्ति मानिस सरल प्राकृतिक जीवनशैलीतिर फर्कनु आवश्यक छ । बुद्धको दर्शनले प्राकृतिक जीवनशैली अपनाउन प्रेरित गर्छ । यस्तो गरिमामय दर्शनलाई पाठकसमक्ष ल्याएर यसलाई बुझ्ने र मनन गर्ने मौका दिने लेखक धन्यवादका पात्र हुन् ।
औपन्यासिकता दृष्टिले केही कमजोरीहरू देखिए पनि यस उपन्यासलाई नेपाली उपन्यासको एउटा प्राप्तिका रूपमा लिन सकिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।