हामीले बाँचेको समय सम्भवतः विज्ञान र प्रविधिले तीव्रतम गतिमा फड्को मारेको युग हो । हस्त लिखित पत्रिका, लिथो पत्रिका, लेटर प्रेसबाट प्रकाशन, अफसेट प्रविधि हुँदै अहिले डिजिटल दुनियाँको निर्माण भएको छ साहित्यिक पत्रिका प्रकाशनको क्षेत्रमा ।  मानिसहरू विश्वास गर्दछन्, अब दुनियाँमा मुद्रित पत्रिका पुस्तकको युग गयो । तर मुद्रणको युग कहिल्यै नजाने विश्वास गर्ने मानिसहरू पनि कम छैनन् । अहिले मुद्रित र डिजिटल दुवैको युग समानान्तर चलिरहेको छ ।

नेपालमा मुद्रण उद्योगले शिखर आरोहण गर्नै नपाई डिजिटल प्रविधिले प्रवेश पायो । अहिले डिजिटल दुनियाँले जितिसक्यो भन्नेहरू नेपालमा अत्यधिक सङ्ख्यामा भैसके । तर डिजिटल सामाग्रीको सुरक्षा र संरक्षणको विषयमा भने मौनता देखिएको छ । त्यसको सुरक्षा र संरक्षणका लागि महँगो मोल तिरेर अमेरिकासम्म गुहार माग्नु पर्ने अवस्था नेपालको डिजिटल दुनियाँले भोगेको आजको यथार्थ हो ।

म अमेरिकामा झण्डै २ दशकदेखि बसेको छु । यहाँ पनि डिजिटल दुनियाँले फड्को मारेको छ । तथापि मुद्रित सामाग्रीको कमी छैन । पहिल्यै मुद्रित पुस्तक पत्रिकाको किनबेचमा कमी छैन । पुराना पुरातात्त्विक महत्वका पुस्तक पत्रिकाको मोल महँगो देखिन्छ । नयाँ पुस्तक पत्रिकाहरू मुद्रित र ई बुक दुवैमा समानान्तर पाइन्छन्, आफ्नो इच्छानुसार पाठकले तिनको उपयोग गरेर रमाइरहेका छन् । साहित्यिक पत्रिकाहरू सयौं वर्षदेखि निरन्तर मुद्रित रूपमा प्रकाशन भइनै रहेका छन् । दृष्टान्तका लागि कवयित्री हेरियट मुनरोले सन् १९१२ मा स्थापना गरेर प्रकाशन हुन थालेको कविताप्रधान पत्रिका “पोयट्री” आजसम्म पनि मासिक रूपमा निरन्तर प्रकाशित भई नै रहेको छ । त्यति मात्र होइन, नयाँ नयाँ साहित्यिक पत्रिकाहरू पनि बर्षै पिच्छे जसो प्रकाशन भइरहनु, सुखद पक्ष हो । किनभने साहित्यकारको लागि साहित्यिक पत्रिका ठूलो मञ्च हो, प्रकाशन यात्राको लागि । पुस्तक प्रवर्द्धनका लागि । साहित्यिक बहसका लागि । साहित्यिक पत्रिकाको कुनै विकल्प छैन । साहित्यिक पत्रिका सुस्त भए साहित्यिक जगत् सुस्त हुन्छ । साहित्यिक पत्रिका साहित्यकारहरूको सामूहिक भेटघाटको थलो हो, क्याफे हो, मञ्च हो, रङ्गमञ्च हो ।

नेपालको सन्दर्भमा साहित्यिक पत्रिकालाई संस्थागत स्वरूपमा लामो इतिहास बनाउन सदा हम्मे हम्मे पर्यो । साहित्यिक पत्रिका प्रकाशनलाई शोख, व्यक्तिगत रुचि, लहड मानेर यसलाई आंशिक समय मात्र दिने साहित्यिक पत्रिकाका सम्पादक प्रकाशक र साहित्यिक पत्रिकालाई महत्त्व नदिने सरकार अनि निजी उद्योग व्यवसायीहरूमा पनि साहित्यलाई खासै महत्त्व दिने चेतनशील मानसिकता नभएकाले साहित्यिक पत्रकारिताले कहिल्यै व्यावसायिक फड्को मार्ने र संस्थागत स्वरूप हासिल गर्ने अवस्था रहेन । केही वर्ष यता पुरानै साहित्यिक पत्रिकाहरू घस्री घस्री चलिरहेको परिप्रेक्ष्यमा द्वैमासिक पत्रिका “आरब्ध” को प्रकाशनलाई मैले मरुभूमिमा उम्रिएको पुष्पवृक्ष मानेको छु । यसलाई साहित्यको क्षेत्रको एक सुखद घटना मान्न सकिन्छ ।

लामो समय गोरखापत्र संस्थानको आधिकारिक साहित्यिक पत्रिका “मधुपर्क” को सम्पादनमा संलग्न साहित्यकार जयदेव भट्टराईको अग्रसरतामा उनैको सम्पादन र सुरेशदेव भट्टराईको प्रकाशनमा यो पत्रिकाको पहिलो अङ्कले पाठकको स्पर्श पाएको छ ।

यो प्रवेशाङ्कमा कविता, निबन्ध, समालोचना, कथा-लघुकथा, हास्यव्यङ्ग्य, अनुवाद, समर्पण र संस्कृति अन्तर्गत साहित्यिक साँस्कृतिक रचनाहरू समावेश गरिएका छन् ।

यस अङ्कमा शैलेन्द्र साकार, राजेश ढुङ्गाना, सुमन थापा सङ्गम, तथा अमृता स्मृतिका कविताहरू समाविष्ट छन् ।

शैलेन्द्र साकारको “मसँग प्रश्नहरू छन्” कविता उनको हालैको अमेरिका भ्रमणको बेला लेखिएको लामो कविताको एक अंश हो जसले त्यहाँ उनले अनुभूत गरेका कुरालाई काव्यात्मक अभिव्यक्ति दिएका छन् ।

एकदिन अनायास मेरो आँखा

उनले गुडाइरहेको बच्चादानी भित्र पर्छ

जहाँ छैनन् कुनै बच्चा

बरु छन् भर्खर जन्मेका दुई

बिरालाका बच्चाहरू

ताकिरहेका छन् आफूलाई हेर्नेहरूलाई

आश्चर्यपूर्वक

मसँग प्रश्नहरू छन्

मानिसहरूभन्दा इतर

अरू कुनै जीवसँग

गाँसिंदैछ कि माया

मान्छेले चाहनुपर्ने मान्छेलाई

तर त्यो भङ्ग हुँदैछ “

मानिसहरू मान्छेलाई भन्दा पशुलाई किन माया गर्छन्, किन मान्छेमा भन्दा पशुमा तिनको स्नेह फैलँदो छ, कविको प्रश्न छ । मान्छेको समवेदनाको श्रोत कतातिर पोखिंदैछ, कविको प्रश्न छ । राजेश ढुङ्गानाको कविता “लेन देन ?” पनि मान्छेकै विषयमा छ । मान्छेहरूको सम्बन्ध के लेनदेनमै सीमित हो ? अनि लिने र दिने दुवै रित्तिंदा कसलाई के दिने कविको प्रश्न छ । सुमन थापा सङ्गमको “जीवन एक साइकल यात्रा” पनि मान्छेकै जीवनसँग सम्बन्धित छ । मान्छेको जीवन कुम्हालेको चक्रझैं घुमिरहन्छ भन्ने आहानलाई कवयित्री सुमनले साइकल चक्रको नयाँ उपमा दिएकी छिन् । अर्को कविता अमृता स्मृतिको “म जन्मिरहन्छु” ले प्रेमिल भावनालाई शाश्वतताको स्वरूपमा ढाल्न खोजेको छ ।

निबन्ध विधाका एक हस्ती तेजेश्वरबाबु ग्वँगको एक मात्र लघु निबन्ध छ यस अङ्कमा “आत्म आलिङ्गन” । यो उनको सोचाइको एक झमटमा उब्जेको भावनाको एक अँजुली अभिव्यक्ति अनुभूत हुन्छ ।

निबन्धकै अर्को स्वरूप हास्यव्यङ्ग्य पछिल्लो समय चाउरिंदै गएको छ नेपाली साहित्यमा । यसै परिप्रेक्ष्य हास्यव्यङ्ग्यका स्थापित व्यक्तित्व चोलेश्वर शर्माको “धानको बाला/माला झुल्यो हजुर” महत्त्वपूर्ण छ । लामै समयको मौनतापछि हालसालै पुनः लेखनमा बौरिएका चोलेश्वर शर्माको यो निबन्ध हास्य कम व्यङ्ग्य बढी निबन्ध हो ।

कथा लघुकथामा कृष्ण गौतम तथा रमेशजङ्ग थापाका क्रमशः “बन्दोबस्त” र “सेराव ग्यामसो” भागिरथी श्रेष्ठका २ लघुकथा  “अर्दली” र “कालो समय” र हरिहर पौडेलको सूत्रकथा “बर्षौंपछि” रहेका छन् ।

समालोचना अन्तर्गत प्रा.डा. रामचन्द्र पोखरेलको “नेपाली रङ्गमञ्चमा सडक नाटकको योगदान” तथा डा. वीरेन्द्र पुडासैनीको “आख्यानमा समय र अन्तरिक्ष” प्रकाशित छन् ।

प्रा.डा. रामचन्द्र पोखरेलको “नेपाली रङ्गमञ्चमा सडक नाटकको योगदान” समालोचनामा उनले सडक नाटकको लामै नालीबेली प्रस्तुत गरेका छन् । त्यस्तै डा. वीरेन्द्र पुडासैनीले “आख्यानमा समय र अन्तरिक्ष” समालोचनामा आख्यानमा पाइने समय र अन्तरिक्षको सैद्धान्तिक पक्षहरूलाई प्रस्तुत गरेका छन् ।

कृति चर्चा अन्तर्गत “पवनकुमारीदेवीको औपन्यासिक योगदान” का बारेमा शिव प्रसाद भट्टराईको आलेख छ जसलाई एक प्रकारले समालोचना नै मान्न सकिन्छ ।

समर्पण अन्तरगत जयदेव भट्टराईको हालै दिवङ्गत नेपाली कथा साहित्यका हस्ती परशु प्रधानबारे शब्द श्रद्धाञ्जली “स्मृतिमा परशु दाइ” प्रकाशित छ । यसमा परशु प्रधानको साहित्यिक योगदान संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ । यो स्तम्भको नाम समर्पण कति ठिक छ, पुनर्विचार गर्नु पर्छ कि ?

संस्कृति अन्तर्गत गणेश वाम्बुले राईको “किरात राई जातीलाई एकसूत्रमा बाँध्ने साकेला संस्कृति” लेख प्रकाशित छ, जसमा निकै महत्त्वपूर्ण जानकारी प्रस्तुत गरिएको छ ।

यस अङ्कमा मेक्सिकाली लेखक ग्रेगोरिया लोपेज फ्युन्टाज (ग्रेगोरियो लोपेस फुयान्तेस ?) को विश्वविख्यात कथा “ईश्वरलाई चिठी” ( A letter to God) को बद्रीप्रसाद घिमिरेले गरेको नेपाली अनुवाद प्रकाशित छ ।

यो अङ्कमा मलाई शैलेन्द्र साकारको कविता, जयदेव भट्टराईको परशु प्रधानमाथिको लेख, शिवप्रसाद भट्टराईको कृति चर्चा, गणेश वाम्बुले राईको संस्कृति उम्दा, रोचक र विशेष पठनीय लागे ।

यो पहिलो अङ्क भएकाले यस पत्रिकाका लागि केही सुझाव दिन मन लाग्यो:

१, आवरण कलाका कलाकारको परिचय विस्तृत नै भयो । अलिक संक्षिप्त गर्दा पनि फरक नपर्ला।

२, सबै रचनाकारको ३ हरफसम्मको परिचय राख्न सके बेस होला ।

३, विषयसूचीमा रचनाको विधा र रचनाकारको नामसँगै रचनाको शीर्षक भए अझ बेस होला ।

४, अनुवाद रचनाको साथमा विदेशी लेखकको परिचय पनि दिनु उचित हुन्छ ।

५, निबन्ध, हास्यव्यङ्ग्य, सांस्कृतिक लेखलाई निबन्ध खण्डमै राख्दा पनि फरक नपर्ला ।

६, स्तम्भहरूको पनि एक खण्ड बनाउनु पनि उचित होला ।

आरब्ध” द्वैमासिक पत्रिकाको स्तरबृद्धि र दीर्घजीवनको हार्दिक शुभकामना !