१. विषयप्रवेश–
यस वर्ष २०२१ मा इन्डियन आइडल बनेको पवनदीप राजनले नेपाली गीत राम्ररी गाउने गरेको थाहा लाग्यो । त्यसपछि कुमाउनी गीत पनि युटुबमा खोज्दा नेपाली गीतझैँ सुनियो । कुमाउनी र गढवालीसित हाम्रो भाषा, भेषभूषा खानपिन प्रायः मिल्छ । यसरी हेर्दा कुमाउनी, गढवाली र नेपालीका भाषाको समानता र एकरूपता हुनु नै पुर्ख्यौली एकत्वको सङ्केत हो । यी तीन भाषाबिचको अर्थतात्विक, रूपतात्विक, ध्वनितात्त्विक पक्षबाट तुलनात्मक अनुसन्धान गर्नुपर्ने ठाउँ देखिन्छ।
गोर्खाली समाज मूलतः खस र किराँतको समन्वित र साझा रूप हो । खस र किराँतको साझा धर्म र संस्कृति मिलेर एउटा गोर्खाली महाजाति बनेको हो भन्दा अत्युक्ति हुनेछैन । यद्यपि इतिहासको पाना पल्टाएर हेर्दा खस र किराँत पहिलेदेखि नै उत्तर भारतको पर्वत शृङ्खलाहरू काराकोरम र हिन्दुकुश र नेपालको हिमालय शृङ्खलाको तल्लो पहाडी भूभागमा बस्तै आएका हुन्। खसहरूको इतिहास अझै पहिलाए ग्रीस, भूमध्य सागर, क्यास्पियन सागर हुँदै इरानसम्म पुग्न सकिन्छ। युगौंदेखि पहाडतिर बस्दैआएकाले खसलाई मूलतः पहाडी जातिको रूपमा मानिन्छ । भारतवर्षको सन्दर्भमा हेर्दा हामी प्राचीन जनजाति हौँ । यवन, किराँत, आन्ध्रा, कंकस, शकहरूसरह खसहरू पनि प्राचीन जनजाति नै हुन् ।
२. भारतीय जनजातिको रूपमा खस –
भारतको प्रसङ्गमा हामी खसका सन्तान विशुद्ध भारतीय हौँ । हाम्रो संस्कृति भाषा, सबै भारतीय परम्पराअन्तर्गत रहेको छ। आजभन्दा दुई सय वर्षअघिसम्म नेपाल र भारत देश भन्ने बढी प्रचलन थिएन । एउटै भूखण्डमा रहेका सांस्कृतिक केन्द्रहरू थिए। पहाडी र हिमाली भूभागमा खस र किराँतको बसोबासो थियो। खसका हरेक सांस्कृतिक स्वरूपमा पार्वत्यपन पाइन्छ।
भारतमा राजनैतिक, सामाजिक, आर्थिक आदि कारणले अनुसूचित जाति र जनजाति भन्ने वर्गीकरण गरिएको छ। जनजातिको दर्जाका निम्ति विभिन्न सर्त हुनुपर्छ । यसका लागि मूलतः धर्म, सभ्यता, संस्कृति, रीतिरिवाज, इतिहास आदि मानदण्ड रहेको देखिन्छ । यद्यपि भारतीय बहुसङ्ख्यकहरूको प्रभावबाट कालान्तरमा ससाना जातिहरूको संरक्षण र प्रवर्द्धनका निम्ति भारत सरकारले अधिनियम बनाएको देखिन्छ । अन्य पछौटे वर्गलाई पनि क र ख श्रेणी भनेर सरकारी आरक्षणको नीति अपनाएको छ । खसहरू पनि भारतका प्राचीन जाति हुन् । महाभारतमा पनि खसहरूको उल्लेख पाइन्छ । युधिष्ठिरले अश्वमेध यज्ञ गर्दा पहाड पर्वततिरका जनजाति खसहरूले कमिलाले थुपारेको सुनको थुप्रो स्वर्ण पिपिलिकाको उपहार दिएका थिए भन्ने उल्लेख पाइन्छ। महाभारतको युद्धमा खसहरू कौरव सेनामा सामेल थिए भन्ने भनाइ छ।
३. खस जाति र संस्कृति –
खस जातिको सामाज्यमा तीनवटा राजधानी थिए – तक्लाकोट, सिँजा र दुल्लु । गढवाली र कुमाउनी पनि हाम्रो सहोदर जाति हुन्। प्राचीन खस जातिको अवशेषका रूपमा नेपालको हुम्ला जुम्लामा केही समुदाय छन् जसले आफूलाई खस पनि परिचय दिन्छन्। उनीहरू कठायत, रोकाया, मल्ल, बुढा आदि थर प्रयोग गर्छन् । हालको तिब्बतको तल्लो भेकको खारी प्रदेशबाट खसहरू दक्षिणतिरको पहाडी भूभागमा आएर शासन सत्ता सम्हाले। त्यसरी पहिलोचोटि शासन सत्ताको बागडोर सम्हाल्ने राजा क्राचल्ल थिए। त्यसपछि क्राधिचल्ल आदिले राजकाज गर्दै आए। तिनै चल्ल राजाहरूले पछिबाट आफूलाई मल्ल राजाहरूको रूपमा प्रस्तुत गरेका थिए । ती मल्ल राजाहरूको राजधानी सिँजा थियो।
खसहरू मूलतः प्रकृतिपजक हौँ । हाम्रो मूल संस्कृतिभित्रका केही पक्ष आर्येतर छन् । हाम्रानिम्ति देवी देवताका आफ्नै नाम, पुज्ने तरिका, रीतिथिति संस्कृति अर्कै किसिमको पाइन्छ। हाम्रा निम्ति देवी देवता कता कता टाढा टाढा छैनन् बरू नजिकै हाम्रै वरिपरि छन् । हामी कुल कुलायनको पूजा गर्छौं। हाम्रा कुलदेवताहरू मस्टो र देवीमाई हुन् । सिमेभूमे, संसारी माई र मस्टोहरूले हामीलाई सुरक्षा दिन्छन् । तिनलाई रिझाउन, खुसी पार्न हामी आफ्नै किसिमले पूजा अर्चना गर्दछौँ। कुलपूजा, गोठधूप, न्वागी, देवाली, लुकुवा आदि हाम्रा मौलिक पद्धति र लोकधर्म हुन् । देवसी भैलेनी हाम्रो मौलिक परम्परा हो । वास्तवमा देवसी भैलेनी पौराणिक महादानी दानव बलिराजासित सम्बन्धित नभएर लडाईंले भोट (वर्तमान तिब्बत)लाई जित्दा मनाइएको खुसीयाली र खसका घरघरमा गौरव-गाथाको रूपमा सुनाइने परम्परा बसेको हो । हालको देवसी र भैलो त्यसैको रूपान्तरित संस्कृतिका अङ्ग हुन् ।
हामी जन्मेदेखि मृत्युसम्मकै आफ्नै किसिमको सांस्कृतिक परम्परामा खसेली प्रभाव कायम छ । हाम्रा कतिपय संस्कार अन्य हिन्दू समुदाय र जातिसित मिल्दैनन् । हाम्रा लुगाफाटा, खानपिन, खेल, मनोरञ्जन, गर-गहना, भाँडाकुँडा, धार्मिक कृत्य, कृषि कार्य, नाचगान, साजबाज, जीवन शैली हाम्रो आफ्नै मौलिक किसिमका छन् । शारीरिक बनोट, रङ्ग-रोगन, सबै आफ्नै मौलिक छन् । हाम्रो समाजमा नारी पुरूषबीच समान अधिकार र व्यवहार छ । नारीहरूलाई घरभित्र कँज्याएर नराखी पुरूषको काँधमा काँध मिलाएर काम गर्ने गरेको प्राचीन खस परम्परा बनेको छ । घरभित्र र घरबाहिरको सबै किसिमको काममा सरिक गराइऩ्छ । घरभित्रको सँगसँगै घरबाहिरको खेताला, मेलापात, पर्म, पसल र व्यवसाय सर्वत्र अघि सर्दछन् । हाम्रो खसेली समाजमा न धार्मिक न जातीय कट्टरपन छ । बिहा प्रसङ्गमा पनि हाम्रामा उदारता देखिन्छ । मागी बिहा, भागी बिहा र अन्तर्जातीय बिहा सबैमा छुट पाइन्छ ।
४. खस भाषा –
खस भाषा हालमा प्रचलित नभए पनि यसका विकसित र अवशेषका रूपमा नेपाली, कुमाउनी र गढवाली भाषाहरू विद्यमान छन्। बंगला भाषाको विकास र परम्परा नामक पुस्तकमा डा. सुनितीकुमार च्याटर्जीले भारतीय भाषा परिवारको वर्गीकरण गर्दा खसलाई अलग्गै प्राकृत भाषामा राखेर खस प्राकृत र खस अपभ्रंशबाट विकसित भएका आधुनिक आर्य भाषाका रूपमा कुमाउनी, गढवाली, नेपाली र अन्य केही पहाडी भाषाहरूलाई राखेका छन् । डा. चूडामणि बन्धु पनि नेपाली भाषाको उत्प्ति भन्ने पुस्तकमा नेपाली भाषाको स्रोत भाषाका रूपमा खसलाई नै मानेका छन् । नेपाली भाषा परिचयय भन्ने पुस्तकमा डा. देवीप्रसाद गौतमले पनि खस अपभ्रंशका केही रूपको उल्लेख र चर्चा गरेका छन् । दुई भाषाको तुलनात्मक अध्ययन गर्नु नेपाली र कुमाउनी भाषामाझ धेरै रूपगत साम्य देखिन्छ। जस्तै –
मै लेखनू – म लेख्छु,
तू लेखे छे – तिमी लेख्छौ,
उ लिखनो – ऊ लेख्छ।
हम लेखनी – हामी लेख्छौँ,
तुम लेखछो – तिमी लेख्छौ,
उ लेखन छ- उ लेख्छ।
काँ जाण छा – कहाँ जान्छौ ?
होय (हो), ना (होइन), कतु (कता), कसिक (कसरी), को (को), किला (किन) आपुं कां बटे आछा (तिमी कहाँबाट आएको ?) , तुमर नौ के छ ? (तिम्रो नाम के हो? )
कुमाउनी गढवाली र नेपाली भाषाका उखानको अध्ययन गरे पनि धेरै भाषिक समानता पाइन्छन्।
५. खस अध्ययन –
नेपाली संसारमा खस विषयक केही अध्ययन र अनुसन्धान भएका छन्। खसको विषयमा गम्भीर अध्ययन प्रस्तुत गरिएको पुस्तक बालकृष्ण पोखरेलको खस जातिको इतिहास प्रकाशित छ । यसमा खसको उत्त्पत्ति र स्रोत केलाएर खसका संस्कृति, सभ्यता, भाषा, इतिहास बारेमा विश्लेषण गरिएको छ । यता भारतमा पनि खसका बारेमा इतिहास, संस्कृति, परम्परा इत्यादि अध्ययन गरिएका पुस्तक प्रकाशित भएको देखिन्छ। शान्तिराज शर्माले खस किराँत संस्कृति (१९९६) पुस्तक प्रकाशित गरेका छन्। यसमा खसका रीतिथिती परम्परा, विशेषताबारे गहन अध्ययन प्रस्तुत गरेका छन्। यसमा खसहरूको खानपीन, स्वभाव, प्रवृत्तिबारे सम्यक चर्चा गरिएको छ। खस अध्ययनका क्रममा यो पुस्तक अत्यन्त उपयोगी र महत्त्वपूर्ण छ।
यसैगरी २०१५ मा राजु भेटवालले पनि खसहरूको बारेमा अत्यन्त गम्भीर अध्ययन गरिएको अँग्रेजी पुस्तक The Shamanistic Khas प्रकाशित छन्। यसमा खसका सामाजिक, सांस्कृतिक अध्ययन परसत्त गरिएको पाइन्छ। यसमा भारतमा जनजातिमा हुनुपर्ने आदिम प्रवृत्ति (Primitive Traits), विशिष्ट संस्कृति (Distinct Culture), भौगोलिक एकलता (Geographical Isolation), अन्यसित सम्पर्क गर्न धकाउने (Shyness to contact) र आर्थिक पछौटे (Economic Backwardness) जस्ता आवश्यकीय तत्व (Essential Criteria) आदिका आधारमा पुष्टि गरी अध्ययन प्रस्तुत गरेका छन्।
यसैगरी २०१७ मा सिक्किमका श्री के एन शर्माले गहन अध्ययन गरी लेखेको पुस्तक खस जातिको परिचय र लोकसंस्कृति नाम पुस्तक प्रकाशित गरेका छन्। यसमा खस जातिको परिचय, खसहरूका थरहरू, भाषा, पहिरन, जीवन यापनका पेशाहरू, धाम-झाँक्री र शमन विधि, पारम्परिक पूजाआजा, घरेलु सामाग्री, साइनो सम्बन्ध, लोक आस्था र देवी देवताहरू, खसका चाडपर्व र उत्सवहरू तथा खसका खेलहरू आदि विषयमा सम्यक अध्ययन प्रस्तुत गरिएका छन्। खस अध्ययनका निम्ति श्री के एन शर्माको उक्त पुस्तक अत्यन्त उपयोगी छ। यसमा खसेली परम्पराका बिहा, रीतिथिती आदि कुरामा निकै अध्ययन गरिएको पाइन्छ।
असम गोर्खा खस महासभाले आफ्नो प्रथम वार्षिक सम्मेलन ओदालगढीमा ४ फरवरी, २०१८ का दिन सम्पन्न गरेको थियो। यसमा प्रस्तुत गरिएका वार्ताहरूको सङ्गालो खस दर्पण (२०१८) ओमप्रकाश बस्नेतको सम्पादकत्वमा प्रकाशित भएको छ। यसमा जम्मा १८ वटा खसबारेका अध्ययन गरिएका लेखहरू समावेश भएका छन्। खस जातिको अतीत र वर्तमान (लोकनाथ गडतोला), असममा गोर्खाको जनजातिकरण मुद्दा अनि खसहरूको रूपरेखा (लक्ष्मी सेढाइँ), खस जातिमा आध्यात्मिक चिन्तन (रिजुदेवी), खस हिमाली (खर्गप्रसाद शर्मा), खसको माम्लो जसो गर्यो त्यसै राम्रो (विष्णु शास्त्री), दमाइ समुदाय जनजीवन अवलोकन, हुडकेली नृत्य (शान्ता सिर्पाली), लुप्तप्राय अवस्थामा छ खस जातीय धर्म संस्कार र संस्कृति (प्रकाश कोइराला) खस जनजाति लगायत गोर्खा जनजाति (डा हर्कबहादुर छेत्री, असम), The Khas Tribes of Assam, यीबाहेक ओमप्रकाश बस्नेत र दीलिप राउतक एकेकवटा असमीय भाषामा लेख रहेका छन्। यस खस दर्पण पुस्तकभित्र मोटामोटी रूपमा खसका सबै पक्षबारे प्रकाश पारिसकिएको छ।
डा. गोकूल सिन्हाको भाषा भाष्कर पुस्तकमा खस भाषासम्बन्धी दुईवटा लेख रहेका छन् । यी लेखहरूमा कुमाउनी गढवाली र नेपाली उखान र … विषयमा तुलनात्मक अध्ययन गरिएको छ । यसमा भविष्यका अध्ययनका धेरै सम्भावनाहरू लुकेका छन् ।
६. खस एकताको आवश्यकता –
हालमा हाम्रो देशमा जनजाति पाउने क्रममा खसहरू विभाजित देखिन्छन् । एउटै उपजाति, एउटै कुरा र लक्ष्य एउटै भए पनि विभिन्न संगठन गठन हुनलागेको देखिन्छ । सबैभन्दा पुरानो र सुसङ्गठित संस्थाको रूपमा रहेको भारतीय खस हितकारी सम्मेलन हुँदाहुँदै अझ दुइ वटा खस संगठन देखिन्छन् । विभिन्न खस संगठन भएर पनि आपसी तालमेल र सहकार्य गर्नु आवश्यक छ। सबै एक भएर दीर्घ मियादी रणनीति अपनाएर सबै आपसी द्वन्द्व त्यागेर एकत्रित भई सङ्घर्ष गर्दै लानु हाम्रो आवश्यकता र समयको माग हो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।