साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

नोवेल पुरस्कार प्राप्त प्रथम इजरायली साहित्यकार स्यामुयल युसफ एगनान

शव्द: गोविन्द गिरी प्रेरणा
रेखाचित्र: कृष्ण मर्सानी

कुनै साहित्यकार बस्ने टोलमा सरकरले कृपया हल्ला नगर्नुस्, फलाना साहित्यकार लेख्न लाग्नु भएको छ भन्ने सूचना टाँस्छ भने– त्यो साहित्यकारप्रति सरकारको कति ठूलो सम्मान रहेछ अनुमान लगाउन सकिन्छ । सन् १९६६ मा नेली साक्ससँग संयुक्त रुपमा साहित्यका लागि नोबेल पुरस्कार प्राप्त गर्ने स्यामुयल युसफ एगनान त्यस्तै साहित्यकार हुन् । उनी बस्ने जेरुसेलमको तालबोट जिल्लाको गल्लीमा स्थानीय सरकारले यस्तो सूचनापाटी राखेको थियो- “नो इण्ट्री टु अल भेहिकल्स, राइटर एट वर्क”(सबै गाडीहरुलाई प्रवेश निषेध, लेखक लेखनमा छन्।”

सन् १८८८ को जुलाई १७ का दिन पूर्वी ग्यालिसियाको बुक्जाजमा उनको जन्म भएको थियो । उनका पिता यहूदी दर्शनशास्त्रका ज्ञाता थिए । तर उनी कुनै ओहदामा रहेका थिएनन् । जीवन यापनका लागि उनी भुवाको व्यापार गर्थे । उनकी आमाको पनि उस्तै पृथक् व्यक्तित्व थियो । उनी जर्मन–शास्त्रीय साहित्यको ज्ञाता थिइन् ।

लेखकको सम्मानमा निकालिएको ५० को नोट

एगनानले परम्परागत हिब्रु शिक्षालयका अतिरिक्त आफ्नै बाबुसँग यहूदी धार्मिक नियमहरु अध्ययन गरे । आफ्नो अध्ययनको सिलसिलामै उनले सानै उमेरदेखि गीति कविताहरु लेख्न आरम्भ गरे । उनका सुरुवातका गीति कविताहरु उनी पन्ध्र वर्षको उमेरमा पहिलोपल्ट प्रकाशित भयो। उनी स्थानीय ‘जियोनिस्ट सोसाइटी’मा सक्रिय भए र जियोनिष्ट पत्रिकाहरुमा लेख्न थाले । अठार वर्षको उमेरमा उनी यहूदी अखबारमा काम गर्न लुभोभ गए र इजरायली भूमिका लागि प्रतिबद्ध हुने आत्म–निर्णय गरे ।

एगनानको पहिलो कथा ‘एगुनट’ थियो । त्यसपछि उनले अन्य कथाहरु पनि लेखे र प्रतिष्ठित यहूदी साहित्यिक पत्रिकाहरुमा तत्कालिन समयमा प्रकाशित गरे ।

सन् १९१० मा उनी जेरुसेलम बसाईं सरे । उनले त्यहाँ पनि आफ्नो लेखन कर्म जारी राखे । त्यहीं उनले राष्ट्रिय पुस्तकालयमा अध्ययन गरे । उनले विशेषतः सहरका यहूदी सम्प्रदायको अध्ययन गरेका थिए ।

गोविन्द गिरी प्रेरणा

सन् १९१३ मा एगनान अध्ययनका लागि बर्लिन गए । त्यहाँ उनले जीवकोपार्जनका लागि अध्यापन तथा अनुसन्धानकर्ता विद्यार्थीहरुका लागि सामग्री जोरजाम गरी दिने कार्य गरे । यसै समयमा उनको पहिलो कथा सङ्ग्रह प्रकाशित भयो । उनले बर्लिनमै एक युवतीसँग भेट गर्ने मौका पाए । तिनी थिइन्, इस्थर माकर्स । पछि उनले सन् १९१९ मा तिनीसँग वैवाहिक सम्बन्ध गाँसे र तिनको कोखबाट एक छोरा र एक छोरीको जन्म भयो ।

जर्मनी बसाईको शुरुवातमा उनले निजी प्रशिक्षक र सम्पादनको काम गरे । पछि यहुदी व्यापारी साल्मन शोकेन उनका संरक्षक भए र उनका पुस्तकहरु प्रकाशित गरिदिए । त्यस समयका उनका पुस्तकहरु सोकेन बुक्सका रुपमा प्रकाशित भए । सोकेन परिवारको अखबार “हारेत” मा उनका कथाहरु नियमित प्रकाशित भए ।

जर्मनीमा उनी ह्याम्बोर्ग यहूदी लेखक समूहमा पनि आबध्द थिए ।

तर सन् १९२४ ले उनको जीवनमा यौटा दुर्भाग्य बोकेर आएको रहेछ । उनको निवासमा आगलागी भयो र उनका सारा पुस्तकहरु र पाण्डुलिपिहरु नष्ट भए । नष्ट भएका पाण्डुलिपिहरुमध्ये उनको उपन्यास “इन द बोण्ड अफ लाइफ” पनि थियो जुन प्रकाशनका लागि घोषणा गरिसकिएको थियो । यो घटनापछि उनी सदाका लागि उनी जेरुसेलम फर्के । यो आगलागीप्रति उनको प्रतिक्रिया थियो, “मेरा सारा वस्तुहरु जलेपछि भगवानले मलाई जेरुसेलम फर्कने सद्बुध्दि दिए ।“

सन् १९२९ मा उनको घर अबर डकैतहरुले लुटे । उनको पुस्तकालय आगलागीमा परेर नष्ट भयो । त्यसपछि उनकी श्रीमतीले बच्चाबच्चीसहित केही समय आफ्नो माइती देना जर्मनीमा बस्ने मनसुवा प्रकट गरिन् । एगनानले उनीहरुलाई जर्मनीमा छाडेर यहूदी समुदाय भएको पोल्याण्ड र ग्यालिसियाको भ्रमणका लागि प्रस्थान गरे । यो भ्रमणको अनुभवलाई उनले आफ्नो उपन्यास ‘एक रातको पाहुनामा’मा आरोपित गरेका छन् । यो बेग्लै कुरा हो, यो उपन्यास उनले कैयन् वर्षपछि जेरुसेलममा रहँदा लेखे । उनी जेरुसेलमा १९३२ तिर फर्केका थिए ।

एगनानका कथाको पृष्ठभूमि सत्रौं शताब्दीको डकैती काण्डदेखि इजरायलको आधुनिक जनजीवनसम्म फैलिएको छ । त्यस्तै उनका कथामा ग्यालिसिबा, पोल्याण्ड, लिथुआनिया, जर्मनी एवं इजरायलका भूमि जीवन्त रुपमा चित्रण गरिएका छन् ।

एगनानका प्रमुख कृतिहरुमा ‘चाँदनीको लगाम’, ‘सागरहरुको हृदयमा’, आवेका दिनहरु’, ‘एक रातको पाहुना’ आदि हुन्– जुन अंग्रेजी भाषामा अनुदित भएर व्यापक रुपमा पढिएका छन् । सन् १९७० मा उनका ‘एक्काइस कथाहरु’ प्रकाशित भयो ।

उनको पहिलो प्रमुख कृति ‘चाँदनीको लगाम’ (१९३०) हो । यसमा गरिब धर्मनिष्ठ रेव युडेलले आफ्ना तीन छोरीहरुलाई दाइजो खोज्नका लागि गरिएको ग्यालिसियानी यात्राको रोचक वर्णन छ । केही आलोचकले यसलाई विश्व प्रसिद्ध उपन्यास ‘इन कोक्जिट’को सानो रुप भने । आर्नोल्ड बेण्डले यस कृतिलाई ‘निःसन्देह आधुनिक यहूदी साहित्यको महत्त्वपूर्ण कलात्मक प्राप्ति’ भने ।

उनको दोस्रो महत्त्वपूर्ण उपन्यास ‘एक रातको पाहुना’ (१९३७) आर्नोल्ड बेण्डका अनुसार ‘एगनानको साहित्यिक सिर्जनशीलताको केन्द्रीय रचना हो । यसमा उगनानले अन्य कथाहरुमा प्रयोग गरेका थिम र प्रविधि प्रयोग गरेका छन् ।’

उनको तेस्रो उपन्यास ‘हिजै मात्र’ (१९४५) यौटा ग्यालिसीयाली यहूदी युवकको कथा हो– जो प्यालेस्टाइनमा बसाइँ सर्दछ । यो अझै अंग्रेजी भाषामा अनुदित भएको छैन । त्यसो त हिब्रु भाषामा नै सन् १९३१ मा उनका सम्पूर्ण कथाहरु चार खण्डमा प्रकाशित भएको थियो ।

‘एक्काइस कथाहरू’ का कतिपय कथामा एगनानले हिट्लरको शासनको अवधिमा युरोपमा यहूदीहरुले भोग्नु परेका ‘काला रातहरु’ को मनग्ये चित्रण गरेका छन् ।

एगनानका रचनाहरुलाई कतिपय आलोचकहरुले काफ्काको नजिक मानेका छन् भने कतिपयले ज्वायस, प्राउष्ट, फकनर, इलियट र थोमस मानसँग समेत दाँजेका छन्, त्यसको हाराहारीमा राखेका छन् ।

उनी साहित्यका लागि नोवेल पुरस्कार पाउने प्रथम इजरायली साहित्यकार हुन् । उनले नोवेल पुरस्कार पाउनुअघि साहित्यका लागि बाइलिक पुरस्कार दुईपल्ट पाए सन् १९३४ र १९५० मा । त्यस्तै प्रतिष्ठित ईजरायल पुरस्कार पनि २ पल्ट पाएका थिए ।

उनलाई सन् १९६६ को नोवेल पुरस्कार घोषणा गर्दै नोवेल एकेडेमीले भनेको थियो,” फर हिज प्रोफाउण्डली क्यारेक्टरिस्टिक न्यारेटिभ आर्ट विथ मोटिफ्स फ्रम द लाइफ अफ द जेविस पीपुल” । नोवेल पुरस्कार त्यस वर्ष संयुक्त रुपमा २ जनालाई दिइएको थियो । अर्का विजेता नेली साक्स थिइन्, जो स्वीडेनमा बस्दै आएकी जर्मन-यहुदी कवयित्री थिइन्।

शारीरिक रुपले फूर्तिला, सेता कपाल र नीला आँखा भएका एगनानको आफ्नै एउटा भव्य र महत्त्वपूर्ण पुस्तकालय थियो, जसमा दुर्लभ पुस्तक र पाण्डुलिपिहरु सङ्कलित थिए । इतिहास, परम्परागत यहूदीबाइ लगायतका अत्यन्त बहुमूल्य पाण्डुलिपिहरु उनले संग्रह र सञ्चय गरेका थिए । यो उनको तेस्रो त्यस प्रकारको सङ्कलन, सञ्चयन थियो । उनको पहिलो सङ्कलन सन् १९२४ मा जर्मनीमा आगलागीमा परेर नष्ट भयो । त्यसमा एगनानको महत्त्वपूर्ण आत्मकथात्मक उपन्यास समेत थियो, जुन पछि कहिल्यै लेखिएन । दोस्रो उनको सङ्कलन सन् १९२९ मा जेरुसेलममा भएको डकैतीमा नष्ट भयो ।

“धरतीमा हाम्रा दिनहरु छायाँजस्तै हुन्, र यससँग जोडिएको समय हाम्रा दिनमा लम्बाई हुन्,” भन्ने एगनानको बयासी वर्षको उमेरमा १७ फरवरी १९७० का दिन हृदयाघातबाट मृत्यु भयो र राजकीय सम्मानका साथ उनको अन्त्येष्टि सम्पन्न गरियो ।

एगनानको सम्मानमा ५० रुपैयाँको नोट इजरायली सरकारले जारी गर्यो ।

उनको देहान्तपछि उनकी छोरी यमुना यारोनले उनका कृतिहरु मृत्योपरान्त प्रकाशित गर्न शुरु गरिन् । एगनानका लेखनसम्बध्द सारा सामग्री उनका परिवारजनले नेसनल लाइब्रेरी इन जेरुसेलमई हस्तान्तरण गरियो । सन् १९३१ मा तालपोटमा बनाइएको घरलाई सङ्ग्रहालय बनाइयो । उनी जन्मेको स्थान जुन हाल युक्रेन राज्यमा पर्दछ, त्यो पनि सङ्ग्रहालयमा परिणत भएको छ ।

प्रतिक्रिया
Loading...