
विसं २०३६ सालको सडक कविता क्रान्ति समापन भैसकेको थियो । म नियमित रूपले जागिरबाट छुट्टी भएपछि नयाँ सडकको पीपलबोटमा हाजिरीका लागि पुग्न हतारिन्थेँ । त्यहाँ साहित्यकारहरूको एक जमात भेला हुन्थे । ईश्वर बल्लभ पुग्थे । मोहनराज शर्मा पुग्थे । सन्तोष भट्टराई देखिन्थे । नगेन्द्रराज शर्मा पुग्थे । तुलसी दिवस पुग्थे । अशेष मल्ल पुग्थे । किशोर पहाडी पुग्थे । नगेन्द्र थापा पनि झुल्कन्थे । हरि अधिकारी आउँथे । अनेक साहित्यकार आउँथे । कोही साहित्यकार काठमाडौँ बाहिरबाट आएको छ भने ऊ त झन् त्यहाँ पुग्थ्यो नै ।
अनि केही बेरको हाई हल्लो, नमस्कार र पुस्तक पत्रिका आदानप्रदान, लेख रचना आदानप्रदान पश्चात् कोही लुसुक्क गल्लीका भट्टीतिर लाग्थे । कोही रेस्टुराँतिर लाग्थे । कोही मोमो पसलतिर लाग्थे । कोही पत्रिका पल्टाएर त्यतै हल्लिन्थे ।
म यो दृश्यको रमाइलो सकिएपछि आफ्नो बाटो लाग्थेँ, कालीमाटीतिर । डेरामा ।
एकदिन त्यसरी नै पीपलबोटमुनि उभिरहेको थिएँ । एकजना होचोहोचो र एकजना ऊभन्दा अलि अग्लो मानिसले घरी हातको अखबार र घरी मेरो अनुहारतिर हेरिरहेको देखेँ । उनीहरू खासखास खुसखुस पनि गरिरहेका थिए ।
मैले पनि कर्के आँखाले उनीहरूको गतिविधि हेरिरहेको थिएँ । को होलान् यिनीहरू ? किन यसरी हेरेका होलान् मलाई ? म अलिकति सशङ्कित पनि भएँ ।
अनि अचानक होचो मानिसले मुख खोल्यो, “तपाईं गोविन्द गिरी प्रेरणा हो ?”
मैले भनेँ, “ हो, म नै हुँ गोविन्द गिरी प्रेरणा ।“
“म ध्रुव मधिकर्मी । ऊ चाहिँ रत्न कोजू । हामी भक्तपुरबाट तपाईंलाई खोज्दै आएका ।“ ध्रुवले भने ।
“यी यो अखबारको फोटो हेरेर तपाईं हो कि होइन भनेर हेरेको ।“ रत्न कोजूले हातको अखबार देखाए ।
उनको हातमा समीक्षा पत्रिका रहेछ, जसमा सडक कविता क्रान्तिमा भाग लिने केही कविको फोटो मुख पृष्ठमै प्रकाशित थियो, जसमा मेरो पनि फोटो थियो ।
बल्ल रहस्य खुल्यो । परिचय भयो । अनि मैले यौटा चिया पसलमा लगेँ ।
उनीहरू खासमा यौटा साहित्यिक पत्रिका निकाल्ने अठोटमा रहेछन् र त्यसका लागि मबाट प्रेस खोज्न र रचना सङ्कलनका लागि सहयोग हुन्छ कि भनेर हातमा समीक्षा अखबार बोकेर मेरो अनुहार खोज्न पीपलबोट आएका रहेछन् ।
मैले खुशीसाथ सक्दो सहयोग गर्ने वचन दिएँ । अनि म सम्पादक भएको दीप ज्योति पत्रिका मुद्रण हुने प्रेस पाटन लगिदिएँ र छाप्ने व्यवस्था मिलाइदिएँ । अनि रचना खोज्न पनि सहयोग गरेँ र निस्कियो ध्रुव मधिकर्मी र रत्न कोजूको संयुक्त सम्पादनमा “आरोहण” साहित्यिक पत्रिकाको पहिलो अङ्क ।
ध्रुवसँग मेरो मित्रताको सुरुवात यसरी भएको थियो विसं २०३६ सालमा ।
विसं २०३८ सालमा माथवरसिंह बस्नेतको सम्पादनमा प्रकाशन हुन थालेको पुनर्जागरण साप्ताहिक पत्रिकामा ध्रुव साहित्यिक स्तम्भका स्तम्भकार बने । उनी आफ्नो स्तम्भमा कहिले समसामयिक साहित्यिक लेख, कहिले साहित्यकारसँग अन्तर्वार्ता त कहिले पुस्तक समीक्षा लेख्ने गर्दथे । पुनर्जागरणको प्रकाशन अवधिमा लामै समय उनले स्तम्भ लेखन गरे । उनले मसँग अन्तरवार्ता लिए । मेरा केही किताबका समीक्षा पनि लेखे । उनी मनै लाएर पढेर गम्भीरतापूर्वक समीक्षा लेख्ने गर्दथे र साहित्य लेखन अर्थपूर्ण हुनुपर्छ भन्ने मान्यतालाई उनले सदा कायम राखे लेखनका क्रममा होस् वा यदाकदा बोल्ने क्रममा होस् ।
आरोहण प्रकाशन निरन्तर भैरहँदा केही अङ्कमा मेरा रचना प्रकाशित भए ।
त्यसै ताक हरि अधिकारीको कथा सङ्ग्रह “रामलालको आकाश” कथा सङ्ग्रहको विमोचन कार्यक्रम भक्तपुरमै भव्य नेवारी भोजसहित आयोजना भएको खबर पाएँ । हुन त विमोचनको चाँजोपाँजो हरि अधिकारी आफैँले गरेका रहेछन् तर आयोजक आरोहण पत्रिका रहेछ । म छक्क परेँ, जुन आरोहणको पहिलो अङ्क प्रकाशनलाई मैले जसरी सहयोग पुर्याएको थिएँ, आरोहण आयोजक भएको कार्यक्रमको निम्तालुमा म किन परिनँ, आफूले आफैँलाई प्रश्न गरेँ तर मसँग त्यसको कुनै चित्त बुझ्दो जवाफ थिएन । मैले ध्रुवलाई पनि सोधिनँ । त्यो त्यत्तिकै भयो ।
ध्रुवको संलग्नता विशेष काँग्रेस पार्टीप्रति रहेछ । पुनर्जागरणमा स्तम्भकार हुनमा पनि त्यही राजनीतिक कारण रहेछ । तर कहिल्यै कुनै राजनैतिक पार्टीसँग मेरो नाता सम्बन्ध जोडिएन । आजपर्यन्त पनि जोडिएको छैन । त्यसैले ध्रुव साथी भए पनि विनय रावल समूहमा बढी निकट भए । त्यो समूहले गरेको सल्लाहअनुसार उनी चलेको भान पर्थ्यो मलाई । उनले समकालीन कविहरूको बारेमा यौटा समालोचनात्मक ग्रन्थ प्रकाशन गरे । त्यसमा उनले काँग्रेस पक्षधर गुट वा समूहलाई छुटाएका थिएनन् । तर म छुटेको थिएँ । हुन त मेरा कविताको समीक्षा समालोचना उनले नगरेका होइनन्, तर किताबमा उनलाई सामूहिक दबाबले छुटाउन बाध्य पारेछन् क्यारे भन्ठानेँ, तर कुनै गुनासो गरिन । गुनासो गर्नुको अर्थ र उपादेयता पनि थिएन ।
पुस्तक समीक्षा र समालोचनामा हात चलाए पनि ध्रुवले कथा र लघुकथामा आफूलाई बढी समर्पित गरे । उनका कथा सङ्ग्रह, लघुकथा सङग्रहहरू प्रकाशित भए । ती रचना चोटिला र कथाकारिताको राम्रो जलप भएका कथाहरू हुन् भन्ने मलाई सधैँ लागिरहन्छ । उनको “बुद्ध कहीँ छैन” पुस्तकको विस्तृत समीक्षा मैले मिर्मिरे मासिकमा गरेको थिएँ ।
स्तम्भ लेखन त नियमितताको लागि लेख्नै पर्ने भएर लेखिने भयो । साहित्य लेखन त्यसरी लेखिँदैन । तर पनि कतिपय उर्वर साहित्यकार हुन्छन्, जो सदा लेखिरहन्छन् । नित्य निरन्तर । नेपाली साहित्यमै त्यस्तो नित्य निरन्तर लेखिरहनेमा मदनमणि दीक्षित थिए । तर सबैले त्यसरी लेख्न सक्दैनन् । ध्रुव थोरै नै लेख्नेमा पर्छन् । तर लेखिसकेपछि चोटिलो नै लेख्छन् । पठनीय नै लेख्छन् ।
ध्रुवको मातृभाषा नेवारी हो, नेपालभाषा । उनले थोरै रचना मातृ भाषामा पनि लेखेका छन् । तर उनको लेखनको मूलधार चाहिँ नेपाली भाषामै देखिन्छ । त्यसो त उनले नेपाल भाषाबाट नेपालीमा पनि धेरै रचना अनुवाद गरेका छन् र ती प्रकाशित छन् ।
ध्रुव केही समय रेडियो नेपालमा कार्यरत रहे । उनको रेडियोमा संलग्नता नेपाल भाषामा समाचार वाचनका लागि थियो । उनले भक्तपुरदेखि सिंहदरबारसम्मको दूरी नापिरहे । समाचार पढिरहे । त्यो जागिर थियो र मातृभाषा प्रेम पनि । के कारणले हो कुन्नि पछि निरन्तर भएन ।
साहित्यिक हिसाबले सधैँ सहयोगी रहेका छन् ध्रुव । त्यो गुण थोरैमा पाइन्छ । निस्वार्थ र निसर्त ।
मेरो “मात्र एक रात” उपन्यास नेपाल भाषामा प्रकाशनमा ध्रुवको निकै ठुलो गुन छ ।
“मात्र एक रात उपन्यास” सम्भवतः मेरो सर्वाधिक पाठकले पढेको लघु उपन्यास हो । यो कान्तिपुर दैनिकको ‘कोसेली’ मा ५ अङ्कसम्म धारावाहिक रूपमा प्रकाशित भएको थियो । त्यसपछि पुस्तकाकारमा पनि प्रकाशन भयो । त्यसको दोस्रो संस्करण पनि प्रकाशित भयो ।
म अमेरिका आउँदा सन् २००२ मा त्यो उपन्यास पनि लिएर आएको थिएँ । त्यसलाई त्यसै बखत एक मित्रले अङ्ग्रेजीमा अनुवाद गर्नु भएको थियो, जुन अझै अप्रकाशित नै छ । हालै त्यसलाई साहित्यकार तथा अनुवादक दुर्गा प्रसाद श्रेष्ठ उपेन्द्रले हिन्दीमा पनि अनुवाद गर्नु भएको छ । त्यो पनि अप्रकाशित नै छ । तर यसै बिचको अवधिमा नेपाल भाषाका उपन्यासकार शशिकला मानन्धरले नेपाल भाषामा अनुवाद गर्नु भयो । आफ्नै जन्मभूमिको अर्को भाषामा अनुवाद हुनु त्यो निकै खुसीको कुरा थियो । त्यसको प्रकाशनका लागि नेपाल भाषा सम्बद्ध संस्थाहरूको खोजी गरेको थिएँ ।
त्यो कामको लागि सहयोग ध्रुव मधिकर्मीबाट भयो । प्रकाशकको खोजीदेखि विमोचनसम्मका लागि उनको गतिलो सहयोग रह्यो । अस्वस्थ भएर झन्डै बर्षौंदेखि ओछ्यान पर्नु भएका तर मेरा लागि स्नेह गर्नुहुने नेपाल भाषाका कवि तथा भाषिक अभियन्ता नातीबज्रको हातबाट उहाँकै निवास सफूधुकु भोटाहिटीमा सम्पन्न विमोचन समारोहमा ध्रुवले वक्ताको भूमिकामा सहयोग गरेर गुन लाएका थिए । नेपाल भाषामा समाचार प्रकाशन तथा प्रचार प्रसारमा समेत उनले निकै सहयोग गरे । त्यो उनको भाषा साहित्य प्रेम मात्र नभई मित्रप्रतिको उदार मनको सहयोग थियो ।
ध्रुव नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभाको सदस्यमा पनि नियुक्त भए । उनले नेपाली भाषा साहित्यमा पुर्याएको योगदानको लागि उपयुक्त र जायज उपलब्धि हो भन्ने मलाई लाग्यो । उनले त्यो पद पाउनु सबै हिसाबले उपयुक्त थियो भन्ने मेरो मनको ठहर थियो ।
त्यसो त उनले लघुकथा समाजबाट सम्मान पाएका छन् । नेपाल सरकारले पहिला सुरु गरेको हाल बन्द भएको प्रतिभा पुरस्कार पनि उनले पाएका हुन् । तर ध्रुवको लेखनप्रतिको अटल आस्था र गम्भीरता पद पुरस्कार र सम्मानभन्दा माथि नै छ ।
लेखनमा सङ्ख्या कम भए पनि उनको सक्रियता भने निरन्तर छ । साहित्यिक गतिविधिमा । लेखनमा ।
दौडको नियम गजबको हुन्छ । छोटो दूरीको दौडमा जो छिटो दौडियो ऊ अघि पुग्छ । लामो दूरीको म्याराथुनमा जो बिस्तारै तर निरन्तर दौड्छ, ऊ गन्तव्यमा पुग्छ । ध्रुवको लेखनको दौड, धावन, म्याराथुन धावकको जस्तो छ । छिटो होइन, नियमित लेखिरहने ।
३० मे २०२३, फल्स चर्च भर्जिनिया, अमेरिका ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

