म कक्रक्कै परेँ । मैले केवल पुलुक्क हेरेँ उनको अनुहारमा र गएको होस फर्के जसरी सुस्तरी भनेँ, “ठिक छ नि । मन लागे लेख्नू, नलेखे पनि केही छैन ।“

विसं २०३६ सालको ऐतिहासिक जनमत सङ्ग्रहको घोषणापछि बहुदलको पक्षमा भवानी घिमिरेको नेतृत्वमा सम्पन्न नेपाली वाङ्मयको इतिहासकै सबैभन्दा लामो समय, सबैभन्दा बढी कविहरु संलग्न र देशव्यापी भएको सडक क्रान्तिका कतिपय सहभागीहरुलाई पञ्चायत सरकारले कार्यवाही गरेको थियो । सो कार्यवाहीको सिलसिलामा त्रिभुवन विश्व विद्यालयका कर्मचारीहरुलाई पनि कार्यवाहीको लागि तत्कालीन सरकारले पत्र पठाएको थियो । त्यसरी कार्यवाहीका लागि पठाइएका नाममा ध्रुव सापकोटा र म थियौँ र थिए विधान आचार्य पनि । विधान त्यतिखेर त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रारका पिए थिए । त्यो पद स्वयममा शक्तिशाली थियो, रजिष्ट्रारसँग सिधै पहुँच हुने हुनाले । तर कार्यवाही भएन । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति डा. महेन्द्रप्रसादले सरकारको त्यसलाई लत्याइदिएका थिए ।  हामी कार्यवाहीबाट जोगिएका थियौँ ।

वि.सं २०३४ सालमा त्रिवि केन्द्रिय कार्यालयमा ज्यालादारी लेखापालको रूपमा म प्रवेश गरेपछि विधानसँग सम्पर्क भएको हो । तर मित्रता हुन भने केही समय लाग्यो । उनी रजिष्ट्रारका पिए, म ज्यालादारी लेखापाल । तर साहित्यिक नाताले त्यो दूरि मेटिदियो । सडक कविता क्रान्तिमा सँगसँगै हिँडेपछि आत्मियतामा पनि बृद्धि भयो ।

त्यस बेलाको मित्र मण्डलीमा विधान, लव गाउँले, सुशील ढुङ्गेल, बद्री चापागाईं हिमाली, ढगेन्द्र त्रिपाठी र म थियौँ । तर विधान, लव, सुशिल र म चाहिँ अलि बढी नै नजिकियौँ हामी हरेक शनिवार पशुपति जाने, त्यसपछि विभिन्न ठाउँ घुम्ने, मन लागे घुमेकै ठाउँमा कविता पनि लेख्ने गर्थ्यौं । सुशिलजी चाहिँ लेख्दैनथे तर साथ दिने र मुसुक्क हाँस्ने गर्थे । उनको मुस्कान गजबको अर्थपूर्ण, रहस्यमय झैँ लाग्दथ्यो।

म त्रिवि केन्द्रिय कार्यालयमा सञ्चयकोष शाखामा थिएँ । विधान रजिष्ट्रार कार्यालयमा । हामी दुईको अफिसको फासला मुस्किलले २० पाइला हुँदो हो । त्रिवि केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा राता रङ्गका इँटाका साना साना छाप्राहरुमा हाम्रो अफिस थियो जहाँ अहिले भीमकाय व्यावसायिक भवन छ ।

के कुन संयोग परेर हो कुन्नि एकदिन विधान र म सँगै दिउँसोको खाजा खान रामदाइको मिठाइपसलमा गयौँ । मेरो त विहान क्याम्पस जानुघिको चिया, क्याम्पसबाट फर्केपछिको खाना, अनि दिउँसोको खाजा सबै रामदाइको होटलमा नै हुन्थ्यो । मेरो उधारो चल्थ्यो ।

त्यो दिन सँगै खाजा खाएपछि त्यसपछिका दिनहरुमा हामी नियमित रुपले सँगै खाजा खान जान थाल्यौँ । म आफ्नो कोठाबाट रजिष्ट्रार अफिसमा जान्थेँ । अनि हामी सँगै निस्कन्थ्यौं । रजिष्ट्रारको पिए जस्तो संवेदनशील पदको काम भएकोले उनी कहिलेकाहीँ निस्कन ढिलो गर्थे । अनि मलाई छटपटी हुन्थ्यो । तर उनी भन्थे, “धन्दा नमान गोविन्द, म छँदैछु नि !”

खाजाको पैसा हामी आलोपालो तिर्दथ्यौँ । हिसाब किताब सफा थियो । साहित्यिक गफहरु पनि मज्जाले गर्थ्यौं । नयाँ निस्केका पत्रिका र तिनमा प्रकाशित रचनाहरुको बारेमा चर्चा गर्दथ्यौँ । कतै कुनै पत्रिकाले विशेषाङ्क निकाल्दैछ भने त्यसको सूचना आदान प्रदान गर्थ्यौं । आगामि शनिवार कता घुम्न जाने सल्लाह गर्थ्यौं । विदा नभएको दिन हुने कवि गोष्ठी वा साहित्यिक कार्यक्रममा कसरी बिदा मागेर जाने, सल्लाह गर्थ्यौं । अनि म धेरैजसो रजिष्ट्रारको अफिसमा देख्न थालेपछि मेरा हाकिमहरु रातो पीरो भएको देख्दथे तर उनीहरु मुख खोल्न सक्दैनथे । यो सब विधानसँगको मित्राताले फोसामा उपलब्ध ‘बढप्पन’ थियो । यो बुझेर म मनमनै मजाले हाँस्दथें ।

विधान रजिस्ट्रारको अफिसमै छँदा उनले यौटा साहित्यिक पत्रिका शुरु गरे “अनावरण” नामको । त्यस पत्रिकाको शायद दोश्रो अङ्कमा हुनुपर्छ, मेरो यौटा कथा पनि उनले प्रकाशित गरेका थिए, “घटना र प्रतिक्रिया” शीर्षकको । त्यो पत्रिका २/३ अङ्क प्रकाशित भएपछि बन्द भयो । नेपालमा निक्लने साहित्यिक पत्रिकाको नियतिको शिकार भयो त्यो पत्रिका पनि । उनले संचेतना नामक पत्रिका पनि सम्पादन गरेका थिए ।

विधानसहित शलभ, जीवन आचार्य र म मिलेर गोष्ठी नेपाललाई छिट्टै काठमाडौंको अत्यन्त सक्रिय साहित्यिक संस्थाको रुपमा चिनायौँ । किताब विमोचन, कवि गोष्ठी, साहित्यिक विचार गोष्ठी, साहित्यिक शोकसभा जस्ता कार्यक्रमहरु हामीले अत्यन्त सक्रियताकासाथ सम्पन्न गर्यौं । हामीमा यौटा गजबको समझदारी थियो, कसैले कुनै कार्यक्रमको प्रस्ताव गर्ने बित्तिकै हामी अरुले तत्कालै समर्थन गरिहाल्थ्यौं र कार्यक्रम सम्पन्न गर्थ्यौं । झण्डै दुईवर्ष चानचुन गोष्ठी नेपालले साहित्यिक कार्यक्रम गरेर काठमाडौंमा राम्रै चहलपहल देखायो ।

तर गोष्ठी नेपालको लागि मैले गरेको यौटा प्रस्तावले संस्था नै घराशायी भयो । कुरा के थियो भने हामीले साहित्यिक कार्यक्रमहरू गरिराराखेको त पत्रपत्रिकाका समाचार र टाढा नजिकको संलग्नताले काठमाडौंमा हाम्रो सम्पर्कका सबैजसोलाई थाहा नहुने कुरै थिएन ।

एकदिन अशेष मल्लका दाइ मुकेश मल्लले भने, “ गोविन्द ! हाम्रो मन्त्रालयकी एकजना कवयित्रीको किताब विमोचन तिमीहरुको संस्थाबाट गरिदेऊ न !”

मैले भनें, “भैहाल्छ नि ! तर विमोचनका लागि लाग्ने चियापान लगायतका खर्च त लेखकले नै व्यहोर्नुपर्ने हाम्रो नियम छ । हामीले त आयोजना गर्ने मात्रै हो ।“

“भैहाल्छ नि ! त्यो मलाई थाहा छ ।” मुकेशले भने ।

उनले कवयित्रीलाई पनि भेटाइदिए । तिनी रहिछन् श्यामा ओझा । किताब प्रकाशित भइसकेको रहेछ ‘विपरित’ शीर्षकको कविता सङ्ग्रह । मैले संस्थाको तर्फबाट गर्न सकिने र लेखकको दायित्वको वारेमा बताइदिएँ । तिनले खुशी भएर स्वीकारिन् । यौटा थप कार्यक्रम हुने भो भनेर मैले हत्त न पत्त हल पनि बुक गरेँ, साथीहरु पनि खुशी होलान् भन्ने मेरो स्वाभाविक अपेक्षा थियो ।

तर अपेक्षाको विपरीत भो साथीहरुको प्रतिक्रिया । शलभले मैले जे गरेँ त्यसमा आपत्ति जनाए र मैले हल बुक गरेको दिन कार्यक्रम नहुने बताए । यसअघि कुनै कार्यक्रममा यस्तो असमझदारी भएको थिएन । मैले लाख सम्झाउँदा बल्ल कार्यक्रम गर्न सहमति त भयो ।

तर शलभले आफू कार्यक्रममा आउन नभ्याउने बताए । विधानले पनि ‘कोशिस गर्छु’सम्म भने । तर कार्यक्रममा आएनन् । मैले एक्लै सो कार्यक्रम सम्पन्न गरेँ । विधान त कार्यक्रममा आउलान् भनेको, उनी पनि आएनन् । मलाई विधानले साथ नदिएकोमा त्यतिबेला पहिलोपल्ट निकै खल्लो अनुभव भएको थियो ।

बिधान, शलभ र जीवन आचार्य एकताक बागबजार पद्मकन्या क्याम्पस अगाडिको यौटा घरमा कोठा लिएर कलाकारिता लगायत विविध काम गर्ने अफिस सञ्चालन गर्थे । यौटा अखबारमा कोलम पनि लेख्थे । पुस्तकका कुरा, अन्तरवार्ता लगायत विविध विधामा उनी लेख्ने गर्थे । विसं २०४५ सालमा साझा प्रकाशनबाट मेरो पहिलो उपन्यास ‘उत्खनन’ प्रकाशित भयो । मैले उनलाई त्यतिखेरको उनको डेरा मैतीदेवीमा ‘उत्खनन’ दिन भनेर गएँ । किताब दिइसकेपछि मैले स्वाभाविक ढङ्गले भनेँ, “यसो अखबारमा यसको बारेमा आओस् है ।”

मेरो कुरा सुन्नेबित्तिकै विधानले औंला ठड्याएर भने, “गोविन्द ! लेख्नकै लागि यो किताब दिएको भए म लिन्न । मलाई मन लागे मात्र लेख्छु ।”

म कक्रक्कै परेँ । मैले केवल पुलुक्क हेरेँ उनको अनुहारमा र गएको होस फर्के जसरी सुस्तरी भनेँ, “ठिक छ नि । मन लागे लेख्नू, नलेखे पनि केही छैन ।“

त्यसपछि उनले किताब लिए । शायद पढे कि ? किताबको बारेमा चाहिँ लेखेनन् ।

विधान रजिष्ट्रर कार्यालयबाट मानविकी डिन कार्यालयमा सरुवा भएपछि भेटघाट पातलियो । अझ प्रशासन सेवाबाट शिक्षणतर्फ फड्को मारेपछि त मुस्किलले मात्र भेट भयो । खास भन्ने हो भने शिक्षणतर्फ लागेपछि उनी साहित्यिक गतिविधिबाट त देखिने गरी नै टाढा भए । उनी साहित्यिक सभा समारोहमा पटक्कै देखिन छाडे ।

विधानको मूल रचना क्षेत्र कविता हो । भानुभक्त आचार्यका नयाँ पुस्ता भएकाले र चुँदी रम्घाको माटो पानी नै कवितामय भएकाले तथा त्यहाँका सबैले भानुभक्तकै अनुसरण गर्ने गरेका हुनाले पनि विधानको साहित्यिक मूल कविताबाटै प्रवाह भएको होला । यद्यपि उनको पहिलो प्रकाशित रचना भने कथा भयो । पुस्तक भने कविता सङ्ग्रह नै पहिलो रह्यो । उनी पछि लघुकथामा पनि विस्तारित भए ।

विधानले १० भन्दा बढी टेलिफिल्ममा कथा, पटकथा, गीत लेखेका थिए । केही नाटकमा पनि अभिनय गरेका थिए । तर मलाई ती टेलिफिल्म र नाटक हेर्ने भने अवसर कहिल्यै जुरेन ।

साथीभाइ देख भेट हुने बित्तिकै हौसिने, जेजस्तो काम परे पनि अघि सर्ने स्वभावबाट विधान कहिल्यै पर गएनन् ।

कुनै काम फत्ते गर्न विधानको जाँगर कति चल्छ भन्ने दृष्टान्त नगेन्द्रराज शर्मा अभिनन्दन ग्रन्थ सम्पादनको सिलसिलामा त्यस ग्रन्थ सम्पादन समूहका सबैलाई छर्लङ्गै भयो । त्यति बृहत् ग्रन्थको पेज सेटिङ्, कभर, भाषा सम्पादन र प्रुफ लगभग सबै उनले एकल नै गरेका हुन् । यो चानचुने काम थिएन । समय, श्रम, एकाग्रता र जाँगर कति चाहिन्छ, त्यो त्यस ग्रन्थ हातमा लिने जो कोहीले सहजै अनुमान गर्न सक्छ ।

त्यतिमात्र होइन, मेरो “टुप्लुक्क टोकियो” नियात्रा पुस्तकलाई सिधै प्रेसमा पठाउने गरी पेज सेटिङ्, कभर र प्रुफ उनैले हेरेर फाइनल गरिदिएका हुन् । मैले यसलाई मित्रताको अतुलनीय साहित्यिक प्रसादको रुपमा ग्रहण गरेको छु । अरु पनि कतिपय पुस्तक उनले स्वच्छन्द रुपमा तयार गरेका छन्, आफ्नो र अरुको पनि ।

उनका लघुकथा सङ्ग्रह हिन्दी भाषामा समेत प्रकाशित छन् । मौका पर्दा उनी कवि गोष्ठीमा मूल अङ्ग्रेजीमै लेखेको कवितासमेत सुनाइदिन्छन् । उनको साहित्यिक व्यक्तित्वका विविध पाटाहरुको झल्को यसरी पनि पाउन सकिन्छ । स्रष्टा समाज नेपालको नेतृत्व गरेर उनले साहित्यिक जमातमा अगुवाई गर्न खोजेका हुन् ।

तर मलाई भने विधानको सिर्जनशील पक्ष नै मन पर्छ । शायद अरु शुभचिन्तक मित्रहरुलाई पनि ।