
आदिम,
सभ्यताको घाँटीबाट
अविरल बग्दै आएको
म निर्मल पवित्र बागमती
तिम्रा दुष्कर्मका पापहरू
पखाल्दा-पखाल्दै
दूषित भएको छु
तिम्रा पितृहरूलाई पिण्डपानी
पिलाउँदा- पिलाउँदै
काकाकुल भएर तड्पिरहेछु
मसँग अहिले जीवनको वेग छैन
मेरा बहावमा कुनै उमङ्ग छैन
मेरो जीवनको लय सकिएको छ
म गतिहीन र निस्तेज भएको छु
मेरो काखमा आएर पौडिने
स-साना भुराहरू खै कहाँ गए ?
मेरो आँगनको डिलमा आएर
साँझपख टरटर कराउने
भ्यागुताहरूको सङ्गीत खै किन सुनिदैन ?
मेरो छातीमा टेकेर तनतन पानी पिउन
किन आउँदैन काकाकुल कौवाहरू ?
तिम्रो सभ्यताको बुल्डोजरले
मेरो स्निग्ध छातीमा लात हानेर उठाएको
सम्पन्नताको महलभित्रबाट किन खस्छ
मेरै आँगनको बलेँसीमा
असभ्यताको लेदो ?
किन विसर्जन हुन्छ मेरो वक्षस्थलमा
दुषित वीर्यका थैलीहरू ?
मेरो सार्वभौम अस्मिता माथि
किन हुन्छ बारम्बार बलात्कार ?
मेरो सौन्दर्यलाई तेजोवध गर्ने
ती हातहरूलाई किन लाग्दैनन् हतकडी ?
मेरो पाश्ववर्ती नीलकण्ठ किन मौन छन्
किन बोल्दैनन् श्रापित बिरुपाक्ष ?
हे ! नगरका शालीन भद्रहरू हो !
हे ! सिंहदरबारका मान्यवरहरू हो !
मलाई बाँच्न उन्मुक्त आकाश देऊ
मलाई हाँस्न अलिकति सास देऊ
म उत्कट जिजीविषा बोकेर
बिरुप समयको भेन्टिलेटरमा धड्की रहेको
यो इतिहासको एउटा जिउँदो साक्षी
तिम्रो सभ्यताको धरोहर
बूढो बागमती हुँ !
हेटौंडा-४



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

