सबै यात्राहरू सहज हुँदैनन् तर  कठिन यात्रा तय गरेपछि प्राप्त हुने गन्तव्य अत्यन्तै सुखद र सुन्दर हुन्छ ।

काभ्रेको सुदूर गाउँ, खानी खोलाको ताल ढुङ्गासम्मको हाम्रो साहित्यिक यात्रा अत्यन्तै रोचक र अविस्मरणीय हुन पुगेको छ । यात्रा सोचे जस्तो सहज थिएन तर नसोचेको खुसी मिलेको थियो । बाटोहरू अत्यन्तै अप्ठ्यारो थियो । मान्छेहरू अत्यन्तै सरल र असल देखिन्थे ।

मकवानपुरको सदरमुकाम हेटौँडासँग काभ्रेको सुदूर गाउँ  खानी खोलाको पुरानो सम्बन्ध हो। तीनताका खानीखोला- भोर्लेनी- हेटौँडा घोडाहरू मात्र चल्दथे र पैदल मार्ग मात्र थियो । भोर्लेनी दोभानको बागमती नदीमा पुल नहुनाले आजकल हेटौँडा भन्दा काठमाडौँ बनेपासँग खानी खोलाको निकट सम्बन्ध बिस्तार भएको रहेछ ।

आफ्नो गाउँमा पहिलो पटक साहित्यिक कार्यक्रम गर्ने सोच बनाउनु भएको रहेछ । अविरल साहित्य समाजका अध्यक्ष टीका अविरलजीले । तर कसरी सम्पन्न गर्ने भनेर उहाँ अन्योलमा हुनुहुन्थ्यो । हेटौँडामा साहित्य संस्थाहरू छन् भन्ने सुन्नु भएको रहेछ र सोध्दै-खोज्दै हामीसँग जोडिन आइपुग्नु भएको थियो । उहाँको आग्रहलाई हामीले नकार्न सकेनौँ । बन्द कोठा र भव्य पार्टी प्यालेसमा हुने विविध साहित्यिक  कार्यक्रमहरूमा त हामी सधैँ नै सहभागी हुँदै आएका थियौँ र सम्पन्न पनि गर्दै  आएका छौँ । दूर दराजमा पुगेर साहित्यिक कार्यक्रम गर्ने सोच आजकल  साहित्य संस्थाहरूमा एकदम कम देखिन्छ।

साहित्यिक कार्यक्रमलाई बन्द कोठाभित्र मात्र सीमित नराख्ने उद्देश्य राखेर मातृभूमि साहित्य समाज हेटौँडाको टिम त्यो गाउँमा साहित्यको सानो झिल्को  बोकेर  जान तयार भएको थियो ।

अध्यक्ष माधव पोख्रेलको नेतृत्वमा मातृभूमि साहित्य समाजका संस्थापकहरू देवराज खरेल ,हयग्रीव आचार्य , राजबाबु पहाडी , कृष्ण प्रसाद दाहाल ,साथै हामी  वैकुण्ठ लामिछाने ,श्याम प्रसाद श्रेष्ठ र म किशन पौडेल, अविरल साहित्य संस्थाको आत्मीय निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै यात्राको लागि  तयार भयौँ ।

असार ११ गते सोमबार बिहान ६:१५ बजे नै हामी हेटौँडाबाट स्कार्पियोमा धरान- चतरा हाइवे हुँदै झुरझुरेतर्फ हानियौँ । हामीलाई त्यहाँ पुग्न एक घण्टा पनि लागेन । हामी जानुपर्ने थियो खोला पारीको गाउँ हुँदै भोर्लेनी बजारबाट दोभान पारीको तालढुङ्गा ।

हाम्रो गाडी खोला पारी जान सकेन खोलामा पानी भरिएको थिए । हामीले हाम्रो स्कार्पियोलाई त्यही खोला वारि नै छोडिदियौँ र झोलुङ्गे पुल तरेर लाग्यौँ पारी । जसरी नि पुग्नुपर्ने थियो समयमा ।

हामीले नजिकै होला भन्ने सोचेर थोरै पैदल यात्राको अनुभव लिने विचार गरेका थियौँ । आकाशमा  घाम चर्की रहेको थियो । हामी मिठो गफ गर्दै गन्तव्यको मुहान चियाउँदै लम्किरहेका थियौँ । कोही अगाडि थिए कोही पछाडि थिए ।

घण्टाैँको पैदल यात्रा पछि पनि गन्तव्यको टुङ्गो थिएन । स्थानीय व्यक्तिहरूलाई हाम्रो एउटै जिज्ञासा हुन्थ्यो अब कति टाढा पर्छ भोर्लेनी भनेर सोध्यो जसले पनि अब आधा घण्टा लाग्छ भन्दथे ।  तर हामी दुई घण्टाको पैदल मार्ग पुरा गरिसकेका थियौ । पसिनाले हामी निथ्रुक्क भैसकेका थियौ । बाटोमा भेटिएका रमाइला दृश्यहरू मोबाइलमा कैद गर्दै लम्की नै रहेका थियौँ ।

थकित हुँदै  मैले संस्थाका अध्यक्षलाई फोन गरेँ –

“अध्यक्षज्यू हामी समयमा आइपुग्न नसक्ने भएका छौँ है।”

अध्यक्षज्यूले भरोसा दिँदै भन्नू भो, “हामी दोभान पारी एम्बुलेन्स लिएर स्वागत गर्न बसेका छौँ हजुरहरूलाई । बागमतीमा पुल छैन हामी त्यहाँ आउन सक्दैनौँ  हामीले हजुरहरूलाई बोक्न ट्याक्टर पठाइदिएका छौँ भन्नु भो ।”

हिँड्दा हिँड्दा थाकिसकेका गोडाहरूले अब ट्याक्टर चढ्ने अवसर पाएको थियो । कोही अगाडि कोही पछाडि ट्याक्टरमा बस्यौँ । स्कार्पियोको स्वाद ट्याक्टरले कहाँ दिन्थ्यो र ।  हामी बुर्लुक बुर्लुक उफ्रिरहेका थियौँ । सकस पूर्ण ट्याक्टरको एक घण्टाको यात्रा पछि बल्ल हामीले दोभान भेट्यौँ । ट्याक्टर भाइलाई धन्यवाद दिँदै बागमतीको भिरालो किनार हुँदै दोभानमा रहेको झोलुङ्गे पुल तरेर पारी पुग्यौँ ।

हाम्रो प्रतीक्षामा एउटा एम्बुलेन्स र गाउँपालिकाको बुलेरो बसेको रहेछ । हामीलाई लिन साहित्य संस्थाका अध्यक्षज्यू आउनु भएको रहेछ । हामी अब बुलेरो र एम्बुलेन्समा चढेर लाग्यौँ तालढुङ्गा तर्फ । बाटो अत्यन्तै डरलाग्दो देखिन्थ्यो । ठाउँमा ठाउँमा फोरह्विल गियर लगाउँदै कुशल चालक भाइले हामीलाई खानीखोला गाउँ आधा घण्टा मै पुर्‍याइदिनु भो ।

खानीखोला गाउँ पालिकाका अध्यक्ष र स्थानीय जनप्रतिनिधिहरू हाम्रो स्वागत गर्न अधैर्य देखिनु हुन्थ्यो । घण्टी फूलको मालाले स्वागत गर्दै तातो दालभात तरकारीले सत्कार गर्नु भो ।

खाना खाएर कार्यक्रम सुरु गर्दा एक बजिसकेको थियो । माहौल अत्यन्तै आकर्षक देखिन्थ्यो । टाढा टाढा बाट साहित्य कार्यक्रम हेर्न र सुन्न आउनेहरूको भिड देखिन्थ्यो । साहित्य भनेको के हो ?  यो साहित्य  कार्यक्रम कस्तो हुन्छ ! धेरैमा यो जिज्ञासा देखिन्थ्यो ।

हेटौँडाका यति धेरै साहित्यिक मनहरूसँग आत्मीयता साट्न पाउँदा खानीखोला गाउँ पालिकाका अध्यक्ष

श्री इन्द्रबहादुर थिङ्ग (छिन्ताङ) अत्यन्तै हर्षित देखिनु हुन्थ्यो ।

उहाँले भन्नु भयाे, “यो हाम्रो गाउँ र यो हलभित्र साहित्य कार्यक्रम गरेको पहिलो पटक हो ।”

उहाँ आफैँ साहित्यिक चेत भएको व्यक्तित्व हुनुहुँदो रहेछ ।

स्थानीय जनप्रतिनिधि गाउँलेहरूको आत्मीय सत्कारले हामी पनि अत्यन्तै हर्ष विभोर भएका थियौँ । सबै थकानहरू हराइसकेको थियो । हामी अत्यन्तै खुसी साथ भरिभराउ हलभित्र खादा र मालाको आतिथ्य सत्कारले प्रफुल्ल भएका थियौँ ।

प्रा. कृष्ण प्रसाद दाहालले साहित्यिक मन्तव्य मार्फत  साहित्यको बारेमा प्रकाश पार्दै अलिकति साहित्यको उज्यालो झिल्को फालिदिनु भो ।

अग्रज कवि मुक्तककार देवराज खरेलको छन्दयुक्त कविताले हल शान्त भयो । संस्थापक अध्यक्ष हयग्रीव आचार्यले मातृभूमि संस्थाले गाउँपालिकासँग समन्वय गरेर आगामी साहित्यिक कार्यक्रममा हातेमालो गर्दै  अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै दुई मुक्तकले हल गुञ्जायमान पारिदिनु भो ।

प्रा. राजबाबु पहाडी सरले मुक्तक र कविता वाचन गर्दै जनमनहरूलाई सम्बोधन गर्नु भो । कवि  वैकुण्ठ लामिछानेले दमदार बिम्बयुक्त कविताले गणतन्त्र प्रति प्रश्न उठाउँदै शासकहरू प्रति  प्रहार गर्दै गर्दा भरिभराउ हल एकदम सचेत देखिन्थ्यो स्थानीय शिक्षक शिक्षिकाहरू पनि  सोच मग्न हुनु भएको देखिन्थ्यो ।

किशन पौडेलले भुइँ मान्छेहरूका मुक्तक र स्थानीय ठाउँको पीडालाई सम्बोधन गर्दै गजल वाचन गर्दा तालीले हल गुन्जेको थियो ।

लघुकथाकार श्याम प्रसाद श्रेष्ठले अहिलेको राजनीतिक जनप्रतिनिधिहरू प्रति तीखो प्रहार गर्दै एउटा चोटिलो लघुकथा प्रस्तुत गर्नुभएको थियो ।

अन्त्यमा मातृभूमि साहित्य समाजका अध्यक्ष एवम्   कार्यक्रममा विशिष्ट  अतिथिको रूपमा आसन ग्रहण गर्नु हुने नाटककार माधव पोख्रेलज्यूले आफ्नो मन्तव्य सहित एक कविता र एक गजल वाचन गर्दै कार्यक्रमको निरन्तरता रहोस् भन्दै शुभकामना व्यक्त गर्नु भो ।

स्थानीय बाल बालिकाहरू र शिक्षक शिक्षिकाहरूले पनि  कार्यक्रममा जोडदार रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि इन्द्र बहादुर थिङ्ग  हुनुहुन्थ्यो भने अविरल साहित्य समाजका अध्यक्ष टीका अविरलले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।

खादा, माला, खाजा, सम्मान पत्र ग्रहण गरेपछि हामीलाई हेटौँडा फर्किन हतार भैसकेको थियो ।

घडीको सुइँले  ५ बजिसकेको सङ्केत दिइरहेको थियो । गाउँमा बस्नको लागि  सबैको  जोडदार आग्रह हुँदा हुँदै पनि हामीलाई फर्किनु पर्ने बाध्यता थियो ।

हामी बाटो सम्झेर आत्तिइरहेका थियौँ । पुनः हाम्रो यात्रा एम्बुलेन्सबाट सुरु भएर ट्याक्टर हुँदै झुरझुरेमा हाम्रो प्रतीक्षामा बसेको स्कार्पियोसम्म आइपुग्दा रातीको ८ बजिसकेको थियो ।

मिठो आतिथ्यता र भव्य कार्यक्रमको लागि खानीखोलाका सम्पूर्ण जनमनहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। धन्यवाद ।