अदृश्य भाइरस

“हाम्रो पनि केही दाल गलेन ।” मानवजातिको विनाशको कारकको रूपमा रहेका भाइरसहरूको बैठकको सभापतित्व गरेको कोभिड १९ ले हरेस खाँदै भन्यो ।

“हो ! हामी जति सशक्त भए पनि हाम्रो विरुद्ध बनेको खोपले हाम्रो प्रयास निष्फल गरायो ।” सार्सले थप्यो ।

“मलाई त झन् उठ्नै नसक्ने गरी लडाए ।” औलोले निराशा व्यक्त गर्‍यो ।

“अब के गर्ने ? के हाम्रो योजना असफल नै हुने हो त ?” स्क्रब टाईफसले शङ्का गर्‍यो ।

“किन हरेस खाएको ? हेर, म अझ पनि डटिरहेको छु ” डेङ्गुले केही हौसला बढाउन खोज्यो ।

“यो पटक म प्रयास गर्छु ।” अकस्मात् आएको आवाज थियो यो ।

उनीहरू सबै आवाज आएतिर फर्के ।

“को हौ तिमी ? सामुन्ने किन आउँदैनौ ?” सबैले एकै स्वरमा प्रश्न गरे ।

“म अदृश्य छु, तर मैले गर्ने कार्यको अनुभव गर्न सक्नुहुन्छ ।” उसको आवाजमा दृढता थियो ।

केही समयको सरसल्लाह पछि अदृश्य भाइरसलाई जिम्मेवारी सुम्पियो ।

नभन्दै अदृश्य भाइरसले आफ्नो जिम्मेवारी वहन गर्‍यो । उसलाई बधाई दिन पुनः एक पटक बैठक बस्यो ।

“हैन, तिमीले मानवजातिलाई थला बस्ने गरी नै प्रहार गर्‍यौ त । के गर्‍यौ हँ त्यस्तो ?” सबैको प्रश्न एउटै थियो ।

“तपाईंहरूले भौतिक आक्रमण गर्नु भयो मैले मानसिक ।” हाँस्दै अदृश्य भाइरसले जवाफ दियो ।

उता मानवजाति अवरुद्ध इन्टरनेटले छटपटिरहेका थिए ।

* * * *

 विषाक्त

गोमन सर्प हतारिँदै झाडीभित्र पस्यो ।

“हैन ! किन आत्तिएर भागेको ?” उसलाई रोक्दै उसको मित्र धामनले सोध्यो ।

“डराउनै पर्‍यो नि । देख्यो कि मारिहाल्छ ।” उसले हताशमा जवाफ दियो ।

“त्यसो हैन । मनुष्यमा चेतना आएको छ । अझ तिमी त सर्पराज, एक थोपा र्‍याल मात्र पर्‍यो भने पनि ऊ परमधाम पुग्छ ।” धामनले ढाडस दिन खोज्यो ।

“खै के भनूँ ? केही दिनअघि मात्र उसले बाटो छेक्दा मैले डसेको थिएँ …।” गोमनले भन्यो ।

“अनि ?” धामनले फेरि प्रश्न गर्‍यो ।

“अनि के हुनु नि । उसलाई त केही भएन । मलाई भने तीन दिनसम्म असह्य पीडा भयो ।”

* * * *

विपथगामी

“बिरक्तिएर कता हिँडेको तिमी ?” रूखले सोध्यो ।

“शुद्धता खोज्न ।” सुस्तरी चाल मार्दै बतासले भन्यो ।

“तिमी हाम्रो प्राण हौ । तिमी नै गयौ भने हाम्रो के हविगत हुन्छ ?” रूखले रोक्न खोज्यो ।

“म विषधर भइसकेको छु । यहाँ रहिरहे तिमीलाई झन् पीडा हुन्छ ।” बतासले आफ्नो दुखेसो पोख्यो ।

“तिमी के विषमय छौ र ? म त झन् कालकूट भएको छु ।” अर्कोतिरबाट खोलाले दुःखको सुस्केरा हाल्दै भन्यो ।

एकआपसका परममित्र न त साथ रहनसक्ने भए न त छुटिन नै । अब के गर्ने भन्ने गहन विचार विमर्शमा तल्लीन भए । त्यसै वेला पसिनाले निथ्रुक्क हुँदै एक विपथगामी मनुवा रूखको छहारीमा सुस्ताउन थाल्यो ।

“तिमी किन यहाँ ?” एक्कासि आएको तीन ओटा कर्कश आवाजले मनुवा झस्कियो ।

“शान्ति खोज्न ।” मनुवाले गाह्रो गरी सास तान्दै भन्यो ।

“हामीलाई बिरूप बनाउने तिमी नै हैनौ ?” खोलाले छिटो हान्यो ।

“कृत्रिम परिवेशमा छँदै थियो त शान्ति । त्यतिले पुगेन ?” रूख रूक्ष भयो ।

“आफ्नो बाटो नापे हुन्छ । छैन, यहाँ शान्ति ।” बतास कुर्लियो ।

तर तिनीहरूको आवेगमा पर्नु अगावै मनुवा निस्तब्ध भइसकेको थियो ।