वाद विवाद प्रतियोगिता; शीर्षकः कलम-कापी बलियो कि तरबार-बन्दुक बलियो । निर्णायक प्रमुखले निर्णय सुनाए, कलम-कापी पक्ष विजयी भए । तरबार-बन्दुक समूहले विरोध जनाए । विरोध चरम उत्कर्षमा पुग्यो । तरबार-बन्दुक समूहले आन्दोलनको घोषणा गरे । भुत्ते खुकुरी, खुर्पाले पनि साथ दिए । समाजमा बसेर आन्दोलनको परिकल्पना गर्न नसकिने भन्दै जङ्गल पसे ।
समयको गतिसँगै तरबार-बन्दुकको आन्दोलनले उग्ररूप लिन थाल्यो । कलम-कापीको खोइरो खने । तरबारले कापी काटिए, बन्दुकले कलम टुक्रा पारिए । भुत्ते खुकुरी, खुर्पा पनि चोटमा परे । केही सीप लागेन । अन्ततः आन्दोलन त्यागी सम्झौतामा गर्नु पर्यो । सम्झौतालाई आफ्नो विजयको रुपमा लिइयो ।
समयले कोल्टे फेर्दै गयो । समयले अशान्तिसँग सम्झौता गर्यो । समाजमा फाटो आयो । भाइभाइबीच पानी बाराबार भयो । तरबार र बन्दुकबीच फाटो आयो । तरबार भुत्ते खुकुरीसँग मिल्न गयो । बन्दुक कर्दसँग । खुर्पा एक्लो ।
सुनिदैछ बन्दुक र कर्द मिलेर फेरि खिया परेको नाल सफा गर्दै धार लगाउँदै छन् रे अनि उता बूढा निर्णायक प्रमुख फेरि नयाँ कलम-कापीको खोजीमा भौंतारिरहेका छन् रे !
ठिमी, भक्तपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।