साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

तीन लघुकथा, श्रृंखला – ३०

१. पहिलो लघुकथा
(नुवाकोटेली पहिलो लघुकथासङ्ग्रह)
फुमन्तर – वासुदेव गुरागाईं
निर्वाचन मिति घोषणा भयो । “खोकेन्द्र खोकी” यसपटक पनि निर्वाचनमा उम्मेद्वारको टिकट दियो । टिकट पाएपछि खोकेन्द्रको खुट्टाले फेरि पनि भुइँ छोड्यो ।
उम्मेद्वारले बारेसमार्फत् पनि उम्मेद्वारी दर्ता गर्न पाउने  कानुनी प्रावधान थियो । यही प्रवधानको उपयोग गरेर उनले आफ्नो बारेस ठगेन्द्र ठाडामार्फत् उम्मेदवारी दर्ता गराए । उनका समर्थकले मुख मिठ्याउँदै साबिकझैँ बिनासर्थ टरर्र ताली बजाए ।
खोकेन्द्रको निर्वाचन क्षेत्रका बासिन्दा सडकमा हुने गाडी जामको समस्याले आजित थिए । मतदाताको यही मनोविज्ञान बुझेर उनले आमसभामा खोक्नुसम्म खोके । खोक्ने क्रममा “यसपटक पनि मलाई मत दिएर जिताउनु भयो भने म यो जाम सात दिनभित्र फुमन्तर गरी हटाइदिन्छु ।” भन्दै उनले जाम भएतिर औँला तेर्साए । सोझा मतदाताले सोझै रूपमा बुझे । निर्वाचन सम्पन्न भयो । खोकेन्द्र अत्याधिक मतले विजयी भए ।
निर्वाचन सम्पन्न भएको एक महिना पूरा भइसकेको थियो । अघिपछि मठ, मन्दिर र देवीदेउता भनेपछि छिः छिः दुर्दुर गर्ने खोकेन्द्र यस पटक भने यसप्रति विश्वास राख्ने मतदाताको अवस्थालाई समेत जीवन्त राख्न विजय जुलुसका साथ देवीदेउताको मठमन्दिरहरूमा गए । प्रष्ट देखिने गरी निधारमा रातो टीका लगाए । फोटो खिचाए । सडकमा दैनिक जसो भइरहने जाम उस्तै थियो । विजय जुलुस आमसभामा परिणत भयो । त्यस आमसभामा उपस्थित मतदाताले सडकको जामतिर औँला तेर्साउदै खोकेन्द्रको ध्यानाकर्षण गरे ।
विजयउल्लासका साथ कुर्लिरहेका खोकेन्द्रले ढिला नगरी मतदातालाई प्रश्न गरे, “आदर्णीय जनसमुदाय, म उम्मेद्वार हुँदाको जाम सडकमा अहिले कहाँ छ ? देखाउनुस् । त्यसबेलाको जाम त मैले फुमन्तर गरेर उहिल्यै हटाइदिइसकेँ यो देखिएको त नयाँ जाम हो , त्यति बेलाको होइन । अर्को निर्वाचनमा यसलाई पनि फुमन्तर गरी हटाउनु पर्छ ।  तपाईँहरू ढुक्क हुनुहोस् ।”
मतदाताले के बुझे थाहा छैन । तर तिनको तालीको आवाज भने साबिकमा जस्तै नरोकिइकन एकनासले टरर्र बजिरह्यो । खोकेन्द्र मुसुक्क हाँसिरहे मात्र थप केही बोलेनन् ।
###
(नुवाकोटेली साहित्यको आफ्नै महत्त्व र गरिमा छ । पछिल्लो समय नुवाकोटको साहित्यमा लघुकथाले पनि राम्रो प्रवेश पाएको छ । वासुदेव गुरागाईं नुवाकोटेली साहित्यकार हुन् । उनी पुस्तककार पहिलो नुवाकोटेली लघुकथाकार हुन् । “फुमन्तर” लघुकथासङ्ग्रह २०७६ सालमा प्रकाशन गरी नुवाकोटेली पहिलो लघुकथा कृतिकार बनेका छन् ।
वासुदेव गुरागाईं कवि, कथाकार, अन्वेशकको अलवा निर्वाचन विश्लेषक पनि हुन् । यी सबै विधामा उनका कृतिहरू प्रकाशित छन् । प्रस्तुत कथा “फुमन्तर” गुरागाईंको लघुकथासङ्ग्रहको शीर्षक कथा हो । यस लघुकथाले निर्वाचनको बेलामा नेताले गरेको भाषणलाई निर्वाचन सकिसकेपछि कति हलुकासाथ लिन्छन् र बेतुकका अर्थ लगाउँछन् भन्ने प्रष्ट छ ।)
२.सक्रियकालीन लघुकथा 
मानवता – अगीब बनेपाली
 अति संवेदनशील अस्पतालका मुख्य कोठाहरू । यहाँ आँखाको भाषाबाट काम गर्नुपर्छ । स्वर निकालेर बोल्न झन्डै मनाही छ । तरूनी नर्सहरू स्वर ननिकाली खितितिती हाँस्ने गर्छन् । धीत मारेर हाँस्न बाथरूम छिर्छन् र खित्का छोडेर हाँस्छन् । आज ती कोठाको अगाडि एउटा बच्चाको रुवाइ लगातार आइरहेको थियो । त्यो बच्चाका रुवाइले भित्रका भिआइपीले मोबाइल गरे । मोबाइलको करामत केहीबेरपछि नै पुलिस आइपुग्यो ।
 “चुप लाग बेइमान ! त्यहाँ साबकी श्रीमतीलाई निद्रा आएन रे । डिस्टर्ब भयो रे ।” पुलिसको कुरा सुनेर बच्चा झन् भक्कानो छोडेर रोयो । बच्चालाई कठालो समातेर घोक्र्याउने आदेश भयो ।
 “ल उठ् छिटो” पुलिसले बच्चाको पाखुरा समातेर उठायो । बच्चा अझै ठूलो–ठूलो स्वरले रुन थाल्यो ।
 “आमा, ए आमा” उतिबेला एक जना डाक्टर देखापर्यो ।
 “पुलिस दाइ, सुन्नुस त, तपाईँलाई थाहा छ, यो बच्चा किन रोएर बसेको छ ? यो बच्चाकी आमा भर्खर मात्र मरिन् । हो, यस्तो रक्सीले मातिएका भिआइपीहरूको ठक्करले । आफ्नी आमाको मृत्यु हुँदा कसको मनमा घाउ लाग्दैन ।” डाक्टरको कुरा सुनी पुलिसले मोबाइल गर्ने भिआइपीहरूलाई हेर्यो । तिनीहरू कसैको वास्ता नगरी हाँसीहाँसी गफ गर्न हाँस्दै थिए ।
पुलिसले रिसले उनीहरूलाई हेर्यो, सलुट ठोक्यो र फर्क्यो । बच्चाको रोएको आवाज निरन्तर अस्पतालमा गुन्जिरह्यो ! गुन्जिरह्यो !!
“मेरी आमा….।”
###
(नेपाली लघुकथाको पचासको दशकलाई सक्रियकालीन समय मानिन्छ । यही दशकको सुरुवाती समयमा नै अगीब बनेपाली सक्रिय भएर लघुकथा लेख्ने कथाकार हुन् । उनी हल्ला र चर्चाभन्दा बाहिर रहेर चुपचाप लघुकथाको अघ्ययन र लेखन गरिरहेका छन् । अगीब बनेपालीले नेपाली भाषा र नेपाल भाषामा लघुकथासङ्ग्रह प्रकाशन गर्नु भएको छ ।
प्रस्तुत लघुकथामा “मानवता”ले गरिबीभित्रको पीडालाई राम्रोसँग चित्रण गर्नु भएको छ ।)
३. मलाई मन परेको लघुकथा 
कामदेव – शशी थापा पण्डित
 “आज कमलाको श्रीमान् बद्री मुढो बनेर झुण्डेको छ, आफ्नै कोठाको फ्यान झुण्डाउने सिलिङ्गमा । आवाज निकालेर रूँदैछे ऊ । आँसु सक्कली हो कि नक्कली हो, या आएकै छ कि छैन् ? म अर्थात् ऊदेखि पल्लो कोठाको छिमेकी सुस्मा छुट्याउन भने सक्दिनँ । धोतीको सप्कोले मुख छोपेकी छे उसले । पासो लगाएर मरेको हो भन्दैछ पुलिस । घाँटीमा नीलडाम पनि देखिइरहेको छ । त्यहाँ आएका केही मानिसहरू घाँटीमा देखिएको नीलडाम र राती कोठामा सुनिएको चित्कारका कुरा खासखुस खासखुस गरेर गर्दैछन् । निदारनिर चोट पनि देखिएको छ । कुवेतबाट बद्री फर्केको भर्खरै पन्ध्र दिन भएको रहेछ । कमलाको कोठामा उसको श्रीमान् नहुँदा प्रायः आउने गरेको कामदेव पनि त्यहीँ छ । तर आज कामदेवको अनुहारको भावभङ्गी भने छिनछिनमा बद्लिरहेछ ।
###
(शशी थापा नेपाली साहित्यमा खुलेर यौनका विषयहरू कलात्मक र शील रूपमा प्रस्तुत गर्ने निडर साहित्यकार हुन् । काव्य पनि राम्रो लेख्ने शशी मुलत: आख्यानमा विशेष रुचि राख्छिन् । पहिल्लो समय उनीको “उठ तिलोत्तमा” कथासङ्ग्रह नेपाली साहित्यिक बजारमा बहुत चर्चामा छ । शशी थापा लघुकथाहरू कम लेख्छिन् तर जति लेख्छिन् बढो गजबले लेखिन्छ ।
प्रस्तुत कामदेव लघुकथाले वैदेशिक रोजगारीले नेपाली यौनजीवनलाई पारेको असरलाई कलात्मक र शील तरिकाले प्रस्तुत गरेको छ । लघुकथा छोटो छ तर पूर्ण छ ।)
प्रतिक्रिया
Loading...