१. पहिलो लघुकथा
(प्रदेश नं. १ स्तरीय प्रथम लघुकथा प्रतियोतितामा उत्कृट लघुकथा)
साथी
लक्ष्मी पोखरेल
सीमा र नरेश एउटै कक्षाका सहपाठी हुन् । उनीहरुको हिमचिम बढेको कुरा एक कान दुई कान हुँदै सीमाकी आमा सरलाले थाहा पाइन् । छोरी स्कुलबाट कतिखेर आउली र भनूँ छट्पटी रहिन् । सीमालाई देख्नासाथ भनिन्, “त्यो लफङ्गोसँग त खुब नारिन्छेस् अरे । त्यो त बदमास फटाहा छ । जिन्दगी बर्बाद पार्छ, लगेर बेचिदिन्छ । भोलिदेखि हिँड् त मात्र त्योसँग ?”
“छ्या छ्या आमा के भन्नु भएको ?! तपाईंले सोचेजस्तो खराब छैन । मनको कस्तो सफा छ । मलाई कस्तो कस्तो गोप्य कुरा कसैलाई नसुनाउनु भन्दै सुनाउँछ । तपाईं त नराम्रो मात्र देख्नुहुन्छ ?” सीमाले सफाई दिई ।
“गोप्य कुरा सुनाउँछ !” सुनेर सरलाका नौनाडी गले । मुटुको चाल बढ्यो । बर्बादै पार्यो कि के हो ? झस्किदै बिस्तारी सोधिन्, “के भन्छ छोरी त्यस्ले ?”
“नाइँ भन्दिनँ । हिँड्दा त गाली गर्नुहुन्छ । सुन्नु भयो भने त मार्नु हुन्छ ।”
सीमाले छोरीलाई आफूतिर तानेर स्नेहिल शब्दले भनिन्, “म तिम्री आमा हुँ । सुख-दुःखको साथी । म कसैलाई भन्दिनँ छोरी ।”
“बुवाले थाहा पाउनु भयो भने त मलाई मार्नुहुन्छ । नरेशलाई त दुई टुक्क्रा नै पार्नु हुन्छ ।”
सीमा थरर काप्दै छोरीलाई अँगालोमा कसिन्, गालामा चुम्मा खाइन्, “के कुरा छोरी ?”
सीमाले चारैतिर नजर डुलाई र घरभित्र लगेर भनी, “नरेशले त जहिले मन लगाएर पढनू र तेरो बुबासँग बचेस् भन्छ आमा ।”
###
(पछिल्लो समय लघुकथा समाज, नेपालले सातै प्रदेशमा लघुकथा समाजको प्रदेश समिति खोली लघुकथाको लेखन प्रशिक्षण, प्रतियोगिता गरी लघुकथाको विकास र बिस्तारमा योगदान पुर्याउने कार्यको थालनी गरेको छ । यसै अनुरूप लघुकथा समाज, नेपाल प्रदेश नं. १ अन्तर्गतको पहिलो लघुकथा प्रतियोगितामा लक्ष्मी पोखरेलको यो “साथी” लघुकथा उत्कृष्टमा छनोट गरिएको थियो ।
लक्ष्मी पोखरेल पूर्वकी स्रष्टा हुन् । उनी नारी स्रष्टा समाज, विराटनगरकी सदस्य पनि हुन् ।
प्रस्तुत लघुकथा “साथी” पूर्ण कौतुहलता मिसिएको लघुकथा हो । कथाले दोषी सोचिएको सज्जन र सज्जन सोचिएकोलाई दोषी देखाइएको छ । कथाको सुन्दर पक्ष कौतुहलता र झड्का नै हो ।)
२. सक्रियकालीन लघुकथा
प्रत्यागमन
डा. विदुर चालिसे
शक्ति सम्पन्न मान्छेमा मात यति धेरै थियो कि उसमा आश्चर्यले भरिएको विशेष गुणको अहङ्कार थियो ।
–“पारदर्शी वस्तु !”
एकदिन मातेको मान्छेको भाषणले झैं ऊ सडक छेउमा शक्ति होडका लागि बर्बराउन थाल्यो । उसको मुखबाट झरीमा बेतालले वर्षने असिनाजस्तै शब्दहरू वर्षन पनि थाल्यो।
–“उत्कृष्ट जादुगरी सपनाका महावाणीहरू !”
समय बिहानको थियो । उसलाई रातजस्तो लाग्दथ्यो । त्यस दिनको बिहान उठ्नासाथ उसको एउटै सानो छोराले सोध्यो ।
–“बाबा ! बाबा !! घाट किन कहिल्यै पुरिदैन ?”
–“कसरी थाहा पाइस तैंले यो कुरा भन त ?”
–“हेर्नू न नपत्याए आर्यघाटको बाग्मतीलाई ! करोडौँ वर्षदेखि त्यहाँ मान्छे जलेको जल्यै छन् । खरानी खसेको खस्यै छ तर पनि बाग्मतीको घाट कहिल्यै पुरिएको छैन किन ?”
मात चढेको मान्छेसँग उसको सानो छोरालाई दिइने जवाफको तयारी थिएन तर उसले अनकनाएर भन्यो, “सायद दिउँदै रात परेर होला !”
“दिनमा पनि हजुरले निशाचर देख्नुभएको थियो र !”
“हैन हैन, माने भनिदिएको नि त !”
बच्चाको प्रश्नको औडाहा चलेको सो व्यक्तिले घाटमा शक्तिको उपासनाका लागि ध्यान गरिरहेको योगीलाई शक्तिको मात लागेको मान्छेले फेरि सोध्यो, “तपाईंसँग घाट पुर्ने इच्छा छ ?”
“छट्टु नेता !, म घाट पुर्न हैन, सफा गर्न ध्यानमा छु, हट !”
एकाएक योगीको चिम्टा र अगाडिको त्रिशूल देखेपछि उसले चिच्याएर भन्यो, “माफ गर्नोस् !”
बाग्मतीमा आज पनि पानी बगिरहेको थियो । हिजो-अस्तिकोजस्तो कन्चन र सफा थिएन । कालो न कालो मनमा लागेको मैलोजस्तै थियो ।
###
(डा. विदुर चालिसे पचासको दशकमा सक्रिय रही हालसम्म पनि निरन्तर लघुकथा लेख्ने अग्रज लघुकथाकार हुन् । उनका लघुकथाहरूमा कौतुहलता, सूक्ष्मता, विषय केन्द्रितपनको अलावा स्वैरकल्पना घुसेको हुन्छ । डा. चालिसे आफ्ना लघुकथामा बौद्धिकतालाई मज्जाले घुसाउने हुनाले केही पाठकहरू उनको लघुकथा नबुझेको प्रतिक्रिया पनि दिन्छन् । तर उनका लघुकथाहरू उपल्लो कोटीका छन् – बुझ्नेहरूका लागि डा. विदुर चालिसेका लघुकथाहरू श्रीखण्ड जस्ता छन् । उनका केही लघुकथा कृतिहरू प्रकाशित छन् ।
प्रस्तुत लघुकथा “प्रत्यागमन” स्वैरकल्पनामा लेखिएको यथार्थवादी तर बौद्धिक लघुकथा हो । कथामा कौतुहलताको अलावा समसामयिक रहस्यतालाई वातावरण र राजनीतिको विम्वमा घोलेर प्रस्तुत गरिएको छ ।)
३. मलाई मन परेको लघुकथा
अस्त्र
तुलसी पण्डित
किन तिम्रो आँखामा आँसु प्रिया ? तिम्रो लागि मैले केही सोचेको छु । जस्ले मेरो मृत्युपछि पनि तिम्रो जीवन सुखमय बन्नेछ ।
हनुमन्तेको जीवनले अन्तिममोड लिएको छ । ऊ क्यान्सरबाट पीडित छ । डाक्टरले भने अब घर लैजानुहोस् । उहाँले खान चाहेका खानेकुराहरु खान दिनुहोस् । हो, उनले दिनै तोकेर भनेका छन् अब यो समयसम्म ।
नथुनीमा पीडा निकै बढेको छ । उनी भर्खर तेइस वर्षकी भइन् । जायजन्म भएको थिएन । बाबुआमाले एउटा केटो जग्गाजमिन प्रशस्त छ भन्दै सम्बन्ध जुटाइदिए । विचरा हनुमन्ते विवाह गर्दा त तन्दुरुस्त नै थियो । तर एकदुई वर्षको बीचमा नथुनीले यो असह्य पीडा सहनु पर्यो ।
हनुमन्तेले नथुनीलाई बोलायो- ल लिय यो कागज । यो तिम्रो लागि अनमोल सम्पत्ति हुनेछ । म मरेको पैंतालीस दिनपछि हेर्नू ? अहिले बाकसमा लगेर राख ।
नथुनीलाई त्यो कागजले के सान्त्वना दिन्थ्यो र ! तै पनि बाकसमा लगेर राखिन् । डाक्टरले तोकेको समयमा हनुमन्तेको निधन भयो । आँशु पिएर सबै कार्य उम्काइन् नथुनीले ।
समयले नथुनीलाई पीडा बोकायो । तै एक्लो निरस जीवन रुँदै गुजारिन् उनले । पैंतालीस दिनको काम गरी बरखी फुकाइन् उनले । उनलाई श्रीमानले दिएको कागजको याद आयो । उनीले त्यो कागज फुकाएर हेरिन् । कागजमा लेखिएको थियो –
मेरो प्रिया नथुनी ।
तिम्रो बैँस जाग्दै गरेको समयमा मैले बिदा लिँदैछु ।अबको जीवन तिम्रो लागि निरासमय हुनेछ । किनभने तिम्रो सहाराको लागि सन्तान तिमीसँग छैन । यो पितृसत्तात्मक समाजमा साठी वर्षमा स्वास्नी मर्दा पुरुष फेरि विवाह गर्छ । तिमी त भर्खरकी छौ । तिम्रो जीवनमा अझ फल्नु फुल्नु पर्छ । त्यसैले तिमीले मेरो पैंतालीस दिनको काम सकेपछि विवाह गर्नू । यो सारा सम्पत्ति तिम्रो हो । यै घरमा नै दुवै जना बस्नू । कुनै विध्नबाधा आए यो मेरो इच्छापत्र नै तिम्रो लागि ठूलो अस्त्र हुनेछ ।
###
(तुलसी पण्डित लेखनमा लागिरहने स्रष्टा हुन् । सम्भवत: उनी नेपालको बढी लघुकथा लेख्ने लघुकथाकार पनि हुन् ।
तुलसी पण्डितका थुप्रै लघुकथाहरू लघुकथाको मानकभित्र नपर्ने खालका पनि छन् । तर प्रस्तुत “अस्त्र” लघुकथा भने नेपालका उम्दा लघुकथाकारहरूलाई मात खुवाउने खालको छ । कथामा तराई क्षेत्रको गरिबीलाई बिषय बनाई लोग्ने आफैँले आफ्नो श्रीमतीलाई विषम परिस्थितिमा अर्को विवाह गर्न उक्साएको छ । कथाले समाजमा नयाँ रुपान्तरणको ढोका खोलिदिएको पनि भान हुन जान्छ ।
नेपाली लघुकथामा यस्तो कुमारी विषयको आवश्यकता सधैँ परिरहेकै छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।